2026 September 26/ 10:01: 41am

    बनेपा/सिद्धार्थ स्कुल तथा कलेज, बनेपाले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत, अभिमुखीकरण तथा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न गरेको छ । भोली असार १ गते देखि कक्षा ११ का विद्यार्थीहरुका लागि कक्षा प्रारम्भ हुँदैछ । 
    कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूको सहभागितामा विद्यार्थीहरूको दायित्व, जिम्मेवारी, आगामी शैक्षिक यात्रामा सामना गर्न सक्ने चुनौतीहरू तथा ती चुनौतीहरूको सफलतापूर्वक सामना गर्न आवश्यक मेहनत र तयारीका विषयमा अभिमुखीकरण प्रदान गरिएको थियो । वि.सं. २०४० सालमा स्थापना भएको सिद्धार्थ स्कुल जिल्लाकै स्थापित तथा गुणस्तरीय शैक्षिक संस्था मानिन्छ । कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल ज्ञानबहादुर केसीले विद्यालयले संख्यात्मकभन्दा गुणात्मक शैक्षिक गतिविधिलाई प्राथमिकता दिँदै आएको बताए । उनले विद्यालयको सम्पत्ति भनेकै इतिहासदेखि वर्तमानसम्म प्राप्त शैक्षिक उपलब्धि र परिणाम भएको उल्लेख गर्दै गुणस्तरीय, व्यवहारिक तथा नैतिक शिक्षामार्फत विद्यार्थीलाई सक्षम नागरिक बनाउनु विद्यालयको मुख्य उद्देश्य रहेको बताए ।
    विद्यालयका प्रिन्सिपल गुञ्जप्रसाद लुईटेलले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई विद्यालयले सञ्चालन गर्ने शैक्षिक कार्यक्रम तथा अतिरिक्त क्रियाकलापमार्फत सिकाइ उपलब्धिलाई प्रभावकारी बनाउन तयार गरिएका योजनाहरूको जानकारी गराएका थिए । विद्यालयका शिक्षक सुधिर न्यौपानेद्वारा सञ्चालित कार्यक्रममा काठमाडौं विश्वविद्यालय शिक्षा संकायका सहायक डिन प्रा.डा. खगेन्द्र आचार्य र शिक्षाविद् डा. चन्द्रप्रसाद लुईटेल प्रमुख वक्ताका रूपमा सहभागी भएका थिए । उनीहरूले विद्यार्थीहरूलाई विश्व परिवेश, नेपालको वर्तमान अवस्था, प्रविधिको विकास तथा बालमनोविज्ञानसँग सम्बन्धित विषयमा प्रेरणादायी अभिमुखीकरण प्रदान गरेका थिए । साथै व्यवहारिक र नैतिक शिक्षामा जोड दिँदै भविष्य निर्माणसँगै राष्ट्रको समृद्धिमा योगदान गर्न विद्यार्थीहरूलाई आग्रह गरेका थिए ।
    कार्यक्रममा प्याब्सनका उपमहासचिव भीमसेन केसी, सचिवालय सदस्य हिरा शर्मा नेपाल, प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, सचिव विमल न्यौपाने, नगर अध्यक्ष महेन्द्र विष्ट, सिद्धार्थ कलेजका क्याम्पस प्रमुख पुकार कारञ्जित, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्व अध्यक्ष मोतीराम तिमल्सिना तथा अभिभावक रामचन्द्र भट्टराईलगायतले विद्यार्थीहरूलाई उत्प्रेरणामूलक सन्देश दिएका थिए । कार्यक्रममा प्याब्सन काभ्रेका वरिष्ठ उपाध्यक्ष सुजेन्द्र श्रेष्ठ, उपाध्यक्ष बसन्तराज नेपाल, विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।