2026 September 28/ 12:51: 40pm

विजेता बन्यो वडा नम्बर ४ को समुह
    बनेपा/बनेपा नगरपालिकाको आयोजनामा तिजको अवसर पारी बनेपाको लायकु मञ्चमा शुभकामना आदान प्रदान तथा महिला उद्यमीहरुबाट उत्पादित सामाग्रीको बजार प्रर्बद्धन मेला तथा खुल्ला लोकगीत प्रतियोगिता २०८१ सम्पन्न गरिएको छ । प्रतियोगिताको उद्घाटन नगर प्रमुख शान्तिरत्न शाक्यले गरेका थिए । 
    नगर प्रमुख शाक्यले सबै दिदीबहिनीहरुलाई तिजको शुभकामना दिदै आफुले उत्पादन गरेका सामाग्रीहरु शुक्रबार लाग्ने हाट बजारमा राख्न आग्रह गरेका थिए । नगरपालिकाले प्रदान गरेको विभिन्न सिपमुलक तालिम पछि उत्पादित सामाग्रीहरु बजारीकरण गर्न नगरपालिकाले हाटबजार शुरु गरेको शाक्यले बताए । महिला दिदिबहिनीहरु मात्रै नभएर नगरका सम्पुर्ण नागरीकहरु आत्मनिर्भर बन्न सहयोग पुग्ने शाक्यले बताए । 
कार्यक्रममा पाचँखाल नगरपालिका उप प्रमुख सुर्यमाया दनुवार, पनौती नगरपालिका उप–प्रमुख गिता बन्जारा, बनेपा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाई, वडा अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो । महिला उद्यमी बढाँउ, समृद्ध नगर बनाउँ भन्ने मुल नाराका साथ नगरले विभिन्न समयमा दिएका समुह तथा महिला उद्यमीहरुलाई सिकाएको सिपबाट उत्पादित सामाग्रीहरुको प्रर्दनशी समेत गरीएको थियो । नगरपालिका उप प्रमुख तथा कार्यक्रमका सभापति विमला सापकोटाले नगर भित्र रहेका सम्पूर्ण महिला उद्यमीहरुको सहभागिता रहेको बताईन् । मेलामा ५७ वटा स्टलमा महिलाद्धारा उत्पादित लप्सी क्यान्डी, कपडा, झोला, जुत्ता, बुनाई, कृष्टल पोते, मह, ढाका बुनाई, ब्याग, योमरी, हाते सामाग्री, खाध्य कृषि, साबुन, हातले काटेको बत्ती, कस्मेटिक पाउडर, नेवारी खाजा, साडी, सेनेटरी प्याड लगायतका विभिन्न सामाग्रीहरुको स्टल राखिएको थियो । खुल्ला लोकगीत प्रतियोगितामा १० वटा टिमले भाग लिएको थियो । 
    प्रतियोगितामा प्रथम वडा नम्बर ४ को नमुना बस्ती समुहका पुजा बस्नेत, देस्रो वडा नम्बर  ६ का कविता थापाको समुह, तेस्रो वडा नम्बर ९ का अम्बिका ढकालको समुह र सन्तवना वडा नम्बर ३ को विमला दाहालको समुह र वडा नम्बर ५ को सम्झना अधिकारीको समुह भएको छ । नगरपालिकाले प्रथम हुनेलाई नगद १० हजार, द्धितियलाई ७ हजार तृतियलाई ५ हजार र सान्त्वनालाई ३ हजार ५ सय र प्रमाणपत्र प्रदान गरेको छ  । कार्यक्रममा महिला दिदिबहिनीहरुलाई आत्मनिर्भर र ब्यबसायी बन्नका लागी नगरपालिकाले विभिन्न सिपमुलक तालिमहरु प्रदान गर्दै आएको जानकारी गराएको छ । उक्त कार्यक्रमबाट महिला दिदिबहिनीहरुमा भएको प्रतिभा र क्षमतामा बृद्धि हुने विश्वास लिईएको नगर उपप्रमुख विमला सापकोटाले बताईन् । तिजलाई भड्कीलो भन्दा अवसरका रुपमा लिई रमाईलो सँगै सिपलाई समेत ब्यबहारमा उतार्न सहयोग पुग्ने विश्वास लिएको सापकोटाले बताईन् । कार्यक्रम  सञ्चालन महिला बालबालिका तथा जेष्ठ नागरीक शाखाकी प्रमुख विजया सुबेदीले गरेकी थिईन् ।