मोतीराम तिमल्सिना
काभ्रे
विश्वभर फैलिएको कोरोना भाईरसको महामारीका कारण खाद्यान्न संकट निम्तिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै गाउँ फर्किएका ब्यक्तिहरुले बाँझो जमिनमा खेती गर्न शुरु गरेका छन् । काम विशेष नेपालका विभिन्न स्थानमा पुगेका ब्यक्तिहरु महामारीका कारण गाउँ फर्किए पछि लकडाउन अवधीमा बाँझो जमिन खनी उत्पादन गर्न शुरु गरिएको हो ।
‘छोटो अवधीमा फलाउन सकिने तरकारी बाली तथा केहि महिना लाग्ने नगदे बाली लगाउने गरी योजना बनाउन सकियो भने खाद्यान्न सकंट हुँदैन’–कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोकका प्रमुख डा. जनार्दन खड्काले भन्नुभयो–‘अहिले गाउँ फर्किएकाहरु बाँझो जमिन खन्न थालेकाले उत्पादन बढ्न सक्ने सम्भावना छ ।’ जिल्लाको कुल क्षेत्रफल १ लाख ४० हजार ४ सय ८६ हेक्टर मध्ये भिरालो जमिन ५२.५ प्रतिशत अर्थात ७३ हजार ७ सय ३६ हेक्टर, कम भिरालो ४१.३ प्रतिशत अथार्त ५७ हजार ९ सय ९१ हेक्टर, बाँकी ५.१ प्रतिशत अर्थात ७ हजार २ सय ९२ हेक्टर मैदान, टार र उपत्यका क्षेत्रले ओगटेको छ । १.१ प्रतिशत अर्थात १ हजार ५ सय ६५ हेक्टर जमिन ग्रावेल, ढुंगा तथा नदिले ओगटेको छ । पाँचखाल, महादेवस्थान, भकुण्डेबेशी, शिखरआम्बोटे, मंगलटार, खोपासी, ताल्ढुंगा, बनेपा, पनौती, नाला, शंखु, कुशादेवी समथर भागमा पर्दछन् । कुल भूमि मध्ये करिब ९७.१ प्रतिशत क्षेत्र मध्य पहाडी क्षेत्रमा पर्दछ । २.८ प्रतिशत क्षेत्र सिवालिकक्षेत्र अन्र्तगत पर्दछ ।
उपत्यका लगायतका जिल्लाहरुका अलावा विदेशमा समेत काभ्रेपलाञ्चोक जिल्लाको उत्पादन निर्यात हुने गरेको छ । बर्षात्को समयमा भाद्र महिनासम्म ८० प्रतिशत पानी पर्ने काभ्रेपलाञ्चोक जिल्लामा साना ठुला गरी ४ सय ९२ वटा नदी, खोला, तथा झरना छन्् । सिंचाई नहुने स्थानहरुमा आकाशे पानीको भरमा भए पनि खेतिपाती गर्ने चलन छ । लकडाउनको अवधीमा निरन्तर वर्षात भएकाले बाँझो जमिन खन्न सक्ने र खनिएको जमिनमा तत्काल खेती गर्दा उत्पादन पनि राम्रो हुने विज्ञहरुले बताएका छन् । रासायनिक मल, विउविजनको स्थानीय सरकारहरु मार्फत समेत समन्वय हुँदा ग्रामिण क्षेत्रमा रहेका धेरै बाँझो जमिन मलिलो हुनेछ । ग्रामिण भेगमा बस्ने थोरै परिवार र उनिहरुका लागि मात्रै खान पुग्ने अन्न उत्पादन हुँदा अहिले गाउँ फर्किएकाहरुकै कारण अनिकाल लाग्न सक्ने सम्भावना बढेको छ । तत्काल काममा फर्कन नसक्ने अवस्थामा खल्तिमा भएको रकम पनि सकिएको र अन्न पनि घरमा सकिएकाले अनिकाल लाग्न सक्ने अनुमान स्थानीय सरकारले गरेका छन् । असार, साउन र भदौ तीन महिनामा बेथान्चोक गाउँपालिकामा मात्रै झण्डै २ करोडको खाद्यान्न आवश्यक पर्न सक्ने अनुमान गाउँपालिकाले गरेको अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बताउनु भयो । ‘राहत भन्दा काम दिएर ज्याला उपलब्ध गराउँदा सहज हुने अनुमान गरेका छौ’–अध्यक्ष तिमल्सिनाले भन्नुभयो–‘रोकिएका विकासका काममा खान नपुग्ने परिवारका सदस्यहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गराउँदा सहज हुने अपेक्षा गरेका छौं ।’
जिल्लामा वर्षे धान, चैते धान, गहुँ, मकै, कोदो, फापर, जौ, हिउँदे र बर्षे आलु, बर्षे र हिउँदे तरकारी, दलहन, तेलहन, सुन्तला जातका फलफुल, बर्षे फलफुल किवी, मसला बालीहरु अलैची, अदुवा, लसुन, बेसार, खोर्सानी, धनिया, मेथी, उखु, मह, माछा, च्याउ उत्पादन हुने गरेको छ । जिल्लामा सबैभन्दा धेरै तरकारी उत्पादन हुने गरेको छ । हरेक वर्ष यसको उत्पादन बृद्धि भएको छ । तर लकडाउनका कारण कृषकहरुले उत्पादन गरेको ताजा तरकारीले उचित मुल्य प्राप्त नगर्दा कृषकहरु समस्यामा परेका छन् । असिनाका कारण कृषि बालीमा थप क्षति पुगेको कृषकहरुले बताएका छन् । कुखुरापालन, भैसीपालन तथा अन्य पशुपंक्षीहरु पालन गर्ने कृषकहरु महामारीको चपेटमा परेका छन् । उत्पादन बृद्धि गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना काभ्रेपलाञ्चोक जिल्लामा पनि लागु भएको छ । जिल्लामा २६ जना कृषकहरु मार्फत तरकारी, मकै, धान, च्याउ, गोलभेडा, सुन्तला, अलैची, मौरी, आलु, कफि, कागती लगायतको ब्लक निर्माण गरी अनुदान उपलब्ध गराईएको छ । अनुदान प्राप्त कृषकहरुले उत्पादन गरेको विउ अन्य कृषकहरुका लागि उपलब्ध गराईने छ । कृषिमा सहज बनाउने उद्देश्यले साना कृषि सडक निर्माण र मर्मत गरिएको छ । प्राङ्गारिक कृषि प्रर्वद्धन मिसशन कार्यक्रम मार्फत कृषकहरुका लागि प्लाष्टिक घर सुधार, विस्तार, प्राङ्गरिक उत्पादन, समुह वा सहकारीहरुका लागि खुल्ला जमिनमा प्राङ्गरिक उत्पादन, भकारो सुधार लगायतमा अनुदान उपलब्ध गराईएको कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख डा. जनार्दन खड्काले जानकारी दिनु भयो । पुष्प ब्यवसाय प्रर्वद्धन कार्यक्रम अन्र्तगत ७ वटा नर्सरीलाई अनुदान उपलब्ध गराईएको छ । यतिखेर पुष्प विक्री हुन नसक्दा करोडांै रकम नोक्सानी भएको पुष्प ब्यवसायी संघ काभ्रेका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।
उत्पादन बृद्धिका लागि कृषि ज्ञान केन्द्र मार्फत आर्थिक वर्ष २०७५÷०७६ मा सहकारी सिंचाई, सहकारी खेती कार्यक्रममा कृषकहरुलाई ज्ञान केन्द्र मार्फत अनुदान उपलब्ध गराईएको छ । २ सय ६८ जना कृषकहरुका लागि कृषि यान्त्रिकरण अनुदानमा उपलब्ध गराईएको छ भने वन तथा वातावरण, रैथाने बाली प्रर्वद्धनमा अनुदान उपलब्ध गराईएको छ । अन्य थुप्रै कार्यक्रममा कृषकहरुले अनुदान प्राप्त गरे पनि सदुपयोग हुन नसकेको गुनासो आउने गरेको छ । यान्त्रिकरणको दुरुपयोग भएको गुनासो आए पनि स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारको अनुदानमा धमाधम यान्त्रिकरण उपलब्ध गराईएको छ । ग्रामिण भेगमा यान्त्रिकरणका कारण कम लगानीमा धेरै उब्जनी गर्न सक्ने अवस्था सिर्जना भएको कृषकहरुले बताएका छन् । वन तथा वातावरण कार्यक्रम मार्फत फलफुलको विरुवाका लागि ७ वटा सहकारी मार्फत हजारौ विरुवा अनुदानमा उपलब्ध गराईएको छ । रैथाने बाली प्रर्वद्धन कार्यक्रममा १२ जना कृषकहरुलाई कृषि यन्त्र, मिनिकिट, होमस्टेलाई किचेन सामाग्रीमा अनुदान उपलब्ध गराईएको छ । जिल्लामा रहेको भु–उपयोगका लागि उपयुक्त जमिन मध्ये २४ प्रतिशत खेत र ५५ प्रतिशत पाखोबारी खेती गरिएको छ । २१ प्रतिशत खेती नगरिएको तथ्याङ्क थियो । कार्यालयका अनुसार यो प्रतिशत आउँदो वर्ष घट्ने अनुमान गरिएको छ ।









