धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लाको ज्याला तथा निर्माण सामाग्रीहरुको दररेट सार्वजनिक भएको छ । आर्थिक वर्ष २०८०÷०८१ का लागि जिल्ला प्रशासन कार्यालय मार्फत गरिने दररेट निर्धारणका लागि सरोकारवाला निकायहरुको सहभागिता थियो । विगत वर्षहरुमा जस्तै यो वर्ष पनि केहि क्षेत्रको ज्याला तथा निर्माण सामाग्रीहरुको दररेट बढाउने निर्णय गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतमा बसेको बैठकमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, जिल्ला समन्वय अधिकारी शान्तिराज प्रसाई, प्रमुख कोष नियन्त्रक लेखनाथ रेग्मी, काभ्रे उद्योग बाणिज्य संघका महासचिव रविन्द्र बैदार, निर्माण ब्यवसायी संघका अध्यक्ष विजय तामाङ र सिनियर डिभिजनल इन्जिनियर भरतकुमार यादव सम्मिलित बैठकले जिल्लाको ज्याल र निर्माण सामाग्रीको दररेट बढाउने निर्णय गरेको हो । बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल, सिनियर डिभिजन इन्जिनियर मनिष मर्हजन, डिभिजन वन कार्यालयका गौरव भट्ट, धुलिखेल उद्योग बाणिज्य संघका प्रतिनिधिहरु लगायत आमन्त्रितका रुपमा सहभागि थिए ।
बैठकले आर्थिक वर्ष २०८०÷२०८१ का लागि जिल्ला दररेट निर्धारण समितिको निर्देशन बमोजिम पूर्वाधार विकास कार्यालय, काभ्रेपलाञ्चोकले जिल्ला स्थित सबै सरोकारवालाहरुसँगको समन्वयमा तयार पारेको कामदारहरुको ज्यालादर, सिभिल कार्य, स्यानिटरी कार्य, इलेक्ट्रिक्स कार्य सम्वन्धी प्रतिवेदनका आधारमा बजार सर्वेेक्षण समेतलाई आधार मानेर ज्यालादर र निर्माण सामाग्रीको दररेट बढाउने निर्णय गरेको हो । त्यस्तै बैठकले घर र जग्गा भाडा तथा क्षतिपुर्ति मुआब्जा निर्धारण समिति दररेट पनि शंशोधन गर्ने निर्णय गरेको छ । बैठकले प्रेट्रोलियम पदार्थ र लब्रिकेन्टस प्रोडक्ट सम्वनधमा नेपाल आयल निगमले तोके अनुसार हुने, सदरमुकाम धुलिखेल र आसपासका नगरपालिकाहरुको बजार क्षेत्र बाहेकका दुर्गम स्थानहरुमा नियमानुसार ढुवानी थप गरी दररेट कायम गरेको छ । त्यस्तै स्थानीय निर्माण सामाग्री उपलब्ध हुने खानी क्षेत्र आसपासका नगरपालिका तथा गाउँपालिका क्षेत्रमा निर्माण कार्य गराउनु पर्ने अवस्थामा सम्वन्धित खानीबाट दररेट लिई खानी देखि निर्माण स्थलसम्मको दुरी समावेश गरी दर विश्लेषण गरी जिल्ला दररेट भन्दा बढी नहुने गरी दररेट कायम गर्ने निर्णय गरेको छ ।
स्थानीय निर्माण सामाग्री खानी तथा खोलाबाट संकलन गर्न सकिने अवस्थामा नियम अनुसार संकलन र ढुवानी थप गरी दररेट कायम गर्ने बैठकले निर्णय गरेको छ । झोलुङ्गेपुलमा प्रयोग गरिने फलामका सामाग्री तथा अन्य सामाग्री र त्यहाँ कार्य गर्न मजदुरहरुको ज्यालादररेट संघ र प्रदेशले गरेको दर अनुसार हुने निर्णय गरेको छ । निर्माण कार्य गरिने आयोजनाहरुमा श्रमिक तथा मजदुरहरुको ब्यवासयजन्य सुरक्षा र स्वास्थ्यका अलावा बीमा लगायतका कार्यहरु सम्वन्धित आयोजनाको जिम्मेवारी लिने ब्यक्ति वा फर्मले गर्नु पर्ने निर्णय भएको छ । बढेको दररेट अनुसार ज्यामी, उच्च पहाडी क्षेत्रमा काम गर्ने ज्यामी, भरियाहरुको प्रति दिनको ज्याला ४० रुपैया बढेको छ । यस अघि ८ रुपैया प्रति दिन ज्याला लिने गरेकोमा यो वर्ष ८ सय ४० भएको छ । दक्ष कामदारको ज्यालामा ५४ रुपैया बढेको छ । १ हजार ९० रुपैयाबाट १ हजार १ सय ४४ पुगेको छ । अर्ध दक्षकामदारको ४५ रुपैया बढेको छ । ९ सय १० रुपैयाबाट ९ सय ५५ पुगेको छ । हेभिइक्वीमेन्ट अपरेटरको ९ सय ७० बाट १ हजार १८ पुगेको छ । सर्बे हेल्पर, पाले पिएन, चौकीदारको पनि ज्याला बढेको छ । सडक सुपरभाईजर, लेन म्यान, सुपरभाईजर, सहजकर्ता उत्प्रेरक, नाईट वाचमेन, सर्भेयर, चेन म्यान, स्वीपर, वेल्डर सहायक, पिच स्पे्रयर, पिच ब्यायलर, नर्सरी नाईके लगायतको पनि ज्याला बढेको छ ।
त्यस्तै ढुवानी भाडा अन्र्तगत गाडीद्वारा गराईने ढुवानी भाडा प्रति टन÷प्रति किलोमिटर १ रुपैया बृद्धी गरेको छ । पक्की सडक, ग्राभेल सडक र कच्चि सडकमा फरक फरक दररेट कायम गरिएको छ । पक्कि सडकमा १ रुपैया बृद्धी हुँदा ग्राभेल सडकमा २ रुपैया र कच्चि सडकमा ७ रुपैया बढेको छ । फरक फरक ढुवानीका सामान र ढुवानीका क्षेत्रका लागि १ रुपैया देखि २० रुपैयासम्मको दररेट बृद्धी गरिएको छ । मानिसले गर्ने ढुवानी भाडामा पनि बृद्धि भएको छ । सिभिल कार्य, स्यानिटरी कार्य लगायतका क्षेत्रको ज्यालाददरे बढेको छ ।





