निर्दयी आमा । बरु ढुङ्गा पग्लिएला, पग्लिएन आमाको मन । सन्तानप्रतिको भावनात्मक सम्बन्धको चाहना समेत नहुने कस्ती आमा ? आमालाई पृथ्वीको संज्ञा दिईन्छ । सन्तानका लागि आमा संसार भनिन्छ । हो पनि त्यहि आमाले ९÷९ महिना कोखमा राखेर आफ्नो ज्यानको बाजी राखेर जन्माउनु सहछ छ र ? अधिकांश आमा त त्यस्ता छैनन् तर केहि आमाका कारण सबै त्यस्तै हुन् कि भन्ने पर्न जान्छ । आफैले जन्म दिएर तत्कालै सन्तान निमोठेर मार्ने आमा पनि छन् । जन्म दिएर खुल्ला आकाश मुनी फालिदिने आमा पनि छन् । कोखमा पहिचान भएका पुरुषको भन्दा पहिचान नभएका र सम्बन्ध राख्न नमिल्ने ब्यक्तिसँगको सम्बन्धका कारण सन्तान छाडिदिने वा मारिदिने आमा पनि छन् । कोहि अरुले जन्माएका सन्तान हुर्काएर मात्रै बस्ने आमा छन् ।
आफैले जन्माएका कलिला तामाको मुना जस्ता सन्तानको अनुहारले किन पिरोल्न सकेन होला ? के हुन थाल्यो समय ? परिवर्तन कस्तो आउन थाल्यो ? मान्छेहरुको चाहना र प्राप्ती के का लागि हुन थाल्यो ? पहिले पहिले सन्तानका लागि आमाहरु मरिहत्ते गर्थे । अहिले त सन्तान जन्माउने अनि बेवास्ता गरिदिने ? उनिहरुको रहर भन्दा आफ्नै रहर पूरा गर्ने । त्यस्ताले किन सन्तान जन्माउनु ? बरु पेटमै किचेर थिलिबिली पारिदिनु नि ? सरकारले पनि अधिकार दिएकै छ, अनिच्छाको गर्भ किन जन्माउनु ? ९ महिना गर्भमा बोकेर जन्माएका सन्तानलाई बेवास्ता गर्दै क्षणिक आनन्द खोज्ने आमाहरुले सुख पाउलान् र ? घरमा सुख नपाएकाहरुले देशमा, देशमा सुख नपाएकाहरुले विदेशमा सुख पाउलान् र ? ‘बर्मा गए कर्म’सँगै भन्ने नेपाली उखान उनीहरुमा लागु हुन्छ कि हुँदैन होला ? दुःख र सुखको भारी कर्म अनुसारको फल हो । जसले सन्तानलाई रुवाउँछ अर्थात जुन सन्तानले अभिभावक रुवाउँछ उसले केहि समय त सुख पाउला तर जीवनभर कष्ट, दुःख बाहेक केहि पाउँदैन । सिन्धुपाल्चोक जिल्लामा मेरो जन्म भयो । परिवारको पहिलो सन्तान । बुबा आमा औधी खुशी हुनुभएको रहेछ । पहिलो आमाबाट कुनै सन्तान नजन्मिएपछि आमाले नै आफ्नै बहिनी मेरो सानीआमालाई बुबासँग विवाह गराईदिनु भएछ । संयोग कस्तो भने सानीआमाबाट पनि बच्चा भएन । पहिलो श्रीमतीबाटै मेरो जन्म भयो । मेरो जन्म भए पछि सानी आमाबाट अर्काे सन्तान भाई जन्मियो । आमा र सानीआमा दिदीबहिनी । सौता–सौता । गाउँमा सौता भन्ने वित्तिकै हरेक महिलाहरुको ज्वरो फुट्छ । केहि त्यस्ता महिलाहरु हुने रहेछन् जसले श्रीमान्को घर बिग्रने डरले आफ्नै बहिनीलाई सौताको रुपमा भित्र्याउछन् । बहिनीले पनि त्याग नै गरेको मान्नु पर्छ दिदीको अनुरोधमा उसकै श्रीमानलाई श्रीमान् मानेर बस्न तयार । यस्तो कतै कतै मात्र सुन्न पाईन्छ । मैले कहिल्यै दुई आमाको अनुभूति गर्न परेन । मैले मात्र होइन अरु सन्तानले पनि त्यसको अनुभूति गरेनन् । बुबाले पनि त्यस्तो ब्यवहार देखाउनु भएन । साँच्चै हाम्रो घर सुन्दर थियो । स्वर्ग जस्तै थियो । दुबै आमाबाट जन्मेका हामी ६ सन्तानका फरक फरक चाहना पक्कै थिए । सकेसम्म बुबाआमाहरुले पु¥याउने चेष्टा गर्नुभयो ।
सन्तानको रहर पूरा गरिदिन कुन चाँहि बाबु आमाको मन नमान्ला र ? थोरै जमिन । धेरै बस्तुभाउ । हरेक दिन भैसी, गोरु गोठालो । बाख्राहरु मेरो जिम्मामा थिएनन् । शुरुमा विद्यालय गएँ । केहि कक्षा अध्ययन गरेपछि घर छेउमा विद्यालय नभएकाले अध्ययन गर्ने अवसरबाट बञ्चित भएँ । विस्तारै हाम्रो परिवारको मद्दत बढ्दै गयो । भाईले काठमाडौमा काम गर्छु भन्यो । मेरो विवाह भयो । बुबाले गाउँकै एकजना ब्यक्तिसँग कुरा गर्नु भएको रहेछ । उसले पनि मन पराएको रहेछ । तर मैले उसलाई कहिल्यै त्यस्तो दृष्टिकोणले हेरेको पनि थिइनँ । त्यतिबेला केटाहरुसँग बोल्नु भनेको ठुलो कुरा थियो । १५ वर्षको उमेरमा मेरो विवाह भएको थियो । श्रीमान् त्यतिबेला देखि नै खासाको सामान काठमाडौमा लैजाने र ब्यापारीहरुलाई दिने काम गर्नुहुँदो रहेछ । विवाहको केहि समय पछि म पनि काठमाडौमा बस्न थालें । उहाँले शुरुमा शुरु गरेको ब्यापार ठुलो हुँदै गयो । गाउँमा धेरै बेरोजगार मान्छेहरु पनि थिए । उहाँकै सल्लाहमा हामीले गलैचा बुन्ने तान खोल्यौं । उक्त गलैचा चिनियाँ ब्यापारीहरुका लागि उपयुक्त थियो । उनिहरुले जति पैसा भनेपनि तिरेर लैजाने गरेका थिए । भुकम्प पछि त्यो ब्यवसाय सबै बन्द भईसकेको छ । अहिले त कोभिडको महामारीले झनै संकट बनाएको छ । भुकम्प, कोभिड र पटक पटकको बाढी पहिरो सिन्धुपाल्चोक र हाम्रा लागि असहज बनेर आयो ।
काभ्रे र सिन्धुपाल्चोकका थुप्रै युवायुवतीहरु हाम्रो गलैचा कारखानामा काम गर्न थालेका थिए । म उनिहरुको रेखदेखसँगै घर ब्यवहार हेर्दथें । श्रीमान् खासाबाट सामान ल्याउने र ब्यापारीहरुलाई दिने काममै हुनुहुन्थ्यो । करिब २ वर्ष जति त्यो ब्यापारमा उहाँ एक्लै हुनुभयो । मेरो माईतीको भाई पनि काठमाडौ आउने कुरा गर्दै थियो । म आफैले भिनाजुलाई साथी हुन्छ भन्दै बोलाएँ । सालो भिनाजु भएर दुबै काममा पार्टनर गर्न थाले । ब्यवसाय पनि राम्रो हुन थाल्यो । दुबैले बनेपामा घडेरी खरिद गरे । ब्यापार थपिदै जाँदा पालै पालो घर बनाउने सल्लाह थियो । भाईले भिनाजुले लामो समय देखि काम गरेर पैसा भन्दै पहिला हाम्रो घर बनाउने सल्लाह भएको थियो । त्यहि सल्लाहले घर पनि बनाईयो । त्यसलगत्तै देशमा चर्कदै गरेको द्वन्द्वका कारण ब्यापार राम्रो हुन सकेन । गलैचा कारखानामा प्रहरी आएर हरेक दिन धरकपड गर्न थाल्यो । गाउँको को मान्छे कुन विचारमा हुन्छ हामीले थाहा पाउने कुरा पनि भएन । हरेक पटक माओवादी राखेको भन्दै हामीलाई समेत प्रहरीले दुःख दिन थालेपछि बाध्य भएर गलैचा कारखाना बन्द ग¥यौं । ६० जना भन्दा धेरैको रोजगारी द्वन्द्वकै कारण गुम्न पुगेको थियो । अरनिको राजमार्गमा पनि धेरै चेकिङ्ग हुन थाल्यो । पोकापाकी सामान ल्याउन धौ–धौ भयो । प्रहरीले चेक गर्दा गर्दै सामानहरु हराउन थाले । फेरी पैसा विना कतै पनि छाडिएन । हामी केहि सामान भन्सार लुकाएर पनि ल्याउने गरेका हुन्थ्यौ । प्रहरीले दुःख नदिए हामी आफै पनि केहि रकम दिएर बाटो क्लिएर गराउँदथ्यौं । कहिलेकाँहि म आफै पनि जाने गरेको थिएँ । अरु भाईहरु विद्यालय भर्ना भएका थिए तर पढाईलाई निरन्तरता दिएका थिएनन् । यसले पनि हामीलाई केहि काम गर्नु पर्छ भन्ने दायित्वबोध गराएको थियो । बुबा आमाको रेखदेखका लागि पनि सबै सन्तानले काम गर्नु अनिवार्य थियो । उहाँहरुको चाहना सन्तानले पढेर केहि गरे हुन्थ्यो भन्ने थियो तर भएन । तीन बहिनी विवाह गरेर गईसकेका थिए । एउटा भाई पहिल्यै हामीसँग भएकाले अर्काे भाई काठमाडौ जाने तयारी भएको थियो । एउटा भाई र मेरो श्रीमान विदेशिने तयारीमा थिए । नेपालमा अशान्ति भएकाले केहि समय विदेशमा काम गर्ने र शान्ति भए पछि नेपाल फर्कने योजनाका साथ दुबै जना दुबई गएका थिए । साँढे २ वर्षमा दुबैजना खासै पैसा कमाउन सकिएन भनेर फर्किए । त्योबेला मैले घरका सासु ससुरा, बुबा आमा, बहिनीहरु सबैको रेखदेख गरेको थिएँ । पछि कान्छो भाई गएर मसँग केहि समय बस्यो । नेपालमा शान्ति प्रकृया शुरु भएको थियो । उनिहरु दुबैजना नेपाल फर्किएर पुरानै ब्यवसाय शुरु गर्ने सोचमा थिए ।
भाईले विवाह ग¥यो । सिन्धुपाल्चोककै केटी । काठमाडौमा ब्यापार गरेर बस्ने । पहिला चिनजान भएको रहेछ । राम्रै थियो परिवार । विदेशको पैसामा थोरै ऋण गरेर घर बनाउने काम शुरु भयो । भाईले पनि धेरै समय दुःख गरेको थियो । हामीले नै उसका लागि घर बनाउन सहयोग गरेका थियौं । फेरी शुरु भयो गलैचा कारखाना । दुई जनाले फेरी खासाको ब्यापार गर्न थाले । कान्छो भाई गलैचा कारखानाको जिम्मेवारी सम्हाल्न थाल्यो । कारखानामा काम गर्न विभिन्न जिल्लाका मजदुरहरु थिए । दोलखा, रामेछाप, काभ्रे, सिन्धुली लगायतका जिल्लाबाट कार्यरत थिए । दोलखा घर भएकी युवती कक्षा १० मा असफल भएपछि काठमाडौ पसेकी रहिछन् । धेरै ठाउँमा काम गरेपछि अन्त्यमा उनि गलैचा कारखाना आईपुगेकी रहिछन् । उनको र मेरो कान्छो भाईको प्रेम परेछ । धेरैसँगको प्रेममा असफल भएपछि उनको भाईसँग प्रेम परेको रहेछ । जीवनका सबै असफलताहरुको दोष उसले बोक्नु प¥यो । उसले विवाह नगरी सुखै पाएन । गाउँमा उसको बाबुले आमा विते पछि अर्काे श्रीमती ल्याएको रहेछ । सानीआमाको कचकच सहन नसकेर उ आफ्नो जीवन आफै पाल्ने योजनामा निस्किँदा गलत ब्यक्तिहरुको संगत, भोको पेट पाल्ने ध्याउन्नमा उनी फस्न पुगेकी रहिछन् । जे जे भो भो हामीले उनलाई बुहारी स्विका¥यौं । भाईको पहिलो सन्तान छोरी जन्मियो । दुबै भाई बुहारी एउटै घरमा बस्न थालेका थिए । हामीले पनि उनिहरुको राम्रो बाहेक नराम्रो कहिल्यै सोचेनौं । नियमित ब्यापार चलिरह्यो ।
यता गाउँमा बुबा आमा एक्लै हुनु भएको थियो । हामीले काठमाडौ लैजाने योजना बनाएका थियौं । मान्नु भएन । भाई विदेश गयो । यता उसका दुई छोरी थिए । उनिहरुको लालनपालनका लागि खासै समस्या थिएन । ठुलो भाई गाउँ गएर बस्न थाल्यो । घरबाटै आउने जाने गर्न थालेपछि घरमा बुहारी मात्रै बस्थिन् । जेठी बुहारी पनि गाउँ गएपछि घरमा उसको हालिमुहाली हुन थालेछ । सधै मैले हेर्ने पनि होइन । भाईले विदेशबाट सबै पैसा उसकै खातामा पठाएको थियो । मलाई फोनमा कहिलेकाँहि कुरा गर्दथ्यो । उ दाजुको घरमा बसेकाले आफ्नो घर बनाउनु पर्छ भन्ने उसलाई लागेको थियो । त्यसकारण पनि उसले मेहनत गरेर पैसा कमाईरहेको थियो । कमाएको पैसा सबै श्रीमतीका नाममा पठाएको बताएको थियो । एक दिन टोलका सबै मान्छेहरुले नाराबाजी गरेको खबर सुनाए । के भनेर बुझ्न जाँदा बुहारीले हरेक रात घरमा नयाँ मान्छे ल्याएर हल्ला गरेको कुरा सुनें । गाउँबाट भाई आयो तत्काल घर खाली गर्न भन्यो । भक्तपुर जिल्ला प्रहरी कार्यालयमा लगेर उसलाई आईन्दा त्यसो नगर्ने शर्तमा कागज गराएर अन्यत्र डेरा खोजेर राख्न भनियो । भाईले त्यो कुरा पत्याएन बरु मेरी श्रीमतीलाई म नभएको बेला घरबाट निकालेको भन्दै हामीसँग बोल्न छाड्यो । उसको बानी परिवर्तन भएन । दुई छोरीको विचल्ली हुने भयो । अर्काे पनि छोरी नै थिइन् । भाईले पठाएको सबै सम्पति उसले केटाहरुलाई ल्याउँदै खुवाउँदै उडाएकी थिई । दुई छोरी छाडेर उ विदेशिने तयारीमा लागेकी रहिछ । शुरुमा उसले सिन्धुपाल्चोक जिल्लाबाट तयारी गरेको सुनेपछि मैले रोकिदिएँ । भाई नभएको बेला दुई छोरीको विचल्ली पारेर कुन चाँहिसँग विदेशिन लागेको हो ? भाईलाई फोन गरेर सोधेको आफुलाई कुनै जानकारी छैन भनेपछि सिन्धुपाल्चोकको सिडिओलाई अनुरोध गरेर रोक्न लगाएँ । पछि फेरी उसले त दोलखा घर हो, विवाह गरेको पनि छैन भनेर जिल्लाबाट राहदानीका लागि फाराम भरेर बुझाई सकिछ । तत्काल मैले उसको दुई छोरी लिएर जिल्ला प्रशासन कार्यालयमा गएँ । त्यहाँ सबै कुरा भनेपछि उसको पासपोर्ट रोकियो । उ त्यो पासपोर्ट अझै लिन आउन सकेकी छैन । उ छोरीहरु समेत लिन आएकी छैन । कोठामा पनि छैन । दुई लालाबाला छाडेर उ फरार छ । कस्ती आमा ? कस्तो निर्दयी मन । केहि समय पछि उसले अर्काेसँग विवाह गरेको खबर आयो । विवाह मात्रै गर्ने, सन्तान जन्माउने र छाडिदिने ? कस्तो सोच र कस्तो रमाईलो लाग्दो रहेछ ब्यक्तिहरुलाई ? जेठी छोरी ११ वर्षकी छिन् भने कान्छि छोरी ९ । दुबैलाई विद्यालयमा भर्ना गरिएको छ । कोभिडका कारण उनिहरुको अध्ययनले गति लिन पाएको छैन । भाई विदेशबाट फर्किए पछि पनि धेरै समय विश्वास गर्न सकेन । जतिबेला विश्वास ग¥यो त्यो ढिला भईसकेको थियो । उसले विदेशबाट कमाएर पठाएको पैसा त थिएन थिएन उसले विश्वास गरेको मान्छे पनि सन्तानसँग थिएन । केहि महिलाहरुको गलत ब्यवहारबाट आम नारीहरुलाई दृष्टिकोण पनि कति फरक पर्न जाँदो रहेछ ? त्यसैले म भन्छु पहिला तपाई ठिक हुनुस अनि मात्रै तपाईले अधिकार र न्यायको कुरा गर्न सुहाउँछ ।
श्री तामाङ
बनेपा, काभ्रे





