2026 September 28/ 04:08: 05am

    बनेपा/काभ्रे कवड्डी एकेडेमीको आयोजना तथा जिल्ला खेलकुद विकास समिति काभ्रेको समन्वयमा बनेपामा पहिलो पटक आयोजना गरिएको प्रथम काभ्रे कवड्डी लिग २०८१ को उपाधी भक्तपुरको मोर्डन कलेज समुहले हात पारेको छ । उप विजेता भक्तपुरको चाँगुनारायण समुह बन्यो । 
    ‘३७–३५ पईन्टमा मोर्डनले चाँगुनारायणलाई हराउँदै उपाधी जितेको हो’–आयोजक समितिका राजेश तिमल्सिनाले भने–‘पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगितामा उत्साहपूर्ण सहभागिता रह्यो ।’ विजेता समुह तथा सहभागीहरु बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटाले पुरस्कार वितरण गरेकी थिईन् । सोहि कार्यक्रममा इलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी ज्ञानबहादुर खड्का, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर वाईवा तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
    प्रतियोगितामा काभ्रेपलाञ्चोक जिल्लाका ८ वटा समुह र भक्तपुर जिल्लाका २ वटा समुह गरी १० वटा समुहको प्रतिस्पर्धा रहेको थियो । राष्ट्रिय रेफ्रि विवेक मानन्धर सहितको समुहले प्रतियोगितामा निर्णायकको भूमिका निभएका थिए । प्रतियोगितामा प्रथम हुने समुह मोर्डन कलेजको समुहले ३० हजार ३ सय ३३ र उप विजेता चाँगुनारायण समुहले ११ हजार १ सय ११ रुपैया नगद, शिल्ड, प्रमाणपत्र तथा आर्कषक गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए । एकेडेमीका अध्यक्ष सुमन कुँवरको अध्यक्षता सम्पन्न प्रतियोगिता माघ १० गते विहिबार शुरु भएको थियो । प्रतियोगिताको उद्घाटन बेलर स्कुलको अध्यक्ष भोला थापाले गरेका थिए ।