रोशी गाउँपालिका ११, काभ्रेपलाञ्चोक।मेरो ठेगाना कागजमा यही हो, तर मेरो मन अहिले कतै पनि स्थिर छैन । गाउँमा मलाई धेरैले चिन्छन् । पहिले परिश्रमी छोरो भनेर, अहिले श्रीमतीले छोडेको लोग्ने भनेर । सम्बन्ध विच्छेदपछि मान्छेको नाम भन्दा अगाडि उसको पीडा हिँड्छ । विवाह सबैले देखेको खुसी, मैले भोगेको जिम्मेवारी । मेरो विवाह २०७० सालमा भयो । मायासँग । सबै ठीकठाक थियो जति गाउँमा देखाउन मिल्थ्यो ।
जिल्ला अदालतले भर्खरै पत्रकार सम्मेलन गरी आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गरेको रहेछ । जसमा सम्वन्ध विच्छेदका मुद्दाको सूची र संख्या ठुलो रहेछ । त्यो संख्यामा परेको मध्ये एक म पनि भएकाले मोराती स्तम्भ मार्फत आफ्ना पीडा पोख्दैछु । विवाहको असल सम्बन्ध पछि छोरी जन्मिइन् । सानो हातले मेरो औँला समात्दा मलाई लाग्थ्यो अब जिन्दगी यही हो । तर जिन्दगी भावना मात्रले चल्दैन । पैसाले पनि चल्छ । घरको खर्च, औषधि, खेती, बुबा–आमाको उपचार सबै मेरो काँधमा थियो । त्यसैले म विदेश गएँ । जहाँ शरीर जान्छ, मन यतै रहन्छ । कतार पुगेँ । दिनभरी फलाम बोक्थेँ, राति थकाई । फोनमा माया रुन्थिन् । तिमी यहाँ छैनौ, तिम्रो घरले मलाई एक्लै पा¥यो । म केही गर्न सक्दिनथेँ । फोनभित्र हात हालेर कसैको आँसु पुछ्न सकिँदैन । मैले पैसा पठाएँ । त्यही मेरो अपराध बन्यो । पैसा पठाएर दायित्व सकियो भन्ने सोच्ने ? उनी भन्थिन् ।
सायद ठीकै थियो । तर मसँग अरू विकल्प थिएन । फर्किएँ, तर घर फर्किन सकिनँ । २०७७ साल । कोरोनाले मलाई घर ल्यायो । तर घरमा माया थिइनन् । छोरी आमा–बुबासँग डराएर बसिरहेकी थिइन् । म माइत गएँ । ससुराले ढोका खोलेनन् । अब यहाँ नआऊ, उनले भने, हाम्रो छोरीले धेरै सहिसकी ? म केही बोलिनँ । बोल्न थालेको भए सायद थप दोषी ठहरिन्थेँ । कागजले छुट्याएको सम्बन्ध । २०७९ साल । जिल्ला अदालतमा सम्बन्ध विच्छेद दर्ता भयो । म एउटा नम्बर बनेँ । काभ्रेपलाञ्चोक जिल्लाको २ सय ३१ वटा सम्बन्ध विच्छेदमध्ये एक । १४१ वटा फछ्र्यौट भए, ९० बाँकी छन् भन्ने तथ्यांकमा मेरो जीवनको कथा हरायो । फैसला आयो । कागजमा लेखियो, सम्बन्ध विच्छेद भयो । तर कसैले लेखेन, मान्छे भित्रभित्रै भत्कियो ।
अदालत भन्दा कठोर फैसला । अदालतले त सम्बन्ध छुट्यायो । समाजले चाहिँ मलाई दोषी ठह¥यो । छिमेकी भन्छन्, श्रीमतीले नछोडी त कसैले छोड्दैन । आफन्त भन्छन्, अब त बिग्रिस् । म बजार जाँदाको खुशी मेरो पछिपछि आउँछ । म चुप लाग्छु । पुरुष रोयो भने कमजोर कहलिन्छ । जिन्दगीको सबैभन्दा ठूलो हार मेरो छोरी अनु । ऊ न त मेरी छेउमा छ,न त आमाको काखमा ढुक्क । कानुनी रूपमा ऊ अनाथ होइन । तर ऊ अभिभावकविहीन छ । उसले सोध्छे, बाबा, म कसको घरकी हो ? मसँग जवाफ हुँदैन । पुरुष पनि पीडित हुन्छन् ? म आजसम्म कसैसँग खुलेर रुइनँ । किनकी पुरुष भएर रुनु अपराध जस्तै मानिन्छ ।
सम्बन्ध विच्छेदमा महिला मात्र पीडित हुन्छन् भन्ने सोचमाथि मेरो जीवनले प्रश्न उठाएको छ । म हिंस्रक थिइनँ । तर म मौन पीडित हुँ । म बोल्न खोज्दा समाजले कान थुन्छ । सम्बन्ध विच्छेदपछि म एक्लो भएँ भन्ने होइन । मलाई एक्लो बनाइयो । पहिलो चोटि त्यो महसुस मैले घरको आँगनमै गरेँ । बिहान दूध लिन निस्किँदा छिमेकीले आँखा जुधाएनन् । पहिले भाइ भन्नेले अहिले नामै लिन छोडे । गाउँ सानो हुन्छ । यहाँ मान्छेभन्दा हल्ला छिटो हिँड्छ । श्रीमतीले छोडेकी भनेपछि केही त कारण होला ? यो वाक्य मैले सयौँ पटक सुनेँ । तर कसैले सोधेन, तिमीले के भोग्यौ? ससुराली, जहाँ म सधैं दोषी थिएँ । त्यहाँ जानु मेरो अन्तिम प्रयास थियो । छोरीका लागि । म बाबु हुँ भन्ने प्रमाण बोकेर । सासुआमाले मलाई हेरेर भनेकी थिइन, तँ आएर के हुन्छ ? अब उसलाई शान्ति चाहिएको छ । शान्ति भनेको के हो ? मान्छे टुटेपछि पनि चुप लागेर बस्नु शान्ति हो ? ससुराले स्पष्ट भने, हामीले अदालतमा जे भन्यौँ, त्यो नै सत्य हो । त्यहीँ मैले बुझेँ, सत्य पनि शक्ति हुनेको पक्षमा बस्दोरहेछ ।
छिमेकी र आफन्त, मौन हिंसाको घेराबन्दी बन्दा रहेछन् । कसैले गाली गरेन । कसैले हात उठाएन । तर सबैले मलाई अलग्याए । दशैं आयो । पहिले टीका लगाउन आउने आफन्त यसपालि आएनन् । एउटी काकीले त खुलै भनिन, अब त तँ सँग नजिक हुनु पनि ठीक लाग्दैन । किन ? म कुनै अपराधी होइन । म त सम्बन्धमा असफल भएको मान्छे हुँ । तर यहाँ असफलता, चरित्र दोष जस्तै हेरिन्छ । पुरुषको पीडा किन देखिँदैन ? म कहिलेकाहीँ सोच्छु, यदि म महिला भएको भए सायद समाजले अलि सुन्थ्यो । मलाई भनियो, पुरुष भएर यति कुरा मनमा राख्नु हुँदैन । तर मनलाई कसरी सम्झाउने ?
म निदाउन सक्दिनथेँ । रातभरी छोरीको अनुहार सम्झिन्थेँ । मसँग टाँसिएर सुत्ने बानी अहिले कसरी निभाइरहेकी होलिन् ? तर म त्यो कुरा कसैलाई भन्न सक्दिनथेँ । किनकी पुरुषको आँसु यहाँ कमजोरी मानिन्छ । मानसिक तनाव धेरै भयो । नदेखिने घाउ, म अस्पताल गएँ । डाक्टरले सोधे, के समस्या छ ? मैले भनेँ, निद्रा लाग्दैन । उनले औषधि दिए । तर औषधिले समाजको बोझ कम गर्दैन । म गाउँपालिकाको कार्यालय पुगेँ । कसैसँग परामर्श सेवा छैन । पुरुषका लागि त झन् सोचिएको पनि छैन । त्यही बेला थाहा पाएँ, सम्बन्ध विच्छेदमा पुरुषको पीडा संस्थागत रूपमा अदृश्य हुन्छ ।
मेरो छोरी अनु मसँग आउन चाहन्थिन । तर कानुनी प्रक्रिया, समाजको दबाब, सबैले मलाई टाढा राख्यो । स्कुलमा उसले चित्र बनाउँदा बाबा र आमा दुई फरक कुनामा कोर्थी रे । शिक्षिकाले मलाई भनिन्, उसले आफूलाई दोषी ठान्न थालेकी छ । म त्यो सुनेर बाहिर आएँ । र लामो सास फेरें । बच्चाले किन सजायँ भोग्नु पर्छ ? बाबुआमाको सम्बन्ध टुट्दा बच्चाको मन किन चुँडिन्छ ? तथ्यांक भन्दा बाहिरको पीडा काभ्रेपलाञ्चोक जिल्लामा २ सय ३१ वटा सम्बन्ध विच्छेद दर्ता छन् । कागजमा त्यो संख्या हो । तर हरेक अंकभित्र मेरो जस्तै कथा छ । १४१ वटा फछ्र्यौट भए । ९० बाँकी छन् । बाँकी भनेको के? कागज अड्किएको मात्र होइन, मान्छेको जीवन अड्किएको हो ।
म दोषी मात्र होइन, म बाँचिरहेको मान्छे हुँ । म आफूलाई सफाई दिन चाहन्नँ । सम्बन्ध टुट्न दुवै पक्ष जिम्मेवार हुन्छन् । तर म यो भन्न चाहन्छु, पुरुष पनि पीडित हुन्छन् । हामी बोल्न सक्दैनौँ, किनकी बोल्यौँ भने हिंस्रक ठहरिन्छौँ । हामी चुप लाग्छौँ ,त्यसैले दोषी ठहरिन्छौँ । सम्बन्ध विच्छेद पछि म गाउँमै छु । तर गाउँसँग छैन । मान्छेहरू बोल्छन्, हाँस्छन्, तर त्यो आवाज मसम्म आइपुग्दैन । म मेलामा जान छोडेँ, मेला–पर्वमा देखिन छोडेँ । किनकी जहाँ गएँ,मेरो पछाडि मेरो कथा आइपुग्थ्यो । यीनै हो त त्यो...? त्यसपछि चुपचाप हेर्ने नजर । कसैले सोध्दैन, खाना खायौ ? मन कस्तो छ ? किनकी समाजले पुरुषको मन हुँदैन भन्ने ठानेको छ ।
म पहिले गाउँको काममा अगाडि हुन्थेँ । टोल विकास समितिमा बोल्थेँ । अब बोल्न डर लाग्छ । मेरो कुरा कसैले सुन्न चाहँदैन भन्ने डर । यसले के नै बोल्छ र ? भन्ने भाव आँखामा देखिन्छ । एकदिन वडाको कार्यक्रममा म पछाडि बसेँ । एक जनाले भने, अब यस्ता मान्छेलाई अगाडि राख्नु हुन्न । त्यो वाक्यले मेरो छातीभित्र गहिरो चिरा पा¥यो । छोरीसँग भेट्ने समय सीमित भयो । कहिलेकाहीँ मात्रै । जब ऊ आउँछे, पहिलो दिन धेरै बोल्दिन । मलाई हेरिरहन्छे । सायद ऊ डराउँछे, बाबा फेरि हराउनु हुन्छ कि ? राति सुत्दा मेरो हात समातेर भन्छे, ममी रिसाउनु हुन्छ ? म के जवाफ दिऊँ ? बच्चाको मन । कानुनले बुझ्दैन । समाजले झन् बुझ्दैन । बाबु हुनुको अपराध । म उसलाई स्कूल छोड्न जान्छु । केही आमाहरूले आफ्ना बच्चा टाढा सार्छन् । सायद डराउँछन, म केही बिग्रिएको मान्छे हुँ कि भनेर । म बाबु हुँ । तर यहाँ बाबु हुनु पनि साबित गर्नुपर्ने हुन्छ ।
सम्बन्ध विच्छेद किन बढ्दैछ ? म एक्लो छैन । गाउँमै मेरा जस्तै अरू अनुहार छन् । कोही विदेशबाट फर्किएर घर नभेटेका छन् । कोही अदालत धाइरहेका छन् । सबैको कथा फरक देखिए पनि जरा एउटै छ, आर्थिक दबाब, वैदेशिक रोजगारी, संवादको कमी, परिवारको हस्तक्षेप, कानुनी प्रक्रिया बुझ्न नसक्नु तर दोष सधै ंव्यक्तिको टाउकोमा हालिन्छ । कानुन र समाजबीच अल्झिएको पुरुष कानुन भन्छ, दुवै बराबर । तर समाज भन्छ, पुरुष नै दोषी । त्यसैले म न त पूरै दोषी ठहरिन्छु,न त निर्दोष प्रमाणित । म बीचमै अड्किएको मान्छे हुँ । भित्रभित्रै थाक्दै गएको मन कहिलेकाहीँ लाग्छ, म थाकिसकेँ । तर थकाइ देखाउन मिल्दैन । किनकी थाकेको पुरुष कमजोर मानिन्छ । म खेतमा काम गर्छु । माटो खन्छु । सायद माटोले मेरो मनको बोझ थाम्ला भनेर । म बाँचिरहेको छु, यही प्रतिरोध हो ।
राज्यले सम्बन्ध विच्छेदलाई केवल कानुनी विषय नठानी सामाजिक संकटका रूपमा हेर्नुपर्छ । निःशुल्क परामर्श, बाल–मनोसामाजिक सेवा, पुरुषका लागि पनि सहायता केन्द्र आवश्यक छ । यी कुरा कागजमा होइन, जमिनमा देखिनुपर्छ । म अझै हार मानेको छैन । म थाक्छु । तर हार मान्दिन । मेरो छोरीका लागि म उभिनै पर्छ । यदि म ढलेँ भने उसले टेक्ने ठाउँ कहाँ पाउँछ ? म, माया र अधुरो संवाद, सम्बन्ध विच्छेदपछि पनि कहिलेकाहीँ म मायाको अनुहार सम्झिन्छु । घृणाले होइन, थकाइले । हामी अन्तिम पटक अदालतको बार्दलीमा भेटिएका थियौँ । न रोइन् उनी, न म बोलेँ । म भन्न चाहन्थेँ, हामी दुश्मन होइनौं । तर शब्द घाँटीमै अड्कियो । उनी पनि केही भन्न चाहन्थिन् होला । तर वरिपरी कान धेरै थिए ।
हामीबीचको सम्बन्ध त्यसरी टुटेको थियो, बोल्न नपाएर । म पूर्ण निर्दोष छु भनेर यो कथा लेखेको होइन । सायद म पनि समयमै फर्किन सकिनँ । सायद मैले उसको एक्लोपन बुझ्न सकिनँ । तर सम्बन्ध टुट्नु अपराध होइन । समाजले भने त्यसलाई अपराध बनायो । आफन्तसँगको अन्तिम दूरी आज म आफन्तको भीडमा पनि एक्लै हुन्छु । कसैले सिधै हेर्दैन । कसैले खुलेर सोध्दैन । मलाई थाहा छ, उनीहरू डराउँछन् । मेरो कथा उनीहरूको घरमा पनि नपुगोस् भनेर । छोरीसँगको भविष्यको सम्झौता । एक साँझ अनुले मलाई भनिन्, बाबा, म ठूलो भएपछि तपाईंलाई छोड्दिनँ । त्यो वाक्यले मेरो आँखा रसाए । म उसलाई भनेँ, छोड्नुपर्छ भने पनि छोड, तर आफूलाई कहिल्यै नछोड । सायद उसले बुझिन । तर म बुझ्थेँ, म उसलाई बलियो बनाउन चाहन्छु । तथ्यांकको पछाडि लुकेको मान्छे । काभ्रेपलाञ्चोकमा २ सय ३१ वटा सम्बन्ध विच्छेद छन् । तर ती २ सय ३१ कागज होइनन् । ती २ सय ३१ अधुरा सपना हुन् । २ सय ३१ टुटेका घर हुन् । २ सय ३१ बच्चाका प्रश्न हुन् । १४१ फछ्र्यौट भए । ९० वटा फैसला हुनै बाँकी छन् । तर फछ्र्यौट भएर पनि मान्छे फछ्र्यौट हुँदैन । पुरुष पनि पीडित हुन्छन् यो स्वीकार किन कठिन ? पुरुषले बोल्दा शंका गरिन्छ । चुप लाग्दादोषी ठहरिन्छ ।
त्यसैले धेरै पुरुष आफ्नो पीडा मनमै गाड्छन् । म यो कथा लेख्दै छ ुत्यसैको विरुद्ध । यो मेरो मात्र कथा होइन । यो ती सबै पुरुषको कथा होजो चुप छन् । समाधान अन्त्य होइन, सुरुवात म समाधानको ठेकेदार होइन । तर भोगेकाले केही भन्न सक्छ । सम्बन्ध विच्छेदलाई लाजको विषय नबनाऔँ । पुरुष–महिला दुवैका लागि परामर्श सेवा होस् । बच्चालाई केन्द्रमा राखेर निर्णय गरियोस् । समाजले दोष होइन, सहयोग गरिरहोस् । यी कुरा ठूला भाषण होइनन् । सानो मानवीयता हुन् । अन्तिम कुरा म अझै यहाँ छु । म मरेको छैन । म बाँचिरहेको छु । सम्बन्ध टुट्यो, तर मेरो अस्तित्व टुटेको छैन । म बाबु हुँ । म मान्छे हुँ । यदि तपाईंले यो कथा यहाँसम्म पढ्नुभयो भने सायद तपाईंले पनि बुझ्नुभयो, सम्बन्ध विच्छेद अन्त्य होइन, तर समाजको व्यवहारले त्यसलाई अन्त्य बनाइदिन्छ । म चाहन्छु, मेरो छोरीले ठूलो भएपछि यो कथा पढेर लाज होइन, बल पाओस् ।
दीपक घिमिरे
हालः भक्तपुर, सुडाल





