2024 April 27/ 07:49: 24am

    बनेपा/पत्रकार महासंघ काभ्रे शाखा र प्रेस काउन्सिल नेपालको आयोजनामा पहिलो पटक पत्रकार आचार संहिताका बारेमा सार्वजनिक सुुनुवाई गरिएको छ । 
    शाखा अध्यक्ष मोतीराम तिमल्सिनाको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाईमा नागरिक समाज र पत्रकारहरुले प्रेस काउन्सिल नेपाल र पत्रकारहरुले खेल्नु पर्ने भूमिकाका बारेमा सुझाव दिएका थिए । काउन्सिलका सदस्य शुभेच्छा विन्दु तुलाधार र इश्वरी ओझाले प्रेस काउन्सिल नेपालको भूमिका र सार्वजनिक सुनुवाईको महत्वका बारेमा जानकारी गराएका थिए । ओझाले काउन्सिलले पहिलो पटक पत्रकारहरुकै विषयमा सार्वजनिक सुनुवाई शुरु गरिएको बताए । सार्वजनिक सुनुवाई कार्यक्रमले पत्रकारहरु आचार संहिता कार्यान्वयन गर्न र नागरिकहरुको अधिकारका बारेमा थप उत्तरदायित्व बहन हुने बताए । काउन्सिल सदस्य तुलाधारले विषयगत आचार संहिता र निर्देशिका तयार गरेको प्रेस काउन्सिलले संचारमाध्यमहरु नागरिक प्रति जवाफदेहि बन्न सार्वजनिक सुनुवाईको थालनी गरेको बताए । 
    पत्रकारहरुको क्षमता अभिबृद्धी गर्ने, संचारमाध्यमहरुको रेकर्ड राख्ने र संचारकर्मीहरुलाई संहिता कार्यान्वयन गराउने काउन्सिलको उदेश्यलाई सार्वजनिक सुनुवाई मार्फत अझै जिम्मेवारीवोध गराउने काउन्सिलका उप प्रशासकिय अधिकृत रामशरण बोहराले बताए । ‘देशभर रहेका संचारमाध्यमहरुको डिजिटल अनुगमन गर्ने कार्य शुरु भएको छ’–बोहोराले भने । देशभर संचालनमा रहेका ३२ वटा टेलिभिजन, ३ सय एफ एम र १३ सय अनलाईनको डिजिटल रेकर्ड राख्ने काम शुरु भएको उनले बताए । पत्रपत्रिकाहरुको हकमा कार्तिक देखि लागु हुने गरी पिडिएफ फाईल सम्वन्धित प्रकाशन भएकै अघिल्लो दिनसम्म अपडेट गर्ने गरी सफटवेयरको समेत तयार गरिसकिएको उप प्रशासकिय अधिकृत बोहोराले बताए । 
    सार्वजनिक सुनुवाई कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघका प्रदेश ३ का अध्यक्ष विनोद सापकोटाले  आचार संहिता कार्यान्वयनमा पत्रकारहरु आफैले ध्यान दिनु पर्ने बताए । पत्रकारहरुको विश्वसनियता कायम राख्न, प्रतिशोधको पत्रकारिता भएको बताउँदै त्यसलाई सुधार्न सुझाव दिए । पत्रकार र पत्रकारिताका बारेमा नागरिकले समेत प्रश्न सोध्न पाउने सार्वजनिक सुनुवाईको सहभागिहरुले धन्यवाद दिएका थिए । आफु अनुकुल भए सबै ठिक, अनुकुल नहुँदा समाचार लेख्ने गोटी पत्रकारहरुको विकास भएकाले रोक्नु पर्ने अध्यक्ष सापकोटाले बताए । 
    नेपाल बार एशोसिएसन काभ्रेका पुर्व अध्यक्ष नवराज बडालले महत्वपूर्ण र संवेदनशिल विषय भएकाले सबै पत्रकारहरुले ख्याल पु¥याउन पर्ने बताए । काउन्सिलको कारवाही प्रकृया, विधी र पद्धतीले न्याय पाउन ढिलाई हुने बताउँदै बडालले विचाराधीन विषयमा समेत समाचार प्रकाशन गरेर अदालत भन्दा पहिल्यै निर्णय गर्दा न्याय मर्ने बताए । कानुन ब्यवसायी विष्णुप्रसाद सापकोटाले सेवा र पेशालाई ब्यवसायमा परिणत गर्दै संहिता कार्यान्वयन गर्नु पर्ने बताए । कानुन भन्दा ठुलो नैतिकता भएकाले स्वअनुमगन र स्वअनुशासन कायम हुनु पर्ने सापकोटाले बताए । पत्रकारहरुको आचार संहिता छुट्टै भएको आफुले पहिलो पटक सुनेको उनले बताए । 
    नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्यले जनता समक्ष पत्रकारहरुका विषय लैजानु महत्वपूर्ण भएकाले यसैलाई निरन्तरता दिनु पर्ने बताए । सार्वजनिक सुनुवाईले पत्रकारहरुका विषयमा आम नागरिकले जान्ने अवसर प्राप्त भएको बैद्यले बताए । काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धरले नकारात्मक भन्दा सकारात्मक समाचारलाई प्राथमिकता दिन आग्रह गरे । नेपाल बार एशोसिएसनका अध्यक्ष कृष्णप्रसाद सापकोटाले खोज पत्रकारिता हराउँदै गएको र प्रतिशोध पत्रकारिता फस्टाउँदै गएको बताए । प्याब्सन अध्यक्ष सत्यनारायण श्रेष्ठले नीजि क्षेत्रका विषयलाई पत्रकारहरुले ध्यान दिनु पर्ने बताए । 
    पत्रकार भिम गौतमले प्रेस काउन्सिलको भूमिका र पत्रकारहरुले उठाएका विषयमा ध्यान दिनु पर्ने बताएका थिए । हरेक क्षेत्रमा राजनीतिक विषयले प्राथमिकता प्राप्त गरेको भन्दै उनले कर्पाेरेट हाउसबाट पत्रकारहरु डोमिनेट हुनु परेको बताए । सचिव नगेन्द्र अधिकारीले कार्यक्रम संचालन गर्दै पत्रकारहरुका बारेमा नागरिकहरुले समेत प्रश्न सोध्न पाउने र पत्रकारहरुले आचार संहिता कार्यान्वयन गर्ने कुरामा ध्यान दिनु पर्ने बताए । सोहि अवसरमा पत्रकार महासंघले विजया दशमीको अवसरमा शुभकामना आदान प्रदान समेत गरेको थियो ।