2026 July 29/ 07:11: 30am

छोरीहरुको चरित्र र छोराहरुको भाग्य । के भन्या होला ? सानैमा बुबा आमाले भनेको यतिखेर सम्झिरहेको छु म । छोराहरुले चाहेर पनि केहि गर्न सम्भव रहेनछ । जन्म, मृत्यु, भाग्य । छंैटीले लेखेको भोग्नैपर्ने विवशता भित्र चिच्याईरहेको छु म । मान्छे, कानुन त आफ्नो भएन दैव तैले लेखिदिएको लेखान्त कहिले टार्छस् ? प्रश्न माथी प्रश्न जन्मिएको छ । रुँदा पनि छोरा मान्छे रोएको भनेर हेप्ने समाज छ हाम्रो । नरोउँ मनभरीको पीडा कसरी पोखौं ? आधा गाग्रो पानी छचल्किन्छ । जीवन र घटना त्यस्तै भएको छ । उनी दोषी छैनन् र होईनन् पनि । उनले अहिले पनि मलाई त्यति नै माया गर्छिन् । गरिरहने छिन् । उनको भावना विपरीत गरिएका सबै गतिविधिहरुले उनको मन रोएको छ । जलेको छ । मेरो मनमा पनि आगो दन्किएको छ । निभाउने एउटै बाटो उनको सन्तुष्टि हो । तर उनी उता तनावमा छट्टपट्टिएकी छिन् । म यता उनको याद र तड्पाईमा कानूनी उपचारमा छु ।     
    हो आज म दोषी देखिएको छु । भलै अदालतमा मुद्दाको किनारा लाग्न बाँकी नै छ । अहिले साक्षीहरु बुझ्ने क्रम जारी छ । मेरो बयानमा सबै कुरा खोलौला पनि । पछिल्लो समय पुरुषहरु महिलाद्वारा पीडित हुन थालेका छन् । हिजो एक समय थियो महिलाहरु पुरुषहरुबाट पीडामा परिरहेका थिए । अहिले समाज बदलिन थालेछ । धेरै पुरुषहरु महिलाबाट पीडित हुन थालेछन् । ऐन कानुन पनि महिलामैत्री बन्न थालेका छन् । आफ्नै श्रीमतीले चाहेको बखत श्रीमान् पाँच वर्षसम्म जेलमा बस्नुपर्ने भएको छ । महिलाहरुले जे गरे पनि हुने पुरुषहरुले चाँहि ठाडो शीर मात्रै ग¥यो भने पनि अपराध हुन थालिसकेको छ । उनिहरुकै प्रस्ताव, उनिहरुकै योजना, उनिहरुकै निर्णयमा सहमति जनाउँदा पनि उल्टो अपराधी बन्ने यो समाज, यो कानून कसरी गरौं ब्याख्या ? अनुसन्धान सहि हुनु जरुरी छ । अनुसन्धान सहि हुन सकेन भने समाजमा अर्काे विद्रोह जन्मन सक्छ । अर्काे अपराध हुन सक्छ । कानून बनाउँदैमा अपराध न्युनिकरण हुने होईन । कडा कानूनले झनै ठूलो ठूलो अपराध हुन सक्छ । त्यसतर्फ सरोकारवालाले ध्यान दिनु जरुरी छ । 
    घरमा आर्थिक अवस्था राम्रो भएको भए कोहि घर छाडेर हिड्दैन थियो । केहि गरौं, केहि कमाउँ र बुबा आमालाई सुख दिऊँ भन्ने प्रायः अधिकांश सन्तानको उद्देश्य हुन्छ । केहि सन्तानले बाटो विराउलान् अलग कुरा हो । मेरो पनि उद्देश्य बुबा आमालाई सुख दिने भन्ने थियो । त्यहि उद्देश्य अनुरुप घर छाडेर कमाउनकै लागि निस्किए । छोरो मान्छेले लाज, घिन, शरम केहि मान्नु हुँदो रहेनछ । छोरी मान्छेहरुका पनि अनेक समस्या छन् । परिवारबाट अलग हुन छोराहरुलाई जति सहज छ छोरीहरुलाई छैन । छोराहरु घर परिवार आफन्त सबै त्यागेर मुग्लान जान एकाएक तयार हुन्छन् । सक्छन् । छोरीहरुलाई त्यो जन्जीर टुटाउन कठिन छ । कठिन जन्जीरको यात्रामा साथ दिने महान् नारीहरुलाई अनेक आरोप लगाईन्छ । तिनै महान नारीहरुकै कारण आज मुलुकमा नारीहरुको हक अधिकार संरक्षण भएको छ । अधिकार दुरुपयोग गर्नेहरुको खेति पनि सप्रिएको छ । अधिकारकै लागि लडेकाहरु अधिकारबाट बञ्चित भएका छन् । पृथ्वी गोलो छ । घुम्छ पनि । कहिले वारी घाम लाग्छ । कहिले पारी घाम लाग्छ । विहान उदाएको घाम बेलुका अस्ताउँछन् । हुरी, हावा, बतास जस्तो अवस्थामा पनि दिन रात भएको छैन । बादलहरुले पनि छेक्ने प्रयास गरिरहन्छन् । निरन्तर सुर्यले आफ्नो तेज, गतिलाई अगाडि बढाईरहेकै हुन्छ । 
    काभ्रेको पाँचखालमा रहेको फर्निचरमा केहि वर्ष देखि काम गर्न थालें । इमान्दार नै मान्थे मलाई । मैले कसैको अपराध गरेको पनि थिईनँ । मान्छेको मन मिल्यो कसको के दोष ? विश्वमा सबै चिजका उपचार गर्ने अस्पताल बन्न थालेका छन् । कुन अस्पतालले मान्छे भित्रको मनको उपचार गर्छ ? मान्छे त्यस्तो शक्ति हो उसले मनको उपचार मनबाटै गराउन सक्छ । प्रविधि जति सुकै भित्रिए पनि मनका अगाडि उ सबै कुराबाट थाक्न पुग्छ । त्यहि काम गर्दा गर्दै वरपरका मान्छेहरुसँग मेरो भेट भयो । म कसैसँग पनि त्यसरी बोल्ने गरेको थिईनँ । त्यहि क्रममा मेरो पहिलो पटक २०७७ चैत्र १० गते एउटी युवतीसँग भेट भयो । उनको मेरो देखादेखबाट शुरु भएको भेटघाट श्रीमान् श्रीमतीको नातासम्म पुग्यो । उनी प्रायः चिया पसलमै भेट हुन्थिन् । मलाई काम खाली हुने वितिक्कै चिया पसलमा जान मन लाग्न थाल्यो । चिया, खाजा खान सहज हुने भएकाले म मात्रै होईन अधिकांश ब्यक्तिहरु त्यहि फर्निचर सँगैको चिया पसलमा आउने गरेका थिए । उनको र मेरो भेट त्यो दिन हुनु नै म र उनी दुवैका लागि अभिषाप थियो । चिया पसलमा भएको भेटलाई हामी दुवैले अन्यथा मान्ने कुरा भएन । हेराहेर र देखादेखमा युवतीसँग मेरो बोलचाल भयो । प्रेमको शुरुवात त्यहि रहेछ । केहि दिनको उनको र मेरो हेराई फोनको नम्वर लेनदेनमा परिणत भयो । मोबाईल फोनको आदान प्रदान भएपछि हामी एक आपसमा कुराकानी गर्न थाल्यौं । शुरुशुरुमा हामी खासै केहि कुरा गर्दैन थियौं । विस्तारै माया प्रेमका कुरा हुन थाले । माया प्रेम हुँदा हुँदै हामी त एक अर्का विच छुट्टिन नसक्ने भएछौं । उनको अनुहार देखाईमा मलाई सहजता हुन थाल्यो । 
    उमेरको प्रेम थियो । मेरो त पहिलो प्रेम भएकाले झनै म उत्तेजित थिएँ । तर घर धेरै टाढा थियो । जिल्ला बाहिरको मान्छे अर्काको स्थानमा आएर प्रेम गर्नु कठिन कुरा थियो । त्यसकै बिचमा प्रेम बस्यो । न डाँडा काँडा, न भुगोल, न जातभात । मात्र मिल्यो मन । मन मिलेकै आधारमा उनको मेरो कुराकानी अगाडी बढिरह्यो । हरेक शब्दहरुमा उनको र मेरो विवाहको मात्रै कुरा हुन थाल्यो । उनले पनि विवाह गर्ने भए प्रेम गर्ने नत्र नगर्ने भन्न थालिन् । भर्खर २१ वर्ष लागेको मेरो मन पनि पहिलो प्रेम विवाह नै गर्न किन तयार नहुनु ? मैले सहमत जनाएँ । दुबै जनाको सहमति पछि हामीले हाम्रो भेटघाटलाई अगाडी बढाईरह्यो । केहि दिनमै हामी विवाह गर्न राजी भएका थियौं । म फर्निचरमा काम गरेर कोठामा आएर सुत्ने गरेको थिएँ । विवाह कुरो टुङ्गो नलाग्दासम्म मैले कहिल्यै उनलाई मेरो कोठामा बोलाएको थिईनँ । जब उनको र मेरो भाग्ने योजना बन्यो तब मात्रै मैले मेरो कोठामा उनलाई ल्याएको थिएँ । हामीले घरमा भनेर भाग्ने सम्भावना थिएन । मैले उनको बुबा मुमालाई नसोधी सम्भव छैन भन्दा पनि उनले मानेकी थिईनन् । उनकै जिद्दी धेरै थियो । उनको जिद्दीका कारण मैले उनको निर्णयलाई साथ दिएको थिएँ । दिउँसो भाग्ने योजना बन्यो । त्यो दिन मैले साहुजीलाई केहि पैसा मागेको थिएँ । उनलाई विवाहको लागि भनिएको पनि थिएन । भन्ने कुरा पनि थिएन । उनलाई पनि थाहा दिएर गरेको भए पनि सायद आज यस्तो दिन भोग्नु पर्दैन थियो होला । कोठामा चामल सकिएको बाहनामा उनिसँग पैसा मागें । मैले सोचें धेरै पैसा दिन्छन् । तर उनले ५ सय रुपैयाँ मात्र दिए । पाँच सय पैसाले उनलाई लिएर म कसरी भागँु ? त्यो पनि समयमै दिएको भए हामी भाग्ने थियौं । साँझ पैसा लिएर आउँदा ढिला भयो । फेरी खाना पकाउन समय थिएन । पहिलो प्रेम विवाहमा परिणत हुँदै थियो । पहिलो साईत नै विग्रिए पछि मलाई दशा लागेको रहेछ । 
    फेरी उनको र मेरो भेटघाट भयो । नियमित जस्तै हुन थालेको थियो भेटघाट । फोन र एसएमएसमा पनि हामी त्यहि कुरा गरिरहेका हुन्थ्यौं । कोठामा खाना पकाउन ढिला भयो । विविध कारणले त्यो दिन हामी घरबाट निस्कन सकेनौं । अब त अति भयो भन्ने लाग्यो । उनको मनमा पनि म नामर्द पुरुष जस्तै भएँ । उनको चाहनामा हामी भाग्न नसक्ने कस्तो हुत्तिहारा ? प्रेममय शब्दहरुमा आफ्नो कमजोरी खोतल्ने प्रयासलाई टाल्न खोजें । त्यहि फर्निचरमा काम गरिरहेकाले वातावरण बनाउन मलाई सहज थियो । म प्रेम गर्थैं । उनि पनि प्रेम गर्थिन् । तर हामी त्यति चाँडै भाग्ने हाम्रो योजना थिएन । त्यो योजना घरकै टर्चर प्रमुख थियो । हामीले खराब केहि काम गरेका पनि थिएनौं । गरेका पनि छैनौं । अनि सहमतिमा हामीलाई तिमीहरुको विवाह सम्भव छैन है भनेको भए पनि हामी टाढा हुने थियौं । म त्यो फर्निचरबाटै निक्लिन्थे होला । काम खोज्न आएको ब्यक्ति म अन्यत्र पनि काम गर्थे होलां । हामीलाई सम्झाउने भन्दा पनि हामीलाई कारवाही गर्ने र फसाउने प्रपञ्च भयो । त्यस्तो प्रपञ्चका कारण आज म अपराध नगर्दा नगर्दै अपराधीको भूमिकामा अनुसन्धानको घेरामा कारागार भित्र छु । घरमा बुबा आमाले सम्झिरहनु भएको छ । छोरो कमाउन गएको छ । छोरो होईन मोरो बनिसकेको विचरा मेरा बुबा आमालाई के थाहा ? उमेरले बिराएको बाटो सम्हालिन नसक्दा छोरालाई फसाईएको छ । निर्दोष र चोखो प्रेम प्रति कसले राख्ला दया ?  भाग्ने योजना बनाईरहँदा म डराई रहेको थिएँ । मलाई असाध्यै डर लागेको थियो । नयाँ स्थानमा आएर विवाह गर्दा कतै समाजले केहि पो गर्ने हो कि ? फर्निचर साहुजीलाई विवाह गर्ने कुरा नगरेका कारण पैसा पनि थोरै दिएका थिए । 
    शिवरात्रीको दिन थियो । हामी दुबैले भाग्ने निर्णय ग¥यौं । मैले साहुजीसँग २५ सय रुपैयाँ मागें । त्यो पैसा पनि मैले उनलाई नै राख्न दिएँ । उनी घरबाट त्यसै निस्कन मिलेन । मैले दिउँसै काम छाडें । उनी बाख्रा चराउने योजनामा घरबाट निस्किईन् । त्यहि २५ सय रुपैयाँ साहुजिसँग मागेर म उनलाई लिएर जान कस्सिए । दिउँसै देखि हाम्रो भेट भयो । उनी बाख्रा चराई रहेकी थिईन् । बाख्रा चराउन जाने निहुँमा भाग्ने योजना थियो । म कोठामा आए । कोठामा दिउँसो साँढे ३ बजे देखि नै बसेका थियौं हामी । साँझ कसैले नदेख्ने गरी भाग्ने योजना बनेको थियो । भाग्न मिल्ने अनुकूल समयको पखाईमा रहेका हामीले साँझको समय उपयुक्त देख्यौ । कोठामा रहेका बेला केहिले हामीलाई देखेका पनि थिए । पर्वाह नै नगरी कोठाबाट निस्किएर तत्काल अरनिको राजमार्गमा आयौं । बाटोमा बसहरु थिएनन् । दुध बोक्ने गाडीमा चढेर हामी धुलिखेल हुँदै श्रीखण्डपुर आयौं । श्रीखण्डपुरबाट अर्काे गाडी चडेर पर्नौतीमा रहेका आफन्तको घरमा पुग्यौं । उनिहरुलाई पनि थाहा थिएन की म आउँछु त्यो पनि केटी लिएर । उहाँहरु झसङ्ग हुनु भएको थियो । हामी पुगेर खाना खाने तयारीमा मात्रै थियौ । राति ९ बजे उनका दाई र आफन्त आएर मलाई मरणासन्न हुने गरी कुटपिट गरे । उनलाई साथमै लिएर फर्किए । 
    भोलिपल्टै प्रहरीकोमा उजुरी गरे । घटना रचियो । कहानी बनाईयो । युवतीलाई बाख्रा चराउन गएका बखत जर्बजस्तिकरणी गरेर अपहरण गरी पनौतीमा ल्याई बन्धक बनाएको कथा बुनिएको थियो । सार्वजनिक यातायात प्रयोग भएपछि कसरी हुन्छ अपहरण ? युवतीकै सहमतिमा भएको भागि प्रेमलाई कसरी हुन्छ जर्बजस्ति करणी ? प्रहरीले युवतीका आफन्तले ल्याएको उजुरी दर्ता ग¥यो । सोहि आधारमा अदालतले मलाई पुर्पक्षमा राख्ने आदेश दियो । म थुनामा परें । युवतीकै प्रस्तावमा प्रेम स्विकार गरी उनकै प्रस्तावमा भागि विवाह गर्दा कसरी भएँ म अपराधी ? प्रेम स्विकार्नु मेरो अपराध हो ? उनका तर्फबाट प्रहरीमा जर्बजस्ती बयान दिईएको रहेछ । सुन्दै अचम्म लाग्छ । अनौठो र अपत्यारिलो घटनामा म फसेको छु । उनले राखेको प्रेम प्रस्ताव स्विकार गर्दा अपहरण तथा जर्बजस्ति करणी अभियोगमा म जेल परेको छु । उनकै प्रस्ताव, उनैका अभिभावकले कुटपिट समेत गरी प्रहरीकोमा मुद्दा दायर गरेपछि म जेलमा छु । कसरी पाउँछु न्याय मैले ? 
धनबहादुर बिष्ट    
दैलेख, हालः धुलिखेल