छोरीहरुको चरित्र र छोराहरुको भाग्य । के भन्या होला ? सानैमा बुबा आमाले भनेको यतिखेर सम्झिरहेको छु म । छोराहरुले चाहेर पनि केहि गर्न सम्भव रहेनछ । जन्म, मृत्यु, भाग्य । छैंटीले लेखेको भोग्नैपर्ने विवशता भित्र चिच्याईरहेको छु म । मान्छे, कानुन त आफ्नो भएन दैव तैले लेखि दिएको लेखान्त कहिले टार्छस् ? प्रश्न माथी प्रश्न जन्मिएको छ । रुँदा पनि छोरा मान्छे रोएको भनेर हेप्ने समाज छ हाम्रो । नरोउ मन भरीको पीडा कसरी पोखौं ? आधा गाग्रो पानी छचल्किन्छ । जीवन र घटना त्यस्तै भएको छ । उनी दोषी छैनन् र होईनन पनि । उनले अहिले पनि मलाई त्यति नै माया गर्छिन् । गरिरहने छिन् । उनको भावना विपरीत गरिएका सबै गतिविधिहरुले उनको मन रोएको छ । जलेको छ । मेरो मनमा पनि आगो दन्किएको छ । निभाउने एउटै बाटो उनको सन्तुष्टी हो । तर उनी उता तनावमा छट्टपट्टिएकी छिन् । म यता उनको याद र तड्पाईमा कानुनी उपचारमा छु । हो आज म दोषी देखिएको छु । भलै अदालतमा मुद्दाको किनारा लाग्न बाँकी नै छ । अहिले साक्षीहरु बुझ्ने क्रम जारी छ । मेरो बयानमा सबै कुरा खोलौला पनि । पछिल्लो समय पुरुषहरु महिलाद्वारा पीडित हुन थालेका छन् । हिजो एक समय थियो महिलाहरु पुरुषहरुबाट पीडामा परिरहेका थिए । अहिले समाज बदलिन थालेछ । धेरै पुरुषहरु महिलाबाट पीडित हुन थालेछन् । ऐन कानुन पनि महिला मैत्री बन्न थालेका छन् । आफ्नै श्रीमतीले चाहेको बखत श्रीमान् पाँच वर्षसम्म जेलमा बस्नुपर्ने भएको छ ।
महिलाहरुले जे गरे पनि हुने पुरुषहरुले चाँहि ठाडो शिर मात्रै ग¥यो भने पनि अपराध हुन थालिसके छ । उनिहरुकै प्रस्ताव, उनिहरुकै योजना, उनिहरुकै निर्णयमा सहमति जनाउँदा पनि उल्टो अपराधी बन्ने यो समाज, यो कानुन कसरी गरौं ब्याख्या ? अनुसन्धान सहि हुनु जरुरी छ । अनुसन्धान सहि हुन सकेन भने समाजमा अर्काे विद्रोह जन्मन सक्छ । अर्काे अपराध हुन सक्छ । कानुन बनाउँदैमा अपराध न्युनिकरण हुने होईन । कडा कानुनले झनै ठुलो ठुलो अपराध हुन सक्छ । त्यसतर्फ सरोकारवालाले ध्यान दिनु जरुरी छ । घरमा आर्थिक अवस्था राम्रो भएको भए कोहि घर छाडेर हिड्दैन थियो । केहि गरौ, केहि कमाउँ र बुबा आमालाई सुख दिऊँ भन्ने प्रायः अधिकांश सन्तानको उद्देश्य हुन्छ । केहि सन्तानले बाटो विराउलान् अलग कुरा हो । मेरो पनि उद्देश्य बुबा आमालाई सुख दिने भन्ने थियो । त्यहि उद्देश्य अनुरुप घर छाडेर कमाउनकै लागि निस्किए । छोरो मान्छेले लाज, घिन, सरम केहि मान्नु हुँदो रहेनछ । छोरी मान्छेहरुका पनि अनेक समस्या छन् । परिवारबाट अलग हुन छोराहरुलाई जति सहज छ छोरीहरुलाई छैन । छोराहरु घर परिवार आफन्त सबै त्यागेर मुग्लान जान एकाएक तयार हुन्छन् । सक्छन् । छोरीहरुलाई त्यो जन्जिर टुटाउन कठिन छ । कठिन जन्जिरको यात्रामा साथ दिने महान नारीहरुलाई अनेक आरोप लगाईन्छ । तिनै महान नारीहरुकै कारण आज मुलुकमा नारीहरुको हक अधिकार संरक्षण भएको छ । अधिकार दुरुपयोग गर्नेहरुको खेति पनि सप्रिएको छ । अधिकारकै लागि लडेकाहरु अधिकारबाट बञ्चित भएका छन् ।
पृथ्वी गोलो छ । घुम्छ पनि । कहिले वारी घाम लाग्छ कहिले पारी । विहान उदाएको घाम बेलुका अस्ताउँछ । हुरी, हावा, बतास जस्तो अवस्थामा पनि दिन रात भएको छैन । बादलहरुले पनि छेक्ने प्रयास गरिरहन्छन् । निरन्तर सुर्यले आफ्नो तेज, गतिलाई अगाडी बढाईरहेकै हुन्छ । जहाँ मैले भेटे तिमीलाई तिमी त्यहाँ फुलै फुलमा सजिएको भान थियो । शरीरमा जवानी, आँखाभरी बैंस चढेको थियो । हजारौं फुलको बगैचामा ढकमक्क फुलको गुच्छा जस्तै अझ भनौं पानीको गहिराईमा आफ्नै शुरुमा मौलाएको कमल जस्तो । त्यतिबेला यो मनमा केही आशा पनि पलाउन थालेको थियो । मनमा लाग्ने गथ्र्याे सधै यी दन्त लहरमा हाँसिरहन्छु । त्यही खुसीमा बाँचिरहन्छु । मान्छेको जिन्दगी सबैको अगाडी सबैको प्रिय भएर बाँच्छु भनेर गहिरो सोच राखेर हर दिन संघर्ष गर्दै गए । जीवनका केही समय रमाउँदै गए, बितेका संसारमा रम्न गए । जिन्दगीका हरेक सपनाहरू दिनरात थप हुँदै गए । उमेर बढ्दै गयो भएको जिन्दगी कसरी सहज तरिकाले कटाउने आशमा बितिरहे । मेरो सपनाको संसार बेग्लै थियो । जसोतसो जीवनलाई सहजै बुझ्न सक्ने जति विश्वास म प्रति थियो । जिन्दगीमा एउटा मौनताको विश्वास पाएजस्तो र विश्वासको बाँकी रहेन संसारमा जिउन खोजेजस्तो आभास भई रहन्थ्यो ।
प्रिय जिन्दगीले जबजब सफलता सँगै खुशी छर्दै गयो तबतब झन् जोस जाँगरले उल्लास हर्ष दिन थाल्यो । मैले खोजेको त्यही थियो जुन मलाई प्रिय जिन्दगीले दिईरहेको थियो । केवल देखावटी र बनावटी मात्रै त्यो मौलाएको फुल फेरि कहिल्यै मौलाएन, त्यो जवानी एकै चोटि हरायो सपना सपना नै रहे ती फुलका गुच्छाहरु एकाएक सुकेर माटो सबै मिस्सिएर गए । मिरमिरेमा देखेका सपनाहरू निद्रा नखुल्दै हराए जो साँच्चिकै अधुरा रहे । मेरो जीवनका लागि अपुरो भए । म अहिले पनि एक्लै हुँदा मेरो मनलाई बारम्बार सोध्ने गर्छु तिमीसंँग जिउनलाई एउटा साथी खोजिरहेको छु । एकपटक होइन बारबार सोधिरहेको छु तर सधै म मौनतामा बस्छु । यो जिन्दगी मौनताले हर समस्याको समाधान हुने भए म जीवनभर मौनतामा नै बस्न तयार रहन्थे । एकान्तमा डाँको छोडी रुनमन लाग्छ । विवश र बाध्यताले जतिनै रोए कराए पनि केही समस्याको समाधान हुँदैन । त्यो कुरा जानकारी हुँदा समेत यी आँखाको आँशु कहिले सुक्दैन । नाबालक सरी मेरो जिन्दगीको परीक्षामा धेरै पटक असफल भए ।
म अस्वस्थ छु । म साह्रै कमजोर छु भन्ने कुरा मलाई जानकारी हुँदा समेत मेरो जिन्दगीमा सँधै विभिन्न सवाल सोधि दिन्छ । यहाँ त्यही सवाल सँगै मैले देखेका ती सुगन्धित फुलहरु ओईलिएर जान्छन कि ? साह्रै चिन्ता लाग्छ । देखेका सुन्दर ति सपनाहरू कतै बिचैमा तुहिन्छन् कि ? भन्ने एकातिर चिन्ता लाग्छ जब बिहानीको शुभारम्भ हुन्छ त्यतिबेला मनमा खेलेका सपनाहरु जब सूर्य अस्ताउन लाग्दा क्षितिजको बस्तिमा मलाई एक्लो र निरास पारी दिन्छ । मेरो जीवनले मेरो कहानीलाई कहिल्यै बुझेन । हरेक घटनामा संघर्ष गर्दै मेरो यात्राका हरेक पलमा लाग्ने ठेस कहिले छुटेन । जिन्दगीको विषयमा केवल समयलाई भनौं भने समयसँग पर्खाल लगाउने यही जिन्दगी हो । नदेख्ने आँखा, नपग्लने मन र निर्दयी भावना भोगेको मेरो जिन्दगीले काहींकतै पनि मलाई स्वीकार गरेन । रंगिन सपनाहरू फिँजाएर अँध्यारोतिर धकेल्नु आफैलाई गलत सावित गर्नु हो । त्यो कुरा पनि थाहा हुँदा हुँदै आज त्यही गल्ती दोहो¥याईरहेको छु ।
यात्राको दौरानमा कतै फुल्नै नजानी ओईली झरे, कतै फुल्नै नपाएर फक्रिए । मैले देखेका सपनाका कोपिलाहरु बिचबाटोमै झरि दिए जहिले पनि मेरा दुःख जताततै गर्जिन थाले, कहानी सुन्दै रमाउन थाले । आफन्तहरु नत यो जिन्दगीले मर्नेहरुको नाउमा प¥यो नत बाँच्नेहरुको नाउमा प¥यो । खाली एक अन्धकारको पिठ्यूँमा उज्ज्वल भविष्यको लागि उज्यालो बोक्ने आश भन्दा अरु केही एक्लै जन्मेको मान्छेले किन बाँचुन्जेल अरुको साथ खोज्छ साथ नपाउँदा आफुलाई अनेकौ उपनामबाट किन चिनाउँछन् । यहाँ, सायद कल्पनाको भन्दा यथार्थको जीवन जिउन एकदमै फरक भएर होला सोचेको जिन्दगी अनि भोगेको जिन्दगी फरक पनि हुन सक्छ । यहाँ बाहिरबाट सोच्ने गर्छन् होला मेरो जिन्दगी एकदमै खुशी छ । एउटा मैन बत्तिको पीडा कति हुन्छ भन्ने कुरा । जब बत्ती बल्छ जतिबेलासम्म उज्यालोको प्रकाश दिन्छ त्यो बेलासम्म सहारा लिन्छन् जब उ निभ्छ त्यसको महत्व कति हुन्छ भन्ने कुरा एक उदाहरण मात्र हो । जब पवित्र जीवन सरल बुझ्नेहरु केवल दुई दिनको मोज मस्तीका लागि आफ्नो असली रुप देखाईरहेका हुन्छन् । जीवनलाई अथ्र्याउन नसक्नेहरूले मोजमस्तीमै पूरा जीवन बिताउँछन् । पीडामा पौडी खेल्ने त म जस्तै हुन् जो जीवनलाई सुन्दर बनाउन दिनरात लडे सँधै अन्धकारले घेर्छ अन्धकारमै बित्छन् कतिपय दिन अनि रात ।
हरदिन गलिरहेको छु, जलिरहेको छु केवल मेरो जीवनको यथार्थतालाई पछ्याउँदै जीवनको परिभाषा दिनेहरूले आ–आफ्नो मत राखे पनि वास्तवमा जीवन के हो ? अहिलेसम्म मैले बुझ्न सकेको छैन । एकचोटी सम्झिन्छु बाल्यकालमा बोकेको हलो र जुवा पढाई खर्चका लागि काला पहाड गएर बिताएका ति पलहरु आजसम्म हारसँग लड्नसमेत आँट नआउने दिन आए । बाबाका फुटेका खुट्टा र आमाको फाटेको चोली जब सम्झिन्छु अनि मलाई वास्तविक जीवनको सम्झना आउँछ । आखिर जीवनमा के गर्न सकियो र ? कहिलेकाँही घर सम्झिँदा रुन मन लाग्छ जिन्दगी सम्झिँदा मरे जस्तो लाग्छ । सपनाहरू पुतली जस्तै छन् जो हरेक बिहानीको मिरमिरेमा उदाउँछन् । समात्न खोज्छु धेरै पर पुगिदिन्छन् ।
सिरम खत्री
भक्तपुर









