भोगाई र भाग्य । यी दुईको सम्बन्ध कहाँ छ ? मलाई जानकारी छैन । तर मेरो भोगाईमा भाग्यको दोष सम्झन्छु म । हरेक ब्यक्तिका आ–आफ्ना भोगाई हुन्छन् । हरेक भोगाईहरुले सिकाई त हुन्छ नै तर सिकाईले मात्रै जीवन धान्न असहज हुने रहेछ । सहनुको विकल्प पनि छैन र थिएन पनि । बच्चाहरु स–साना थिए । साँझ–बिहानको छाक टार्न समस्या थियो । घरमा उब्जनी थिएन । हरेकलाई सहयोग गर्नुपर्छ भन्ने मान्यता थियो मेरो । गाउँमा आई राख्ने एक जना दाइले गरेको अनुरोधलाई नाई भन्न सकिन । अत्यन्तै महत्वपूर्ण सामान छ म जान भ्याइनँ तिमीले सामान छाडिदिएर आउ न भन्नुभयो । काठमाडौं गए बापत केही पैसा पनि दिने र काठमाडौं घुम्ने वातावरण मिलाइदिने भन्दै लोभ देखाए । केहि दिन पछि उनकै आग्रह र सल्लाहमा उदयपुरबाट बस चढेर काठमाडौ आएँ ।
दाइले दिएको झोला साथैमा बोकेकी थिएँ । निकै जतन गरेर ल्याएकी थिएँ । बाटोमा झोला चेकजाँच गर्ने क्रममा मलाई प्रहरीले पक्राउ ग¥यो । म प्रहरीको फन्दामा परें । प्रहरीले समातेपछि म छाँगोबाट खसेजस्तै भएँ । मेरो साथमा भएको झोलामा लागु औषध भेटियो । म झनै दंग परें । के गर्ने के नगर्ने सोच्नै सकिनँ । उनकै कारण म प्रहरीको आँखामा अपराधी भएँ । प्रहरीले तत्कालै चौकीमा लग्यो । लागु औषध ओसारपसार गर्ने न मेरो योजना थियो न मलाई जानकारी । तर पनि म अपराधी भएँ । त्यसकै सजायँ भोगिरहेको छु । जेल परे पछि मेरो घरमा रहेको सम्बन्ध, आफन्त र परिवार प्रतिको जिम्मेवारी पनि फेरबदल हुन पुग्यो । महिलाहरुलाई सानो सानो कुरामा लोभ देखाउने र प्रयोग गर्ने समुह जताततै सक्रिय रहेछ । मैले जेल बस्दा धेरै महिलाहरुको पीडा र कथा सुनेको थिएँ । त्यहि भोगाई मेरा लागि पनि प्रेरणा बन्यो ।
कर्तव्य ज्यान अन्तर्गत २० वर्ष कैद सजाय भोगेकी ६० वर्षीया महिलाको जाने ठाउँ थिएन । केही महिना अघि मात्रै जेलमुक्त भएकी उनी धार्मिक संस्थामा सम्पर्क गरेर आश्रममा गइन् । कारागारको गेट बाहिर निस्किँदै गर्दा उनीसँग संस्थाको ठेगाना लेखिएको कागजको चिट बाहेक अरु केही थिएन । वितेको २० वर्षमा उनी जोडिएका सबै सम्बन्ध छुटे । जेल परेकी बुहारी, श्रीमतीको लागि घरको ढोका सदैव बन्द भयो । सँगै जीवन बाच्ने कसम खाएका श्रीमान समेत एक दिन भेट्न आएनन् । छोराछोरीले आमा चिन्नै पाएनन् । माइतीले त झन् नाता नै तोडिदियो । सिन्धुपाल्चोककी तामाङ थरकी एक महिला पनि लागुऔषध ओसारपसार कसुरमै १७ वर्षको कैद सजाय भोगिरहेकी छन ्। उनी १४ वर्षदेखि जेलमा छिन ्। अबको तीन वर्ष कहिले कट्ला भएको छ । जेल भित्रको समय यति पीडादायी हुन्छ, म बयान पनि गर्न सक्दिनँ । बच्चाहरु आउँछन्, कहिले निस्किने भन्दै सोध्छन् । के भन्ने ? म आवाजविहीन हुन्छु । जेल भित्रको समस्या त छँदै छ बाहिरको समस्या पनि उस्तै छ । बाहिर निस्किएपछि त जे गरेर पनि खाइन्छ जस्तो लाग्छ । लामो समय जेल परेका हामी महिलाहरुको प्राय सबैको घरबार बिग्रिसकेको हुन्छ । पुरुष बन्दीलाई निरन्तर परिवार भेट्न आइरहेको हुन्छ । तर महिला बन्दीलाई भेट्न आउने संख्या निकै कम हुन्छ । मुद्दा फैसला नहुँदै उसको श्रीमान्ले अर्को विहे गरिसकेको हुन्छ । यस्ता समस्या कति हो कति ?
श्रीमान् विदेश भएका बेला गाउँमै सुरु भएको अवैध सम्बन्धका कारण छोरा जन्मिएपछि १९ वर्षीय युवती धर्मसंकटमा परिन् । आवेसमा आएर नवजात शिशुको हत्या गरिन् । उनका प्रेमी फरार भए । उनी दश वर्षका लागि कारागार चलान भइन् । जेलमुक्त हुँदा उनको जाने ठाउँ थिएन । आवेशमा गल्ती गरियो । सजायँ भोगे पनि जीन्दगीभर पश्चाताप लाग्ने रहेछ । लोकलाजको डरले घर र माइत जानै सकिनँ । कारागारभित्र चिनजान भएका साथीहरुको सहारामा उनले अन्य जिल्लामा बसाई सरिन् । कारागारको सजाय सुनाएर बन्दी जीवन विताएका अधिकांश महिला कैदमुक्त हुँदासम्म सबै गुमाइसकेका हुन्छन् । धेरैजसो महिलाहरु कर्तव्य ज्यान, लागुऔषध ओसारपसार, जीउ मास्ने, बेच्ने, गर्भपतन, नवजात शिशु हत्या लगायत मुद्दामा दोषी देखिने गरेका छन् । हुन त अपराधमा संग्लन भएको पुष्टि भएर कारागार चलान हुनु आफैँमा नराम्रो कुरा होइन तर पुरुष बन्दीको तुलनामा महिला बन्दीको जीवन झन् कठिन हुन्छ ।
कारागार व्यवस्थापन विभागको तथ्यांक अनुसार २०७८ सालको असोज महिनासम्म विभिन्न अपराधको कसुरमा १३ हजार ६ सय ६७ जना व्यक्ति दोषी करार भई बन्दी जीवन विताइहेका छन् । जसमध्ये १२ हजार ९ सय ९९ पुरुष र ७ सय ४८ महिला छन् । हरेक महिलाका आ–आफ्ना कथा र भोगाई छन् । यी भोगाईहरुकै कारण हामीलाई झनै हेर्ने दृष्टिकोणमा फरक रहेछ । कारागारमा रहेका थुनुवाको संख्या ११ हजार १२ रहेको छ । जसमध्ये १० हजार ४५१ जना पुरुष र ५६१ जना महिला छन् । देशभरि विभिन्न ठाउँमा रहेका ८ वटा सुधारगृहमा ८४१ जना १८ वर्षमुनिका बालबालिका छन् । जसमध्ये २४ जना बालिका र ८१७ जना बालक रहेका छन् । त्यस्तै विभिन्न कसुरमा संलग्न भएका ४० बढी देशका १ हजार ३ सय १५ विदेशी नागरिक कारागार चलान भएका छन् । पुरुष बन्दीको तुलनामा महिला कसुरदारको संख्या थोरै देखिए पनि उनीहरुको जीवन निकै कष्ठकर हुने गरेको छ ।
कारागारमा रहेका महिला र रिहा भइसकेपछि उनीहरुको जिविकोपार्जन लगायतमा समस्या छ । महिला जेलमा बस्दा तीनका बालबालिकाको हक अधिकार पनि वञ्चित भएको छ । अहिलेसम्म यसको अध्ययन हुन सकेको छैन । अब सरकारले योजना बनाएर गहन अध्ययनका साथ कार्यक्रम गरेर अघि बढ्नुपर्ने जरुरी छ । छोराछोरीलाई कसेर अँगालो हाल्न मन छ । यत्रो वर्ष टुहुरो बनाएँ भन्दै हात जोडेर माफी माग्न मन, कारागारमा भेटिएकी ४४ वर्षीया महिलाले डरलाग्दो भविष्यको अनुमान गर्दै थिइन्, अरुले मेरोबारे नराम्रो कुरा पो लगाइदिए कि ? छोराछोरीले मलाई त्यागिदिने त हैनन् ? जेलमुक्त हुने दिन नजिकिदै गर्दा ती महिलामा छोराछोरीप्रति भयानक डर बसेको छ । तोते बोल्ने छोराछोरी अहिले जवान भइसके । उनीहरुलाई स्पर्श गर्न नपाएको १२ वर्ष भयो । आँखाभरी उनीहरुसँग मिलनको सपना छ । यत्रो वर्ष भेट्न नपाउँदा हुने छट्पटी र पीडा कसरी सुनाउँ ? यस्तो कसुरमा फसिएला भन्ने कसले कल्पना गरेको थियो ?
जति पीडा भए पनि छोराछोरीको मायाले मर्नचाहिँ नदिँदो रहेछ । रुँदा रुदा आँखा पनि रसाए । एघार वर्ष अघि लागु औषध ओसार पसार मुद्दामा अदालतले दोषी ठहर गर्दै १४ वर्षको जेल सजाय तोकेको थियो । ११ वर्षदेखि जेलको चार दिवार भित्र सीमित रहेकी उनलाई टुहुरा भएका छोराछोरीलाई सहारा दिन छटपटी छ । माइतीले कहाँ हेर्छन् बच्चा ? छोरी जेल परे पछि त माइतीको इज्जत बदनाम भयो नि । गल्ती गरेर होस् या नगरेर महिला जेल परि सकेपछि घरबार तहस नहस हुने रहेछ । जेलमुक्त भएपछि कहाँ जाने ? को सँग जाने ? केही भेउ पाउन सकेकी छैनन् । महिला जेल पर्नु भनेको एकैपटकमा सर्वस्व सकिनु रहेछ । जीन्दगी शून्यमा झर्दो रहेछ । हिम्मत भएकाहरु त जीवनको नयाँ अध्याय सुरु गर्दा हुन् ।
गाउँघरमा मागेर, संघसंस्थाले पालिदिएर हुर्किदैछन् छोराछोरी । गाडी भाडा भयो भने २–४ वर्षमा भेट्न आउँछन् । खै देखेको छैन ? कसरी के गर्दैछन् ? झुप्रो बनाएर काम गरी पेट पाल्छन् । हुनतः उनलाई अदालतबाटै दोषी ठहराएको छ । निर्दोष छु भनेर उनले लडेका कानुनी लडाइँ फेल भए । थाहा नपाएरै फसे । मुद्दा लड्ने पैसा समेत भएन । पैसाको लोभमा पर्दा नसोँचेको दुःख भोग्दैछु । पुरुष बन्दीलाई भेट्न आउने महिलाको संख्या निकै छ । तर महिला बन्दीलाई भेट्न आउने पुरुषको संख्या कम छ । अर्थात् श्रीमती जेल परिसकेपछि थोरै श्रीमान्ले मात्रै उनीहरुको साथ दिन्छन् । कारागार चलान भएका ८० प्रतिशत बढी महिला बन्दीको घरबार कैदमुक्त हुँदासम्म समाप्त भएको हुन्छ । उनीहरुले पुनः नयाँ जीन्दगी सुरु गर्नुपर्ने हुन्छ । पुरानो ठाउँ छाड्नुपर्ने हुन्छ । श्रीमान्को घरमा गएर बाँकी जिन्दगी विताउने महिलाको संख्या कम छ ।
जेल परेर निस्किएका महिलाहरुलाई समाजमा पुनःस्थापना गरी बाँकी जिन्दगी सहजताका साथ बिताउने वातावरण सिर्जना हुनुपर्छ । अपवादबाहेक धेरै अपराधका घटना आर्थिक रुपमा कमजोर, विपन्न परिवारमा घट्ने गर्छ । पैसाको लोभमा गलत काम गरेको देखिन्छ । उनीहरु परिवार छोराछोरी पाल्नकै लागि विभिन्न प्रलोभनमा परेको देखिन्छन् । परिवारका लागि गरेको अपराध कर्मको सजाय भोगेर बाहिर निस्किदासम्म उनीहरुको परिवार छिन्नभिन्न भइसकेको हुन्छ । अपराधसँग कहीँ न कहीँ व्यक्तिगत दुस्मनी, आर्थिक प्रलोभन, अवैध सम्बन्ध कारण भएर आउँछ । पछिल्लो समय महिलाहरु अवैध सम्बन्धले जन्माएको नवजात शिशु हत्या तथा प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने खालको जघन्य अपराधमा पनि संग्लन भएका छन् । १०÷२० हजारको प्रलोभनमा लागुऔषध ओसारपसार, मानव बेचबिखनमा पनि संग्लन भएको देखिन्छ ।
एउटै कसुरमा महिला–पुरुष दुवैजना कारागार चलान भएमा जेलमुक्त हुँदा प्राय पुरुषको घरपरिवार ठीकठाक नै हुन्छ । कतिपय महिलालाई लिन आउने मानिस समेत हुन्नन् । हामी बाँचिरहेको पुरुषप्रधान समाज हो । यहाँ पुरुषका ठूला गल्ती पनि ढाकछोप गरिन्छ । तर महिलाका स–साना गल्ती पनि स्वीकार गरिन्नँ । कर्तव्य ज्यान, बलात्कारजस्ता कसुरमा परेर घर फर्किएका पनि केही समयमा त्यही घर, समाजमा सेटल भएका देखिन्छन् । तर महिलाको हकमा कठोर छ समाजको नियम । पुरुषलाई सर्वोच्चसम्म पनि मुद्दा लड्नका लागि परिवारको आर्थिक र अन्य सहयोग भइरहेको हुन्छ । तर महिलालाई त्यस्तो खालको सहयोग हुन्न । महिलाहरुले जिल्ला अदालतबाटै भएको फैसलामा चित्त बुझाइरहेका हुन्छन् । महिलाहरुले गर्ने कसुर घरायसी समस्या समाधान गर्नका लागि हुन्छ । तर त्यसमा फसिसकेपछि उनीहरुले घरपरिवारकै साथ पाउने गरेका छैनन् । महिलाहरु कारागारबाट मुक्त भइसकेपछि पुरुषजस्तै सहजरुपमा समाजमा पुनःस्थापना हुन सकेको अवस्था छैन । सरकारले महिलाहरुलाई पनि सहज पुनःस्थापना हुने खालका कार्यक्रम ल्याउनुपर्छ । कारागारमा हुँदा पनि महिलाहरुलाई आर्थिक उर्पाजनका कामहरुको व्यवस्था गर्न सक्यो भने राम्रो हुन्छ ।
महिलाहरुको हकहित, अधिकार संरक्षण र सम्बर्द्धन गरी विकासको मूलप्रवाहमा समावेश गराउन आवश्यक छ । तर बन्दी जीवन विताएका महिला, उनीहरुको बालबच्चा र समाजमा पुनःस्थापनाका लागि आयोगले अहिलेसम्म कुनै कार्यक्रम ल्याएको छैन । महिला आयोगसहित राज्यका अन्य निकायले महिला बालबालिकाको क्षेत्रमा केही कार्यक्रम गरे पनि कारागारमा कैदी जीवन बिताइरहेका महिलाको हकमा भने कुनै प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकेको छैन । मैले मेरो जस्तो थुप्रै महिलाहरुका कथा भनेको छु् । सबै महिलाहरुको अवस्था उस्तै उस्तै हो । आरोप, अभियोग वा अपराध जे भए पनि महिलाहरु जेल परेपछि भोग्नु पर्ने अवस्था भने उस्तै छ ।
नविना दोङ्ग
उदयपुर, हाल काठमाडौ





