2026 July 30/ 11:55: 20am

भनौ आफ्नै बेईज्जत हुने डर नभनांै पीडाको पोको फुकाएर सकिदैन । कानून, अधिकार र ब्यवस्था । प्रविधिको गलत प्रयोग, अधिकारको दुरुपयोग र ब्यवस्थाको समेत धज्जी उडाउँदै भईरहेका गलत अभ्यासले पुरुषहरु दिन प्रतिदिन पीडित बनिरहेका छन् । हो महिला पनि पीडित छन् तर अहिले महिला भन्दा धेरै पुरुष पीडित हुन थालेका छन् । महिला पीडित हुँदा तत्कालै कारवाहीको प्रकृया शुरु गर्ने प्रशासन पुरुष पीडित हुँदा वर्षाै न्याय दिन सक्दैन । अदालतमा दर्ता गरेको मुद्दा पनि समयमै फैसला हुँदैन । प्रहरीकोमा दर्ता ग¥यो आलटाल गर्छ । प्रशासन कार्यालयमा पुग्यो कार्यक्षेत्रको कुरा गर्छ । न्यायीक समितिमा छलफल नै हुन सक्दैन । महिलाहरुको मात्रै कुरा सुन्ने र उनिहरुलाइै मात्रै अधिकार र न्यायको कुरा गर्ने हो भने समतामुलक समाज निर्माण सम्भव छैन । 
    श्रम भिसामा लामो समय इजरायल बसेर घर फर्किए । बाँकी जीवन परिवारका साथ बिताउने निधो गरेर घर फर्किएको थिएँ म । मैले जे परिकल्पना गरेर इजरायलको बसाई छोटो बनाए अर्थात फेरी बस्ने मनसाय ब्यक्त नगरी सुरक्क आफ्नो देश फर्किएँ त्यस्तो सहज हुन सकेन । जतिबेला म नेपालमै थिएँ मलाई असहज थिएन । नेपालबाट इजरायल गएर फर्किए पछिका मेरा दिनहरु सहज हुन सकेनन् । स्थिति मैले सोचेजस्तो रहेन । घर फर्किए देखि नै श्रीमती तर्किएर हिंड्न थालिन् । मलाई माता चढेको छ । देवता चढेको मान्छेसँग एउटै विस्तारामा सुत्नु हुँदैन । अर्थात श्रीमान श्रीमती बीच हुने शारिरीक सम्पर्क पनि अब गर्न हुँदैन । श्रीमतीको यो कुराले मेरो मन छटपट्टि भयो । बेचैन भयो । मलाई लाग्या थियो लामो समय श्रीमान घर फर्किए पछि श्रीमतीका पीर मर्काहरु बुझ्न सक्नेछु । माया पिरतीको अंगालो झनै कसिलो हुनेछ । एकले अर्काेलाई गर्ने मायाको गहिराई बढ्नेछ । त्यसो हुने सकेत मैले देखिन । यही विषयलाई लिएर हामीबीच मनमुटाव हुन थाल्यो । दिनहुँजसो आमाबुवाको झगडाले छोराछोरीको बिजोग हुनेभयो । अन्ततः मैले निर्णय गरे यसरी कलहमै जीवन बिताउनु भन्दा सम्बन्ध विच्छेद गर्नु उत्तम ।
    जिल्ला अदालत काभ्रेपलाञ्चोकमा सम्बन्ध विच्छेदको लागि मुद्दा दायर गरे । श्रीमतीलाई यो शर्त मञ्जुर भएन । उनी श्रीमान्सँग निकट पनि हुन नचाहने र सम्बन्ध विच्छेद पनि गर्न नचाहने अडान लिइन् । मैले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरे लगत्तै आफन्तहरु मलाई सम्झाउन आएका थिए । घर परिवारले पनि त्यसो नगर्न भनेको थियो । उनको अडान पनि त्यहि थियो सम्वन्ध विच्छेद कुनै पनि हालतमा हुँदैन र म गर्न दिन्नँ । महिलाहरुको पनि चाहना र भावना धेरै होलान् । म रहरले विदेश गएको थिईनँ र होईन पनि । उनै श्रीमती र हामीबाट जन्मेका साना लालाबालाहरुको भविश्य राम्रो बनाउन सकिन्छ कि भन्ने योजनामा सल्लाहमै विदेशिएको थिएँ । मेरो मेहनत र परिश्रमलाई लात मार्दै माता चढेको नाममा उनले मसँग गरेको ब्यवहार असैह्य थियो । उनको ब्यवहारले जो कोहिले पनि माफ गर्न सक्ने थिएन । पछिल्लो समय बैदेशिक रोजगारबाट फर्किएकाहरुको पीडा र दर्दनाक कहालीलाग्दा घटनाहरु सार्वजनिक भईरहँदा आफ्नो परिवारमा पनि त्यस्तो हुन सक्छ कि भन्ने डर त्रास सधै रहिरह्यो । आफुले मनमनै जे नहोस भन्ने कामना ग¥यो आखिर त्यहि नै हुन पुग्यो । जिल्ला अदालत पुगे पछि थाहा भयो पीडित लोग्ने मान्छेहरु मध्ये म सिर्फ एउटा थप भएको रहेछु । धेरै पुरुषहरु त्यो लाईनमा रहेछन् । संहिता कानुनले हामी पुरुषहरुलाई पनि सम्वन्ध विच्छेदको अधिकार दिएकै कारण पुरुषहरु अहिले धमाधम सम्वन्ध विच्छेदको मुद्दा लिएर अदालत पुग्न थालेका रहेछन् । महिलाहरुले नचाहँदा सम्बन्ध विच्छेद नहुने पहिलाको कानूनमा संशोधन भए पछि केहि सहज भएको छ । 
    आफन्त वा प्रियजनको मृत्युमा समेत पुरुषलाई रोएको सुहाउँदैन भन्ने गरिन्छ । त्यसैले पुरुषहरु आफ्नो आँसु लुकाउने प्रयत्न गर्छन्, खुलेर कुरा गर्दैनन् । श्रीमतीको व्यवहार अनौठो लागेपछि मैले उनीमाथि निगरानी राख्न थालें । आखिर श्रीमती होटलमा अर्कै पुरुषसँग बस्ने गरेको मेसो पाए । श्रीमती परपुरुषसँग बसेकी हुनाले छानबिन गरिपाऊँ भनी प्रहरीकोमा उजुरी दिएँ । प्रहरीले मेरो उजुरी दर्ता गरेन । बहुविवाहको जाहेरी लिएर महिला आएको भए जाहेरी लिन मिल्थ्यो पुरुषको हकमा लिन मिल्दैन । म जाउँ कहाँ ? बसौ कसरी ? मलाई माता चढ्यो भनेर एउटै ओछ्यानमा रहन नमान्ने श्रीमती दिउँसो अर्काे पुरुषसँग होटलमा बसेर आउँछिन अनि सम्बन्ध विच्छेद गर्न मान्दिनन् । प्रहरी जाहेरी लिदैन । अदालत मुद्दा दर्ता गर्न आनाकानी गर्छ र प्रमाण पुग्दैन भन्छ । पुरुषहरुको पीडा कसरी ब्यक्त गरौ ? कसलाई सुनाउँदै हिडौं ? 
    अक्सर पारिवारिक वा घरेलु हिंसामा महिला पीडित हुने गरेको घटना सतहमा आउँछन् । हरेक दिन जस्तो कुनै न कुनै घरेलु हिंसाबाट महिला प्रताडित हुने गरेका छन् । पितृसत्तात्मक समाजमा कति महिला हेपिएका छन्, कति महिला मारिएका छन् । यस्तो हिंसामा महिला मात्र पीडित छैनन्, कतिपय पुरुष यस्तै दुष्चक्रमा पेलिएका छन् । यद्यपि पीडा लुकाउने पुरुष–प्रवृत्तिका कारण थुप्रै घटना सतहमा आउँदैन । सबैजसो देशको कानुन महिलामैत्री रहेको र त्यसै कानुनलाई गलत रुपमा प्रयोग गर्दै कति महिलाले पुरुषमाथि हिंसा गरिरहेका छन् । कानुनमा समस्या होइन धूर्त महिलाले यसैलाई हतियार बनाएर पुरुषमाथि हिंसा गरिरहेका छन् । पछिल्लो समय वैदेशिक रोजगारीले यस्ता प्रवृत्तिलाई बढावा दिएको छन् । धेरैजसो पुरुष वैदेशिक रोजगारीमा जाने र घरव्यवहारको जिम्मा महिलालाई सुम्पने गरेको पाइन्छ । पुख्र्यौली ऋण तिर्ने, आमाबुवाको उपचार गर्ने, घरव्यवहार मिलाउने, बालबच्चालाई राम्रो शिक्षादीक्षा दिने सपना बोकेर विदेशिएका युवाहरु घर फर्कंदा सबै भताभुंग भइसकेको हुन्छ ।
    वैदेशिक रोजगारीमा गएका युवाहरुले श्रीमतीको नाममा पैसा पठाउने तर त्यसको सही सदुपयोग नहुँदा उनीहरुबीच मनमुटाव हुने गरेको छ । आफूले पठाएको पैसाले ऋण चुक्ता नगरेको, छोराछोरीको विद्यालय शुल्क नबुझाएको, बचत नगरेको पाइएपछि त्यसको हिसाबकिताब खोज्नु स्वभाविक हो । हिसाब खोज्न थालेपछि श्रीमतीले सम्बन्ध विच्छेदको धम्की दिने वा अर्कैसँग भाग्ने प्रवृत्ति व्यापक छ । सम्बन्ध विच्छेद गर्न चाहेमा पुरुषले आफ्नो सम्पत्तिको आधा हिस्सा गुमाउनुपर्ने व्यवस्था छ । त्यसैले सम्बन्ध विच्छेदका लागि पुरुषभन्दा महिला नै अग्रसर भएको देखिन्छ । सामाजिक मान्यता पनि के छ भने लोग्नेमान्छे भएर रुनु हुँदैन । पुरुष भनेको दह्रो मनको हुनुपर्छ भनिन्छ । त्यसैले कति पुरुषले आफ्नो पीडा लुकाएरै बस्ने गरेका पाइन्छन् । पुरुषले हिंसाको बारेमा खुलेर कुरा नै गर्दैनन् । सकेसम्म घरबार मिलाउने नै कोशिश गर्छन् । केही नलागेपछि मात्र आजित भएर उनीहरु आफ्नो दुःख सुनाउने गर्छन् । पितृसत्तात्मक सोच भएको समाज छ त्यो समाजले पुरुषको एउटा चित्र बनाइदिएको छ । त्यो चित्र अनुसार पुरुष बहादुर हुन्छ, ऊ रुनु हुँदैन, कमजोर हुनु हुँदैन भन्ने अपेक्षा गर्छ । त्यो अपेक्षालाई मैले जसरी भए पनि कायम राख्नुपर्छ भन्ने मानसिक दबाब पुरुषलाई हुन्छ । त्यसैले गर्दा पनि पुरुषमाथि हुने हिंसा महिलाको तुलनामा कम बाहिर आउने गरेको छ ।
    आफन्त वा प्रियजनको मृत्युमा समेत पुरुषलाई रोएको सुहाउँदैन भन्ने गरिन्छ । त्यसैले पुरुषहरु आफ्नो आँसु लुकाउने प्रयत्न गर्छन्, खुलेर कुरा गर्दैनन् । आफ्नो दुःख पोख्नुलाई कायरतासँग जोडिने भएकाले पनि पुरुष हिंसाको घटना सतहमा आउँदैन । म आफै पनि अत्ति भए पछि मात्रै मेरो जस्तो अरु पुरुषहरुलाई नपरोस् भन्ने सोच राखेर पीडा सार्वजनिक गरेको हुँ । सामान्य परिवार थियो हाम्रो । बुबा मुमा गाउँमा नै हुनुहुन्छ । बच्चा सानो थियो । असल र गुणस्तरीय शिक्षा दिने उदेश्यले हामी शहरमा आएर बस्यौं । शहरमा बस्दा बस्दै मैले केहि समय शिक्षण पेशामा काम गरें । इजरायल जाने अवसर मिल्यो । उनलाई शहरमै छाडेर बच्चाको समेत रेखदेखको जिम्मा लगाएर विदेशिने निर्णय गरें । उनको पूर्ण सहमति थियो । म विदेश गए पछि अर्काे सन्तान जन्मिएको थियो । उनि गर्भवति भएको ७ महिनामा मेरो बाहिर जानुपर्ने अवस्था बन्यो । त्यस्तो अवस्थामा उनलाई सहयोग गर्न नपाएकोमा म दुखी थिएँ । समय वित्दै गयो । मैले कमाएको रकम उनकै नाममा पठाउँदै गएँ । कहिल्यै नराम्रो भएको बताईनन् । घर परिवारसँग पनि उनको राम्रो नै थियो । म विदेशमा रहँदा उनले कहिले काँहि आफुलाई माता चढेकाले बच्चाहरु छाडेर फुक्न जानु परेको बताएकी थिईन् । 
    नेपाल फर्किए पछि उनले शुरु देखि नै आफुलाई माता चढेकाले पुरुष ब्यक्तिको ओछ्यानमा सुत्नु हुँदैन भन्न थालिन् । ऋण धनका बारेमा सोध्ने बेला झर्किन थालिन् । विस्तारै बढ्दै गएको असमझदारीले सम्वन्ध विच्छेदसम्म पु¥यायो । त्यो बीचमा मैले उनको चियोचर्चा गरें । उनि परपुरुषसँग सम्वन्ध राखेको प्रमाण पनि फेला पारें । त्यो कुरा उनले स्विकार्न चाहिनन् । भएको त्यहि थियो । ससुरालीमा कुरा गरें । उल्टो मलाई दोषी देखाउने काम भयो । चार वर्ष दुख गरेको पैसा पनि थिएन । शिक्षक हुँदा दुःख गरेर उनकै नाममा किनेको घडेरी पनि थिएन । बुबाको नामको सम्पतिबाट मैले अंश लिएर उनलाई आधा दिने शर्तमा पनि सहमति हुन सकेन । अदालतमा चलिरहेको मुद्दा फैसला हुन सकेको छैन । सँगै बस्न सकिदैन । छुट्टिन पाईदैन । अनि राजधानीमा घटेको घटना निशंश भयो भनेर आँशु चुहाउन त सजिलो छ तर भोग्नेहरुलाई थाहा छ लोग्ने मान्छेहरुलाई श्रीमतीहरुले कति तड्पाएर राखेका छन् । म भन्छु यस्ता महिलाबाट सबै पुरुष सचेत हुन जरुरी छ । 

रोहन सिंजाली
धुलिखेल, काभ्रे