अहिले मोबाईल खुशी दियो भनेर भन्ने मान्छेको संख्या कम पाईन्छ । हुन त मान्छेका सबै खुशी र आवश्यकता त्यहि मोबाईल बनेको छ । के गर्दा मान्छे खुशी हुन्छ ? मोबाईल चलाउँदा । सहज र सरल उत्तर छ । तर मोबाईलका कारण बालबालिकाहरुमा पारेको प्रत्यक्ष असर, युवा अवस्थामा देखिएका तमाम समस्या र अपराधका घटनाहरु, ब्यक्तिका गोपनीयता भङ्ग लगायतका अनेकन घटनाका उदाहरणहरु छन् । यी सबै छाडेर मलाई विगतको त्यहि दिनले खुशी बनाउँछ । तिनै सम्झनाले सताउँछ । ति खुशी । ति यादहरु । आज पनि स्मरणमा ताजा नै छन् ।
उनी खुसी देखिन्छिन् । उनको त्यो मुहारमा अनौठो चमकता देखिएको छ । मानौं वर्षात्को बादल गड्किदाँ एक झमकमा देखिने त्यो बिजुलीको चम्काई हो । लगभग ४÷५ महिना हुन लाग्यो उनमा यस्तो परिवर्तन देखा परेको थियो । त्यसभन्दा अघि नि साह्रै निराश देखिन्थिन् । उनलाई म राम्ररी चिन्दछु । आफ्नो एउटी छोरी सहित उनि मेरो घर भन्दा पूर्व पट्टीको घरमा बस्दथिन । उनको आफ्नै घर हो । तर एक्लै बस्थिन् । सासु ससुरा गाउँकै घरमा बस्थे । झट्ट हेर्दा त्यति आकर्षक देख्दिन थिएँ शारीरिक रुपले । अगाडिका दाँतहरु उछिट्टिएका भए पनि बोलीमा मिजासिलोपन पाउन सकिन्थ्यो । होची तर पातली शरीरकी धनी उनको कपाल लामो भए पनि घुमुर्किएकोले होला कोरे पनि नकोरेको झै देखिने गरि गुजुमुज्ज परेको थियो । त्यो ठुलो घरमा उनि आफ्नो छोरी सहित एक्लै बस्दै आउनुको कारण उनको श्रीमान्ले अर्काे केटीसंग विवाह गरेर बजारतिरै डेरा गरि बस्न थालेका थिए । उनको श्रीमान्ले बाबु आमाको करकापले मन नपरेकी केटीसँग विवाह गर्नु परेको भन्दै आफैले मन पराएको केटी लिएर सँगै बस्न थालेका थिए ।
विवाहको अघिल्लो दिनसम्म उनै मन परेको थियो । मोटसाईकलमा हालेर यताउती पनि घुमाएकै थियो । मन नपरेको भनु भने उनिहरुको सम्बन्धबाट गुडिया जस्ती छोरी पनि जन्मिएकै थियो । तर यो मन पर्ने नपर्ने खेल धेरै दिन रहेन । छोरीको जन्मपश्चात विपनाले आफ्नो शरीर र रुप प्रतिको हेरचाहमा समय दिन सकिन वा अन्य कुनै कारणले हो । उनको श्रीमान् टाढा–टाढा हुदैँ गए । बाहिरी रमझमको वातावरणमा चुर्लुम्म डुब्न मन पराउने बानीले घरको श्रीमती थोत्रो ट्याम्पु जस्तै देख्न थाले । साथी साथीको बिचमा पनि आफ्नो श्रीमतीको तुलना अर्काे साथीको श्रीमतीसंँग गर्ने होडबाजी चल्थ्यो । अरुका श्रीमती सब फेसेनेबल र राम्री तर आफ्नो श्रीमती चै अनपढ, गँवार र पाखे देख्न थाले । साथीहरुको अगाडि फोस्रो आडम्बर र धाक रवाफ लडाउनकै लागि भए पनि विपनाको श्रीमान्ले झापा तिरको केटी सौताको रुपमा भित्राएको थिए । सौताको जात कति नै बस्न सक्थे र मिलेर ? रात दिनको कोलाहल झै झगडा रोदन, क्रन्दनबाट मुक्त हुन विपनाको श्रीमान्ले कान्छी काखी च्यापेर बजार तिर डेरा गरि बस्न थाले । घरमा नितान्त एक्ली विपना अनि उनको सानी छोरी । श्रीमान्को अनुहार देख्नु, माया स्नेह पाउनु त कता हो कता बोली सुन्न समेत काकुल थिई ।
श्रीमान्को यस्तो व्यवहारबाट असाध्यै दिक्क भएकी थिइन् । जसोतसो घर धानेकी थिईन् । जे भए पनि कोठा भाडा आउंँथ्यो । त्यो घर चै ल गरि खा भने जसरी उनको श्रीमान्ले उनलाई नै छाडेर गएका थिए । त्यही कोठा भाडाले दैनिक व्यवहार चल्थ्यो । खै के भयो विपनामा दिन प्रतिदिन नैराश्यता बढ्दै गयो । उनले आफ्फ्नो अस्तित्व नै भुल्न थालिकी थिइनँ । अस्तव्यस्त पहिरन शारीरिक स्याहार सुसारमा पनि त्यति ध्यान नदिने अज्ञात भुतले समाएको थियो । सधंै झोक्राएर बस्ने मानांै उनि भित्र आशाका त्यान्द्रो पनि बाँकी थिएन जसले जीवन रंगीन बनाओस् । कहिलेकाँहि म कहाँ आउँथिईन् । दुखेसो पोख्न, बाँच्ने मनै छैन भन्थी । म उनलाई ढाडस दिन्थें तर मेरो सहानुभूति र ढाडसले के नै परिवर्तन हुन्थ्यो र ? म आफै पनि अचम्ममा परेकी थिएँं । उनि म संँग बहिनी यो एउटा छोरी छ र मात्रै नत्र मरिदिन्थें । यस्तो स्वार्थी दुनियाँमा के बाँच्नु ? जहाँ न कसैको माया छ न कसैको आड भरोसा ? यस्ता कयन गुनासा थिए उनका । तर सुनिदिने कसले ? सधै मैले सुनेर पनि त भएन ।
उनको कुरा सुन्दा अभिव्यक्ति गर्ने शैली देख्दा मलाई पनि जीवनप्रति बितृष्णा जाग्थ्यो । साँच्चै नै कसैको माया, प्रेम बेगरको जीवन कति निरश अनि आशाको दियो नबलेको जीवन आफ्नो हो भन्नु पागलपन मात्रै हो कि क्या हो भन्ने भान हुन्थ्यो । उनले पनि कसरी केको लागि जीउनु आफ्नो भन्ने को छ र ? कस्को सामीप्यता, आत्मीयतामा बाँकी जीवनका पन्नाहरु पल्टाउँदै जाने जहाँ खाली कागजका पन्नाहरुको ठुलै ठेली नै बाँकी छ । स्वार्थ पनि कस्तो कस्तो रुपवती नभएकै कारण सौता खेप्नुपर्ने । के रुप नै सबथोक हो त ? रुप, यौवन समुन्द्रको छाल जस्तै त हो नि हुत्तिएर आउँछ अनि निमेषमै त्यहि समुन्द्रमै विलिन हुन पुग्छ । वंैशलाई समयले रोक्न सक्छ र ? सधैभरी जवान रहन्छ ? यी सब त आँखाको भ्रम मात्रै त हुन । आज आउँछ भोलि जान्छ । कसले जवानलाई कैद गरेर राख्न सक्छ क्यामेरामा जसरी ? खै किन हो यी सब कुराहरु विपनाको श्रीमान्ले बुझ्न सकेन वा बुझ पचाए । विपनाको हात बिच बाटैमा छोडेर अन्तै कतै यात्रा मोडि दियो । विपना एकलासेपनको आभास गर्दै थिइन् । उनको एकलासेपन सहितको यात्रा अहिले कतै पुगेर विश्राम लिन पुगेको छ । अहिले कसैको माया, प्रेम अनि असिम स्नेहको ठुलो चौतारीमा सुस्ताउँदैँ छिन् । थकाई मार्दैछिन्, मिठो निन्द्रामा परेकी छिन् ।
मलाई थाहा छ उनको यो विश्रामले गन्तव्य पहिलाउन कुनै दिन फेरि गतिशीलता लिनु पर्नेछ अनि त्यो मिठो निन्द्राबाट ब्युझेर यथार्थको धरातल टेक्नुपर्नेछ । तर उनि त्यसरी निदाउँदा अति सुन्दर अनि स्निग्ध देखिन्छिन् । उनमा बिषादका रेखाहरु बिल्कुलै देखिदैँन । अहिले उनमा कञ्चनता देख्छु मानौ ठुलो भेलबाढी आई खोलाको सबै फोहरमैला बगाएर लगेको छ । उनि यहि बसाँईमै आनन्दले सुस्ताउँदै छिन । मलाई उनलाई तत्कालै त्यहाँबाट उठाउन बिल्कुलै मन छैन । आजभोलि उनि कसैको प्रेममा परेकी छिन् । कसैको कपोकल्पित दुनियाँमा हराउन थालेकी छिन् । उनि भ्रममा छिन् तैपनि तिनै भ्रमले उनलाई दिएको रंगिन जीवनमा उनि भरपुर बाँच्दै छिन् । उनि एक किसिमले तरंङ्गित हुन पुगेकी छिन् । उनलाई मोबाईलमा कल गर्न र रिसिभ गर्न मात्रै आउँथ्यो । त्यसैले बिषेश नम्बरहरु मैले नै सेभ गरिदिने गरेको थिएं मैले नम्बर हेरें कतारबाट आएको नम्बर रहेछ । यो त कतारको नम्बर रहेछ नि कसको हो ? मैले कोहि आफन्तको पो हो कि भन्ने सोचले सोधिहालें । उनि अलिक हिच्किचाईन् । हैन मैले पनि चिनेको छैन तर मलाई फोन गरिरहन्छ । त्यसैले सेभ गरिदेउ भनेको । यसो भनिरहदाँ उनले मेरो अनुहारमा हेर्न सकेकी थिइनँ । सायद केहि अप्ठ्यारो महशुस गरिन् । मलाई कौतुहलता भयो । नचिनेको मान्छेको नम्बर प्रति किन मोह ? अनि मैले यसरी नचिनेको मान्छेको नम्बर राख्न पनि हुन्न र दिन पनि हुन्न भनेर मुख फोरिहालें ।
छड्के नजरले हेरें उनमा संकोच देखें । तत्कालै फेरी मैले हैन को हो को फेरी भोली समस्या पर्न सक्छ भनेर मात्रै हो भनेको त । नत्र ठिकै छ नि म सेभ गरिदिन्छु । उनि मुसुक्क हाँसिन् । तिमीले कहिले देखेकी छौ त उसलाई ? अनि तिम्रो विवाह भएको कुरा थाहा छ ? मैले उनलाई सम्झाउने आशयले सोधें । छैन उसले मलाई अनि मैले उसलाई देखेकी छैन । मात्रै हाम्रो फोनमा कुराकानी हुने गरेको छ । विपनाले लजाउँदै भन्न थालिन् । म रिङ्गिएं । मेरो विवाह भएको कुरा मैले भनेको छु । कुनै आपत्ती छैन रे । फेरि शिर निहुराउँदै विपनाले भनिन् । यो कस्ती लाटी रहिछ । किन यो बुझिरहेकी छैन कि ती सब कुराहरु झुट हुन् । कसरी विश्वस्त बनाउँ म यिनलाई ? एकैछिन घोरिए, एक दृष्टी उनितिर फालेँ । उनको त्यो अनुहार गहिरो गरेर हेर्न थाले ं। हिजोसम्म हाँसो कुन चरीको नाम हो भन्ने थाहा नभएको विपना आज स्वतन्त्र रुपले आकाश विचरण पो गरिरहेकी थिइन् । अनुहार त धपक्कै बलेको थियो । कस्तो अनौठो एकाएक परिवर्तन । उनको हेयर स्टाईल पनि परिवर्तित थियो सायद ब्युटीपार्लर गएकी हुनुपर्छ भन्ने मेरो अनुमान थियो । अनि कपडा पनि सफा चट्ट पारेर लगाएकी मैले त यी सब कुराहरुमा ध्यानै दिएकी थिईनँ । मैले यि सब देखेपछि अनि उनको कुराहरु सुने पछि अनुमान लगाएँ पक्कै पनि त्यो परिवर्तन ल्याउने त्यहि फोनवार्ता थियो । मैले सोधे यसरी देख्दै नदेखेको मानिसले भनेका कुरामा तिमी कसरी बिश्वास गर्छाै त ?
मैले यो प्रश्न गर्नुको कारण थियो । लोग्ने मानिस बढी रुप र यौवनमा विश्वास गर्छन् । उनकै श्रीमान्ले पनि त उनि माथि सौता हाल्नुको कारण त्यही थियो । अनि अहिले जसले माया गर्छु भन्दै थियो त्यो पनि उहि लोग्ने मानिस नै त थियो नि । भोलि भेट भएपछि काली, होची, दारे भनिदेला अनि त्यो खाटो बसिसकेको घाउ पुनः बल्झिन जाला बरु त्यो भन्दा त अहिले त्यो घाउ नकोट्ट्याउनु नै बेश जस्तो मलाई लाग्यो । म दङ्ग परें । कुन भुट्टिएको दिमाग भएकोले यस्ती सोझी केटीलाई टिप्नै नसकिने आशाका फलहरु लटरम्म फलेको वृक्ष देखाई दिएछ । कस्तो पापी, निर्दयी । आफ्नो स्वार्थ पूरा गर्न अनाहकमा त्यो बिचरीलाई आफ्नो माकुरे जालीमा फास्दै थियो । धिक्कार त्यो अल्पज्ञानको भण्डारलाई जसले अर्काको विचार, भावनामा ठेस पु¥याउने मार्गहरु प्रशस्त खोलि दिएको थियो । एकदिन जब उनि त्यो काल्पनिक रङ्गमञ्चबाट यथार्थको धरातलमा झर्छ त्यो दिन कति कहाली लाग्दो दिन हुनेछ म अनुमान लगाउनै नसक्ने स्थितिमा पुगेंकी थिएँ । जे जस्तो भए पनि उनि आजकल खुसी छिन्, धपक्क बलेकी छिन् । उनको सौन्दर्यतामा निखारता आएको थियो ।
प्रेम कस्तो अचम्म जसले क्षणिक रुपमा भए पनि कसैलाई ईन्द्र नगरी सयर गराउँदो रहेछ । निला निला गगनमा चरी भएर उड्न सिकाउँदो रहेछ चाहे त्यहाँबाट कुनै क्षण कहाली लाग्ने गरि खस्न परोस् । यो विपनाको कस्तो प्रेम हो जुन आवाजको दुनियाँमा पनि अंकुराउँदो रहेछ ? जहाँ न ती आवाजहरुको न कुनै बिम्ब छ न कुनै आलिगन् । क्षणिक प्रेमानन्दले कसैको जीवनको बाटो नै मोडि दिने र त्यही क्षणिक प्रेमकै अनुभुतिमा बाँकी जीवनका पलहरु हाँसी हाँसी बिताएको सुखद् घटनाहरु नदेखेको पनि हैन । सायद यहि मोडमा आज विपना छिन् । कुनै दिन उनको त्यो प्रेम मिर्मिरेमा तारा झरेर गए झै झर्नेछ तर पनि उनि बाँकी जीवन त्यही प्रेमको ज्योतीले जगमग्ग पारेर जिउने छिन भन्ने मलाई लाग्यो । त्यसैले मैले उनलाई सम्झाउने तिर लाग्नु व्यर्थ ठानें । यो सबै हुनुमा उनिसंँग भएको मोबाईलले प्रमुख भुमिका खेल्दै छ । मोबाईल नभएको भए न त्यो अपरिचितको फोन आउँथ्यो न उनि यो भ्रामक प्रेममा अल्झिन्थिन् ।
उनि पटक पटकको फोन वार्तालाप पछि म को मा आई पुग्छिन अनि बेलि बिस्तार लाउन थाल्छिन् । म उनको कुराहरु एकदमै ध्यान दिएर सुन्छु अनि उनमा भएको परिवर्तन नियालेर हेर्ने मौका पाउँछु । त्यतिखेर उनको मुहारमा कान्ती छाएको प्रष्टै देख्न सकिन्छ । माधुर्यता देख्छु । त्यो माधुर्यतामा जो कोहि पनि र स्वदापन गर्न लालायित हुन्छन् । किनकिन उनि खुसी हुँदा मनमा एक प्रकारको आनन्द आउँछ । अनि कता कता उनको श्रीमान्प्रति व्यङ्यात्मक मुस्कान छर्न मन लाग्छ । आजभोलि उनि खुसी, सुखी, हँसिली अनि उन्मात्त देखिन्छिन् । सायद यो त्यही प्रेमकै उपज हो । सायद यो त्यही मोबाईलकै देन हो । तर आजकाल मोवाईल दिएका थुप्रै समस्या छन् । समस्या समाधान गर्दै प्रविधिको सदुपयोग गरियो भने विपनाको जस्तै खुशी भेटिन्छ कि ?
अनु संजेल
काठमाडौ









