काभ्रेपलाञ्चोक जिल्लामा एक वर्षमा २८ मुद्दा, ६२ पक्राउ
मोतीराम तिमल्सिना
धुलिखेल
‘काम सजिलो छ, नाफा धेरै छ’
काठमाडौंबाट सर्लाहीसम्म फैलिएको लागूऔषध सञ्जालमा युवाहरूलाई फसाउन प्रयोग गरिने सबैभन्दा सामान्य वाक्य यही हो । तर केही हजार रुपैयाँको लोभमा सुरु भएको यात्रा अन्ततः प्रहरी हिरासत, अदालत र जेलको ढोकासम्म पुग्ने गरेको छ ।
काभ्रेपलाञ्चोक जिल्ला पछिल्ला वर्षहरूमा लागूऔषध ओसारपसारको संवेदनशील ट्रान्जिट बिन्दुका रूपमा देखिन थालेको छ । विपी राजमार्ग, राजधानीसँगको निकटता, खुला सीमा तथा बेरोजगारीको फाइदा उठाउँदै लागूऔषध कारोबारीहरूले नयाँ–नयाँ तरिका अपनाइरहेका छन् । कहिले मोटरसाइकल वर्कसप, कहिले होटल, कहिले एम्बुलेन्स त कहिले यात्रुवाहक सवारी साधनलाई आवरण बनाएर लागूऔषध कारोबार भइरहेको तथ्य प्रहरीले उजागर गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम घोषणा गरिरहँदा प्रहरी तथ्यांकले भने जिल्लामा समस्या अझै गम्भीर बन्दै गएको संकेत गरेका छन् ।
एक वर्षमा २८ मुद्दा, ६२ पक्राउ
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार २०८२ साउनदेखि २०८३ जेठ मसान्तसम्म लागूऔषध सम्बन्धी २८ वटा मुद्दा दर्ता भएका छन्। सो अवधिमा ६२ जना पक्राउ परेका छन् । बरामद लागूऔषधमध्ये ट्रमाडोल ट्याब्लेट ७९२ वटा, पोल्याण्ड (ब्राउन सुगर) १ हजार ३९३ ग्राम, गाँजा २१ किलो ३६३ ग्राम तथा नाइट्राजेपाम ४४ चक्की रहेका छन् ।
२०८२ साउन–कार्तिकमा लागु औषध सम्वन्धी एउटा पनि मुद्दा दर्ता भएको प्रहरी रेकर्डमा छैन । २०८२ मंसिर महिनामा पाँचवटा मुद्दा दर्ता भई १० जना पक्राउ परेका छन् । उनिहरुको साथबाट गाँजा २.५७० केजी, ट्रमाडोल १९२ बरामद भएको थियो । त्यस्तै पौष महिनामा एउटा मुद्दा दर्ता भयो । चार जना सेवनकर्ता पक्राउ परेका थिए । माघ महिनामा चारवटा मुद्दामा ९ जना पक्राउ परे । उनिहरुको साथबाट प्रहरीले गाँजा ३०६ ग्राम, ट्रमाडोल ६०० बरामद ग¥यो । फागुनमा ६ वटा मुद्दामा ११ जना पक्राउ परे । गाँजा ५०६ ग्राम, ट्रमाडोल ८९ बरामद भएको प्रहरीले बताएको छ । २०८२ चैतमा चारवटा मुद्दाबाट ८ जना सेवनकर्ता पक्राउ परे । वैशाख २०८३ मा ६ वटा मुद्दा दर्ता भयो । जसमा १६ जना पक्राउ परे । उनिहरुको साथबाट गाँजा १८.१८१ केजी, पोल्याण्ड ८१८ ग्राम, नाइट्राजेपाम २३ बरामद भएको प्रहरीले जानकारी दिएको छ । जेठ महिनामा दुईवटा मुद्दा दर्ता भएका छन् । जसमा चार जना सेवनकर्ता पक्राउ परेको एसपी रविन कार्कीले जानकारी दिए ।
लागूऔषधको फैलँदो साम्राज्य
२०८२ असार २९ गते धुलिखेल–९ काभ्रेभन्ज्याङस्थित प्रहरी चेकपोस्टमा एउटा सेतो विंगर गाडी रोकियो । सामान्य देखिने गाडीको तलासी गर्दा हजारौं प्रतिबन्धित क्याप्सुल, ट्याब्लेट र एम्पुल फेला परे । अनुसन्धानले देखायो यसको मुख्य योजनाकार थिए सर्लाही कविलासी नगरपालिका–३ का राजकुमार राय ।
काठमाडौंको जडीबुटी क्षेत्रमा मोटरसाइकल वर्कसप सञ्चालन गर्ने राजकुमारले वर्कसपलाई नै लागूऔषध कारोबारको सम्पर्क केन्द्र बनाएका थिए । २०७९ सालमा लागूऔषध मुद्दामा दुई वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना भोगिसकेका उनी जेलमुक्त भएपछि पुनः पुरानै धन्दामा फर्किएका थिए । उनले होटल व्यवसायी रुपेश भुजेल, ज्यामी काम गर्ने हेलकुमार दमाई तथा आफ्नै भाइ राजेश रायलाई प्रयोग गरी सञ्जाल विस्तार गरेका थिए। प्रहरीले राजेश, रुपेश र हेलकुमारलाई पक्राउ गरे पनि मुख्य योजनाकार राजकुमार अझै फरार छन् । गाडीबाट २० हजार ९ सय क्याप्सुल, २ हजार ९ सय ५० ट्याब्लेट र १०९ एम्पुल बरामद भएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध अदालतमा मुद्दा दर्ता गरिसकेको छ । उनिहरु जेलमा छन् ।
रातको गाँजा, दिनको स्टेयरिङ
सवारी दुर्घटना न्यूनीकरण अभियान अन्तर्गत प्रहरीले २०८२ साउन १ गते पनौती ५ आईटी पार्क क्षेत्रमा चालक र सहचालकको स्वास्थ्य परीक्षण ग¥यो । पिसाब परीक्षण गर्दा पाँच चालक र तीन सहचालकमा गाँजा सेवन गरेको पुष्टि भयो । उनीहरूले बयानमा राति शरीर नदुखोस् भनेर थोरै गाँजा खाएका थियौं भने पनि प्रहरीले लागूऔषध मुद्दा दर्ता ग¥यो । प्रहरीले अघिल्लो दिन सेवन गरिएको गाँजाको असर २४ घण्टासम्म रहने भएकाले दुर्घटनाको जोखिम बढ्ने जनाएको छ । प्रहरी चेकिङ्ग निरन्तर भए पनि चालक र सहचालकहरुले लागु औषध प्रयोग गर्न छाडेका छैनन । यो क्रम दिनदिनै बढिरहेको छ ।
सीमाबाट भित्रिँदै ‘खैरो हिरोइन’
बनेपा क्षेत्रलाई केन्द्र बनाएर सञ्चालन भइरहेको खैरो हिरोइन सञ्जालले प्रहरीलाई समेत झस्काएको छ । अनुसन्धानका क्रममा प्रयोगकर्ताहरू सामूहिक रकम संकलन गरेर झापा हुँदै भारत पुग्ने, त्यहाँबाट दलालमार्फत खैरो हिरोइन खरिद गरी नेपाल ल्याउने गरेको खुलेको छ । एक ग्राम खैरो हिरोइन भारतमा करिब २५ सय रुपैयाँमा पाइने तर नेपालमा ५ देखि ६ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको पक्राउ परेकाहरूले बताएका छन् । यो प्रकरणमा संलग्न बनेपाका सुन व्यवसायी विकास विक अझै फरार छन् । उनले सुन तौल गर्ने डिजिटल तराजु प्रयोग गरी खैरो हिरोइन नापेर बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
एम्बुलेन्समा लागूऔषध
२०८१ मंसिरमा रोशी गाउँपालिका–९ मंगलटारस्थित प्रहरी चेकपोस्टमा बिरामी बोकेर काठमाडौं जाँदै गरेको एम्बुलेन्सबाट ३ हजार एम्पुल लागूऔषध बरामद भयो । एम्बुलेन्समा गम्भीर बिरामी बालक र उनका अभिभावक थिए। तर चालकको सिट पछाडि लुकाइएका झोलाहरूबाट नोफिन, डाइजेपाम र फेनारगनका ३ हजार एम्पुल फेला परे । चालक सुरेश मिझार कारागारमा छन् । एम्बुलेसका सन्र्दभमा सरकारी वकिल कार्यालयले सफ्ट कर्नरबाट अभियोजन दर्ता गरेको थियो । उनिहरुलाई सफाई दिएको छ । एम्बुलेन्स फिर्ता पठाईएको छ ।
सप्ताहव्यापी सचेतना अभियान
लागूऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा काभ्रेपलाञ्चोकमा असार ६ देखि शुरु भएको सप्ताहव्यापी अभियान भोलि असार १२ गते सम्पन्न हुनेछ । जिल्ला प्रशासन कार्यालयमा आयोजित समन्वयात्मक बैठकले विद्यालय, पुनस्र्थापना केन्द्र, होटल व्यवसायी, औषधि व्यवसायी तथा स्थानीय तहसँग सहकार्य गर्दै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार सबै क्षेत्रमा उक्त कार्यक्रमहरु आयोजना गरिएको थियो । कार्यक्रमअन्तर्गत चालक तथा सहचालकको लागूऔषध परीक्षण, विद्यालयस्तरीय सचेतना कार्यक्रम, पुनस्र्थापना केन्द्रमा विशेष कार्यक्रम तथा शुक्रबार भोली धुलिखेलमा वृहत् सचेतना ¥याली आयोजना गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी संयोजक रहेको जिल्ला समन्वय बैठकले उक्त निर्णय गरी सम्वन्धित सरोकारवाला निकायलाई कार्यक्रम संचालनका लागि अनुरोध गरेको थियो ।
संयुक्त राष्ट्रसंघका अनुसार विश्वभर लागूऔषध दुरुपयोगका कारण हरेक वर्ष करिब एक लाख ९० हजार मानिसको मृत्यु हुने गरेको छ । नेपालमा पनि १९६० को दशकपछि लागूऔषधको प्रयोग र कारोबार विस्तार हुँदै गएको मानिन्छ । विशेषज्ञहरूका अनुसार गाँजाबाट सुरु भएको लत धेरै प्रयोगकर्तालाई खैरो हिरोइन, ट्रमाडोल तथा अन्य कडा लागूऔषधतर्फ धकेल्ने गरेको छ । पुनस्र्थापना केन्द्रहरूको बढ्दो संख्या, सडक बालबालिकादेखि व्यवसायीसम्मको संलग्नता र सीमापार सक्रिय तस्करी सञ्जालले समस्या झन् जटिल बनाइरहेको छ ।
लागूऔषधले क्षणिक आनन्द दिन सक्छ, तर त्यसको अन्त्य प्रायः पीडा, अपराध र कारागारमै हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । त्यसैले अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस केवल औपचारिक कार्यक्रमको दिन नभई समाजलाई सचेत बनाउने अवसर पनि हो ।









