2026 May 02/ 03:14: 10pm

    के चाहन्छन् आमाहरु ? वा महिला ? घरमा श्रीमान हुँदा हुँदै परपुरुषसँग विवाह गर्न के कुराले उत्प्रेरणा दिन्छ महिलाहरुलाई ? आखिर म पनि महिला नै हुँ  । महिला भएर सोचिरहँदा भन्न विवश छु घरमा भएको अंगालो भरीका श्रीमान्, तामाको मुुना जस्ता कलिला छोराछोरी छाडेर अन्यत्र जान कसरी सक्छन् होला ? ऐश, आराम, धन सम्पत्ति मान्छेको प्राथमिकतामा के पर्छ ? भोको मान्छेलाई भोक मेटाउनु पर्छ होेला । तिर्खा लागेको मान्छेले पानी खाएर प्यास मेटाउला । नाङ्गो मान्छेले कपडा खोज्ला । घर नहुनेले घर त्यस्तै त्यस्तै आवश्यकता होला । तर सबैथोक हुने मान्छे किन एउटा घर छाडेर अर्काे घरमा पुग्छ ? 
    हामी त्यस्तै आमाका सन्तान हौं । जसको आमा एउटा बाबु दुईवटा छन् । प्रविधि, विकास र पहुँचताले मान्छेलाई घमण्ड र आवश्यकता दुबै बढाउँदो रहेछ । गरिबी ब्यक्तिको मात्रै होईन घर परिवार समाज र राष्ट्रको शत्रु रहेछ । त्यसले घर सखाप बनाउँदै समाज र राष्ट्र सखाप बनाउँदो रहेछ । हामी त्यसकै चेपुवामा प¥यौं । धेरै लेख देखें, जो महिलाका हकहितका लागि लेखिएका रहेछन । हजारौं सभा समारोहमा केवल महिलाकै कुरा निस्किए । तर मौन भएर हजारौंको भिडमा उभिएको पुरुषलाई कसैले सोध्न सम्म भ्याएन । म पनि महिला हो । मैले पनि लेख्नु पर्दथ्यो । महिलाका गीत, आमाका कविता अनि महिलाको अधिकारको बारेमा । तर मैले लेखिनँ किनकी यहाँ महिला मात्र कहाँ हो र ! पुरुष पनि हिंसामा छन् । मेरै घरमा मेरै बाबु आमाबाट अर्थात महिलाबाट पीडित हुनुुहन्छ । 
    सबैको मुखबाट सुनिन्छ, पुरुषको मन कठोर हुन्छ । उनीहरु अक्सर सानो कुराले रुदैनन् अनि भन्छन, कति धेरै निर्दयी हुन्छन् यी पुरुष जाती ! तर कसैले यो देख्दैन उनीहरुका आँशु त सबै सकिन्छन, पसिना बनेर । जो हरेक दिन रात आफ्नो परिवारको लागि मिहेनेत गर्दा बग्छ । हरेक रात रोएर काट्दा पनि सधै मन्द मुस्कानका साथ उभिने पुरुष निर्दयी कसरी हुन् ? पुरुषको तलब अनि महिलाको उमेर कहिल्यै सोध्नु हुदैन भन्थे । किनकी महिलाहरु कहिल्यै आफ्नो लागि बाँच्दैनन् र पुरुषहरु कहिले आफ्ना लागि कमाउँदैनन् । मेरो बुबाले पनि परिवार र सन्तानका लागि केहि वर्ष खाँडी मुलुकमा दुःख गर्नुभयो । हाम्रै लागि भोको पेट बसेर पैसा पठाउनु भयो । त्यो पैसा हामीले कहिल्यै देख्न पाएनौं । आमाले जहिल्यै तिमीहरुकै लागि हो भन्नु हुन्थ्यो । बुबाले पैसा पठाउँदा पनि फोन गर्नुहुन्थ्यो । ३ वर्ष बुबा विदेशमा गएर फर्कँदा हाम्रो घरको सबै समस्या समाधान हुने सम्भावना पनि थिएन । भुकम्पले घर लडाएको थियो । सरकारले तीन लाख दिने थियो । पहिलो किस्ताको रकम र पहिलाको तत्कालको राहत रकम पनि लिएकै थियो । त्यो पैसा कता खर्च भयो थाहा छैन । बुबाले विवाहको बेला र पछि पटक पटक गरी पठाएको पैसाबाट बनाईएका केहि गहना पनि थिए । घर बनाउने कुरा कहिल्यै शुरु भएन । नियमित विद्यालय जाने, आउने र बाँकी रहेको समय घरको काम गर्ने गरेका थियौं । 
    घरमा केहि बस्तु पनि थिए । त्यसको रेखदेख आमाले नै गर्नु भएको थियो । तर उहाँको आवश्यकता के थियो ? हामीले कहिल्यै बुझ्न सकेनौ र आज पनि बुझ्न सकेको पनि छैन । भन्छन्, छोरी मानिस दुई घरको भाग्य लिएर जन्मिन्छन् । फेरी सबैले यो किन सोच्दैनन् कि छोरा पनि दुई घरको जिम्मेवारी बोकेर जन्मिछन् ? एउटी नारी सँगसँगै उसले आफ्ना जिम्मेवारी पनि अङ्गालेको हुन्छ, उसका जिम्मेवारीहरू पनि बढेका हुन्छन् । हर कोही भन्छन, आफु जन्मेको घर छुट्छ । तर यो किन सोच्दैनौ तिम्रो जीन्दगीमा अर्को घर पनि त जोडिन्छ, तिम्रो जिन्दगीको नयाँ सुरुवातमा तिमी सँगसँगै उसको नाम जोडिन्छ । जो तिम्रो जिन्दगीको महत्वपूर्ण पाटो बन्न पुग्छ । 
शीर मेरो, चुनरी तिम्रो नामको
सिउँदो मेरो, सिन्दुर तिम्रो नामको !!
देह मेरो, हल्दी तिम्रो नामको
हत्केला मेरो, मेहन्दी तिम्रो नामको !!
औँलाहरु मेरा, औँठी तिम्रो नामको
नाडी मेरो, चुरा तिम्रो नामको
गला मेरो, मङ्गलसुत्र तिम्रो नामको !!
    तर यो किन सोचेनौं, हामीले लगाउने सिन्दुर, चुनरी, हल्दी, मङ्गलसुत्र, चुरा, औँठी, त्यही पुरुषले लगाइदिन्छ जो हाम्रो लागी जीन्दगी भरी हामी सँगसँगै हाम्रो आमा बुवाको जिम्मेवारी उठाउन हामीलाई अटुट बाचा कसम दिइरहेको हुन्छ । जब तिमी कुनै पुरुषको नामको सिन्दुर लगाउँछौ भने दुःखी किन हुने ? उसको नामको भनेर उसले त झन् तिम्रो रंगिएको जीन्दगीलाई जीन्दगीभरी रंगाउने एउटा अटुट बन्धन दिएको हो । गलामा मंगलसुत्र बाँधिदिन्छन् र हामी भन्छौं उसको नामको । यो त तिम्रो जीन्दगीभरी तिम्रो रक्षाका लागि उसले दिएको अर्को बाचा हो । हरेक बुवा आमा आफ्नी छोरी पराई घर पठाउँदा आफ्नी छोरीको सुखसयल अर्को परिवार अनि केटासँग माग्ने गर्दछन् । हो त्यसैगरी अर्की आमाले पनि आफ्नी बुहारीबाट छोराको लागि सुख र खुसीको आशा बोकेकी हुन्छिन् । आफ्नी छोरी पराइ घर पठाउँदा निःशब्द हुने, दाइजोको बिरोध गर्ने बुवा आमाले आफ्नो छोरीले सुख पाओस् भनी ज्वाईलाई विदेश जान अनुरोध गर्दै लाखौ रकम लगानी गर्न राजी हुन्छन् । आखिर किन ? आफ्नी छोरी आफूबाट टाढा हुँदा शोकमा रुने बुवाआमाले किन त्यो घरको छोरोलाई पनि किन पराइ बनाउछन् होला । कैयौं ठाउँमा हामीले देखेकै कुरा हो । आफ्नो जिम्मेवारी पूरा गर्न कतिपय दाजुभाइ विदेशिनु परेको आफ्ना खुशी भन्दा अरुको खुसीको लागि जिन्दगी त्याग्नु परेको यहाँ पुरुष विदेश बसेर दुःख गरेर पसिना बगाएर सम्पति कमाउँछन् । केवल आफ्नो परिवारको खुसी र जिम्मेवारी पूरा गर्छन् । त्यही दुःख गरेर कमाएको त्यो रकम कुम्ल्याएर कैयौं नारी बेपत्ता भएका छन् । त्यस्तै परिवार भित्रको एउटा सदस्य हुँ म । 
    सँधै महिलाको हकहितका लागि आवाज उठे, महिला हिंसा विरुद्ध कैयौं कार्यक्रम, कैयौं गोष्ठी सेमिनार गरियो । तर त्यहीं ठाउँमा पुरुषका लागि न कुनै आवाज उठ्यो न त कुनै गोष्ठी सेमिनार नै भयो ।
कोही भन्छ्न, महिला हिंसा दिनानुदिन बढ्दै छ । महिलाहरु पीडित छन् । महिला हिंसा देख्ने हाम्रा यी आँखाले किन कहिल्यै पुरुष हिंसा देखेनन् ? आखिर कही न कही, कतै न कतै पुरुष पनि हिंसामा नै त छन् । खाना खाएको चिसो हात ओभाउन नपाउँदै आफ्नो कामको लागि दौडिन्छन् । भ्याई नभ्याई आफ्नो काम सकेर घर फर्किन जब सार्वजनिक बस चढ्छन्, बस्ने सिट भेटिदैन र पनि मौन हुन्छन् । चुपचाप उभिरहन्छन् । न कसैले सोध्छ थकाइ लाग्यो होला, गाह्रो भयो होला यता सिटमा बस भनेर । सधै अरुको लागि जिउँछन, अरुकै लागि कमाउँछन् र अरुकै लागि रमाउँछन् । मलाई अझै पनि याद छ, त्यो दिन केही महिना अगाडी साथीहरु सबै घुम्न गएको बेला सबैजना सामान किन्ने भनेर गयौं । सबैले यो लग्छु आमालाई, त्यो लग्छु आमालाई । अपशोच त्यहाँ म सँगसँगै कोही पनि थिएनौं जो बुवाको लागि केही किनिदिउँ, केहि लगिदिउँ भन्ने । यहाँसम्म कि केटाहरु पनि पोतेको लहरो झुन्ड्याएको पसल मै झुम्मिएका थिए, त्यति ठुलो भीडमा कोही कसैको मुखबाट सुनिएन ‘बुबा’ शब्द । न त मैले नै सम्झिए ।
    हो, आमा महान् छिन् । आमाको मूल्य अमुल्य छ । हामी जन्मिदाँ आमाको शरीरबाट कैयौँ लिटर खुन बग्यो होला । हामीलाई पिलाएको दश धारा दुधको मूल्य कसैगरी चुकाउँन सकिँदैन । म मान्छु, आमाले संसार देखाउँछिन् । नौ महिना कोखमा राख्छिन् । उनको पीडा उनको दुःख वर्णन गरी साध्य नै छैन ।
यही ठाउँमा बुवालाई राखेर हेरौँ त । जीन्दगीभरी आफ्ना सन्तान आफ्नो परिवारको लागि दुःख गर्दा उनको शरीरबाट बगेको पसिना के आमाको शरीरबाट हामी जन्मिँदा बगेको रगत भन्दा कम छ होला र ? उनीले सन्तानका लागि गरेको त्यो दुःख त्याग कुनै आमाको भन्दा कम छैन जस्तो लाग्छ । एउटा बच्चा जन्माउँदैमा आमा भइदैन जस्तो लाग्छ । यदि त्यसो हुँदो हो त दिनानुदिन जन्मँदै फालिएका कति अबोध बच्चा छन् । कति कोख मै मर्छन् । कति सडक मै सड्छन् । जसलाई तिनै आमाले जन्माएकी हुन । हो ! म मान्छु, जन्म दिने आमा महान् हुन्छिन् । तर जिम्मेवारी बोक्ने मेरो बुवा पनि मेरो लागि उत्तिकै महान छन् ।
    जब बुबा विदेशबाट नेपाल फर्कनु भयो । आमा घरमा हुनुहन्न । हामी छक्क प¥यौं । विद्यालयबाट हामी फर्कर्दै थियौं । आमा घरमा हुनुुहन्न । गाउँभरी हल्ला फैलिएछ । आमा परपुरुषसँग भएको सबै सम्पति लिएर जानु भयो । धिक्कार छ आमा त्यति मात्रै भन्न सकें मैले । बुबा आउनु भयो । खाली हात जानु भयो । फर्कदा कमाएको सबै सम्पत्ति पनि छैन । भुकम्पले ढालेको घर ठडिन सकेको छैन । हाम्रो भविष्य के हो ? कसो हो ? तर पनि उहाँले हाम्रो चिन्तालाई सहज ढंगबाट पूरा गर्ने बचन दिनुभयो । हाम्रो माया खोसिने डरले घरमा हाम्रो साथमा रमाउने प्रण गर्नुभयो । भत्किएको घरको जग राख्नु भयो । विग्रिन थालेको हाम्रो शिक्षालाई निरन्तरता दिनुभयो । यस्ता महान बाबु ? सायद धेरै स्थानमा होलान् तर पनि पुरुष मात्रै हिंसा गर्ने होईनन् हिंसामै परेका छन् । मनको बह जति पोख्यो उति हलुका हुने रहेछ । भाई र म विद्यालय नियमित जान थालेका छौं । हामीलाई छाडेर गए पछि आमाको अनुहार कहिल्यै देखेनौं । तर स्वर सुन्यौं । बुबालाई त्यो कुरा भन्न सकेका थिएनौं । धेरै पछि उहाँले थाहा पाउनु भयो । उहाँ खुशी त हुुनुहन्न तर फर्कन पनि सक्नु हुन्न । यस्तै रहेछ महिलाको जीवन । भोगाई । सोचाई । बस केहि क्षणको आवश्यकताले घर बिग्रियो । जीवन विग्रियो । सन्तानको दुःख र पीडाको श्राप लाग्यो । तर पनि हामी भन्छौं जहाँ छौ आमा तिमी खुशी होऔ । हामी सधैं बाबाकै साथमा खुशी रहने छौं । 

श्रेया घर्ती, भक्तपुर