२०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम मतदाता नामावली सार्वजनिक गरेसँगै काभ्रेपलाञ्चोक जिल्ला औपचारिक रूपमा निर्वाचन उन्मुख बनेको छ । जिल्लामा कुल ३ लाख २६ हजार ६ सय ११ मतदाता कायम हुनु लोकतान्त्रिक अभ्यासको हिसाबले उत्साहजनक तथ्य हो । २०७९ को निर्वाचनको तुलनामा १६ हजारभन्दा बढी मतदाता थपिनु नागरिक सहभागिता विस्तार हुँदै गएको संकेत पनि हो ।
काभ्रेमा दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र कायम छन्। क्षेत्र नं. १ मा १ लाख ६१ हजार १ सय र क्षेत्र नं. २ मा १ लाख ६५ हजार ५ सय ११ मतदाता छन्। पुरुष र महिला मतदाताको संख्या झण्डै सन्तुलित देखिनु सकारात्मक पक्ष हो। साथै ‘अन्य’ मतदाताको उपस्थिति पनि समावेशी लोकतन्त्रतर्फको सानो तर महत्वपूर्ण कदम हो ।
निर्वाचन व्यवस्थापनका दृष्टिले हेर्दा १ सय ८९ मतदान स्थल र ४ सय मतदान केन्द्र कायम हुनु, केन्द्रलाई जटिल, मध्यम र सामान्य भनेर वर्गीकरण गर्नु प्रशासनिक तयारीको गम्भीरता दर्शाउँछ । यसले मतदान प्रक्रियालाई सहज र सुरक्षित बनाउन सहयोग गर्ने अपेक्षा गर्न सकिन्छ । अस्थायी मतदाता, कैदीबन्दी, बृद्धाश्रममा आश्रित नागरिकजस्ता समूहलाई समेट्ने प्रयास पनि प्रशंसनीय छ ।
तर सकारात्मक तथ्यहरूसँगै केही गम्भीर प्रश्नहरू पनि उभिएका छन् । राजनीतिक दलहरूले शान्ति–सुरक्षाको विषय उठाइरहनु सामान्य होइन। जेलबाट फरार कैदी, लुटिएका हातहतियारको अवस्था, र तथाकथित आन्दोलनका नाममा भएका विध्वंसका घटनामा कारबाही नहुनु लोकतान्त्रिक वातावरणका लागि खतरा हुन् । यस्ता अवस्थाले मतदातामा त्रास पैदा गर्न सक्छ र निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्न सक्छ ।
निर्वाचन केवल मिति र मतदाता संख्या मात्र होइन, विश्वासको प्रक्रिया पनि हो । नागरिकले निर्भीक रूपमा मतदान गर्न पाउने वातावरण राज्यको प्रमुख दायित्व हो । सुरक्षा निकाय, निर्वाचन प्रशासन र राजनीतिक दलबीच समन्वय अभाव रहिरहेमा निर्वाचनको वैधतामाथि नै असर पर्न सक्छ ।
अबको चुनौती स्पष्ट छ—निर्वाचन आयोगले निष्पक्षता र पारदर्शितामा कुनै सम्झौता गर्नु हुँदैन । सरकारले शान्ति–सुरक्षा सुनिश्चित गर्नु र राजनीतिक दलहरूले जिम्मेवार व्यवहार देखाउनु निर्वाचनको महत्वपूर्ण पक्ष हो । काभ्रेका तीन लाखभन्दा बढी मतदाताले आफ्नो मत प्रयोग गर्न पाउने वातावरण बनाउनु सबै सरोकारवालाको साझा कर्तव्य हो । लोकतन्त्रलाई बलियो बनाउने अवसरलाई अस्थिरताको कारण कमजोर बनाइनु हुँदैन ।
जेनजीका नाममा उठेका सवाल र विषय पनि गम्भिर छन् । ति विषय सम्बोधन हुने गरी दलहरुले उम्मेदवारको छनौट गर्नु आवश्यक छ । नयाँ दर्ता भएका दलहरुको ब्यवहार पनि नातावाद, कृपावाद भन्दा फरक छैन । त्यहाँबाट टाढा जान नसक्नु नयाँ भनिएका दलहरुको पनि सिसी पुरानै रक्सी मात्रै नयाँ भने जस्तो देखिएको छ । अरुले गर्दा भागबण्डा र आफुले गरे सल्लाह भन्ने भास्य निर्माण गर्ने प्रयत्न नेपालका लागि सबैले बुझिसकेकै विषय हो । त्यसले निर्वाचनमा केन्द्रित दलहरुले पहिला आफुलाई सुधार्नु आवश्यक छ । निर्वाचन हुने विश्वास र नागरिकहरुको मतलाई सुरक्षा प्रदान गर्नु प्रमुख चुनौती र दायित्व पनि हो ।





