2026 July 30/ 11:55: 17am

    केहि दिन अघि जिल्ला अदालतमा पुगेको थिएँ । सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्ने योजनामा थिएँ । यता श्रीमानले घरमै अर्की महिला ल्याएर राख्दा पनि विवश भएर टुलुटुलु हेर्ने बाहेक अरु केहि गर्न नसक्ने निरीह प्राणीका रुपमा महिलालाई सम्झेको थिएँ । महिलाहरु अहिलेको समयमा पनि पीडित छन् भन्दा पत्याउन पनि छाडि सकेछन् । अदालत पुगेर दुई घण्टा चउरमा उभिएर घोत्लिनु भयो भने तपाईलाई लाग्ने रहेछ अहिले महिला भन्दा पुरुष पीडित रहेछन् । महिलाहरुले महिनौ, वर्षाै श्रीमान्हरुलाई यातना दिएको, घर छाडेर अन्य पुरुषसँग हिडेको, सम्पत्तिका लागि केहि दिन विवाह गरेर अरु पुरुषसँग हिडेको, तर सम्बन्ध विच्छेद नगरेका कारण पुरुषहरुले आफ्नो बाँकी जीवन सहज बनाउन नपाएका थुप्रै घटना देख्न पुगें । 
    श्रीमान्को चाहना छोरा थियो । छोरा जन्माउन श्रीमती मेशिन सम्झने पुरुषहरुका कारण थुप्रै महिला अहिले पनि आत्महत्या गर्न बाध्य भएका छन् । कतिले आत्महत्या गरिसकेका छन् भने धेरैले आत्महत्या गर्नु भन्दा घर छाडेर जान उचित मानेका छन् । थाहा छैन कति आमाहरुले गर्भमै छोरीको हत्या गरेका छन् । सरकारले ल्याएको कानूनको दुरुपयोग गर्दै म जस्ता कयौ आमाहरु छोरीको हत्या गर्ने पापी आमा बनेका छौ । परिवार, समाज तथा आफ्नै विवशतामा आमाहरुले पटक–पटक छोरीको हत्या गरिरहेका छन् । लिङ्ग पहिचान गर्ने सजिलो विधि, त्यो विधि पछि परिवारको असहयोग, समाजको तिरस्कार जस्ता कारणले धेरै आमाहरुले पेट भित्रै छोरीलाई पटक–पटक मारिरहेका छन् । पेटमै मार्ने जात छोरीको पहिचान पछि जन्मिएको अवस्थामा उसका भोगाईहरु सहज छैनन् । सहज जीवन र भोगाई बनाउन सायद लक्ष्मी, सरस्वती भएरै पो जन्मनु पर्ने हो कि ? हुन त तिनै महिला अर्थात छोरीहरुबाट जन्मेका सन्तानहरुले गर्ने ब्यवहार किन त्यस्तो भएको होला ? पुरुष विरोधी त हैन म तर पनि पुरुषहरुकै जमातले बनाएका हर्कत तथा सामाजिक बहिस्कार र तिरस्कारका पहाडहरुले छोरीहरुले पेट भित्र मात्रै होईन पेटबाट बाहिर आए पछि उस्तै सास्ति भोग्नु परेको छ ।
    पटक–पटक छोरीको हत्या गरौ कि ? आफै आत्महत्या ? वा सम्बन्ध विच्छेद ? यस्ता थुप्रै प्रश्नको उत्तर खोज्न अदालत पुगेर अर्निणयको बन्दि बनेकी महिला हुँ । हो म त्यहि पीडित महिला हुँ । कोरोना भाईरस रोक्न गरिएको लकडाउनको लामो बसाई मेरा लागि कष्टकर बन्न पुग्यो । अधिकांश समय श्रीमान् घर बाहिर रहेकाले चासो पनि हुँदैन थियो । जब–जब उहाँ घरमा आउन थाल्नु भयो तब तब परिवारको तनाव झेल्नु प¥यो । लगातार जन्मिएका दुई सन्तान ईश्वरका बरदान भन्ने उखानसँग मिलाउँदै जीवन जिईरहेकै थियौं । श्रीमान् बस चलाउँदै आउनु भएको थियो । सधै काठमाडौ ओहोरदोहार गरिरहनु भएको थियो । अभाव खासै थिएन । आर्थिक संकट पनि थिएन । खान लगाउन समस्या पनि हैन । आफ्नै चरन क्षेत्रको घाँस दाउरा, बस्तुभाउ पालन, खेतिपातीले मनग्ये आम्दानी थियो । बुढा हुन लागेका सासु ससुराको रेखदेख, छोरीहरुको स्याहार सुसार मेरो दैनिकी थियो । श्रीमान् विदाको समयमा घरमा आउने, बस्ने केहि काम भए सहयोग गरिदिने र फर्कने गर्नु भएको थियो । घरमा काम गर्ने मान्छे समेत राखेका थियौं । त्यस्तो परिवारमा समस्या एउटै थियो हाम्रो निधन पछि कसले धान्छ बंश ? उहाँ शिक्षित हुनुहुन्छ । जीवनमा उहाँको असहयोग कहिल्यै भएको थिएन । मागी विवाह भए पनि त्यस पछिको प्रेमले परिवारमा छाएको सौहार्दता धेरै थियो । विस्तारै उहाँमा छोराको चाहना हुन थाल्यो । त्यसमा मेरो कुनै कमजोरी थिएन । दुई छोरी जन्मिए पछि श्रीमान् श्रीमतीको सल्लाहमा मैले अस्थायी बन्ध्याकरण गरेको थिएँ । त्यसले मलाई मोटोपना बढायो । ५४ केजीको मान्छे ८४ केजीको भएँ । 
    खाना मन नलाग्ने, मोटोपना धेरै भए पछि काम गर्न पनि असहज थियो । त्यहि असहजता हटाउन श्रीमान्ले नै मलाई अस्थायी साधन प्रयोग नगर्न बरु आफै स्थायी गर्ने बचन दिनुभयो । अधिकांश समय घर बाहिर भएकाले त्यसको पनि आवश्यकता महसुस गरिएको थिएन । घरमा सासु ससुरा र म मात्रै हुने भएकाले उहाँहरुको चाहना नाति खेलाउने हुन थाल्यो । मैले श्रीमान्लाई नै भनेको थिएँ दुई सन्तान पछि अर्काे सन्तान छोरा जन्मन पनि सक्छ एक पटक हेरौंन त । श्रीमान्ले नै भन्नु भएको थियो त्यसो नगरौं छोरी नै जन्मियो भने पनि आफ्नै सन्तान हो पछि जन्माउने कि नजन्माउने दोधार हुन सक्छ । बरु अहिल्यै वास्ता नगरौं । बुबा ममीलाई सम्झाउने जिम्मा मेरो भयो । उहाँले घर बाहिर गए पछि आफ्ना बाचा भुल्न थाल्नु भयो । खै के भयो म भन्न सक्दिनँ । बुबा आमाको कुरा सुन्ने, मलाई चाहे जति माया नगर्ने, मेरो कुरा नै नसुन्ने र मलाई दास ठान्ने उहाँको सोचको विकास हुन थाल्यो । भर्खर ३१ वर्षको भएँ । मेरा दुई छोरी छन् । श्रीमान् सवारी चालक हुन् । सासु ससुराले नाति खेलाउने रहर छ भन्दै पटक–पटक छोरालाई गरेको टोकेसोका कारण तेश्रो सन्तान छोरा जन्माउने चाहना भयो । अस्थायी साधनको प्रयोग छाडे लगत्तै मेरो पेटमा गर्भ रह्यो । प्रविधिको प्रयोगले लिङ्ग पहिचान भयो । तर यो कानून विपरित रहेछ । छोरी रहेको जानकारी सँगै पहिलो पटक गर्भ पतन गर्ने निर्णय भयो । त्यो प्रयास मेरो पनि थियो । पतन गर्ने मेरो चाहना थिएन । श्रीमान खुशी हुन्छन् भने किन त्यो प्रयास नगरौं भन्ने मेरो निर्णय भयो । पहिला मैले भन्दा श्रीमान्को मन थिएन पछि मेरो मन नहुँदा श्रीमानको चाहना भयो । गर्भमा छोरी रहेको थाहा पाए पछि पतन गरेको कुराले मलाई मानसिक पीडा थपिदै गयो । आफ्नै सन्तानको हत्या ? विवश हुनुको विकल्प थिएन । सासु ससुराले नाति खेलाउनै पर्ने नभए अर्काे विवाह गर्न छोरालाई दिएको दबाबले सायद उनि पनि तनावमा थिए । एक्लो छोरा बंश चलाउनु पर्ने, मरे पछि दागबत्ति दिनु पर्ने कुरीतीका कारण पुरानै संस्कारका सासु ससुरालाई बुझाउन सकेनन् । केहि महिना पछि फेरी अर्काे गर्भ बस्यो । दम्पत्तिमा उत्साह भरियो । प्रकृया त्यहि थियो । भाग्यले ठगेको भन्दै श्रीमान्ले दोश्रो गर्भ पनि पतनका लागि दबाब सिर्जना गरे । केहि दिन बोलचाल बन्द भयो । आफ्नै सन्तानको हत्या कसरी गर्नु ? कति पटक गर्नु ? छोरा भए पनि छोरी भए पनि भएका छोरीहरुले नै गर्छन् नभए जन्म दिउँ उसले पनि पुरा गर्न सक्छे । श्रीमान्ले धम्की दिदै भने अब दोश्रो विवाह गर्नुको विकल्प रहेन । लिङ्ग पहिचानको ७ दिन पछि एक्लै क्लिनिक आएर छोरीको भ्रुण निमोठ्न लगाएँ । थाहा छैन श्रीमान्को बाहिर अरु कोहि केटीहरुसँग सम्पर्क पो छ कि ?
    हरेक श्रीमानहरु श्रीमतीको माया ममतामा भुलिँदा भुलिँदै किन एक्कासी टाढा हुन पुग्छन् ? यो प्रश्नले मलाई मानसिक रोगको औषधी सेवन गर्न बाध्य बनायो । परिवारका सदस्यहरु म प्रति सकारात्मक थिएनन् । निरन्तरको मेरो स्वास्थ्य अवस्था प्रति पनि चिन्तित थिएनन् । रगत बग्ने, खान मन नलाग्ने, टाउको दुख्ने, हातगोडा गल्ने, कमजोरी महसुस हुने भएकाले उनिहरुले खाना पकाउन तथा घरको अन्य काममा पनि सहयोग गरेनन् । मेरै साना छोरीहरुले रेखदेख गरिरहे । तेश्रो पटकको गर्भ पनि छोरी भएको थाहा पाए पछि उनले मलाई पोलिक्लिनिकमै छाडेर हिडे । छोरीलाई पनि साथमा लिएर गएकाले मलाई सहज भयो । आमाछोरी र स्वास्थ्यकर्मीको पनि सहयोगमा बच्चा जन्माउनु उपयुक्त हुने निश्कर्ष पछि श्रीमानले छाडे पनि एक्लै तीन छोरीको सहारामा बाँच्ने आशमा गर्भपतन गरिनँ । श्रीमान घर आएनन् । गर्भावास्थामै रगत बग्यो । तत्काल अस्पताल लैजाने पैसा पनि भएन । सासुससुराको छिःछी र दुरदुर त्यतिकै थियो । तर पनि छोरी, आफन्त र छिमेकीको सहयोगमा धुलिखेल अस्पताल आईपुगें । विडम्वना बच्चा पेट भित्रै वितिसकेको थियो । अप्रेसन पछि मलाई स्वास्थ्यकर्मीले बचाए । परिवारमा अझै सम्बन्ध सुध्रिन सकेको छैन । 
    यति धेरै पीडा भए पछि मैले निश्कर्ष निकालें अब एक्लै बस्छु । दुई छोरी लिएर संघर्ष गर्छु । मेरो अनुपस्थितीमा उनले गर्ने भनेको विवाह न हो ? त्यो त घोषित छैन अघोषित छँदै छ । उनलाई सहज बनाउन अंश लिएर सम्बन्ध विच्छेको मुद्दा दर्ता गर्ने उद्देश्यले अदालत पुगेको थिएँ । त्यो मानसिक रोग थपिने अर्काे स्थल रहेछ । हरेक ब्यक्ति झगडा र मुद्दाको बीचमा जीवन जिईरहेका रहेछन् । मैले नै दुःख पाएको छु । मैले नै छोरीहरुको हत्या भ्रुणमा हत्या गरेको छु । परिवार राम्रो बनाउने हकमा मैले आफुलाई पटक–पटक मारेको छु । उल्टै म सहज रुपमा किन सम्बन्ध विच्छेद गरौ ? त्यहाँ भेटिएका केहि महिलाहरुले दिएको उर्जाले मलाइै जीवनमा बाँच्ने, छोरीहरुलाई हुर्काउने र उनिहरुको शिक्षा दिक्षामा ध्यान दिने सोच पलायो । मजदुरी गरेर भए पनि उनिहरुको खुशी र सुखी मेरो सफलता लाग्न थाल्यो । फर्किएँ । उनको दबाब र कचकच जारी नै थियो । अहिले म छोरीहरुको साथमा संघर्ष गरिरहेको छु । लोग्ने मान्छेहरुले पनि सम्बन्ध विच्छेद गर्न मिल्ने कानून बनेको रहेछ । ठिकै छ उनले म सँग सम्बन्ध विच्छेद त गर्लान् तर उनले गरेको भ्रुण हत्याको साक्षीबाट उम्कन त सक्दैनन् नि ??? आगे हिसाब किताब गर्दै गरौंला । यति भन्न चाहन्छु श्रीमानबाट दबिएर बस्नु पर्ने आजको अवस्था छैन र हैन । यसो भन्दैमा महिलाहरुलाई जे गर्न पनि छुट छैन । समाज, परिवार र सभ्यता, संस्कृति खल्बलिने र टुक्राउने, विखण्डन गर्ने अधिकार कसैलाई छैन र हुँदैन पनि । सबैको अधिकारको सम्मान गरौं । खुशी र सुखी जीवन जिउँ । सबैमा विजया दशमी, नेपाल सम्वत, शुभ दिपावली, छठ पर्वको शुभकामना । 

उषा कार्की
रामेछाप