2026 May 02/ 02:05: 18pm

    कारागार भित्रको नारकीय जीवन । विभिन्न सोच । तर सधै सम्झिरहने एउटै गीत छ ‘गरिबको चमेली बोलिदिने’ कोहि छैन । सायद गित लेख्ने र गाउनेहरुले त्यसै बनाएका हैनन् । जुन तन्त्र आए पनि गरिबको पक्षमा बोलिदिने कोहि छैन । त्यहि कथित तन्त्र भित्रको गणतन्त्रमा पनि हामी त्यस्तै नियती भोगिरहेका छौं । धर्तीमा पाईला टेकेको २९ औं वसन्त पार गर्दै गर्दा चार दिवार भित्र जेलको चिसो कुनामा बसेर आफ्नो अतित सम्झिदैंछु र पोखाउदै छु सबै सामु । तर मलाई कुनै दुःख र पश्चाताप लागेको छैन । सानैमा बाबाको देहवसान पछि आमाको पाईला पछ्याउंदै होटलका जुठो गिलास माझ्दै बाल्यकाल बित्यो । सायद भाग्य मै नभएर होला, मलाई पढ्न लेख्न भन्दा पनि त्यहि जुठो गिलास पखाल्न र आमाको सिको गर्नमा नै मज्जा लाग्थ्यो र गर्थें पनि । आमाले पढ्नु पर्छ ठुलो मान्छे बन्नु पर्छ भन्नु हुँदा सबैभन्दा गाह्रो काम त्यहि पढ्ने लाग्थ्यो ।
    ४ बजे बिहानै उठेर आमासँगै बानेश्वर चोकमा चियाको किटली खेलाउँदैमा प्रत्येक बिहानीले सूर्य जन्माउँथ्यो । त्यसपछि भने हामी लाग्थ्यौं वासस्थान तिर जहाँ जस्ताकै छाना र जस्ताकै ढोकाले हामीलाई स्वागत गरिरहेको हुन्थ्यो । हो त्यहि छाप्रो भित्र हामी आमा छोरी ओत लाग्थ्यौं । २,४ वटा टुल र एउटा चिया टेबुल र कुनामा एउटा खाट थियो । सम्पत्तिको नाममा एउटा पुरानो आधा ऐना फुटेको स्टिलको दराज हाम्रै खाटको छेउमा कानो मान्छे झैं उभिएको थियो । एकदिन आमा र बाबाको भनाभन पछि बाबाले आमालाई कुट्नु कुटेसी बाँकी रिस फेर्न मुक्का बजार्नु भाथ्यो रे त्यो दराजमा । आमाले यस्तै यस्तो आफ्नो अतितका कहानीहरु सुनाउनु हुँदा सुनी रहन मन लाग्थ्यो । त्यसैले प्रत्येक साँझ आमालाई त्यस्तै आफ्नो कहानी र कथाहरु सुनाउन लगाउँथे । आमाले मेरो टाउकोमा हातले सुमसुम्याउंदै आफ्नो स्मृतिका पानाहरु पल्टाउनु हुन्थ्यो । मुर्छा परेर हाँस्नुहुन्थ्यो कहिलेकाँही आँशुको भेल बाढी बगाउनु हुन्थ्यो ।
    आमाको माईती धादिङ्ग रहेछ । कामको सिलसिलामा काठमाडौंको कुनै एउटा रेस्टुराँमा काम गर्दै गर्दा उहाँको भेट बाबासँग भएको रहेछ । त्यसैबिच आमालाई बाबाले फकाएर बिहे गर्नु भा रहेछ । उमेर पनि होला । दुबै एक अर्काप्रति आकर्षण हुनु स्वभाविक थियो । बाबा चाँहि नुवाकोटको हुनुहुँदो रहेछ तर उहाँले कहिल्यै आमालाई आफ्नो घर लानु भएन छ । पछि थाहा भयो मलाई मेरो बाबा क्षेत्री र आमा वि.क. भएकोले नै उहाँले आफ्नो घरमा लान नसक्नुभएको रहेछ । जातीय छुवाछुतको कारण उतिबेला त्यस्तो गन्धर्व विवाहलाई जघन्य अपराधको रुपमा लिईदो रहेछ । काठमाडौं तिरै सानो तिनो ठेक्कापट्टा गर्नुहुन्थ्यो बाबा । दिनभरीको थकान भुलाउनलाई होला बाबा हरेक साँझ रक्सी पिएर आउनुहुन्थ्यो । त्यहि नशाको झोकमा बाबाले आमालाई कुटी रहनुहुन्थ्यो । आमाको पटक पटकको अनुरोधलाई बाबाले लत्याइदिनुहुन्थ्यो । एकपटक त्यसरी नै रक्सीले मातिएर घर फर्किदैं गर्दा कलकीं चोकमा सडक दुर्घटनामा परेर बाबाको घटनास्थलमै मृत्यु भएछ । त्यो खबर भोलिपल्ट मात्रै आमासम्म आईपुगेको रहेछ । 
    त्यसपछिका दिनहरु निकै कष्टकर भए आमाको लागि । मलाई सकि नसकी बोकेर कहिले बालुवा चाल्न, कहिले ईटाँ बोक्न घर घर हिड्नु भएछ । त्यसै क्रममा एकजना रणवीर भन्नेले आमालाई उसैको घरमा भाँडा माझ्न, कपडा धुन, बारीको काम गर्न लगेको रहेछ । त्यस्तो दुःख गरेर पो हुर्काए । जसोतसो गरेर सानो छाप्रो भए पनि बनाएकी छु । तँ पनि हुर्किस् । अहिले त भारी बोक्न, जुठो भांडा माझ्न जानु पर्दैन । लामो श्वास लिदै आमाको मुहारमा सन्तोषका धर्साहरु प्रसस्तै देखिन्थ्यो । जसलाई म त्यो चुक घोप्टिएझै रातमा पनि जाजल्यवमान भएर बलिरहेको देख्थें, साँच्चै भन्नु पर्दा त्यतिखेर म आमाले भन्नुभएका त्यी कथाहरु राम्रोसँग बुझ्न सक्ने भाथिन् । शहर भन्दा अलि भित्र हाम्रो टहरो भएकोले उति हल्लाखल्ला भने हुन्नथ्यो । कहिले काँहि त्यो जुङ्गे अंकल भने हाम्रो घरमा रक्सी पिउन आउँथ्यो । प्रायः राती आउँथ्यो । खै कतिखेर जान्थ्यो मलाई थाहा हुन्नथ्यो । म बिहान उठ्दा आमा साविकमा झै देखिनुहुन्थ्यो । कहिले स्टोभमा मट्टितेल हाल्दै त कहिले जर्किनबाट रक्सी खल्याउँदै । उठ ए कमली छिटो जानुपर्छ नत्र राजुकी आमा हामी भन्दा पहिले पुग्ली भन्दै आमा मलाई बोलाउनु हुन्थ्यो । म हाई काढ्दै उठेर एकैछिन ट्वाल्ल परिरहन्थें । अनि हतार हतार खाटबाट ओर्लेर मुखै नधोई पानीको सानो जर्गिन बोकेर आमाको पछि पछि लाग्थें चिया बेच्न । आमा सबैलाई बाबाको देहवासन भैसकेको कुरा लुकाउँदै विदेशमा हुनुहुन्छ भन्नुहुन्थ्यो । मलाई अचम्म लाग्थ्यो । पछि मैले आमालाई सोधे पछि आमाले भन्नुहुन्थ्यो एकल महिलालाई मानिसहरुले हेप्छन् । हाम्रोमा चिया पिउन पनि आउँदैनन् । अनि हामी भोकै बस्नु पर्छ । त्यसैले मैले झुट बोलेको हुँ । सायद उमेरले त्यस्तै ३५ जति हुन्हुन्थ्यो आमा त्यतिखेर । आमाले त्यसो भनिरहनुहुदाँ म भने खिन्न भैरहन्थें । मेरो साथी पम्फाको बाबा पनि विदेशमै हुनुहुन्थ्यो । उसलाई उसको बाबाले बेला बेलामा घर आउदाँ मिठा मिठा चकलेट, गुडियाहरु ल्याईदिन्थे । मलाई पनि त्यसै गरि चकलेट, गुडिया ल्याई दिने मेरो बाबा भैदिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । तर मेरो बाबा आउनुहुन्न भन्ने सत्यले मलाई खाईरहन्थ्यो भित्र भित्रै धमिराले खाए जसरी । अरुको खेलौना, खानेकुराहरु देख्दा डाहा, इष्र्या लाग्थ्यो । कहिले काँहि कल्पना गर्थें मेरो बाबा आउनुहुन्छ अनि मलाई पनि त्यसैगरी खेलौना, चकलेट, टि.भी ल्याई दिनुहुन्छ, अनि म पनि सबै साथीहरुलाई देखाउँदै हिड्थें । सायद जति धेरै रुनु थियो पहिल्यै रोईसकेकोले होला म अब चुपचाप थिएं । जति बेला मलाई चिसो भुईंमा लडाई राखेर आमा काम गर्नुहुन्थ्यो । अर्काको जुठो भाँडा माँझ्दा, बारीमा खनजोत गर्दा, कपाडा धोई पखाली गरुन्जेल सम्ममा म पुरै दिशामा लत्पत्तिएको हुन्थें । त्यतिखेर म मरुन्जेल रोईसकेर निलो भएको हुन्थें । 
    २०६१ साल तिरको हुनुपर्छ हामी आमा छोरी दिनचर्या सकेर गोधुली संगै आफ्नो घरको ओछ्यानमा सुस्ताउदै थियौ । केहि दिन बिराएर हाम्रो घरमा रक्सी खान आउने जुंगे अंकल आउनु भयो । उहाँ प्राय हाम्रोमा रक्सी पिउन आइरहनु हुन्थ्यो । आमा संग गफ गर्दै रक्सी पिएको देख्दा देख्दै म निदाउथें । तर मलाई त्यो साँझ निद लागेन । कार्तिक महिना कठ्याँङ्ग्रिदो मौसम बाहिर शितका ठूला ठूला थोपाहरु झरेको प्रष्टै सुनिन्थ्यो ठ्याक्रक ठ्याक्रक जस्तामा । उसै त लोडसेडिङको मार त्यसमाथि गरिबीले छोपेको हाम्रो घरमा बति बल्ने कुरै थिएन । मैन बत्तीको मधुरो प्रकाशमा त्यो जुङ्गे अंकल आमासंग खै के के हो फुस्फुसाउँदै थियो । म  निदाए झै गरि पुरै शरीर सिरकले ढाकेर लम्पसार परिरहें । अरु त प्रष्ट सुनिन तर आमाले बिचरी सानै छे अहिले त्यसो नभन्नुस् भन्नुभएको सुनें । छाती ढक्क फुल्यो । यसको साथै झस्याङ हुने गरि टेबलमा गिलास पछारिएको आवाज आयो । सायद जुङ्गे अंकलले रक्सी पिउँदा पिउंदै रिसले पछारेको थियो । गिलास भुँईमा निकै बेर सम्म घडीको सुई घुमेझै दायाँ बाया कित्रिंग कित्रिंग घुमिरहेको थियो । जुंगे अंकल निस्केर लाग्नु भयो । आमाले निकै बेर अनुनय बिनय गर्नु भयो तर फर्केर हेर्दै नहेरी जानु भयो । आमा ढोकामा उभेर निक्कै बेर हेर्दै हुनुहुन्थ्यो । आमाको त्यो अवस्था देखेर मैले ‘आमा’ भनेर बोलाएँ उहाँ झस्किनु भो र ढोका लगाउनु भयो । संगै छेउमा आइ सुत्नुभो । मैले आमालाई सोध्ने प्रयास गरें ।
    त्यो अंकलको कृपादृष्टी हामी माथि परेको हुदाँ उहाँले जे भन्नुहुन्थ्यो त्यो आमाले मान्नु हुन्थ्यो । त्यसैको फाईदा उठाएर त्यो अंकलले मलाई उहाँको घरमा काम गर्न पठाईदे भन्नु भएको रहेछ । तर आमाले म सानै भएकोले पठाउन मान्नु भएनछ । त्यसैले त्यो दिन अंकल रिसाएर जानु भएको रहेछ । आमाले त्यति भन्नु भएपछि मेरो मनमा अनेक कुराहरु खेल्न थाल्यो । त्यसपछि मैले आमासंग ढिपी गर्न थाले म त्यो अंकलकोमा गएर काम गर्छु । आमाले पहिले त मान्दै मान्नु भएन पछि असाध्यै कर गरे पछि मान्नु भयो । त्यति खेर त्यो अंकलको छोरा बुहारी अष्ट्रेलिया पढ्न गएका थिए । आमाले अगाडीको पसलबाट फोन गरेर त्यो अंकललाई बोलाउनु भयो । अंकल पनि तीन बित्ता उफ्रेर आईपुग्नु भयो । अंकलको साथमा काम गर्ने एउटा बुढो नै रहेछ । जो हेर्दा सडक तिर नाम्लो बोक्दै भारि खोजि हिंड्ने झैँ देखिन्थ्यो । त्यो काम गर्ने बुढा मान्छे तल गेट नजिकैको टहरामा बस्दो रहेछ । त्यत्रो घरमा अंकल एक्लै बस्दा रहेछन । हामी पुग्ना साथ अंकलले बढो खुशीका साथ स्याउ अनार खान दिनुभयो । अनि हामी आमा छोरीले खान भ्याउन साथ लौ बिमली तिमी जाउ अब यी कमली यतै बस्छे बेला बेलामा तिमीलाई भेट्न आउँछे भन्दै आमालाई जति छिटो निस्केर जाओस् झैं भन्नु भो । मन नलागी नलागी आमा अमिलो मुख पार्दै निस्किनु भयो । कमली राम्ररी बस्नु आफ्नु ख्याल गर्नु अनि काम सक्ने साथ बेलुकी बेलैमा घरमा आउनु है भन्दै आमा निस्कनु भयो । 
    आमा निस्किनु भएको दुई मिनेट पनि भएको थिएन । त्यहि अंकलले धेरै दिनको भोको बाघले झै मलाई झम्ट्यो । के भयो भनेर जान्न नपाउँदै मलाई थिचेर मेरो शरीरसंग मनमानी गर्न थाल्यो । म अचम्मित थिएँ । अघिसम्म देवता झै देखिने त्यो अंकल अहिले एक्कासी दानव झै देखिन थालेको थियो । जिन्दगीमा सोंच्दै नसोचेको मैले भोग्दै थिएँ । मैले अंकल के गर्न खोज्नु भएको ? मलाई छोड्नुस् । तर त्यो दानव यौनको तिर्खाले यति छट्पटिएको थियो कि मेरो छटपटाहटलाई केहि ठानेन । मेरो क्रन्दन सुन्ने कोहि थिएन । घर उसैको, कोठा उसैको, भित्ता भित्ता र भितामा झुन्डाएको तस्बिर पनि उसकै थियो । म बर्बाद भएँ । लगभग आधा घण्टा जतिको घम्साघम्सी पछि मेरो शिथिल शरीरलाई भूईंमा लडाएर त्यो राक्षस लाग्यो बाथरुम तिर । मेरो नौ नाडी गलेको थियो । त्यो अजङ्गको राक्षसले म सानी भुरीलाई म¥र्याकमुरुक पारेकोले होला ममा उठ्ने शक्ती समेत थिएन तर भित्र भित्रै प्रतिशोधको ज्वाला सल्कँदै थियो । म मा त्यो राक्षस प्रति घृणा उम्लिरहेको थियो । बदलाको ज्वालामुखी फुट्दै थियो । त्यसैले घिस्रदै घिस्रदैं त्यो राक्षस गए तिर गएंँ । त्यो राक्षस पल्लो पट्टि बाथरुममा नुहाउँदै गरेको चाल पाएँ । अघि स्याउ काट्न प्रयोग गरिएको चक्कु भेटें । त्यहि लिएर बिस्तारै बिस्तारै अघि बढें बिरालो चालमा । म त्यो भए ठाउँमा पुग्नु अगावै नुहाएर निस्किसकेको थियो । न्यानो घाममा गम्साले आँङ पुछ्दै थियो । अचानक मैले सोच्दै नसोचेको घटना घट्यो । त्यो राक्षस गम्सा सुकाउन बरण्डामा टाँगिएको डोरी नजिक पुगेको थियो । कसो कसो गम्सा संगसंगै त्यो आफै पनि निहुरिएछ । लडघडाएर होला सायद आफ्नो शरीर नियन्त्रण गर्न नसकेर त्यो ५ तलाको कौसीबाट एक्कासी तल खुर्मुरियो । म अवाक्क रहें । हतार हतार तल हेरें । त्यो छटपटाईरहेको थियो । अझै मरेको रहेनछ । आफै मार्छु यसलाई भन्ने सोचेर चक्कु हातमै बोकेर भ¥यांग खोज्दै एक हात भित्ता समाउदै एक हातमा छुरी लिंदै तल ओर्लिएं ।
    त्यतिखेर सम्म धेरै मान्छे जम्मा भैसकेको रहेछ । हल्ला खल्ला हुन थालिसकेको थियो । पुलिसको गाडी र भाडाका गाडीहरु पनि देखिन्थ्यो । म पनि पुगें । मेरो हातमा चक्कु अनि मेरो अवस्था देखेर उनिहरुले यहि हो हत्यारा भन्दै आरोपका औंलाहरु तेर्साउन थाले । म अलमलमा परें । म सँग बोल्न सक्ने सामथ्र्य नै थिएन । तत्काल पुलिसले मलाई पक्राउ ग¥यो र हत्कडी सहित गाडीमा हाल्यो । सारा सबुत प्रमाण मेरो विरुद्धमा बोलिरहेको थियो । मैले आफ्नो पक्षबाट कुनै सफाई दिन सकिनँ । न त म सँग मुद्दा लड्ने पैसा नै थियो । उनिहरुकै बोलवाला चल्यो । मेरो विरुद्ध मुद्दा दर्ता भयो । पुर्पक्षको लागि जेल चलान गरियो । मुद्दा फैसला भयो । मलाई आजीवन कारावासको सजायँ सुनाईयो । यो सब हेर्नु बाहेक अरु के गर्न सक्थें र ।
    नाबालिग थिएँ । तिमी नाबालिग छौ । नआत्तिनु भन्दै आश्वासनको पगरी गुथ्दै मेरो यौन अङ्गमा ¥याल चुहाउँदै छाम्ने पुलिसहरुको कमी थिएन । उसो त बालबालिकाको संरक्षणको लागि भनेर खोलिएका विभिन्न्न संघसंस्था न आएका पनि हैनन् । तर सबैले बोले मात्रै गरेनन् केहि । उमेर जाँच्न केहि परिक्षणको लागि अस्पताल पु¥याईयो । त्यसपछि म साँच्चै एक अपराधी, ज्यानमारा कैदी बनेर बस्न विवश भएँ । तर जेलमा बस्नु पर्दा मेरो कुनै गुनासो छैन न त पश्चाताप नै । मलाई मेरो आमाको चिन्ता लगिरहेको छ । हो, मलाई यही जेल ठिक छ र प्यारो लाग्छ, जहाँ मैले जीवन बुझ्न सकें । जगत चिन्न सकें र चिन्न सकें यो देशको नियम कानुन ।


रामप्यारी विश्वकर्मा
केन्द्रिय कारागार
काठमाडौं