2026 June 25/ 04:08: 43pm

बिक्री धेरै, अभाव उस्तै, मुल्य दोब्बर
मोतीराम तिमल्सिना
धुलिखेल

लकडाउनको अवधीमा अत्यावश्यक बस्तुको आयात निर्यात रोकिएन । गत वर्ष भन्दा यो भन्दा धेरै मल विक्री भएको तथ्याङ्कले देखाउँछ तर कृषकहरुले अझै पर्याप्त मल प्राप्त गर्न सकिरहेका छैनन् । मल प्राप्त गर्ने सहकारीले कृषकका नाममा मल लिएर ब्यापारीलाई विक्री गरेका छन् । 
‘अघिल्लो वर्ष चौरी देउराली गाउँपालिकाको वडा नम्वर ८ मा ६ सय ७५ बोरा मल खपत भएको थियो । यो वर्ष शहरबाट गाउँ फर्किएका स्थानीयहरुले बाँझो जमिन समेत खनेकाले ७ सय बोरा मल आवश्यक हुन्छ’– सहकारीकर्मी देवीप्रसाद पन्तले भन्नुभयो–‘कृषि सामाग्री संस्थान र साल्ट ट्रेडिङ्ग कर्पाेरेसनबाट ३ सय बोरा मल पुगेको छ । बाँकी मल कहिले आउँछ पत्तो छैन ।’ कृषक समेत रहनु भएका देवी पन्तले गत वर्ष भन्दा ४ सय बोरा कम मल प्राप्त गरेको बताउनु भयो । समयमै पानी परेकाले खेति शुरु भयो तर मल छैन । मलका लागि जनप्रतिनिधिहरु, स्थानीयहरुको दैनिक दवाब आए पनि पूरा हुन सकेको छैन । २५ देखि ५० प्रतिशत बाँझो जमिन खनेका छन् तर मल छैन । बिर्तादेउरालीमा १ हजार ६५ रुपैयाँमा मल प्राप्त गरेको कृषकहरुले बताएका छन् । 
स्थानीयस्तरमा कृयाशील नभएका सहकारीलाई मलको डिलर दिँदा दुरुपयोग भएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । त्यस्ता डिलर लिएका सहकारीले नक्कली कृषक खडा गरी मलको कालोबजारी गरेको फेला परेको छ । सहकारीका नाममा लिएको मल ब्यापारीलाई विक्री गर्ने सहकारीका पदाधिकारीहरुलाई कारवाही भएको छैन । भएको मल ब्यापारीहरुले लुकाउने र कृषकहरुलाई अभाव कायमै राख्ने गरेको भए पनि सरोकारवाला निकायले ध्यान पु¥याउन सकेका छैनन् । कृषि सामाग्री संस्थानका प्रमुख अशोक खड्काले सहकारीले जनप्रतिनिधिको प्रमाणित पत्रका आधारमा मात्रै मल विक्री गरेको बताउनु भएको छ । गत वर्षको मल कहाँ कहाँ विक्री भयो भरपाई सहित जनप्रतिनिधिको प्रमाणित पत्रका आधारमा मात्रै मल विक्री वितरण गर्ने गरेको प्रमुख खड्काले बताउनु भयो । चालु वर्षको हकमा भने मल विक्री मात्रै गरेकाले सबै सहकारी डिलरसँग त्यो विवरण माग गरि नसकिएको खड्काले बताउनु भयो । 
रोशी गाउँपालिका वडा नम्वर ९ मंगलटारमा रहेको मातृभूमि कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष ज्ञानेन्द्रकुमार तामाङले ८० बोरा युरिया मल धुलिखेलको कृषि सामाग्री संस्थानबाट खरिद गरेर लगे तर वडाका कृषकहरुका लागि मल पु¥याएनन् । वडा अध्यक्षको सिफारिस अनिवार्य भनिए पनि उनले गाउँपालिकाले पालिका भित्र भएका सहकारीको तर्दथ समितिको सिफारिसका आधारमा झुक्याएर मल उम्काए । कृषि सामाग्री संस्थान, कृषि ज्ञान केन्द्र, गाउँपालिका कार्यालय र वडा कार्यालयले उक्त मल रोशी गाउँपालिकामा नआएको बताए पछि कृषि सामाग्री संस्थानले उनलाई कृषकलाई मल बुझाएको भरपाई प्रमाणित गरेर ल्याउन भन्यो । तर उनले नक्कली कागजात तयार गरेर सामाग्री संस्थानमा बुझाउन सचिव तिर्थकुमार तामाङलाई पठाए । गाउँमा मल छैन यता ज्ञानेन्द्रले विक्री गरेको मलको छानविन शुरु भएको छैन । वडा अध्यक्ष जनम तामाङले मातृभुमि सहकारीका नाममा प्राप्त ८० बोरा मल कृषकहरुलाई विक्री नभएको बताउनु भयो । ज्ञानेन्द्रले धुलिखेलबाट मल लिएर पाँचखाल तथा आसपासका क्षेत्रका ब्यापारीहरुलाई विक्री गरी नक्कली सूची बनाएर बुझाएका थिए । 
‘ज्ञानेन्द्रले बुझाएकोे सुची नक्कली हो’– वडा अध्यक्ष जनमले भन्नुभयो–‘८० बोरा मल कसलाई कहाँ लगेर विक्री गरियो वडामा जानकारी छैन ।’ मल खरिद र विक्री गर्दा स्थानीय सरकारले प्रमाणित गर्नुपर्ने अनिवार्य भए पनि ज्ञानेन्द्रले त्यसो गरेनन् । बरु ब्यापारी मनसरोवर श्रेष्ठ, उनकै भाई मनोज श्रेष्ठ लगायतका ब्यक्तिहरुको नाम लेखेर नक्कली हस्ताक्षर आफैले गरेका छन् । रोशी गाउँपालिकामा मात्रै दोल्मो सेन्छेन कृषि सहकारी संस्था लिमिटेडले २ सय ४० बोरा युरिया, पञ्चकुमारी तरकारी १ हजार ६ सय ७३ बोरा युरिया, २० बोरा डिएपी, महेश्वर नमुना कृषि सहकारी १ हजार ८ सय ६६ बोरा युरिया र ३ सय ६७ बोरा, सुमेरु सामुदायिक कृषि फार्म ४९० बोरा युरिया र ५ बोरा डिएपी, सिर्जनसिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५ सय ३२ बोरा युरिया र ५० बोरा डिएपी, शिखर बचत तथा ऋण सहकारी १ हजार २ सय ४० बोरा युरिया, इलम कृषि सहकारी २ हजार १ सय ४८ युरिया र ३ सय १३ डिएपी र धर्मेश्वर कृषि सहकारीले ८० बोरा युरिया मल लगेको छ । अधिकांश सहकारीले धेरै मुल्य लिएको गुनासो आए पछि गाउँपालिकाले छानविनका लागि उक्त सहकारीहरुलाई कति रुपैयाँमा विक्री गरिएको हो ? स्पष्टिकरण सोधेको प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले बताउनु भयो । 
    जिल्लामा डिलर लिएका अधिकांश सहकारीले ब्यापारीलाई ठेक्का दिने गरेका छन् । ठेक्कामा लिएका ब्यापारीहरुले कृषकहरुलाई नगद र उधारोमा दिने मुल्य फरक फरक बनाएका छन् । कोशिपारीमा प्रतिबोरा एक सय रुपैयाँ थप पर्ने मल दाप्चा, रोशी क्षेत्रमा २ सय रुपैयाँसम्म थप हुने गरेको छ । सहकारीका नाममा ब्यापारीहरुले कृषकहरुसँग चर्काे मुल्य लिईरहे पनि सहकारीका पदाधिकारीहरु र अगुवाहरु कसैले आवाज उठाउने गरेका छैनन् । धेरै मुल्य लिएको गुनासो भन्दा पनि मल अभावको गुनासो धेरै भएकाले त्यसतर्फ कसैको पनि चासो छैन । कृषि सामाग्री संस्थानका प्रमुख अशोक खड्का र साल्ट ट्रेडिङ्ग कर्पाेरेसन बनेपाका प्रमुख सुरेन्द्र अवालेले गतवर्ष भन्दा धेरै मल विक्री भएकाले कसरी अभाव भयो भन्न नसक्ने बताएका छन् । ‘गतवर्ष भन्दा दोब्बर मल विक्री भएको छ’–अवालेले भन्नुभयो–‘कृषकहरुले सहकारीका नाममा लगेको मल कहाँ विक्री भएको छ र अभाव भयो भन्न सकिने अवस्था छैन ।’ 
    कृषि सामाग्री संस्थान धुलिखेलको बार्षिक युरिया ७ हजार मेट्रिक टन, डिएपी ६ हजार मेट्रिक टन, पोटास ३ सय मेट्रिक टन लक्ष्य थियो । बैशाखसम्म युरिया मल ६ हजार ७ सय २४ मेट्रिक टन युरिया, डिएपी २ हजार ७ सय ४१, पोटास ३ सय ४५ मेट्रिक टन विक्री भएको छ । लकडाउन अवधीमा मात्रै चैत्र र बैशाख महिनामा १४ सय ५८ मेट्रिक टन युरिया, डिएपी ८ सय ३४ मेट्रिक टन र २३ टन पोटास विक्री भएको छ । २०७६ श्रावण देखि २०७७ जेठ सम्म ७ हजार ७ सय मेट्रिक टन युरिया मल विक्री भएको छ । ३ हजार ५ सय ४८ मेट्रिक टन डिएपी र ४ सय ६७ मेट्रिक टन पोटास विक्री भएको छ । लक्ष्य भन्दा धेरै मल विक्री गरिसक्दा समेत अभाव कायमै छ । कृषि सामाग्री संस्थानका मात्रै ३ सय २० वटा डिलर छन् । 
    साल्ट ट्रेडिङ्ग कर्पाेरेसन लिमिटेड बनेपामार्फत १ सय ५० वटा डिलरलाई रासायनिक मल विक्री गरेको छ । युरिया मल ३० हजार क्विन्टल, डिएपी २० हजार क्विन्टल, पोटास ५ सय क्विटल, एसएसपी २ हजार ५ सय क्विन्टल, एसएसपी जिंक २ हजार क्विन्टल, एसएसपी वारेन २ हजार क्विन्टल, एसएसपी आल्मुनियम सल्फेयर मल विक्री भएको छ । कृषि सामाग्री संस्थानले ७० प्रतिशत र साल्ट ट्रेडिङ्ग कर्पाेरेसन लिमिटेडले ३० प्रतिशत मल आपुर्ति गर्दै आएका छन् । ३÷४ वर्ष कारोवार नगरेका सहकारीहरु पनि अभावको अवस्थामा मल खरिद गर्न आईरहेका छन् । चालु वर्षको बैशाखसम्म १६ हजार ३ सय ६६ क्विन्टल अर्थात ६१ हजार २ सय २९ बोरा युरिया विक्री गरेको साल्ट ट्रेडिङ्ग कम्पनीले गत वर्ष ३२ हजार ७ सय ३३ बोरा मात्रै विक्री गरेको थियो । मुल्य ८३३।५० पैसा युरिया, २२८३।५० रुपैयाँ डिएपी, १६८३।५० पोटास र १०७६ रुपैयाँ एसएसपी मलको पर्दछ । एसएसपी मल साल्ट ट्रेडिङ्गले मात्रै विक्री गर्दछ । महाभारतको सोला भञ्ज्याङ्गमा धुलिखेलमा ८ सय ३४ रुपैयाँमा प्राप्त हुने मल २ हजार रुपैया प्रति बोरा पर्ने गरेको छ । त्यहि मल पनि नकिनौ खेतबारीमा राख्न छैन, किनौं महङ्गो छ । 
संस्थान र कर्पाेरेसन दुबै तिर एकवर्ष देखि डिलरसिप दर्ता गर्न बन्द छ । पालिकाहरु आफैले डिलर सुचिकृत गर्नु पर्नेमा त्यसो हुन सकेको छैन । गाउँपालिका र नगरपालिकामा दर्ता भएका डिलरसिपहरु सक्रिय छैनन् । ति सहकारीले ब्यापारीलाई ठेक्कामा दिएर अनुदानको मल चर्काे मुल्यमा विक्री गरिरहेका छन् । प्रति बोरा २ सय देखि एक हजारसम्म धेरै मुल्य लिएका छन् । अनुमगन हुन नसक्दा कृषकहरु चर्काे मुल्य लिएर मल खरिद गर्न बाध्य छन् । एकातिर मल नै छैन भएको मल पनि चर्काे मुल्य तिर्नु परेको छ । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाका लागि धुलिखेलमा रहेको कृषि सामाग्री संस्थानबाट मल विक्री हुँदै आएको छ । खानीखोला, महाभारत, चौरीदेउराली, भुम्लु गाउँपालिकामा डिलरको संख्या कम छ । डाँडापारी क्षेत्रमा मलको मुल्य तेब्बर छ । डिलरहरु ठेक्कामा चलेका छन् । सहकारीका नाममा भएको ठेक्का, उधारो विक्रीका कारण ब्यापारीहरुले धेरै मुल्य लिएका छन् । साल्ट ट्रेडिङ्ग कर्पाेरेसन बनेपाका प्रमुख सुरेन्द्र अवालेले मलको माग धेरै भएकाले माग अनुसारको मल उपलब्ध गराउन नसकिएको बताउनु भयो ।