2026 May 02/ 02:05: 24pm

    मेरो विवाह भएको लगभग दुई बर्ष बितिसकेको थियो । अन्तर्मुखी स्वभावका २८ बर्षीय रमेश म भन्दा ५ बर्ष जेठो उमेरका हुन् । सुन्दर जीवन साथी पाउँदा निकै हर्षित र दङ्ग थिए । म पनि दङ्ग नै थिएँ । झट्ट हेर्दा हाम्रो जोडी कता कता अमिल्दो देखिन्थ्यो । पातलो, अग्लो कदका रमेश युवा अवस्थामै अलिक कुप्रो देखिन्थे । नाक लामो भएकोले होला आँखाहरू खोपिल्टा भित्र पसेको भान हुन्थ्यो । परिवारकै सहमतिमा हाम्रो मागेर भएको थियो ।
    विवाहका शुरुका दिनहरुमा श्रीमानसँग बोल्न लाज हुन्थ्यो । उनिसँग भन्दा पनि परिवारसँग बोल्न झनै लाज लाग्थ्यो । पछिल्ला दिनहरूमा रमेशको सामीप्यतामा रहँदा बस्दा निकै खुलेर हाँस्ने बोल्ने भएकी थिएँ । उनको अभिभावकत्वले मलाई सहज बनाएको थियो । हरेक कुरामा उनले सिकाउँथे । विवाह भएका दिनहरूमा रमेशलाई सबैजनाले जिस्काउँथे । हुँदा–हुँदा अफिसमा पनि रमेश सर भाउजू त साह्रै राम्री पो पाउनु भएछ । क्या लक्की हुनुहुँदो रहेछ भनेर जिस्क्याउने गरेका थिए । रमेश केही नबोली मुस्कुराएर स्वीकारोक्ति जनाउँदै आउने गरेका थिए । मेरो रुपको प्रशंसा गरिरहँदा कसैले म माथि आँखा लगाईहाल्ने पो हो कि भन्ने डरले रमेशलाई खाइरहेको हुन्थ्यो । मेरो ह्दय खुल्ला थियो । फरासिली स्वाभाव थियो । जो सँग पनि हाँसेर बोल्ने गरेको थिएँ । मिलनसार र अर्काको दुःख पीडामा सदैव सहयोग गर्न तत्पर मेरो  हरेक व्यवहार मन पराउने भए पनि रमेशलाई म अरुसँग चाँडै नजिकिएको र हाँसेर बोल्ने बानी मन पर्दैनथ्यो । तर पनि खुलेर विरोध भने गर्न सकेका थिएनन् । मैले स्नातकोत्तर सकेको थिएँ । रमेशकै सहमतिमा निजी कलेजमा अध्यापन गर्न थालेको थिएँ । 
    दिनहरू बित्दै गए । हामी दुबै आ–आफ्ना काममा व्यस्त रहन्थे । गाउँघरमा शिक्षित महिलाको अभाव भएकोले कुनै पनि संघ संस्थाले आफ््नो कार्यक्रममा सहभागी हुन मलाई अनुरोध गर्दथे । म  आफ्नो व्यस्त समयको बाबजुद पनि सामाजिक कार्यमा सहभागी गराउँथें । समाजमा रहेर केही परोपकारी काम, सेवा गर्न पाउँदा आनन्दको महसुस हुन्छ । यो चाहना पछि गएर यो एउटा नशाको रुपमा विकसित हुन पुग्यो । धेरैजसो समय बाहिर व्यतित हुन थालेको बोध हुन थाल्यो । उसले मेरो सामाजिक कार्य प्रतिको लगावमा रोक लगाउन नचाहेको हैन तर बिद्रोह गर्न सकेको थिएन । उसलाई डर यो थियो कि यस्ता कार्यहरूले बाहिरी व्यक्तिहरूसँगको सम्पर्क बढ्दै जाने र आफूलाई बिर्सन सक्ने सम्भावना प्रबल रहला । शारीरिक रुपमा पनि म निकै सुन्दर थिएँ । हरेक केटा मान्छेहरुमा त्यस्तो ईष्र्यालु, शंकालु स्वभाव हुन्छ होला त्यो रमेशमा पनि थियो । रमेशलाई शंकालु बानीको बिजारोपण भएको थियो । सामाजिक कार्यका अनेक पाटाहरु थिए । समाजमा केहि न केहि हुँदा मलाई नै भन्ने गर्दथे ।  घर झगडा हुँदा पनि प्रहरीकोमा जानु प¥यो भने पनि मलाई नै भन्थे । म प्रहरीकोमा पनि गई दिने गरेको थिएँ । सिडिओ कार्यालयमा पनि जाने गरेको थिएँ । सामुदायिक प्रहरीको योजना भर्खरै आएको थियो । त्यहाँ पनि जाने गरेको थिएँ । आफै काम गर्ने, अध्ययन पनि गर्ने भए पनि मलाई खर्चको पनि अभाव थिएन । श्रीमान्ले पनि दिने भए पनि झनै सहज थियो । सबै कुरा मनमा नराखी आदान प्रदान हुँदा पनि उनको मनमा केहि न केहि थियो । त्यो हो शंका । 
    कसैले उनलाई भनिदिएको रहेछ । रमेश दाई भाउजू त आज सामुदायिक प्रहरी बिटमा हुनुहुन्थ्यो । निकै हाँस्दै हुनुहुन्थ्यो । होस् गर्नुस् है । महिलाहरु यसरी खुलस्त भएको राम्रो संकेत हैन । छिमेकमा बस्नेहरुको वा राम्रा महिलाहरु देखेर लोभ गर्ने पुरुषहरुका यस्ता कपटपूर्ण स्वार्थले भरिएका कुराले  रमेशलाई आगोमा घिउ थपिने काम हुन थाल्यो । भाउजू आज पनि घरमा हुनुहुन्न ? रमेशजी होस् गर्नुस् है, भाउजू राम्री हुनुहुन्छ । फेरि उडाउँलान् नि कसैले ?? केही महिना यता सुनिदैँ आएक यस्ता अभिव्यक्तिहरूलाई पचाउँदै आएका रमेशलाई साँच्चै नै असह्य हुन थालेको थियो । जागिर अनि त्यस माथि सामाजिक कार्यमा व्यस्त मेरो व्यवहार अनि अरूले सुनाएका भाँडभैलो कुराहरूले रमेशलाई घोत्लिएर सोच्न बाध्य बनाउँदै लगेको थियो । श्रीमान् रमेशले एक दिन सिनेमा हेर्न जाऔ है । हिजो अफिसमा साथीहरूले च्यारिटी सोको टिकट ल्याएका रहेछन् । मैलेपनि दुईवटा ल्याएँ । रमेशको यो प्रस्ताव शनिवार छुट्टीको दिन हुँदा–हुदै किन आयो ? केहि समय घोत्लिएँ र भनें हिजो अस्ति भन्नु भएन । आज एउटा संस्थाको कार्यक्रममा प्रमुख अतिथी भएर जानुपर्ने छ । के गर्ने ? अरु कुनै दिन जाउँला नि हुन्न ? मेरो त्यस्तो प्रस्तावमा उनले चुपचाप हुन्छ भनेर टाउको मात्रै हल्लाए । केही बेरपछि म बाहिर निस्किए । उनका मनमा नाना भाँतीका तर्कना आउन थालेका थिए । खाटमा पल्टेर रमेशले धेरै बेर सोचेका थिए । किन मलाई समय दिन्न ? मैले चाहेको समयमा म किन उसलाई पाउँदिन ? के साच्चै नै बाहिर चलेको हल्ला जस्तै निशा घर बाहिरकै दुनियाँमा हराउन थालेकी हुन् वा मसँग समय व्यतित गर्न चाहन्नन् । पक्कै पनि निशाको कुनै सम्बन्ध स्थापित भएको छ ? हैन भने मेरा हरेक प्रस्ताव किन सहर्ष स्वीकार्दिनन् ? श्रीमान् रमेशको मनमा यस्ता तर्कना आउन थाले । मनमनै यस्ता कुराहरुले डेरा गर्न थाले । 
    मानसिक रुपमा विक्षिप्त हुन थालेका रमेशको अन्तर्मनमा चल्ने यस्ता द्वन्द्व शान्त पार्न चुरोट साथी बन्न थाल्यो । चुरोटको धुवाँसँगै उडाउँदै वायुमण्डलमा पु¥याउँदै बडो विचारणीय हुने गर्दथ्यो । उनीप्रतिको शंका गर्ने प्रवृत्ति ह्वातै बढेर गयो । विरोध भने गरिहाल्न सकिरहेका थिएनन । भित्र–भित्रै पाक्दै थियो । धमिराले गुँड लगाएको पर्वत झैं खोक्रो हुदैं गएको थियो । विवाह गरेर उनलाई बाधक त भएको छैन ? उनी भन्दा म के कुराले अयोग्य भएँ ? उनी साच्चै मसँग खुशी छैनन् ? बनको बाघले खाओस् नखाओस् मनको बाघले रमेशलाई बिस्तारै खाँदैँ थियो । झुस्स दाह्री पालेको हेर्दा बिमारी झैं देखिने रमेशलाई रिसाहपन, चिडचिडाहपनले बिस्तारै गाँज्दै लगेको थियो । म भने यी कुराहरू किन हुदैँछन् भन्ने खबरबाट बेखबर थिएँ । सधैँ हाँसी खुसी बोल्ने रमेशमा देखिएका यस्ता परिवर्तन देखेर म अचम्मित हुन थालेकी थिएँ । कहिलेकाहीं किन यस्तो हुदैँछ भनेर जान्न नखोजेकी पनि हैन । तर रमेशको अन्तर्मुखी स्वभावको कारण जड पत्ता लगाउन मलाई हम्मे हम्मे परेको थियो । चैतको महिना थियो । बाहिर हुरी बतास चलिरहेको थियो । तर त्योभन्दा बढी हुरी मेरो मन भित्र चलिरहेको थियो । त्यसदिन रमेश कतै बाहिर गएर हतार हतार घर प्रवेश गरेको थियो । सँगै खाना खाने प्रतिक्षामा बसेकी थिएँ । कोठामा एक प्रकारको सन्नाटा छाएको थियो । जाउँ सँगै खाना खाउँ । उनले मेरो आग्रह सुने नसुने झैं गरी टेबलमा एउटा फाईल राख्दै त्यसमा हस्ताक्षर गर भन्यो । म कुनै रहस्यमय घटनाको पर्दाफास गर्ने व्यक्ति झैं शंकास्पद हेराईले त्यो फाईल पल्टाउँदै गएँ । एक्कासी म छाँगाबाट खसे झैं भएँ । 
    तिमी मसँग खुसी छैनौ, मलाई थाहा छ । त्यसैले म तिमीलाई स्वतन्त्रता दिन चाहन्छु । यो सम्बन्ध विच्छेदका कागजातहरू हुन् । हस्ताक्षर गर । यति भनेर उ बाहिर निस्कियो । पुरै ब्रम्हाण्ड नै आफू माथि खनिए झैं महशुस भयो । जीवनका हरेक खुड्किलाहरूसँगै उक्लने सपना बोकेकी मैले अब कसैले त्यो सिसा फुटाए झैं चकनाचुर पार्न खोजे जस्तै आभास गर्न पुगें । मलाई चिच्याउन मन लाग्यो । आवाज भित्रभित्रै दबिएको भान हुदैँ थियो । गला अवरुद्ध भएको थियो । कोठामा मुर्दा शान्तिले साम्राज्य जमाएको थियो । म प्रश्न गर्न चाहन्थें कहाँ नेर मेरो गल्ती भयो ? जीवन जिउने क्रममा मैले के मिलाउन सकिन ? कसरी रमेशमा यस्ता गलत सोचाईहरू आए ? किन शंकाको डोरीले कस्सिएर बाँधियो रमेश ? के साँच्चै मैले दिने मायामा कमी भएकै हो ? म कहाँ चुकेछु ? सबैभन्दा भाग्यमानी अनुभव गरिरहेकी म भ्रममा पो रहेछु ? कसरी रमेश मेरो लागि बाधक भयो ? म रमेशसँग खुसी छैन ? के मैले नै गल्तीहरू गरेको हुँ त ? रमेशका ईच्छा, मनोकांक्षाहरू पुरा गर्न नसकेकै हुँ ? म त आफूलाई सबैभन्दा परिपक्क र समझदार छु भन्ने सोच्थें तर हैन रहेछ कि क्या हो ? यस्ता अनगिन्ती प्रश्नले मलाई रिङ्ग्याउँदै थियो । म मानसिक रुपले क्षतबिक्षत हुन पुगें । 
    रमेशले त्यसरी रक्सी पिएर आउला भन्ने सोचेकी पनि थिईन मैले । आफ्नो शरीर थेग्न नसक्ने भएर आएको थियो । तैपनि म आफ्ना भावनाहरू व्यक्त गर्न आतुर थिएँ । आफू कसरी दोषी भएँ । निर्दाेष साबित गर्न के गर्नुपर्छ ? सबै गर्छु भन्ने बचनबद्ध हुँदा समेत रमेश ढुङ्गाको मुर्ति झैं अडिग रहन गयो । आफूले त्यस्तो नराम्रो काम केही नगरेको र रमेशलाई प्रेम गरेको जिद्दी गर्दै सम्बन्ध विच्छेद नगर्न अनुनय विनय गरें । हारगुहार मागें । उ टसमस भएन । मानौं, ऊ कान नसुन्ने भएको थियो । बोल्न नसक्ने भएको थियो । सक्दै नसक्ने अवस्था भएको हो भने बोझ किन बन्नु ? श्रीमान्हरुको कठपुतली मात्रै हुन् महिला ? उनिहरुको भावना बुझ्न नसकेको भन्दै वा उनिहरुले भनेको जस्तो नगरेको आधारमा तत्कालै सम्बन्ध विच्छेद हुनुपर्ने ? महिलाहरुका कति चाहना र सपना पूरा भएका छैनन् होला ? कसले बुझ्छ त्यो भावना ? एक पटक भावना बुझेर हेर्ने कोसिस किन नगरेको होला ? आफै प्रमाणित गर्न किन नलागेको होला ? अरुले जे सुनायो त्यो नै सत्य हो र ? कौवाले कान लग्यो भन्दैमा कौवा लखेट्न जाने कि कान छाम्ने ? 
    केहि दिन पछिको कुरा हो । मार्च ८ अर्थात नारी दिवसको दिन थियो । म महिला आयोगले आयोजना गरेको अन्तरकृयात्मक गोष्ठीमा सहभागी हुन निस्किएको थिएँ । सडकमा सवारीसाधनको भीड थियो । निकै बेरसम्म बाटो नखुलेपछि म गाडीबाट ओर्लिएर अगाडि पुगें । मान्छेहरुको भिड रहेछ । म भीडमा के भएको रहेछ भनेर हेर्न थालें । त्यहाँ एकजना पुरुष थियो । सबैले उसनलाई मानसिक सन्तुलन गुमेको भनेर जिस्काई रहेका थिए । उसले बाटो छेकिरहेका थिए । म छक्क परें । तत्कालै एम्बुलेन्स बोलाएँ । उ त्यहि रमेश थियो । उसको त्यो अवस्था देखेर मलाई दया लाग्यो । अस्पतालमा पु¥याए पछि डाक्टरहरुले भने बिरामी अहिले सामान्य अवस्थामा छ तर ऊ शारीरिक रुपले भन्दा पनि बढी मानसिक रुपमा अशक्त भएको हुदाँ तत्कालको लागि औषधीभन्दा पनि माया, स्नेह, प्रेमले नै सन्चो हुन्छ । म स्तब्ध भएँ । निकै बेर सोचे पछि मैले आफ्नै कोठामा लगें । उनमा चेतना शुन्य बराबर थियो । कहिलेकाहीं बर्बराउँथे । उनले मेरो नाम पनि लिने गरेका रहेछन् । अनि डर मान्दै उनी निशामा हातहरू समात्न पुग्थे । विस्तारै उसलाई निको हुँदै गयो । आफ्ना स्मृतिहरूको प्राप्ति पश्चात उसले मप्रति गरेको ब्यवहार सम्झेर आफूलाई धिक्कार्न थाल्यो । त्यो निस्वार्थ प्रेमले उसलाई आत्मग्लानी गराई दियो । निश्चल, अबोध नारीमाथि अरुको चुक्ली सुनेर दिएको प्रताडनाहरू सम्झदैं उसले अपराध बोध गर्न थाल्यो । आफूलाई कुनै अपराधी झैं बोध गर्दै माफी माग्ने अठोट ग¥यो । म अनुत्तरित हुन्छु । म कतै भावनामा विलिन हुन पुग्छु । अनन्त गहिराईमा । सायद म त्यस्तो कि उ ? पुरुष त्यस्ता कि महिला ? प्रश्नहरु अनुत्तरित छन् । सायद विगतको सम्बन्ध विच्छेद भावनामा र कागजमा दुवैमा थियो । अहिलेको सम्बन्ध भावनाले जोडिन पुगेको छ । 

निशा राउत
भक्तपुर