पनौतीमा रहेको सुधार गृहमा एक युवाले ज्यान गुमाएका छन् । सुधार गर्ने नाममा भएको यातनाबाट उनको निधन भएको परिवारको आरोप छ । हुन पनि हो सुधार गृहमा हुने अमानवीय यातनाले धेरै ब्यक्तिहरु लागु औषध सेवनबाट बाहिरिन थालेका छन् । आफुले जन्माएको छोरालाई तह लगाउन नसकेरै सुधार गृहमा पठाउने परिस्थिति निर्माण हुँदो रहेछ । त्यहाँ सहज ढंगबाट उसले टेर्ने वाला छैन । त्यहि कारण उनिहरुले यातना दिन्छन् । यातना र खाने बानी छुटाउने अभ्यासले मान्छे लागु औषधबाट मुक्त हुने प्रयास गर्छ तर सम्भव छैन । यसको एउटै उपाय हो सानै देखि बालबालिकाहरुलाई आफ्नो पहुँचमा राख्नु पर्छ । नियन्त्रण हैन नियमन गरिनु पर्छ । सुख सुविधासँगै हेरबिचार गरिनु पर्छ ।
म पनि त्यस्तै पीडा बोकेको ब्यक्ति हुँ । मेरो घटनाका बारेमा धेरै कुराहरु सार्वजनिक भएका छन् । कोहि दोषि हुँदा पनि कारवाहीमा पर्दैन । कोहि निर्दाेष भएर पनि कारवाहीको भागिदार हुन सक्छ । लागु औषधका घटना त्यसकै उदाहरण हुन । यहाँ संगतले बिगारेको हुन्छ । बिगारेको छ । तर पनि ब्यक्ति र घर परिवारलाई त्यो कुराको पत्तो हुँदैन । युवा अवस्थामै मान्छेका हरेक कुराहरु निर्धारण हुँदा रहेछन् । घर परिवार पहिलो पाठशाला रहेछ । धेरैले विद्यालयको भरमा आफ्ना सन्तानहरुलाई छाडिदिएका हुन्छन् । जसले आफ्ना सन्तानलाई निगरानीमा राख्दैन, जसले उसको हरेक कृयाकलापको चियोचर्चाे गर्दैन उसका सन्तानहरुको परिणाम राम्रो हुनेवाला छैन । सानोमा गाली गर्दा रिसाउँदा भनेर चिन्ता गर्ने अभिभावकहरु भविष्यमा पछुताउनु बाहेक अर्काे उपाय छैन । सानोमा मर्ला भन्ने डर ठुलोमा मार्ला भन्ने डर । यस्तै भन्नुहुन्थ्यो मलाई सानोमा हजुरबुबाले । के भन्नुहुन्छ जस्तो लाग्थ्यो आखिर कुरा हो रहेछ । माया प्रेम जीवन क्षणिक कुरा हुन् । मान्छेलाई दिनुपर्ने सत्कार र सँस्कार रहेछ । जसले सँस्कार र सत्कार सिक्दैन उसले भविष्यमा दुःख पाउने बाहेक अर्काे कुरै छैन । सुख, खुशी, मज्जा आजको पुस्ताका पहिलो रोजाईका विषय हुन् । पहिलो पुस्ताले गरे जस्तो मेहनत, परिश्रम, ब्यवस्थापन र सम्मान, संस्कारमा पछिल्लो पुस्ता चुक्न थालेको छ । म मात्रै जान्ने, म मात्रै विद्वान भन्ने अहम् र प्रविधिका कारण मान्छेहरुमा घमण्ड पनि बढ्दो छ । प्रविधिले मान्छेहरुलाई नजिक भएकासँग टाढा र टाढा भएकालाई नजिक ल्याउन शुरु गरेको छ । त्यसकै विकास हो लागु औषधको प्रयोग । ओसारपसार । विक्री वितरण । गाँस छाड्नु साथ नछाड्नु । आमा बुबाको यस्तै थियो मलाई आशिष । हरेक वर्षका दशैंमा होस् वा अरु समयमा यस्तै आशिषहरुले भरिन्थे मेरा मस्तिस्कहरु । उहाँहरुको कोमल मन र ह्दयलाई पलपल रुवाउँदाको परिणाम मैले भोग्न पुगें । जसको विश्वासमा परें उसैले मलाई धोका मात्रै दिएन जीवन नै बर्वाद बनायो ।
यतिखेर म जेलमा छु । जेल भित्र धोकेबाजको पर्खाईमा छु । सानैदेखिका साथी हौ हामी । उसले के ग¥यो कसो ग¥यो मलाई थाहा भएन । मेरो पनि कुनै बेला संलग्नता नभएको होईन । संलग्नताकै आधारमा मैले होईन र गरिनँ भन्न सक्ने आधार छैन । त्यसको प्रमाण पुग्दैन । तर पनि थुप्रै युवाहरु आज मेरो जस्तै अवस्थामा फसेका छन् । राज्यले त के नियन्त्रण गर्न सक्ला र ? घर परिवारमा अभिभावकहरुले नियन्त्रण गर्न नसकेका आफ्ना सन्तानहरुको भविष्यका बारेमा कसले लिन्छ चिन्ता ? ललितपुर जिल्लाको शहरी क्षेत्र पाटनमा मेरो जन्म भयो । अभाव कमै थियो । बुबा सरकारी नोकरीमा हुनुहुन्थ्यो । सानो दर्जाको भए पनि बुबाले हाम्रा लागि गरेको अथक मेहनत हामीले कहिल्यै विर्सनु हुँदैन । उहाँको मेहनत र इमान्दारितालाई लात हानेकै कारण म कारागारामा बन्दि जीवन विताई रहेको छु । उहाँको विश्वासमा धोका दिएका कारण हरपल चिसो छिँडीमा औला भाचेर आफैलाई कोतरिरहेको छु । घरको एक्लो छोरो म । धेरैले छोरा जन्मिएन भनेर चिन्ता गरेका हुन्छन । जन्मिएको छोराको यो ताल देखेर कति बाबु आमा ठिकै गरिएछ सुपुत्र जन्माउन नसकिए पनि कुपुत्र त जन्मिएन भन्ठान्दै होलान् । पृथ्वीको भार कसरी हटाउँ ? बुबा आमाले कुन स्कुलमा पढ्ने ? कस्तो स्कुलमा पढ्ने ? के लगाउने ? के खाने ? कुनै कुरामा कमि गर्नु भएन । मेरो स्वभाव अध्ययन गर्नेमा कहिल्यै गएन । उहाँहरुको पहुँच विद्यालय स्तरमा हुने भए पनि म सबैलाई मेरो वशमा राखिरहेको हुन्थें । बुबा विहानै अफिस जाने, आमा घरको काम गर्ने । म आफु खुशी गर्ने । बुबा आमाका दुई छोरी पनि छन् । हरेक बाबु आमाले छोरीलाई भन्दा धेरै माया चाहेर पनि नचाहेर पनि छोरालाई गर्नुहुँदो रहेछ । चाहे त्यो छोराले किन मतलब नगरोस् ? यो मेरै अनुभव पनि हो । अभिभावकको धेरै स्वतन्त्रता र ब्यस्तता पनि सन्तान विग्रनुको प्रमुख कारण हो । घर नजिकैको विद्यालयमा अध्ययन गर्दा गर्दै कक्षा ८ मा पुगेपछि अध्ययन छाँडे मैलें । अध्ययन गर्दाका पनि अनेक छन् घटना । कक्षा छाडेर अन्यत्र जाँदा कहिले शिक्षकको त कहिले घरबाट गाली खाईन्थ्यो । कडा शिक्षकहरुको त खासै कक्षा पनि लिन चाहेनौ हामीले । बुबालाई पैसा माग्न सक्दिन थिएँ आमा मार्फत आफ्नो आवश्यकता पूरा गर्न रकम लिने गरेको थिएँ । एक्लो छोराको करामत थियो यो सबै । साथीहरु अनेक खालका थिए मेरा । कोहि विद्यालयमै चुरोट खाउँ भन्थे । कोहि लुकेर गाँजा खान्थे । कोहि के गर्थे । कोहि के गर्थे । उनिहरु पनि भन्थे मलाई जीवनमा एउटा कुरा कहिल्यै नभुल्नु । जन्म दिने बाबु आमा र जसले साथ दिएको छ त्यसलाई कहिल्यै नछाड्नु । खान लाग्या खाना छाड्नु तर साथीको साथ नछाड्नु । मैले होला भन्ने सोचेको थिएँ तर त्यस्तो हुँदो रहेनछ । आफुले पर्दा सबैलाई त्यस्तो सोच्छु आफुलाई पर्दा सबैले भड्खालोमा राखेर उम्कदाँ रहेछन् । त्यो स्कुलमा अध्ययन गर्ने केहि राम्रा साथीहरु थिए । मेरो संगतमा परेका अधिकांश खराब संगतका साथीहरु परे । केहिले कक्षा ६ मै अध्ययन छाडेका थिए । केहिले कक्षा ७ मै अध्ययन छाडेका थिए । बल्ल बल्ल मैले कक्षा ८ सम्मको अध्ययन गरेको थिएँ । मैले पनि थप अध्ययन गर्न छाडें । १५ वर्षको उमेरमा अध्ययन छाडेको बालकको बालमस्तिक के होला ? कुन संगतमा उसले अध्ययन छाड्यो होला ? पनौतीको घटनाको पाठ पनि यहि हो । उ त मरेर गई हाल्यो । हामी बाँच्नेहरु त्यसकै जस्तो घटनाको शिकार भएका छौं ।
आजकाल हरेक विद्यालयका बालबालिकाहरुको संगत खराब हुँदै गएको छ । नीजि विद्यालयमा छात्राबासमा अध्ययन गर्ने बालबालिकाहरु त्यस्तो नकारात्मक कार्यमा संलग्न भएका छन् भने सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरु खुलेआम विद्यालय छाडी छाडी यस्तो कार्यमा संलग्न छन् । यस्तो अपराधमा संलग्न गराउने हामी जस्तै युवाहरु नै हौं । शुरुमा कम पैसामा वा निःशुल्क सेवन गर्न लगाउने, जब बानी पर्छ तब रकम लिएर, चोरेर, मागेर भए पनि खानु पर्ने अवस्थामा पुग्छन् । +२ अध्ययन गर्न शुरु गरेका ९० प्रतिशत केटाकेटीहरु यस्तो लतमा पुगेका छन् । तपाई बनेपा, पनौती, काठमाडौ, धुलिखेलका सडक, होटल गल्लि, खुल्ला चउर गौडाहरुमा हेर्नुस् युवाहरु चुरोट भित्र अनेक चिजहरुको मज्जा लिईरहेका छन् । शुरुमा उनिहरु केहि होइन भन्ठान्छन् पछि त्यसले आफुलाई खाईरहेको हुन्छ । मैले यहि बसेर थाहा पाएँ । जिल्ला प्रहरी कार्यालयले यसको अभियान पनि शुरु गरेको छ । केहि युवाहरुलाई पक्राउ पनि गरेको रहेछ । केहि दिन अघि धुलिखेलमै तीन जना युवा र एक युवती लागु औषधको प्रयोग गर्ने तयारी गर्दा गर्दै पक्राउ परेका रहेछन् । ति मध्येका एक नीजि विद्यालयका शिक्षक पनि रहेछन् । यसले कुनै समुह वा वर्गलाई छाडेको छैन । हरेकको घर भित्र यसको प्रवेश हुन थालिसकेको छ । यसलाई समयमै रोक्न सकिएन भने समाजलाई ध्वस्त बनाउँछ । भक्तपुर र काभ्रेको सिमाना साँगा हाम्रो केन्द्र बन्दै गएको थियो । मलाई भक्तपुरको सिमानामा पक्राउ परेको भन्दै भक्तपुरमा पठाईयो । यहाँ पनि म जस्ता थुप्रै साथीहरु एक भएका छौं ।
मेरो गाउँकै एकजना साथी थिए । उनी २० बर्षका भएछन् । उनले पनि कक्षा ८ अध्ययन गरेर छाडेका थिए । उनकै लहैलहैमा म फसें । हुन त मेरो कमजोरी हो । मैले उनले भनेको नमानेको भए कुरै सकिन्थ्यो । त्यस्तो हुन सकेन । शुरुमा मैले उनी र उनीजस्ता अरु साथीहरुको आग्रह अनुसार ड्रग्स सेवन गरें । घर नजिकै कुवा थियो । विद्यालय हिडेको मान्छे त्यहि कुवा सहितको धारा वरिपरी हुन्थ्यौ । त्यहि कारण छुट्यो अध्ययन । त्यो साथीको नाम कविन्द्र सुनार हो । म पढेकै स्कुल हो उसको । हामी प्रायः धारामा पानी लिन जाने निहुँमा केहि वर्ष अघि देखि चुरोट, चुरोटमा गाँजा राख्दै ड्रग्स समेत सेवन गर्न थालेका थियौं । त्यहि क्रममा विद्यालय जाने उमेर कटाउँदै ड्रग्स सेवनमै लाग्न थाले । आजकाल हरेक विद्यालयमा अध्ययन गर्ने सोहि उमेरका विद्यार्थीहरुको निगरानी हुन सकेन भने यस्तै युवाहरुले सप्लाई गर्ने ड्रग्सको शिकार हुन्छन् । अभिभावकले दिने रकम ड्रग्सकै खरिद विक्रीमा प्रयोग हुन थालेको छ । त्यसको मतियार हामी जस्ता युवाहरु भईरहेका छौं । कमजोर कानून, बेरोजगारी मुख्य कारण हो । यसको ओसारपसार सहज भएकाले धेरै युवाहरु खतराको सूचीमा परेका छन् । घर परिवारले आफ्ना सन्तानहरुलाई नियन्त्रण, अनुगमन र अनुशासनमा राख्न नसक्दा पछिल्लो समय युवाहरु लागु औषध प्रयोग, ओसारपसार र गलत बाटोमा लाग्न थालेका छन् ।
अरनिको राजमार्गको नासिका साँगा ६ स्थित प्रहरीले नियमित जाँच गरिरहेको रहेछ । मोटरसाईकलमा उहि साथी र म थियौं । उसको मोटरसाईकल थिएन । मेरो मोटरसाईकल भएकाले मैले चलाएको थिएँ । प्रहरीको चेकिङ्ग शुरु भएपछि साथीले बोकेको ब्याग छाडेर फरार भयो । आजसम्म पनि उसको खोजखबर छैन । ब्यागमा प्रहरीले डाईज्याल्याव लेखिएको एम्फुल, फेनागन लेखिएको एम्फुल र नोफिन लेखिएको एम्फुल फेला पा¥यो । म छाँगाबाट खसे झै भएँ । प्रहरीले ब्याग खोल्दा खोल्दै उ किन भाग्यो ? मलाई त्यो कुरा थाहा थिएन । उसले आफ्नो मामाघर साँगा नजिकै पलाँसे भएकाले मेरो मोटरसाईकल भएकाले पु¥याई दिन भनेकाले मात्रै मैले उसलाई मेरो पछाडी राखेर ल्याईदिएको थिएँ । उ भागेपछि प्रहरीले म र मेरो मोटसाईकल सहित ड्रग्सको ओसारपसारको अभियोगमा पक्राउ ग¥यो । काभ्रेको प्रहरीले भक्तपुरको सिमानामा पक्राउ गरेकाले मलाई भक्तपुरमा पठाई दियो । अध्ययन छाडेर २ महिना मैले काठमाडौमा एक पसलमा काम गरेको थिएँ । त्यहाँ पनि लामो समय काम गरिन । अनलाईन जब गरिरहेको थिएँ । अनलाईमा सामान एप्लाई गरेपछि होम डेलिभरीको सर्भिस दिएर दैनिक ५ सय देखि एक हजार कमाउने गरेको थिएँ । पहिले लागु औषध सेवन गरे पनि पछिल्लो समय मैले त्यसको प्रयोग पूर्णत बन्द गरेको थिएँ । अझ ओसारपसार त मलाई शंका पनि थिएन । त्यो काममा मेरो साथी सक्रिय रहेछ । हरेक ठाउँमा उसले मलाई प्रयोग गरेको रहेछ । मेरो चाहना अनुसार बुबाले नै कार्यालय सहयोगीकै तलबबाट पल्सर मोटरसाईकल खरिद गरिदिनु भएको थियो । मेरा हरेक आवश्यकता पूरा भएका थिए । मेरो साथीले के काम गर्छ मलाई नै थाहा थिएन र छैन पनि । बीचको समयमा उसले मलाई भेट्यो र सहयोग माग्यो । मैले उसको आग्रहलाई नकार्न सकिनँ र म फसें । दशैंको विदा भएकाले सहज पनि थियो । उसले ड्रक्स को मार्फत ल्याउने र कसलाई विक्री गर्छन् ? मलाई केहि थाहा छैन । अनुसन्धान हुँदै थियो र भयो पनि । तर पनि उनलाई फेला पार्न प्रहरीलाई हम्मे हम्मे प¥यो । म भने साथीलाई दिएको साथले फसिरहेको छु । पीडामा छु । टोलाई रहेको छु । साथ दिँदा फसेको पीडाबोधले आफन्तसँग लज्जाबोध भएको छ । म त परेँ परें अरु युवाहरु यस्तो कार्यबाट जोगिनु पर्छ । यो अभियानमा सबै सरोकारवालाहरुले ध्यान दिनुपर्छ । युवाहरु कि त विदेशिएका छन् । कि त यस्तै कुकर्ममा छन् । अपराधमा संलग्न भएका युवाहरुलाई सहि मार्गमा ल्याउन राज्यका सबै निकायहरुले सोच्ने बेला भएको हो कि ?
शिवकुमार कुसुले
जिल्ला कारागारा कार्यालय, भक्तपुर





