नयाँ संविधान, नयाँ कानून । पुरानै कानूनको ब्यवस्थाले घाँडो गराएको छ । जीवनका अनेक दुःखहरु मध्ये सबैभन्दा ठुलो दुःखको पोको थियो त्यो । ब्यक्तिलाई मात्रै होईन परिवार र समाजलाई समेत धक्का दिने घटनाले मलाई घोचिरहेको छ । पोलिरहेको छ । घाउ चह्याईरहेको छ । कता जाउँ के गरौं छटपटाई रहेको छु । सन्तान हुर्कँदै गएपछि हुने अभिभावकलाई चिन्ता र चासो भनिसाध्य छैन । सानो हुँदा मर्लान् भन्ने डर भयो ठुला भएपछि उनिहरुले नै मार्लान् भन्ने डर हुन लाग्यो । सन्तान हुर्केर अभिभावकलाई शान्त हुन्छ, अभिभावकले सुख पाउँछन् भन्ने कुरा मेरो दिमागबाट हट्दै जान थालेको छ । मरि जाउन भनेर छाडि दियो भविष्य के हुन्छ ? त्यसरी जान थालेका सन्तानहरुको दुःख र पीडा हेरि साध्य छैन ।
धिक्कार छ छोरीको जीवन । बरु खेतबारीमा खन्याउने मलको डोकोको महत्व हुन्छ, छोरीको महत्व त्यति पनि नहुने रहेछ । बारीमा पुगेको किसानले मलको डोको खन्याउन सोच्छ कहाँ निर खन्याँउदा राम्रो हुन्छ ? छोरी, जसले जन्म दियो, हुर्कायो, बढायो, पढायो उसैले उसको भावना विपरीत इज्जत जोगाउने नाममा, दायित्व पूरा गर्ने नाममा भावना नै नबुझी अर्काको घरमा पठाईदिन्छ । उसले कर्तब्य पूरा ग¥यो होला, त्यसको जिम्मेवारी लिनेहरुले पनि सोच्नु पर्छ होला मान्छेको मन सबैको एकैखालको हुन्छ । कसैको दुख्ने, कसैको नदुख्ने ? मान्छे कठोर, क्रुर, धोकेबाज, अवसरवाद, स्वार्थी हुँदो रहेछ । सोझोपनको फाईदा उठाउँदै मान्छेले मान्छेलाई गर्ने ब्यवहारले उसको दरिद्रता प्रष्ट हुन्छ । समाज यहि हो, लाञ्छना विनाको संघर्ष, संघर्ष विनाको जीवन अपूरो जस्तै हुने रहेछ । छोरी, बुहारी अझ भनांै महिलाहरुसँग प्रतिस्पर्धा गर्न सकिएन भने ? उनिहरुको स्वाभिमानलाई पचाउन सकिएन भने केहि न केहि आरोप काफी हुने रहेछ ।
थुप्रै भोगाई, पीडाबाट गुज्रिएका नेपाली चेलीहरु शिक्षित हुँदाहुँदै पनि झनै पीडामा बाँचिरहेका छन् । अशिक्षित महिलाहरुको जीवन, दुर्गम बस्तिको भोगाई अझै कस्तो होला ? औंशीको रात जस्तै निस्पट अँध्यारोबाट उज्यालो खोज्ने साहस छ तर साहारा छैन । आँट छ तर विश्वास छैन । श्रीमान् छैन भनांै जिउँदै छन् । छन् भनौं भने तिनको सामीप्यता छैन । श्रीमान् बितेका महिलाहरुले एकल जीवन बिताउँदाको पीडाहरु जति छन् श्रीमान् भएर एकल जीवन बिताउँदाका पीडा अझै बढि लाग्दो रहेछ । छैन भने मन नै एकोहोरो हुने, बुझाउन सकिने भएर पनि त्यस्तै ब्यवहार गरेपछि मन बुझाउँनै कठिन । चाडपर्व आउँछन्, अझ महिलाहरुको विशेष चाड तीज । श्रीमान्ले जे गरे पनि ब्रत बसिन्छ । उनकै दीर्घायु र सु–स्वास्थ्यको कामना गरिन्छ । विश्वास छैन तर पनि छाड्न सक्दिनँ । सँस्कृति, परम्पराले मान्छेलाई अन्धो बनाउँदो रहेछ । त्यहि अन्धोपनबाट म बाहिर निस्कनै सकेको छैन । श्रीमान् भए पनि नभए पनि, उसले माया गरे पनि नगरे पनि, चासो राखे पनि नराखे पनि म उसकै लागि ब्रत बस्छु । उसकै जीवनको दीर्घायुको कामना गर्छु । यो मेरो भ्रम र यथार्थता दुवै हो । यसबाट म मुक्त हुनै सक्दिनँ । धेरैले भन्छन् लोग्नेले दिएको यस्तो चरम यातनाबाट मुक्त हुन अर्काे किन विवाह नगर्ने ? जन्मदिने बाबु आमा, दाजुभाई इष्टमित्रले समेत उमेरमै लोग्नेले दिएको भोगाईबाट बिर्सन अर्काे विवाहको जरुरी भएको सुझाव दिन्छन् । मेरो मन मान्दै मान्दैन । एउटा लोग्ने जसले अग्नि साक्षी राखेर सिन्दुर चढायो । उहि आफ्नो हुन सकेन भने अब हुने विवाह, दोश्रो श्रीमान्ले कसरी ममता दिन सक्छ ? मान्छेको जात शंका, उपशंका गर्दै हत्या समेत गर्न सक्ने अवस्थामा त्यस्तो खुशी दिने दोश्रो सम्बन्ध कसरी हुन सक्छ ? हरेक जन्मदिन सबैका लागि महत्वपूर्ण लाग्छ । मेरा लागि त्यो नर्क जस्तै लाग्छ । किन जन्म दियौ भगवान मलाई ? सम्झन्छु, रुन्छु, रुँदा रुँदा कतिबेला थाक्छु, आँखा विजाउन थालेछु सम्झन्छु अब आँशु सकिए होला ? केहि क्षणमै रुन आउँछ फेरी आँशुको बाढी बग्न थाल्छ । यति धेरै रुँदा पनि किन भगवानले ज्यान लिन सकेनन् । पटक–पटक त्यस्तो प्रयास नगरेको होइन । तर पनि लगेनन् । दुई छोरी र दुई छोराको सानो परिवारको खुशी दैवले उतिबेलै चुँडेर लगेका थिए । बुबा आमाले दुःखै गरेर भए पनि छोराछोरीलाई शिक्षा दिनुपर्छ भनेर अध्ययन गराउनु भएको थियो । परिवारको एक्लो छोरी भएकाले सबैको आँखाको नानी भएको थिएँ । पढाई कमजोर भयो । एसएलसी सोचे जस्तो भएन तर पनि पास हुन्छु भन्ने लाग्या थियो एक विषयमा अनुतिर्ण भएछु । भाग्यमा ठगेकाहरुले गर्न के सक्छन् र ? त्यहि सम्झिएँ र पुनः एसएलसी दिएँ पास भएँ । छोरीहरुलाई झनै पढाउनु पर्छ भन्ने बुबाआमाको मान्यता थियो ।
नर्स बन्न चाहन्थें । एसएलसीमा फेल भएकाले मेरो सपना चकनाचुर भएको थियो । + २ अध्ययन गरेर घरमा फर्कदा घरभरी मान्छे रहेछन् । उनिहरु सबै मेरो विवाहका लागि आएको थाहा पाएँ । आमाबुबाले मलाई चिया, खाजा बनाउन लगाउनु भयो । जबकी मैले उहाँहरुलाई भनेकै थिएँ तत्काल विवाह गर्ने मेरो योजना छैन । भर्खर अध्ययन गर्दै छु, मेरो सपना पनि थुप्रै थिए । त्यसलाई पुरा गर्न पनि मैले विवाह गरेर सक्दिनँ । मैले चाहेकै भए त त्यतिबेला पनि प्रेम गरेर भाग्न सक्थें होला नि ? बुबा आमाको एक्लो छोरी उहाँहरुको भावनामा ठेस पु¥याउन हुँदैन भनेर आएका प्रस्तावहरुलाई पनि अस्विकार गर्दै अगाडि बढिरहें । कुरा त्यस्तो भएन । मैले विवाह गर्नुपर्ने बाध्यता आईलाग्यो । अहिलेको जमाना सम्पत्ति भन्दा केटा असल भए हुन्छ, यतिको केटालाई छोरी दिँदा दुःख पाउँदिन भनेर बुबा आमा, हजुरबुबाले निर्णय गरिसकेपछि मलाई भेट गराउनु भयो । मैले पनि उसलाई धेरै प्रश्न तेस्र्याएको थिएँ । पढाई सोधें, विवाह, जीवन, प्रेम र भविष्यका बारेमा सोधें ? उसले मख्खै पा¥यो सबै भ्रम र झुट रहेछ । त्यहि झुटका कारण आज मेरो जीवन वर्वाद भयो । पढेको भनेको एसएलसी नै पास रहेनछ । प्रेम उसको चलिरहेको रहेछ । बाबु आमाले उबाट छुटाउन मसँग विवाहको कुरा अगाडि बढाएको रहेछ । उसलाई प्रेम गरिरहने, मलाई विवाह गर्ने । मलाई नै नराखी बुबा आमाले उसँग जनै सुपारी दिएर टिकाटालो सकिएको जानकारी गराउनु भयो म छाँगाबाट खसे झै भएँ । बस्तुभाउ गोठमा पालेको त घरसल्लाह गरेर बेचिन्छ, म त मान्छे । त्यो पनि पढ्दै छु । अझ परिवारको आँखाको नानी । मेरो भविष्यका बारेमा मलाई खबर नै नगरी सबै निर्णय ? केहि समय विद्रोह गरें आखिर बुबाआमाले हाम्रो इज्जत भन्दै सम्झाउनु भयो । सम्झिए आज उहाँहरुले भनेको नमाने भोलि मैले दुःख पो पाउनु पर्ने हो कि ? विवाहको केहि महिना मलाई माया गरे । मेरो गर्भ त्यहि बेला रह्यो । माईतीमा पितृकार्य थियो । भोलिपल्ट जानु पर्ने निम्ता आएको थियो । बुबाआमाले पहिलोपाला ज्वाई भन्दै खुबै आदरका साथ बोलाउनु भएको थियो । तर उहाँ अघिल्लै दिन देखि हराउनु भयो । शुरुमा मलाई एयरपोर्टमा काम छ भनेर जानु भएको थियो । खाना खान आउँछु भन्या मान्छे आईपुग्नु भएन । कुरें कुरें । फोन गर्नु भयो बेलुका मात्रै आउँछु खाना खानु । बेलुका भैसक्यो आउनु भएन । फोन गरें अफ छ । भोलिपल्ट त माईत पो जानु पर्छ । ११ बजिसक्यो आउनु भएन । म माईती गएँ । घरमा ज्वाई खै भनेर सोधखोज भयो । आउन पाउनु भएन भनेर ढाँटें । फोन ट्राई गरेको ग¥यै थिएँ । राति १० बजे फोन गरेको लाग्यो । फोन त लाग्यो तर श्रीमान्ले होइन अर्कै महिलाले उठाईन् । उनले सिधै भनिन् आजबाट तेरो लोग्ने मेरो भयो । अब तैले यसलाई पाउन पनि सक्दिनस् फोन पनि नगर । विवाह गरेको पाँच महिना पुरा नहुँदै श्रीमान् खोसिएको थियो । पेटमा गर्भ आएको थियो । कसरी सहुँ ? मध्यरातमा भएको त्यस्तो पीडाले मलाई झनै तनाव गरायो । रोएँ कराएँ । बेहोस भएँ । बुबा आमाले सबै कुरा थाहा पाउनु भयो । भोलिपल्ट उसको सारा खोजी भयो । कतै फेला परेन । धेरैले सल्लाह दिए गर्भको बच्चा नराख र अर्काे बाटो लाग । मेरो मनले मानेन । कुनै हालतमा पनि मैले बच्चा जन्माउने निर्णय गरें । उसलाई विवाह गर्ने भन्दा उसको परिवारले केटो राम्रो छैन, घर पनि छैन भनेर दिएका रहेनछन् । दुःखका दिन शुरु भए । श्रीमान् विनाको जीवन शुरु भयो । छोरो जन्मियो अपाङ्ग । उसको उपचार अहिले पनि भईरहेको छ । दिमाग तेज छ । तर पनि पढाउन र उपचार गराउन समस्या छ ।
मर्न सकिँदैन, बाँच्न कठिन छ । छोरोको हुकाई र उसको लालनपालन नै महत्वपूर्ण सम्झिएँ । म त मरांैला तर छोरो के गर्छ । उ एक्लै हुन्छ । सडकमा हिड्ने सन्तानले आमालाई कति सराप्ला ? आमाको कर्तब्य पूरा गर्न पनि मर्न सकेको छैन । उसको खुट्टा लाग्ने भए पछि म जे गरांैला ? त्यो पनि सोचेको छैन । कहिलेकाँहि लाग्छ सबै छाडेर पानीमा डुबेर मरौं । सम्झन्छु अबोध बालक जसले जन्मे देखि बाबुको माया पाएको छैन । सोध्छ मेरो बाबा खोई ? कहाँ देखाउ म उसलाई ? उसलाई पढाएर आफु पनि पढौ कि ? निजी विद्यालयमा बच्चाहरुको फि तिर्न नसकेर लज्जित छु । पैसा छैन । हातमुख जोर्नै धौ–धौ छ । भाडाको बसाई कसरी जीवन धानौ ? विहान देखि बेलुकासम्म पाखुरा बजार्दा खान त पु¥याएको छु तर विरामी भएर थलिँदा उपचार गर्न पैसा नहुँदा, अस्पतालसम्म पु¥याउने मान्छे नहुँदा साँच्चै मान्छे भएर बाँच्नु बेकार सम्झन्छु । कसैको साहारा छैन । साहारा माग्यो भने शंकै शंका गर्ने हाम्रो समाज छ ? हे प्रभो नारीहरुलाई यस्तो संकटबाट मुक्त गराउने कुनै उपाय छैैन ?
ममता लामा
बनेपा, काभ्रे









