2026 September 29/ 08:05: 40pm

धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर ७ मा रहेको जिल्ला कारागार कार्यालय काभ्रे अन्र्तगत रहेका २ सय ९९ कैदी बन्दी, कर्मचारी तथा अन्य नागरिकहरुका लागि स्वास्थ्य शिविर आयोजना गरिएको छ । शिविरमा सहभागिहरुलाई छातिको एक्स रे सहितको क्षयरोग परिक्षण तथा उच्च रक्तचाप एवं मधुमेह रोगको परिक्षण गरिएको थियो । धुलिखेल नगरपालिका स्वास्थ्य शाखा तथा स्वास्थ्य कार्यालय काभ्रेको आयोजना र कारागार  कार्यालय काभ्रेको समन्वय र जन्त्र नेपालको प्राविधिक सहयोगमा क्षयरोग मुक्त नगर अभियान अन्तर्गत शिविर सञ्चालन गरिएको हो । शिविरमा स्वास्थ्य परिक्षणबाट १ जनामा क्षयरोग, ६५ जना भन्दा बढिमा उच्च रक्तचाप तथा २९ जनामा मधुमेह रोग पहिचान गरिएको थियो । धुलिखेल नगरपालिकाले बिगत २ बर्ष देखि क्षयरोग मुक्त नगर अभियान संचालन गरी समुदायमा सक्रिय रोग पत्ता लगाई उपचार कार्य गर्दै आएको क्षयरोग सम्पर्क ब्यक्ति स्वास्थ्य अधिकृत कृष्णबहादुर आलेले बताए ।
    स्वास्थ्य कार्यालय काभ्रेका क्षय कुष्ठ शाखाका अधिकृत राजाराम अधिकारीले १४२ औ विश्व क्षयरोग दिवशको सन्दर्भमा यस्ता कार्यक्रम सञ्चालन गरेर क्षयरोगका बिरामी पहिचान तथा उपचारको दायरामा ल्याई डट्स प्रविधिबाट उपचार गरी निको पार्ने तथा फैलने दर कम गरिने जानकारी दिए । कार्यक्रममा क्षयरोग रोगका विशेषज्ञ डा प्रमोद भट्टराई तथा नगर स्वास्थ्य प्रमुख सन्दीप के.सी, स्वास्थ्य शाखाका अधिकृत शरोज थापा, स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन अधिकृत सिता श्रेष्ठ, हरिसिद्धि आधारभुत स्वास्थ्य चौकीका सिअहेब अधिकृत नवराज दाहाल, धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रका हे.अ. सुर्य श्रेष्ठ, जन्त्र नेपालका जिल्ला को अर्डिनेटर सुजन ताम्राकार, कारागार कार्यालयका स्वास्थ्यकर्मी राजेश तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।