हरेक वर्ष कृषकहरुले बाली लगाउने बेला रासायनिक मलको अभाव हुन्छ। सरकारले रासायनिक मलमा अनुदान दिए पनि ब्यापारीहरुले सहकारीका नाममा मल खरिद गरी कृषकहरुलाई दोब्बर मुल्य लिई बिक्री गरिरहेका छन्। मुलुक लकडाउनको अवस्थामा रहँदा पनि कृषि क्षेत्रलाई अगाडि बढाउन कृषकहरुले गरेका प्रयास सार्थक बन्न सकेनन्। बाँझो जमिन खनजोत गर्न सरकारले अनुरोध गरेको छ। युवा तथा शहरी क्षेत्र प्रवेश गरेका अधिकांश मान्छेहरु गाउँ फर्किएको छ तर पनि ब्यक्तिले सहज रुपले कृषि क्षेत्रमा लाग्न सकेको छैन। धान, मकै तथा अन्य बालीहरुका लागि अत्यावश्यक रसायनिक मलको खपत धेरै भएको छ। गत वर्षको भन्दा धेरै खपत भईसक्दा समेत कृषकहरुलाई मलको अभाव छ। विक्री भईरहेको मल जान्छ कहाँ ? प्रश्न उठेको छ।
लकडाउनको अवधिमा अत्यावश्यक बस्तुको आयात निर्यात रोकिएन। गतवर्ष भन्दा यो भन्दा धेरै मल विक्री भएको तथ्याङ्कले देखाउँछ तर कृषकहरुले अझै पर्याप्त मल प्राप्त गर्न सकिरहेका छैनन्। मल प्राप्त गर्ने सहकारीले कृषकका नाममा मल लिएर ब्यापारीलाई विक्री गरेका छन्। समयमै पानी परेकाले खेती शुरु भयो तर मल छैन। मलका लागि जनप्रतिनिधिहरु, स्थानीयहरुको दैनिक दवाब आए पनि पूरा हुन सकेको छैन। २५ देखि ५० प्रतिशत बाँझो जमिन खनेका छन् तर मल छैन स्थानीय स्तरमा कृयाशिल नभएका सहकारीलाई मलको डिलर दिँदा दुरुपयोग भएको छ। त्यस्ता डिलर लिएका सहकारीले नक्कली कृषक खडा गरी मलको कालोबजारी गरेको फेला परेको छ। सहकारीका नाममा लिएको मल ब्यापारीलाई विक्री गर्ने सहकारीका पदाधिकारीहरुलाई कारवाही भएको छैन। भएको मल ब्यापारीहरुले लुकाउने र कृषकहरुलाई अभाव कायमै राख्ने गरेको भए पनि सरोकारवाला निकायले ध्यान पु¥याउन सकेका छैनन्। सहकारीले जनप्रतिनिधिको प्रमाणित पत्रका आधारमा मात्रै मल विक्री गरेको छ। गत वर्षको मल कहाँ कहाँ विक्री भयो भरपाई सहित जनप्रतिनिधिको प्रमाणित पत्रका आधारमा मात्रै मल विक्री वितरण गर्ने गरेको छ।
जिल्लामा डिलर लिएका अधिकांश सहकारीले ब्यापारीलाई ठेक्का दिने गरेका छन्। ठेक्कामा लिएका ब्यापारीहरुले कृषकहरुलाई नगद र उधारोमा दिने मुल्य फरक फरक बनाएका छन्। कृषि सामाग्री संस्थान धुलिखेलको बार्षिक युरिया ७ हजार मेट्रिक टन, डिएपी ६ हजार मेट्रिक टन, पोटास ३ सय मेट्रिक टन लक्ष्य थियो। बैशाखसम्म युरिया मल ६ हजार ७ सय २४ मेट्रिक टन युरिया, डिएपी २ हजार ७ सय ४१, पोटास ३ सय ४५ मेट्रिक टन विक्री भएको छ। लक्ष्य भन्दा धेरै मल विक्री गरिसक्दा समेत अभाव कायमै छ। साल्ट ट्रेडिङ्ग कर्पाेरेसन लिमिटेड बनेपा मार्फत १ सय ५० वटा डिलरलाई रासायनिक मल विक्री गरेको छ। युरिया मल ३० हजार क्विन्टल, डिएपी २० हजार क्विन्टल, पोटास ५ सय क्विटल, एसएसपी २ हजार ५ सय क्विन्टल, एसएसपी जिंक २ हजार क्विन्टल, एसएसपी वारेन २ हजार क्विन्टल, एसएसपी आल्मुनियम सल्फेयर मल विक्री भएको छ। कृषि सामाग्री संस्थानले ७० प्रतिशत र साल्ट ट्रेडिङ्ग कर्पाेरेसन लिमिटेडले ३० प्रतिशत मल आपूर्ति गर्दै आएका छन्। यति धेरै बिक्री भएको मल जान्छ कहाँ ? रहस्य र खोजीको विषय बनेको छ।









