2026 April 20/ 04:37: 23am

    पनौती/६ वर्ष अघि चारवटा सहकारी एकिकरण गरी ज्योती मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नामबाट कारोबार शुभारम्भ गरेको सहकारीले स्थापना छैंटौ एकिकरण उत्सवको अवसर पारेर विविध कार्यक्रम आयोजना गरेको छ । 
    संघीय सांसद गंगाबहादुर दोङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट बचतकर्ता, नियमित बचत कर्ता, विशेष बचत कर्ता, ऋणी तथा रक्तदाताहरुलाई सम्मान गरिएको थियो । सहकारीले हरेक महिना उत्कृष्ट सम्मान गर्ने क्रममा कार्यक्रमको अवसर पारी भाद्र महिना देखि माघ महिनासम्मका उत्कृष्ट ब्यक्तिहरुलाई सम्मान गरेको हो । त्यस्तै तिज विशेष कार्यक्रम, एकिकरण उत्सव कार्यक्रम, निशुल्क स्वास्थ्य जाँच तथा रक्तदानमा सहयोग गर्ने ब्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै सांसद दोङ्गले सहकारी मार्फत मुलुकको समृद्धि सम्भव भएकाले छरिएर धेरै सहकारी हुनु भन्दा सहकारीहरुको एकिकरण र एकिकृत पुँजीबाट समाजको रुपान्तरण गर्नुपर्ने बताए । कार्यक्रममा प्रदेश सभा सांसदहरु चन्द्र लामा, बसुन्धरा हुमागाई, सल्लाहकार समिति सदस्य तुयुकाजी ताम्राकार, काभ्रेपलाञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष इन्द्रप्रसाद अधिकारी लगायतले मन्तब्य राखेका थिए । 
    अध्यक्ष उद्धव सापकोटाले शेयर सदस्यहरुका लागि गरिएका सेवा तथा सहकारी अभियान र संस्थाका कार्यक्रमका बारेमा जानकारी गराएका थिए । उपाध्यक्ष कान्छीमैया तामाङको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रमको संचालन सचिव दिपक दाहालले गरेका थिए । संस्थाको ५४ करोड पुँजी रहेको छ भने झण्डै १० हजार शेयर सदस्य रहेको प्रवन्धक गोपाल दाहालले जानकारी दिए । 
सेवा केन्द्र उद्घाटन
    ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ५ औ सेवाकेन्द्र बेथानचोक गाउँपालिकामा शुभारम्भ गरेको छ । बेथानचोक गाउँपालिका प्रमुख प्रेमवहादुर तिमल्सिनाको प्रमुख आतिथ्यतामा समुदघाटन गरि कारोवार सुभारम्भ गरेको उक्त संस्थाले बेथान्चोक गाउँपालिकाका सबै वडाहरुमा सेवा विस्तार गर्ने जनाएको छ । कार्यक्रममा प्रमुख अतिथी तिमल्सिनाले संस्थाले सेवा विस्तार गरेर बेथानचोकका जनताको वित्तीय आवश्यकता पूरा गर्ने गरि कार्यक्रम अगाडि बढाउन शुभकामना दिए । बेथानचोकमा कृषिमा आश्रित सदस्य रहेकाले समुदायको आर्थिक उन्नतिका लागि सदस्यलाई व्यवसायीक बनाउने कार्यक्रमका साथ अगाडि बढ्न अनुरोध गर्दै संस्थासँंग सहकार्य गर्न र आवश्यक सहयोग गर्न गाउँपालिका सधै तयार रहेको जानकारी गराए । कार्यक्रममा वडा नं २ र ३ का वडा अध्यक्ष, स्थानीय विद्यालयका प्र अ लगायत अन्य अतिथिले शुभकामना दिएका थिए । संस्थाका प्रवन्धक गोपाल दाहालले संस्थाको वस्तु तथा सेवाको जानकारी गराएका थिए भने कार्यक्रम संञ्चालन सचिव दिपकप्रसाद दाहालले गरेका थिए । संस्थाका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा २ सय ५० भन्दा धेरै सदस्यको उपस्थिति रहेको थियोे ।