2026 August 11/ 02:47: 07am

तपाई लामो समयदेखि राजनीति जीवनमा सक्रिय हुनुहुन्छ, के छ काभ्रे हाँक्ने योजना ?
काभ्रे जिल्ला कम्युनिष्टहरुको उर्बर भूमि भनेर हामी बुझ्छौं । परिणामले पनि त्यस्तै देखाएको छ । चाहे ०६४ सालको चुनाव होस या त्यो भन्दा अगाडिको । गोविन्दनाथ उप्रेती, केशव बडाल, शिवबहादुर देउजाले जिते पछिको एक खालको कम्युनिष्टको उर्बर भूमि भनेर बुझ्दा फरक पर्दैन । यस सन्दर्भमा पछिल्लो चरणसम्म आउँदा पार्टी एकता प्रक्रियाले ढिला भएजस्तो भइरहेको छ । तरपनि अब यसलाई व्यवस्थित गर्न हाम्रो पार्टीले निर्णय लिइसकेको छ । अब पार्टीगत कामहरुलाई वडागत रुपमा लैजाने प्रमुख योजना रहेको छ । 
तपाई चर्चामा नरहनुभएको मान्छे, एक्कासी अध्यक्ष बन्नुभयो नि ?
    चर्चामा नरहेको भन्ने कुरै होइन, यदि काभ्रेमा चर्चामा रहेको महिला नेतृ छ भने त्यो मनै हुँ भनेर दावी गर्छु  । किन भने हिजो युद्धकालमा पार्टीको जिल्लाको सचिव भएर युद्ध हाँकिरहेको र मेरो नेतृत्वमा फौजी कारवाहीहरु भएको, संगठनहरु गठन भएको, युद्धकालदेखि युद्धमा होमिएर त्यसपछि पार्टीको नेतृत्व गरेर यहाँसम्म आउँदा मलाई लाग्छ मनै चर्चाको पात्र हुँ । तर त्यति धेरै ओझेलमा परेको हो जस्तो चाहिँ लाग्दैन । पछिल्लो समय ०६९÷०७० मा पनि काभ्रे जिल्लाको नेतृत्व तहमै छु । तर त्यति धेरै महत्वकांक्षी छैन म । मेरो प्रचारप्रसार बढी गरिदियोस् भन्ने चाहिँ म चाहँदिन ।  
रुकु चौंलागाई ‘रचना’ भन्ने को हो ? भनेर चासो व्यक्त गर्नेहरुलाई कसरी चिनाउनुहुन्छ ?
    रुकु चौंलागाई ‘रचना’ भनेको तत्काल जन्मेको पात्र होइन । यो एउटा लामो राजनीतिक जीवन व्यतित गरेको पात्र हो । जसले बढी राजनीतिमा चासो राख्नुहुन्छ उहाँहरुले मलाई बुझ्नु हुन्छ । राजनीतिक पात्रहरु सबैले सुनिरहेको नै हुन्छ । जनताहरुले पनि चिन्नुहुन्छ किनभने हजारौं काभ्रेली जनताहरुको बीचमा पुगेको मान्छे हुँ म । म त्यति धेरै मिडियामा नआउने भएकोले यो जिज्ञासा रहेको हुनसक्छ । एक्कासी पछिल्लो चरणमा कसरी देखा प¥यो भन्ने क्रममा हाम्रो जिल्लामा सिफारिस गर्ने कार्यदल बनेको थियो । त्यो कार्यदलको सदस्यमा म पनि थिएँ । दुईवटा पार्टीबाट २÷२ जना गरी ४ जनाको कार्यदल रहेको थियो । कार्यदलले काभ्रे जिल्लाको नेतृत्व कसले लिने भन्ने कुरामा कार्यदलले निर्णय लिन सकेन । निर्णय लिन नसकेपछि अन्तमा के गर्ने भन्दा सिफारिस गरौं भन्ने कुरा आयो । सिफारिस गर्दा पूर्व दुवै पार्टीको आ–आफ्नो ढंगले सिफारिस गर्ने कुरा आयो । काभ्रे जिल्लामा इन्चार्ज सूर्यमान दोङ ‘लालध्वज’ हुनुहुन्थ्यो । म संयोजक थिएँ । हामीले इन्चार्जलाई नै पार्टी अध्यक्षको लागि सिफारिस ग¥यौं । त्यसो भनेर म पार्टीबाटै ओझेल परेको चाहिँ होइन । त्यहि भएर चर्चामा नआएको हो । 
हिजो पूर्व एमाले, पूर्व माओवादीबाटै जिल्ला सदस्यहरुको सिफारिस भयो, अब जिल्ला सदस्यहरु के हुने भन्ने चर्चाको विषय बनेको छ ? अब कसरी अगाडि बढ्छ ?
    होइन, सर्कुलर नै भइसकेको छ । हामीले जिल्ला कमिटी सदस्यहरु पनि सिफारिस गरेका छौं । हामीले आ–आफ्नो     तर्फबाट नै सिफारिस गरेका हौं । जिल्ला कमिटीका सदस्यहरु अनुमोदन भइसकेको अवस्था छ । अब हामीले के मात्रै गर्न बाँकी छ भने मनोनयन गर्न पाउने १० प्रतिशत जिल्ला कमिटीको बैठकबाट गर्नेर्छाै । यसको लागि हामी पछि छलफल गर्छाैं । जिल्ला पार्टीमा छलफल गरेर यसलाई टुंग्याउँछौं ।
पहिलो जिल्ला कमिटीको बैठक कहिले बस्नुहुन्छ ?
    हाम्रो प्रदेशले निश्चित चार महिनाको कार्ययोजना पेश गरिसकेको छ । त्यस अन्तर्गत स्थानीय पार्टी कमिटीहरुको वैशाख मसान्तभित्र वडासम्म एकीकरण गरिसक्ने भन्ने पार्टीको योजना रहेको छ । त्यहि भएर हामीले जतिसक्दो छिटो छलफल गरेर पहिलो वैशाख वा जेठ भित्रै बैठक सक्ने योजना रहेको छ । अब हामीले ढिला गर्नु हुन्न । त्यसका लागि परामर्श गरेर छिट्टै बैठक आयोजना हुनेछ । 
पार्टी कार्यकर्ताहरुका लागि धैर्य गर्ने समय लामो भयो, पार्टी एकतालाई कसरी लैजाने योजना रहेको छ ?
    धैर्य गर्ने समय लामो भएकै हो । गत जेठमा पार्टी एकीकरण भएको थियो । अहिलेसम्म आइपुग्दा हामीले पार्टी एकीकरण गर्नुपर्ने भन्ने ठाउँ नै नराख्नुपर्ने थियो । यो कुरा पार्टी नेता लगायत हामी सबैलाई महसुस भएको छ । यसले गर्दा धेरै कुराहरु पछाडि परेको छ । पार्टीको समन्वयका कुराहरु पछाडि परेको छ । पार्टीले नै हो सबै कुरा निर्देशन गर्ने निर्धारण गर्ने । त्यो अनुसार नहुँदा कता कता मान्छेहरुमा विचलन पैदा भएको, कार्यकर्ताहरुमा निराशा छाएको हुनसक्छ । अब यो निराशालाई हामी उत्साहमा बदल्न सबैभन्दा पहिला हामी पार्टी कमिटी माथि देखि तलसम्म लैजान्छौं । त्यसपछि पार्टी र जनप्रतिनिधिबीचको सम्बन्धलाई मजबुद बनाउने प्रयत्न गर्छाैं । 
हिजोका दिनमा पाउनुभएको नेतृत्व र अहिले पार्टीको नेतृत्व लिइँरहँदा कस्तो महसुस गर्नुभएको छ ?
    पक्कै पनि फरक महसुस त छ । हिजो युद्धकालमा नेतृत्व गरिरहँदा पार्टी चेन अफ कमाण्डमा चल्थ्यो । आदेशको पालना गर्नुपथ्र्याे । तर अहिले हामी खुल्ला राजनीतिमा आएका छौं । हामी त्यसैको वकालत पनि गर्दै आइरहेका छौं । पार्टीले गरेका सबै कामहरु पनि सही नै छन् भन्ने पनि हुँदैन । त्यसो हुँदा ति कुराहरुप्रति नै सचेत गराउने अधिकार कार्यकर्ताहरु र जनतालाई पनि हुन्छ । हाम्रै नेताहरु जनप्रतिनिधि हुनुभएको छ । अहिले परिस्थिति फरक छ । अहिले यो खुल्ला राजनीतिमा घुलमिल हुँदै गएका छौं । त्यो कोसिस पनि जारी छ । तर हिजोको त्यो भूमिगत राजनीतिको नेतृत्व र अहिलेको यो नेतृत्व धेरै फरक छ । अहिले म आफैलाई चाहिँ कस्तो अनुभूति भइरहेको छ भने नेतृत्व त मैले हिजोदेखि नै गर्दै आइरहेको हो । अहिले खाली यो पार्टीको साइज मात्र ठूलो भएको हो । धेरै जनता, कार्यकर्तामाझ पुग्नु परेको छ । धेरै पक्षहरुलाई एक ठाउँमा केन्द्रिकृत गर्नुपर्नेछ । हामी फरक–फरक स्कूलिङबाट आएका मानिसहरु एक ठाउँमा उभिएर पार्टीलाई एकताबद्धरुमा लैजानु छ । चुनौंतीहरु पनि छन् । यी चुनौतीहरुलाई रचनात्मक ढंगले अगाडि बढाउन सक्छौं । यसमा सबै पार्टी नेता, कार्यकर्ताहरुको भूमिका हुन्छ । त्यो भूमिका सबैले पार्टी एकता गर्नका लागि निर्वाह गर्नुहुन्छ । मैले पनि आफ्नो भूमिका निर्वाह गर्छु । त्यसो हुँदा त्यो पूरा हुन्छ भन्ने मलाई आत्मविश्वास छ । 
कम्युनिष्ट पार्टीलाई अहिले लागिरहेको आरोप सत्तामा दुईतिहाइको दम्भ, कार्यकर्ताहरुमा निराश भन्ने छ नि ? 
    सत्तामा दुई तिहाईको दम्भ देखाए जस्तो मलाई लाग्दैन । सत्तामा जो भए पनि हुने यहि हो । कोहि पनि व्यक्तिले आजको भोलि चमत्कारिक रुपमा केहि गर्न सक्दैन । यो सब विधि प्रक्रिया र सिस्टममा चल्ने कुरा हो । अहिले हामी नितान्त नयाँ संरचनामा अघि बढिरहेका छौं । हामीले संघीयताको अभ्यास गरिरहेका छौं । सत्ताको सन्दर्भमा भन्नुपर्दा हामी अहिले सिक्ने प्रक्रियामै छौं । मान्छेहरुले आशाचाहिँ ठूलठूला छन् । अहिले यो अभ्यासको चरण हो भनेर नबुझिदिँदा कतिपय अप्ठेराहरु सिर्जना भएका छन् । कतिपय साथीहरु सत्तामा हुनुहुन्छ, पार्टीमा हुनुहुन्छ, पार्टी ठूलो बनेको छ, सबै साथीहरुलाई समान खालको भूमिका त हुदै हुँदैन । कुनै न कुनै जिम्मेवारी प्रत्येकलाई दिइन्छ । तर जिम्मेवारी यो र त्यो भन्ने हुँदैन । त्यसो हुँदा कार्यकर्ता साथीहरुले चिन्ता मान्नुपर्छ जस्तो मलाई लाग्दैन । हामीसँग हजारौं काम छन् । जनवर्गीय संगठन छन्, विभागहरु छन्, मोर्चाहरु छन्, पार्टी संगठनहरु छन् । त्यहाँ बसेर म नेतृत्व गर्छु भनेर चाहिँ हैसियत बनाउनुप¥यो । पार्टीले दिएको जिम्मेवारी यो पाए गर्छु त्यो पाए गर्दिन भन्ने चाहिँ हुँदैन । जे दिन्छ पार्टीले त्यो गर्छु भन्ने हुनुप¥यो । त्यो भए पछि बेरोजगार कोही पनि हुन्न । 
पार्टी एकता भइरहँदा पूर्व माओवादीलाई ४०, पूर्व एमालेलाई ६० भनेर टिका टिप्पणी भइरहेको अवस्थामा यहाँको नेतृत्वमा काभ्रे जिल्लामा के हुन्छ ?
पहिलो कुरा यो ४०, ६०, प्रतिशतको कुरा स्वीकार्दिनँ । हामीले यसरी दाँज्नु हुँदैन भन्ने मेरो आग्रह हो । प्रतिशतको कुरा हामीले हिजोका दिनमा चुनावमा गरेका थियौं । अहिले यो प्रतिशतको हिसाब भन्दा पनि आवश्यकताको आधारमा निर्णय लिनुपर्छ भन्ने मेरो आफ्नो बुझाई छ । त्यसरी नै भाग लगाएछ भने पनि यो प्रतिशतको आधारमा प्रचार प्रसार चाहि गर्नु भएन । त्यसले राम्रो सन्देश दिदैन । हामीले विधि बनाएर टुंग्याउने हो प्रतिशतमा भाग लाग्दैन । गुट उपगुटको कुरा गर्दा पनि यो कम्युनिष्ट आन्दोलनमा बढी देखिएको छ । तपाई हामीले चाहेर होइन भन्दा पनि दुनियाँले पत्याउनेवाला छैन । तर यो हुनु राम्रो होइन । गुट उपगुटले पार्टी बनाउँदैन । हामीले साँच्चैको परिवर्तन चाहेका छौं । हामीले समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना गरेका छौं, समाजवादको कुरा गरेका छौं । आज फेरि मेरो र तेरो तँ र म भन्ने खालको स्थिति भयो भने त्यसले पार्टीलाई राम्रो बनाउँदैन । त्यसैले हामीले कुनैपनि हालतमा योग्य, दक्ष, सक्षम, निरन्तरता सबै पार्टीको कार्यकर्ताहरुको मूल्यांकन गर्ने विधि तयार गर्नुप¥यो । यो विधि तयार गरेपछि यो गुटउपगुट किन चाहियो ? सबैले जनताकै लागि गर्ने हो नि । म कुनै पनि गुटको नेतृत्व गर्न चाहन्न । म सिङ्गो कम्युनिष्ट काभ्रेको नेतृत्व गर्न चाहन्छु । मबाट कुनै कमीकमजोरी, संकीर्णता देखिएछ भने साथीहरुले औंल्याईदिनुपर्छ । मेरो साझा व्यक्तित्व बन्ने अधिकतम् प्रयत्न हुनेछ । 
केन्द्रले तोकेको मितिमा अधिवेशन गर्ने सम्भावना कत्तिको रहेको छ ?
    पहिलो चरणमा हामी एकताकै कार्यक्रमलाई अगाडि लैजान्छौं । वर्षात अगावै एकताको कार्यक्रमलाई टुंग्याउँछौं । त्यसपछि विभागहरुलाई व्यवस्थित गर्छाै । करिब एक वर्षभित्र सबै व्यवस्थित गरिसक्छौं । त्यसभन्दा पछाडि पार्टीले तोकेको समयसीमाभित्र रहेर काम गर्नुपर्छ भन्ने मेरो बुझाई हो । म सिङ्गो जिल्लाका पार्टी गतिविधिहरु त्यतातिर केन्द्रित गर्न प्रयत्नरत हुन्छु । पार्टीलाई अकर्मण्यतामा फसाउनु हुँदैन । जसले गर्दा हामी माथि जनताहरुले प्रश्न उठाएजस्तो, सत्ताले गरेका राम्रा कामपनि जनताको सामु नपुगेको जस्तो, सत्ता र पार्टीबीचको समन्वय नभएको जस्तो देखिएको छ । यो चिजको अन्त्य गर्नलाई त सबैभन्दा प्रमुख त पार्टी हो । अहिले हामी मनोनीत हौं । पार्टीको आफ्नै संगठनात्मक विधि छ, त्यसअन्तर्गत रहेर पार्टीले तोकेको समयसीमाभित्र रहेर सकेसम्म अधिकतम कोसिस हुनेछ । काभ्रे पहिलो जिल्ला बनाएर देखाउन चाहन्छु ।
अहिले मनोनीत अध्यक्ष हुनुहुन्छ, एक वर्षभित्र जिम्मेवारी हस्तान्तरण गर्नु पर्ने दायित्व पनि छ, पुनः अधिवेशन हुँदा अध्यक्ष पदको प्रत्यासी हुनुहुन्छ कि संस्थापक अध्यक्ष बनेर विदा हुनुहुन्छ ?
भोलिको कुरा अहिले कसरी भन्न सकिन्छ र ? परिस्थिति कस्तो हुन्छ ? भोलिका दिनमा फेरि पनि हुनुपर्छ भन्ने आवश्यकता पो आउने हो कि ? साथीहरुलाई दिनुपर्छ भन्ने परिस्थिति पो आउन सक्छ कि ? यो अलि भन्न गाह्रो छ । तर त्यति धेरै रहर चाहिँ छैन मलाई । महत्वकांक्षी पनि छैन म ।
३३ प्रतिशत महिला सहभागिता नेतृत्वमा भएन नि ?
वास्तवमा यो प्रतिशतको कुरा जनसंख्याको आधारले हेर्ने हो भने ३३ प्रतिशत काफी होइन । हामी महिलाको दावी भनेको ५० प्रतिशत नै हो । अर्काे कुरा आरक्षण कोटाको पनि विरोधी हुँ । प्रतिस्पर्धामा महिला पनि जान सक्नुपर्छ । तर हजारौं वर्षदेखि पछाडि पारिएका महिला, उत्पीडित जातीय समुदायहरुलाई जसरी पार्टीले अहिले संरक्षण गरेर लग्नुपर्छ भन्ने छ यो संविधानमै व्यवस्था गरिएको छ । संविधानमै गरिएको व्यवस्था नपु¥याउनु चाहिँ त्यो पार्टीको कमजोरी हो । कि त ३३ प्रतिशत सुनिश्चित गरिएको भए हुन्थ्यो । यदि ३३ प्रतिशत सुनिश्चित गरिन्छ भने पार्टीले त्यो पु¥याउनु पथ्र्याे । यसमा चाहिँ पितृसत्ता भएको हो । अर्काेकुरा हाम्रो महिला नेतृहरु पुरुषहरुले जस्तो समय दिन नसक्ने पनि छन् । 
पछिल्लो समय स्थानीय तहमा त धेरै प्रगति भएको छ । पार्टीभित्र संघर्ष गर्नुपर्ने स्थिति छ महिलाहरुको । सुधार गर्नुपर्ने अवस्था छ । महिलाहरुले अझै पनि दृढता पूर्वक उभिनुपर्ने अवस्था छ । कम्युनिष्ट पार्टीले कुरा चाहिँ गर्ने काम गर्ने भन्ने हुँदैन । काभ्रे जिल्लाको सन्दर्भमा अब बन्ने कमिटीहरुमा अनिवार्य ३३ प्रतिशत महिला हुनै पर्छ भन्ने मान्यतामा छु । यदि प्रतिनिधित्व गर्न सक्ने महिला छँदै छैन भने महिलाको ठाउँमा खाली बस्छ । विधानमा पनि त्यहि छ । हामीले विधानमा व्यवस्था गरेको कुरालाई लागू गर्छाै कि गर्दैनौं भन्ने कुरा नेतृत्वमा भरपर्ने कुरा हो । म महिला नेतृत्व भएकोले काभ्रे जिल्लामा लागू गर्न अधिकतम् कोसिस गर्छु ।