2026 July 30/ 01:31: 46pm

    कसलाई भनौं । कसलाई नभनौं ? आजको समयमा पनि नारीहरु पुरुषबाट पीडित छन् । पुरुष पनि पीडित छन् । नारीहरुले अधिकारका नाममा त्यसको दुरुपयोग गरेको घटना पनि सुनेको छु । पुरुषहरु पीडित भएका घटनाले पनि स्थान पाउँदै जान थालेको समयमा महिलाहरु अझै धेरै पीडित छन् । भगवानले पनि बदला लिने भनेको महिलासँग नै रहेछ । अहिले चर्चित खेलाडी, कलाकार महिलाकै कारण हिरासतमा छन् । कानून बन्यो । तर दुरुपयोग भएको हुन सक्छ । तर पनि महिला अझै पीडित छन् । कानूनले जतिसुकै न्याय दिएको भने पनि बाध्यात्मक, सामाजिक परिबन्धले महिलाहरुलाई पीडित बनाईएको छ । संसारका सबै सुख छन् । तर श्रीमान्को ब्यवहारले म पीडित छु । उमेर धेरै भएको छैन तर पनि भोगाई लामो छ । भोगाई कसैले विश्वास गर्दैन । प्रहरी, प्रशासन, न्यायालय सबैले दोषी मलाई नै ठान्छन् । समाजले पनि मलाई नै दोषि बनाउँछ । दोषि समाजका अगाडि म कसरी आफ्ना कुरा भन्न सकौं ? 
    माया र प्रेम । श्रीमान् श्रीमती बीचको सम्बन्ध । मान्छेहरुले सोच्लान् शारिरीक सम्बन्ध मात्रै प्रेम हो ? त्यस्तो होईन । श्रीमान् श्रीमतीको सम्बन्ध राम्रो भयो भने शारिरीक सम्बन्ध नहुँदा पनि वर्षाै सम्बन्ध टिकेका उदाहरण छन् । समस्या नै त्यहि हो के गर्दा सम्बन्ध राम्रो हुन्छ ? लाख प्रयास गरे पनि श्रीमानसँगको सम्बन्ध राम्रो बनाउने प्रयास गरें सम्भव भएन । विवाहको ३० वर्षसम्म पनि उनि खुशी हुन सकेनन् । विवाह गरेर घरमा ल्याएको ६ महिना देखि उनले ममाथी गरेको ज्यादती अहिले पनि कायम नै छ । श्रीमान् भन्दा म सुन्दर छु । सुन्दरताको घमण्ड गरेको होईन । उनि अपाङ्ग पनि छन् । तर पनि मैले उनलाई कहिल्यै त्यो भावनाले हेरिनँ । विवाह अघि त्यो कुरा मलाई थाहा थिएन । विवाह झुक्याएर गरियो । छोरीको जीवन जे भयो त्यो भोग्नुको विकल्प थिएन । विद्रोह गर्न सक्ने साहस ममा भएन र छैन पनि । मेरो पक्षमा समाज छ । परिवार छ । आफन्त छन् । तर पनि हामीले केहि गर्न सकेनौं । उनको दासत्व र दबाबबाट मुक्त हुन सकिएन । उनको ज्यादतीलाई रोक्न सकिएन । छाडौ यस्तो अवस्थामा मानविय संवेदनाको कुरा पनि हुन जान्छ । नछाडौ उनले छाडौ भनेर धम्कि दिईरहन्छन् । 
    २०३८ सालमा मेरो जन्म भयो । काभ्रे जिल्लाको सापिङ गाविसमा जन्म भएको थियो । अहिले अलिक सुगम भयो । तर पनि नियमित बस चल्दैन । चलेको बस पनि समयमै जाँदैन । अहिले त वर्षात्को समयमा मोटरसाईकल पनि चल्दैन । स्थानीय सरकारले एकपटक डोजर चलाएर बाटो सफा गरिदियो भने सहज हुन्थ्यो । हरेक क्षेत्रमा राजनीति । राजनीतिले बाटो पनि प्रभावित छ । एउटा विचार बोक्ने समुदायका धेरै नागरिकहरु भए भने राजनीतिक कुरो हुँदो रहेछ । जनता सधै परिवर्तनको पक्षमा हुन्छन् । जनताको सुखदुःखमा साथ नदिने नेता के को नेता ? के को जनप्रतिनिधि ? सयौ पटक नागरिकहरुले गुनासो गर्दा पनि भोलि भोलि भन्दा महिनौ वितिसकेको छ । खैर यो गाउँको कुरा हो । सापिङ्गबाट २०५० सालमा मलाई काठमाडौ पु¥याईयो । म १२ वर्षको थिएँ । काठमाडौमा आफन्तको घरमा पुजाको कार्यक्रम छ भन्दै फकाईयो । कहिले काँहि मात्रै काठमाडौ जाने अवसर पाएको थिएँ । त्यो दिन पनि मलाई आफन्तको घरमा पुजा छ भनेर लगिएको थियो । कक्षा ७ मा अध्ययन गर्दै थिएँ । १२ वर्षको उमेरमा मैले के जान्नु ? कसरी बुझ्नु ? म नाबालकलाई जे भन्यो त्यो उस्तै जस्तो लाग्दथ्यो । चकलेट दिएर फकाउने उमेरमा मैले धेरै कुरा कसरी बुझ्न सक्नु ? 
    काठमाडौ गएको पर्सिपल्ट मेरो विवाह रहेछ । मैले के हो यो ? कसको विवाह भनेर सोधें । मेरो बुबा हुनुहुन्नथ्यो । आमा गाउँमै हुनुहुन्थ्यो । अंकलहरुको रेखदेखमा हाम्रो परिवार अघि बढेको थियो । मेरो एउटा भाई छ । आमाले बुबा नहुँदा कसरी जीवन विताउनु भयो होला ? २२ वर्षको उमेरमा श्रीमान विताउनु पर्दा कुन चाँहि महिलाले सुख पाउलिन् ? त्यो उमेरमा हामी दुई सन्तानको जन्म भईसकेको थियो । आमाले हाम्रो लागि गर्नु भएको दुःख र त्याग बयान गरि साध्य छैन । त्यहि भएर होला अंकलहरुले मेरो भविश्यका लागि राम्रो सोचेर १२ वर्षको उमेरमा नै विवाह गरिदिनु भएको रहेछ । मलाई विवाहका लागि तयार हुनु भन्नु भयो । रातको समय थियो । बेहुलीले लगाउने सबै कपडा लगाई दिए । मैले सम्झिएँ गाउँमा हामी बेहुला बेहुली बनेर खेल्थ्यौं । आज यहाँ कपडा सहितको खेलौना विवाह होला । कुरा त्यसो होईन रहेछ । पाँचखाल घर भएका एकजना पुरुषसँग मेरो विवाह गरिएको रहेछ । उनको खुट्टा सानोमा पोलियोका कारण काटिएको रहेछ । उमेरले उनी म भन्दा १५ वर्ष अघि रहेछन् । म १२ वर्षको हुँदा उनि २७ वर्षका भईसकेका रहेछन् । २७ वर्षका पुरुषसँग मेरो विवाह हुँदै रहेछ । त्यो पनि खुट्टा नभएका ब्यक्तिसँग । म रोएँ । कराएँ । चिच्याएँ । मेरो केहि चलेन । मलाई अध्ययन गर्न दिने कुरा रहेछ । विवाह गरेर घरमा लगियो । पाँचखालमा पुगे पछि मैले आफ्नो जीवन अन्धकार देखें । आमाले अन्माएर समेत पठाउन नपाएको मेरो विवाहको घटनाले आफैलाई पोल्न थाल्यो । घर परिवार । सासु ससुरा । देवर जेठाजु । नन्द आमाजु । समाज । समुदाय । बुहारी हुने वितिक्कै १२ वर्षकी बालिकाले सबै जान्नु पर्ने ? पुरा गर्नुपर्ने ? कस्तो समाज हो ? कस्तो ब्यवस्था हो ? मेरो कुनै विकल्प थिएन । चुपचाप सहनुको अर्काे उपाय भएन । धेरै रात रोएँ । धेरै पटक आफुले आफैलाई चिथोरें । सायद आफ्नो बाबु भई दिएको भए त्यस्तो हुँदैन थियो कि ? 
    विवाह गरेर गएको केहि दिनमा विद्यालय जाने कुरा चल्यो । त्यो त बन्द भईसकेको रहेछ । छोरी विद्यालय जान नपाउने बेला बुहारी ? म माथी प्रश्न उठाईयो । विहान ४ बजे उठेर घरको सबै धन्दा गर्नुपर्ने, घरका सबै मान्छेहरुले नखाई पानी पनि खान नहुने ? कस्तो संस्कार । विहान उठ्ने वितिक्कै आमाले पकाई दिएको खानेकुरा खाएर विद्यालय जाने गरेको थिएँ । केहि दिनपछि आमालाई भेट्न गाउँ गयौं । उनको खुट्टा नभएकाले बैशाखी थियो । गाउँमा मलाई लाज त लागेन तर असहज भयो । उमेर पनि धेरै थियो । बाबु छोरीको उमेरमा श्रीमान श्रीमती जाँदा धेरैले गिज्याए । आमालाई पनि त्यो कुरा भनिएको रहेनछ । आमा पनि धेरै रुनु भयो । छोरीको भाग्या जे छ त्यो भोग्नै पर्छ भन्नुभयो । सम्झाउनु भयो । आफुलाई हेरेर संघर्ष गर्न भन्नु भयो । तर पनि मनले मानेन । केहि दिनको माईती बसाई सकेर घर फर्कियौं । शुरुमा उनले धेरै माया गरे । १४ वर्षको हुँदै थिएँ महिनावारी रोकियो । त्यो कुरा मलाई जानकारी भएन । घरमा सबैले गर्भवती भईस् भनेपछि अचम्म मानें । यति सानो उमेरमा आमा ? नबनेर सुख पनि थिएन । १५ वर्षमा एउटा बच्चाको आमा बनें । म बाट छोरा जन्मियो । 
    मेरा समस्या कति कति ? कसलाई भनौं ? कसलाई सुनाउँ । बच्चा पेटमा आए देखि नै उनले मलाई राम्रो ब्यवहार गरेनन् । उमेर नमिले पछि उनले मलाई हेप्न थाले । बुबा पनि नभएकाले आमालाई पनि नराम्रो भन्न थाले । मलाई त नराम्रो गरे गरे मेरो माईतीमा पनि नराम्रो भन्न थाले । न प्रतिकार गर्न सक्थें । न कसैलाई बोलाउन सक्थें । भाग्यलाई दोष दिएर रोएर बस्नुको विकल्प थिएन । बच्चा जन्मिए पछि उनले मलाई झनै नराम्रो ब्यवहार गर्न थाले । विस्तारै म हुर्कदै थिएँ । बच्चा हुर्कदै थियो । समाज र समुदाय बुझ्दै थिए । परिवार र समुदाय मेरो पक्षमा थियो । उनले विहान बेलुकै नराम्रो ब्यवहार गर्न थाले । कुटपिट पनि गर्न थाले । घर परिवारका सबैले सम्झाउन थालेका थिए । उनि मान्न तयार थिएनन् । विस्तारै कुरा खुल्दै गयो । उनी म सँगै असन्तुष्ट रहेछन् । विहान देखि बेलुका घरको काम गर्दा म फोहोरी हुन्थें । सफा कपडा लगाउन पाउदिन थिएँ । मेकअफ हुँदैन थियो । जानेको पनि थिएन । उनलाई सुन्दरी चाहिन थालेको रहेछ । मोबाईलबाट कहाँ कहाँका केटीहरुसँग सम्पर्क बढेछ । मेरो गहना पनि हराउन थाल्यो । पैसा पनि हराउन थाल्यो । घरमा पालेका बाख्रा पनि बेचिन थाले । खुट्टा नभएर के गर्नु उनको सक्रियता चर्काे हुन थाल्यो । समुदायका मान्छेहरुले भने उनी गाउँकै कोहि केटीसँग सम्बन्धमा छन् । 
    केहि महिना पछि हामीले उनलाई सम्झाउने प्रयास ग¥यौं । उनी मान्न तयार भएनन् । प्रहरीकोमा उजुरी प¥यो । आईन्दा गर्दिन भनेर कागज गरेर गए । केहि दिन पछि फेरी त्यहि अभ्यास दोहो¥याए । अहिले खुलमखुल्ला केटीहरु लिएर हिड्छन् । छोरा ठुलो भएको छ । छोराको विवाह गर्ने बेला भयो बाबु केटी डुलाएर हिड्छन् । यो बीचमा कमाएको सबै पैसा उनैले उडाएर सिध्याए । रक्सि टन्न खान्छन् । काम केहि गर्दैनन् । काम गर्न जान्छु भनेर घरबाट पैसा लिएर त्यहि केटिहरुलाई खुवाएर आउँछन् । म पनि केटी । उनिहरु पनि केटी । एउटी केटीको पीडा अर्काे केटीले किन नबुझेको होला ? उनिहरुलाई मेरो श्रीमान् नै चाहिने भए पनि घरमै आएर बस्दा हुन्थ्यो । त्यो पनि नगर्ने अनि मैले र छोराले दुःख गरेर कमाएको सबै सम्पति लगेर बुझाउने उनको बानीले हैरान बनायो । भुकम्प, कोरोना महामारीमा पनि उनले धेरै दुःख थिए । २० पटक भन्दा धेरै प्रहरीकोमा आयौ । बरु १२ वर्षमा कुकुरको पुच्छर सिधा बनाउन सकिएला उनलाई सुधार्न सकिएन । पीडा पनि कति कति । कस्तो दुःख । न माया । न प्रेम । न सम्पति । शान्तिको श्वासले बाँच्न मात्रै पाईयो भने त्यहि हो कि प्रेम ? त्यहि हो कि माया ? गरिबी, विधवा, एकल हुनुको फाईदा समाजका धेरै मान्छेहरुले यसरी नै उठाउँदा रहेछन् । मैले भोगेको पीडा कसैलाई नपरोस् । मैले कसरी न्याय पाउँछु होला ? यसको निराकरण गर्ने निकाय कुन होला ? 

सन्तोषी भारती
पाँचखाल, काभ्रे