2026 July 29/ 09:54: 17am

    म दश वर्षकी चुलबुले छोरीकी आमा हुँ । मसँग छोरी छ भन्न पाउँदा मलाई निकै गर्व महसुस हुन्छ । छोरी जन्माएर आजसम्म मैले कुनै एक पल पनि पश्चाताप गर्नुपरेको छैन । जब आमा बन्दै गरेको सूचना पाएकी थिएँ छोरीको कल्पनाले निकै खुशी छाएको थियो मनमा । अझ भनौ छोरी मेरो जिन्दगीको सार, जिम्मेवारीको बाटो र  खुसीको कारण पनि हो ।
    उसले मलाई हरपल हसाइरहन्छे । खुसीका फूल छरिरहन्छे घरमा । सायद मलाई जस्तै हुँदो हो हरेक छोरीका आमालाई । छोरी जन्माएका प्रत्येक आमाको अनुहारमा आत्मसन्तुष्टिको रौनक देख्ने गर्छु म । हुन त छोरी पाएर गर्व महशुस गर्ने समाज बनिसकेको छैन तपाइँको देशमा । अंश र वंश धान्नको लागि छोरा नै चाहिन्छ भनेर हरेक घरघरमा दबाब दिने गरिन्छ । गर्भमा छोरी रहेको थाहा पाउना साथ गर्भ फाल्नको लागि बाध्य पारिन्छन् आमाहरु । छोराकै आशमा धेरै छोरी जन्माउन विवश छन् महिलाहरु । छोरालाई बढी महत्व दिने सामाजिक परिवेश सँगसँगै हामीले मान्दै आएको संविधान तथा कानुनमा पनि असमान अधिकार लेखिएको छ । हामीले निर्माण गरेको कानमा पैतृक सम्पत्ति र नागरिकताको विषयमा छोरालाई जस्तै समान अधिकार दिन सकेका छैनौं ।
    कक्षा १२ मा पढ्ने उनी कलेजबाट फर्कदा फर्कँदै बाटोमै अपराधीको शिकार बन्न पुगिन् । दुई महिनाअघि श्रीमान गुमाएकी भागरथीको आमालाई सम्झेर यतिबेला म बेलाबेला भक्कानिन्छु । मैले जस्तै माया गरेर हुर्काएकी प्यारी छोरीलाई त्यो हालतमा देख्दा उनी कसरी सम्हालिएकी होलिन् ? कानुनले पनि लिखित रुपमै विभेदमा पारेको छ हामी छोरीलाई । बेलाबेलामा महिलाका मुद्दालाई एनजीओको ट्याउ ट्याउ मात्रै हो भनेर पन्छाइदिने गरेका खबर सुनिएकै छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानवसेवा आश्रमले गरेको एक कार्यक्रमको शिलशिलामा नजिकबाट सुन्ने मौका पाएकी थिएँ । मलाई राम्रोसँग याद छ त्योबेला तपाइँले बाध्यताले सडकमा बस्न बाध्य भएका मानवप्रति निकै करुणाका शब्द खर्चनु भएको थियो । तपाइँले भन्नुभएको थियो मेरा आफ्नै सन्तान त छैनन् । सन्तानको माया कस्तो हुन्छ थाहा छैन । मेरा आफ्नै सन्तान भएको भए पनि उनीहरुको भन्दा बढी माया म सडकमा बस्ने मानिसलाई गर्थेँ होला ।’
    आफ्ना देशका बेसहारा नागरिकमाथि तपाइँले देखाउनुभएको त्यो सदासयता सुनेर खुसीले पुलकित भएकी थिएँ । लागेको थियो तपाइँले नेतृत्व गरेको देशमा मेरो छोरी निस्फिक्री बाँच्न पाउछे ।  कुना कन्दरा एक्लै डुल्न पाउछे । मेरो छोरी जहाँ रहे पनि सुरक्षित हुनेछ । तर, मैले गरेको यो विश्वासले धोका खायो । पछिल्लो दुई वर्षमा बालिका बलात्कार तथा हत्याको घटनाको संख्या उकालो ग्राफमा उक्लिरहेको छ । तपाई प्रधानमन्त्रीबाट छाडिरहँदा पनि यो क्रम रोकिएन । म अर्काे भ्रममा थिएँ सायद केपी शर्मा ओलीको नेतृत्व हुँदा मात्रै त्यस्तो हो कि ? त्यस्तो होईन रहेछ । गठबन्धनको सरकारले पनि आखिर त्यहि गरिरहेको रहेछ । जुन जोगी आए पनि कानै चिरेको भन्ने नेपाली उखान चरितार्थ भईरहेको छ ।
    बलात्कारपछि हत्या गरेर जंगलमा फालिएकी बैतडी दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया युवती भागरथी भट्टको हत्यारा लामो समय पक्राउ परेनन् । गृहमन्त्री र प्रहरी अधिकारी स्वयंले हत्यारालाई सजायँ दिन्छौ भनेर भाषण गरिरहँदा अपराधी पक्राउ लामो समय लागेको थियो । कक्षा १२ मा पढ्ने उनी कलेजबाट फर्कदा फर्कँदै बाटोमै अपराधीको शिकार बन्न पुगिन् । दुई महिना अघि श्रीमान गुमाएकी भागरथीको आमालाई सम्झेर यतिबेला म बेलाबेला भक्कानिन्छु । मैले जस्तै माया गरेर हुर्काएकी प्यारी छोरीलाई त्यो हालतमा देख्दा उनी कसरी सम्हालिएकी होलिन् ? भागरथीको लाशको फोेटो हेर्दै गर्दा मैले त्यहाँ मेरो आफ्नै छोरी, बैनी र स्वमं मेरो असुरक्षित भविष्य देखिरहेकी छु । त्रसित बनेकी छु । मलाई छोरी जन्माएको भएर पश्चाताप लाग्न थालेको छ । कतै मैले मेरो छोरीलाई सुरक्षित जिन्दगी दिन नसक्ने त हैन ? निर्मला पन्त, अंगुरा पासी, पुजा यादव, सरस्वती हरिजन, रुमती दास, सम्झना विक जस्तै तमाम बालिकाको भीडमा मेरो छोरीको नाम पनि पर्ने त होइन । उसको सुनौला सपना यसै गरी निमोठिने त होइनन ?
    जब–जब बालिका बलात्कार र हत्या हिंसाको घटना सुन्छु मुटु थर्थराउने गर्छ मेरो । बिहान उठ्नासाथ सामाजिक सञ्जाल स्क्रोल गर्न डर लाग्छ । फेरि अर्को बालिका मारिएको घटना सुन्न नपरोस् भनेर मनमनै प्रार्थना गरिरहन्छु । बिहान गेटैमा आइपुग्ने पत्रिकाको हेडलाइन हेर्न डर लाग्छ । सोच्छु, ‘कतै कुनै बालिका बलात्कार अनि हत्या भएको समाचार र तस्बिर प्रकाशित त भएको छैन ? गरिबीकै कारणले कुनै महिलाले छोराछोरीलाई नदीमा धकेलेर आत्महत्या गरेको खबर त छैन ? वा नसालु पदार्थ खुवाएर रातभर सामूहिक बलात्कारपछि सडकमा अचेत बनाएर फालिएकी बालिकाको समाचार पो छ की ? मलाई यस्ता सूचना, खबर र घटना सुन्नै मन लाग्दैन । हेर्नै मन लाग्दैन । तर म विवश छु तपाइँको राज्यमा । हामीले यति ठूलो राजनीतिक परिवर्तन गर्यौं । देशमा राणाशासन, पञ्चायतको अन्त्य गर्दै बहुदल र लोकतन्त्र हुँदै गणतन्त्रको स्थापनासमेत गर्यौं । अहिले तपाई संघीय गणतान्त्रिक मुलुकको प्रमुख हुनुहुन्छ । धेरै कुरामा अग्रगामी छलाङ मारेका हामीले आफ्नै समाजलाई भने परिस्कृत बनाउन सकेनौ । के हामीले आपराधिक प्रवृति मिसिएको समाजको परिकल्पना गरेका थियौ त ? हैन भने किन बालिका बलात्कारका घट्नाहरु बढ्दैछन् ?
    किन रोकिन्न जघन्य अपराध । सोच्दा पनि कहाली लागेर आउँछ, जन्मदिने बाबुले आफ्नै छोरीलाई गोली हानेर किन मार्छ ? हुर्कदै गरेका हाम्रा छोरीमाथि छिमेकी अंकलको गलत नजर किन पर्छ ? कुन हिम्मतले उठाउँछ अपराधीले यस्तो कुर्कमको बाटो ? अझ बलात्कार भएको प्रमाण माग्ने तपाइँको कानुनले हामीलाई न्याय दिन्छ भनेर कसरी विश्वास गर्ने ? के जन्मदा एक थान योनी लिएर आएकै भरमा हामी महिलाहरु आजन्म असुरक्षित भैरहनुपर्ने हो ? जसले जहाँ भेट्यो, मनलाग्दी गर्न, अचेत बनाएर फाल्न, हत्या गर्नको लागि कसरी उत्साहित हुन्छ एक अपराधी पुरुष मानसिकता तपाइँको राज्यमा । हैन भने किन बन्दैन हाम्रा लागि सुरक्षित तपाइँको राज्य ? मेरो छोरी ठूली हुँदैछ उसले हरेक कुरा बुझ्न खोजिरहन्छे । ब्याड टच र गुड टचको बारेमा थाहा पाउन थालेकी छ । एक दिन पत्रिकाको पाना देखाउदै सोधेकी थिई, ‘मामु बलात्कार भनेको के हो ? किन गर्छन् ? किन मार्छन् । धेरै दिनसम्म नाजवाफ भए म । स्कुल, कलेज, बाटो घाटो, पार्क, अस्पताल, घर, बजार हरेक ठाउँमा अपराध भैरहेपछि म उसलाई कुन ठाउँमा पठाउँ ? कहाँ जाँदा सुरक्षित हुन्छ भनेर बताउँ ? भर्खर बढ्दै गरेकी मेरी छोरीलाई उसका साथीहरु पनि अपराधी हुन सक्छन भोली भनेर कसरी भनुँ ।
    समाचारमा सुनिरहेकी हुन्छु, अदालतले बलात्कार भएको प्रमाण माग्यो रे ? अनुसन्धानमा सक्रिय पुलीसले पैसा खाएर घटना मिलायो रे । राजनीतिक पहुँचका आधारमा अपराधी गाउँघरमा डुलिहिँडेको छ रे ? अब भन्नुस् हाम्रा छोरीलाई के सिकाउने ? के बताउने ? कहाँ लगेर जोगाउने ? साँच्चै हाम्रा लागि निस्फिक्री हिँड्न पाउने समाज कहिले बन्छ ? दिनप्रतिदिन बढ्दो बलात्कार अनि त्यसपछि हत्याको पछाडि कारण के छ भनेर हामीले कहिल्यै खोतल्ने प्रयाससमेत गरेनौं । देशका कुना कन्दरामा भइरहेका घट्नाहरुलाई किन हामीले सूक्ष्म अनुसन्धान र अध्ययन गर्न सक्दैनौं । राज्य संयन्त्र गाउँ गाउँसम्म फैलिएको छ । अहिले त झन् स्थानीय तह सक्रिय छन् । वडा वडासम्म स्थानीय सरकारका जनप्रतिनिधि निर्वाचित भएको अवस्था छ तर, पनि हामीले किन हाम्रो समाजमा भइरहने यस्ता घट्नामा गम्भीर हुन सकेका छैनौं ? हामी कहाँनेर कसरी चुक्यौ ?  
    तपाइँलाई थाहा होला कति ठाउँमा जनप्रतिनिधि नै बलात्कारका घटनामा मिलापत्र गराउँदै हिँड्ने गरेको सुनिन्छ । बझाङमा बालिकाको बलात्कारपछि हत्या गर्ने घट्नामा संलग्न भनिएका युवकले केही समयअघि नै एक अर्की किशोरीको बलात्कार गरेको र जनप्रतिनिधिकै संलग्नतामा मिलापत्र गराएको पुष्टि भएको थियो । तराईमा पनि केहीसमय अघि यस्तै एउटा घटना सार्वजनिक भयो। यी सबै तथ्यले के देखाउँछ भने हामी कस्तो शासन व्यवस्था र समाजको परिकल्पना गरेर हिँडिरहेका छौ ं। जहाँ देश र जनताको सेवा गर्न भन्दै राजनीतिमा होमिएर निर्वाचित भएका जनप्रतिनिधिको यी घट्नामा संलग्नता पाइनु कतिको उचित छ ? के तपाइँलाई यहाँ केही गलत भैरहेजस्तो लाग्दैन ?  हुन त केहीसमय अघि बलात्कार र एसिड आक्रमण सम्बन्धी अध्यादेश नै ल्याएर कानुनमा केही परिमार्जन भएको छ । हेर्दा र पढ्दा फुलबुट्टे कानुनका बुँदाले मेरी छोरीको रक्षा गर्न सक्दैन भने त्यो कानुनको के काम ? कडा भनिएको अध्यादेशको के अर्थ ? कार्यान्वयनको पाटो गतिलो हुन सकेन भने त्यसले प्रभावकारी नतिजा त दिन पनि त सक्दैन ।
    स्कुलबाट फर्कदा फर्कँदै बलात्कार भएर बाटोमै विभत्स मृत्युवरण गर्न बाध्य हाम्रा छोरीको लाश देख्दा तपाइँको मन दुख्छ ? यदि दुख्छ भने आफ्नै अगाडि सडकमा लडिरहेका नाबालक छोरीको नाङ्गो लाश हेर्न विवश आमाको नियती कहिले बन्द हुन्छ ? हामीले समाजमा घटिरहेका घटनामा पीडकलाई कानुनी दायरामा कति ल्याउन सक्यौं त्यो पनि महत्वपूर्ण पाटो होला । कानुन छ त कार्यान्वयन गतिलो हिसाबले नभइदिने हो भने त अपराध गर्ने मानिसको मनोवृति झन झन बलियो हुने गरेको त देखिरहेकै छौं । नत्र बझाङकी सम्झना विकलाई बलात्कार गरी हत्या गर्ने आरोपी पहिलो अपराधमा किन उन्मुक्ति पाउथ्यो ? हामीले परिकल्पना गरेको समाजमा किन पुरुष यति हिंस्रक बन्न सकेको होला । नेपालमा घट्ने बलात्कारका घटनामा संलग्न हुने एकै समूहका मात्रै छैनन् । अझ भन्नुपर्दा परिवार, छरछिमेक र साथीभाइ नै संलग्न हुने गरेको पाइन्छ । युवादेखि उमेर पुगेका र बृद्ध उमेरसम्मबाट बलात्कार भएको घट्ना सुन्न पाइन्छ । के यो व्यक्ति भित्रको मनोदशाले मात्रै काम गरेको हो वा हामीले समाजलाई नै त्यही दिशाबाट अघि बढाएर लगिरहेका छौं । या पश्चिममा संस्कृतिको प्रभाव भनौं के भन्ने ठम्याउन नसकिने अवस्था सिर्जना भएको छ ।
    फेरि तपाइँ भन्नुहोला हिजो जसरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणपछि घटना त बाहिर देशमा पनि घटेका छन् । हत्यारा पत्ता लगाउन १२ वर्षसम्म पनि लाग्न सक्छ । राज्य सञ्चालन गर्ने प्रमुख व्यक्ति अझ राज्यका महत्वपूर्ण निकायमा बसेका मानिसबाट यस्ता खालका अभिव्यक्ति आउनु पनि एउटा कारण होइन र बलात्कारको ? यसले आम जनसमुदाय अझ भन्नुपर्दा त्यस भित्र बस्ने अपराधिक मानसिकताको मानिसमा त यस्ता विषयले हौसला नै प्रदान गर्ने होइन र ? किन हामी समाजमा हुने घटनामा पीडितलाई न्यायको अनुभूति दिन सक्दैनौं । प्रहरी प्रशासन र राज्य संयन्त्रका मानिसहरुबाट किन आम जनता विश्वस्त हुन सक्दैनन् । तपाइँ हेर्न सक्नुहुन्छ हिजो आज घटना भए लगत्तै किन पीडित परिवार र त्यो समाजका मानिस दोषीलाई कारबाही र न्यायका लागि भन्दै संघर्षका कार्यक्रम गर्न बाध्य छन् ? राज्यप्रति आम नागरिकको भरोसा कम भएर हो ? विगतका घटनामा प्रभावकारी अनुसन्धान, पीडितलाई न्याय र पीडकलाई कानुनी कठघरामा उभ्याउन राज्य संयन्त्रले प्रभावकारी रुपमा काम गरेको भए सायद हिजोआज घट्ने घटनामा नागरिकले आन्दोलन गरिरहन पर्ने थिएन् होला । आज हरेक घरका छोरीहरु देशमा घटिरहेका यस्ता घटनाले त्रसित बनेका छन् । कोहीप्रति भरोसा गर्न सक्ने वातावरण बनिरहेको छैन । यस्तो अवस्थामा तपाइँ सरकारको प्रमुख भएको नाताले कसरी आम समुदायलाई आश्वस्त पार्न सक्नुहुन्छ ?

शर्मिला पौडेल
छोरीकी आमा
काठमाडौं