ब्यक्ति जन्मिए पछि मर्छ । सृष्टिमा जन्म लिएका मानिस हुन् वा अन्य प्रजाति । सबैको पुर्नजन्म अवश्य नै छ । कहिले मर्छ, कहिले जन्मन्छ ? त्यो कसैले चाहेर हुने होईन । संसारमा उत्कृष्ट जाति मानव । मानव जातिको जन्म र मृत्युका बारेमा अनेक टिप्पणी हुने गर्छन् । जन्मलगत्तै मृत्यु सुनिश्चित भएका मान्छेहरुको ब्यवहार तपाईका लागि पाच्य नहुन पनि सक्छ । कसैले आँखामा राख्दा पनि नबिझाउने रातो गेडी सम्झन्छन् मान्छेलाई भने कसैले आँखा फुटेको अवस्थामा पनि हेर्न नसक्ने दुष्ट । आखिर जे भए पनि मान्छे हो । कोहि महलमा छन् । कोहि सडकमा छन् । कोहि अस्पतालमा छन् । कोहि स्वस्थ छन् । कोहि बसमा सवार छन् । कोहि निजी कारमा । मान्छेका आ–आफ्ना भाग्य र भोगाई छन् । संघर्ष र ब्यथा छन् । ब्यथा नै ब्यथाका बीच मान्छेले मान्छेलाई आफु मात्रै राम्रो र सक्षम किन सम्झन्छ होला ? थुप्रै प्रश्नको संगालोबाट मेरो दैनिकी गुज्रिरहेको छ ।
मान्छेका लागि सबै स्थान दुष्ट हुँदैनन् । कोहि कोहि मान्छे र कोहि कोहि स्थान मान्छेका लागि भगवान् हुन् । भगवान बनेर आउने केहि त्यस्ता ब्यक्ति र संस्था छ भने त्यो मानव कल्याण समाज हो । मेरा लागि नयाँ जीवनको शुभारम्भ गराउने त्यहि संस्था र संस्थाको नेतृत्व गराउने संस्थाकी अध्यक्ष सुमित्रा चौलागाई । थाहा छैन मलाई उहाँ र उहाँका बारेमा । उहाँको पुरा परिचय पनि मैले सोध्न सकेको छैन । मानव कल्याण समाज धुलिखेलको २८ किलो स्थित सेवा घरमा बस्न थालेको १७ दिन पछि मात्रै मैले थाहा पाएँ म उहाँहरुको उद्धार पछिको जीवन जिईरहेको रहेछु । मरिसक्थें होला । मारिसक्थे होला । मर्न प्रयास नगरेको पनि होईन । धेरै पटक मर्ने र मार्ने प्रयास गरें । जेल जीवन पनि भोगें । कथा सुनाउँदै जाउँला तर मैले यहाँ आएर प्राप्त गरेको अनुभव र भोगाईले साँच्चै मान्छे अनि मान्छेलाई मान्छेले गर्ने ब्यवहार र यस्तो अवस्थामा पनि सेवा के का लागि ? जो कोहिले गर्न सम्भव छैन । एउटा आमा आफुले जन्माएको सन्तानको दिसा पिसाबमा लुटपुटाउँदै गरेको केहि वर्ष पछि घिन मान्न थाल्छ । बाबु त सकेसम्म नजिक नै पर्न खोज्दैन । मुख चाट्ने माया गर्ने बच्चाले शु ग¥यो भन्ने वित्तिक्कै छाडेर भाग्ने स्वभावको मान्छेहरुको भीडमा सडकमा रहेका अनेकखाले मान्छेहरुको उद्धार गरेर सहि अवस्थामा ल्याउन सम्भव होला र ?
भर्खर ४ महिना भयो । मानव कल्याण समाजको सेवा घरबाट सेवा लिईरहेको छु । शुरुमा पत्तै पाईन मैले म को हुँ ? कहाँ छु ? कसरी यहाँ आईपुगें । मानसिक रुपमा भईरहेको दबाबले मैले संसार नै भुलेछु । भुलेको संसारलाई पहिलाकै अवस्थामा ल्याउन मानव कल्याण समाजको अध्यक्ष सुमित्रा चौलागाईको मुख्य भूमिका छ । उहाँलाई मैले भगवान मानेको छु । मेरो मात्रै भगवान होईन उहाँ । उहाँको एक सन्तान छ त्यो एउटा उहाँको कोखबाट मात्रै जन्मेको हो । तर उहाँबाट नजन्मेका, उहाँलाई नजन्माउने आमाबुबा पनि धेरै हुनुहुन्छ । धुलिखेलको सेवा घरमा मात्रै अहिले ४५ जना हुनुुहुन्छ । आजको मितिमा भक्तपुर, धुलिखेल र दाङ्गमा गरेर २ सय ५० भन्दा धेरै सडकमा बेबारिसे हुन पुगेका म जस्ता ब्यक्तिहरु सेवा घरमा हुनुहुन्छ । तातो गाँस र न्यायो कपडा लगाउन नपाउने हामी जस्ता थुप्रै ब्यक्तिहरुको सेवामा तल्लीन उहाँको मन कसरी जागृत भएको होला ? उहाँले हामीलाई सेवा घरमा सेवा मात्रै दिनु भएको छैन मन भुलाउने अवसर पनि दिनु भएको छ । बेहोसी अवस्थामा सेवा घरमा आएको मैले १७ दिन पछि आफ्नो बारेमा थाहा पाएँ । अनि सेवा घरका बारेमा बुझें । सेवा घरका बारेमा बुझेसँगै मैले यहाँ आउने ब्यक्तिहरुका बारेमा पनि बुझ्न थालें । आफूलाई निको हुँदै गयो अनि पुराना कुराहरु थाहा पाएँ । विस्तारै म त सेवा घरका लागि एउटा विशेष ब्यक्ति बन्न थालें । अहिले म यहाँ रहनु भएका बालबालिका, युवा र जेष्ठ नागरिकका लागि असल भान्सेका रुपमा रहेको छु । सम्झन्छु मान्छे किन सडकमा पुग्छ ? सडकमा पुग्नु पर्ने बाध्यता के हो ? भर्खरका छोराछोरीहरु, २० वर्ष नकटेका युवाहरु, ४० नकटेका, ८० कटेका, ९४ वर्ष पूरा भएका, सडकमै जन्माएर छाडेका ब्यक्तिहरुको कथा कस्तो होला ? कति मार्मिक कथाहरुका बीच उहाँहरुको जीवन गुज्रिरहेको होला ? भयो अरुको धेरै चिन्ता नलिउ । चिन्ता मेरो नै छ मलाई । म मेरो बारेमा तपाईलाई सुनाउन चाहन्छु ।
सिन्धुपाल्चोक जिल्लामा मेरो जन्म भएको हो । परिवारको एक्लो छोरा । सम्पतिको कुनै प्रवाह थिएन । दुई छोरी पछिको मेरो जन्म परिवारमा खुशीको सीमा रहेनछ । छोरा नै चाहिने समाज थियो । आखिर सम्पत्तिका कारण परिवार, आफन्त र इष्टमित्रहरुको पनि सम्बन्ध बिग्रँदो रहेछ । विस्तारै हुर्कँदै गएँ । विद्यालय जान थालें । साथीभाई सबैका अगाडि म राम्रो थिएँ । दिदीहरुको विवाह भयो । म दिदीहरुलाई लिन जान आउँदा पनि खुशी हुनुहुन्थ्यो । अहिले जस्तो सहज पनि थिएन । तीज, तिहार जस्ता चाडहरु दिदीहरुका लागि रमाईलो हुन्थ्यो । मेरो लागि दिदी भिनाजुहरु आएर घरमा पापा ल्याईदिदा झनै रमाईलो लाग्थ्यो । कक्षा १० मा पास भएँ । एसएसलीमा फेल भएँ । दोश्रो पटक पनि फेल भएँ । गाउँमा पढ्नु भन्दा विदेश जानु उचित भन्ने लाग्यो । एउटै छोरा भएकाले बुबा आमाले विदेश नजान बरु गए विवाह गरेर जान अनुरोध गर्नु भयो । मैले उहाँहरुको कुरा काट्न सकिनँ । विवाह गरेको एक वर्षसम्म म विदेश गईनँ । मेरो पनि छोरा जन्मियो । छोरा जन्मिए लगत्तै म विदेश उडें । म मलेशिया गएकाले मलाई कामको भन्दा धेरै घरको चिन्ता धेरै थियो । काम सहज भएकाले हरेक दुई वर्षमा जाने आउने गरिरहेको थिएँ । कमाई पनि राम्रो थियो । घरमा बुबा आमा पछिको एक मात्र श्रीमती भएकाले विश्वास नगर्ने कुरा भएन । ६÷६ महिनामा बुबा र आमाको निधन भयो । त्यसपछि घरको सबै जिम्मेवारी त उनको हुने नै भयो । सम्पतिको जिम्मेवारी र हकदार उनै थिईन् । ब्यक्ति एक्लै भए पछि मनमा अनेक प्रश्न उठ्दो रहेछ । आफ्नो श्रीमान् विदेशमा घरमा कोहि नभए पछि उनको मन अर्काेसँग बस्न थालेछ ।
छोरा हुर्कँदै थियो । छोराले घरमा आउने ब्यक्तिको बारेमा पहिचान पनि गरेको रहेछ । विदेशबाट मैले पटक पटक फोन गर्दा उसले भन्न खोज्थ्यो तर आमाको अगाडि सक्दैन थियो । केहि समय पछि म घर फर्किएँ । घर फर्किएको केहि समय हामीले एउटा जग्गा विक्री ग¥यौं । मैले बैदेशिक रोजगारीमा दुःख गरेर कमाएर ल्याएको रकम समेत गरी ६८ लाख रुपैयाँ उसकै खातामा थियो । म विदेशबाट आएपछि पनि त्यो केटाले रातभर उसलाई फोनमा कुरा गरिरहन्थ्यो । फोनमा म्यासेज गरिरहन्थ्यो । मैले सोधिरहन्थे उनले कहिल्यै बताउन चाहिनन् । मलाई शुरु देखि नै उनी माथी शंका थियो । उनले शंका मेट्न सक्दिन थिईन । सामान्य विषयमा झगडा हुँदा हुँदै मैले उनलाई उसलाई त्याग्न आग्रह गरें । उनले मान्दै मानिनन् । मलाई धेरै रिस उठ्यो । पसलमा गएर विष किनेर ल्याएँ । विष आफुले खाएँ अनि छोरालाई पनि खुवाएँ । तत्कालै हामीलाई काठमाडौ अस्पताल पु¥याईएको रहेछ । छोरालाई मृत घोषणा गरेपछि मलाई प्रहरीले हत्या अभियोगमा पक्राउ ग¥यो । त्यहिबेला मैले अस्पतालबाट हाम फालेर मर्न खोजें मर्न सकेनछु । ८ वर्षको जेल जीवन सकेर म निस्कँदा ननिस्क्दै श्रीमतीले जेल भित्रैबाट सहि गराएर सम्बन्ध विच्छेद गरिन् । मेरो सबै सम्पत्ति लिएर गईन् । मेरा नाममा भएको धेरै स्थानको जग्गा कहाँ के कस्तो अवस्थामा कस्को नाममा छ मलाई आजसम्म थाहा छैन । त्यस्ती श्रीमतीका कारण मैले तामाजस्तो कलकलाउँदो छोरालाई समेत आफु मरे पछि दुःख पाउँछ भनेर मार्न पुगें । आफु बाँचे उ म¥यो । श्रीमती जोसँग प्रेम गरेकी हो उसैसँग गईन् ।
जीवनबाट विरक्त लाग्यो । जेलमा हुँदा पनि कोहि नभएकाले भोग्नु परेको पीडा सम्झन पुगें । दिदीहरु पनि सम्पत्ति हुँदाका मात्रै रहेछन् । कहिल्यै भेट्न आएनन् । अझ भिनाजुहरु त आफ्ना हुने कुरा पनि भएन । बुबा आमा मरे पछि शुरु भएको मेरो विग्रँदो दशाको दश वर्ष वितिसक्दा पनि पूरा भएको छैन । १० वर्ष पनि मानव कल्याण समाजमा मेरो प्रवेश भएको छ । हेरौ अब मेरो विगत र वर्तमानको अतितमा भविष्य निर्माणको शुरु हुनेछ । जेलबाट छुटेपछि म फेरी घर गएँ । कोहि थिएन । विरक्त मानेर सदरमुकाम चौतारा गएँ । बसले किचेर मारोस् भनेर अगाडी पुगें । तर पनि किचेन । अस्पतालबाट हाम फालेर मर्न खोज्दा भाँचिएको खुट्टाले हिड्न सकिदैन । धेरै तनाब भए पछि खुकुरीले नाडी काट्छु । तर पनि मर्दिनँ । धेरै पटक मर्ने प्रयास गरें सकेको छैन । काल पनि मलाई मात्रै लिन किन आउँदैन ? कहाँ गयो काल ? कति झेल्नु पर्छ दुःख र पीडा ? मेरो सम्पत्ति कस्तो अवस्थामा छ ? के छ ? मलाई जानकारी छैन । यहि सस्ंथाकै अध्यक्षले खोजविनका लागि सहयोग गर्ने बचन दिनु भएको छ । घरमा भएकी लक्ष्मी जस्ति श्रीमतीको चण्डी जस्तो ब्यवहारका कारण म सडकमा पुगें । यो अवस्थामा पुगें । सबै श्रीमान्हरुको कथा यस्तै होला र ? श्रीमती र परिवारकै लागि मलेशियामा गरेको दुःख पनि बेकार भयो ? न बाबा आमासँग रहन पाएँ न परिवार रह्यो ? छिटो लैजाउ काल मलाई छिटो । मलाई पापी संसारमा धेरै बाँच्न मन छैन ।
राजाराम तिमल्सिना
मानव कल्याण समाज
धुलिखेल, काभ्रे





