2026 September 30/ 05:15: 19pm

नमोबुद्ध, भकुण्डेवेशी/नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका र तेमाल गाउँपाकिलाले स्थानीय तहले पायक पर्ने स्थानमा नापी, मालपोत लगायतका कार्यालय स्थापना गर्न अनुरोध गरेका छन् । 
    अन्तरपालिका समन्वय बैठक आयोजना गरेको नमोबुद्ध नगरपालिकाले प्रस्ताव गरेको एजेण्डामा सरकारी कार्यालयहरु नागरिक मैत्री हुन र पायक पर्ने स्थानमा राख्न माग गर्ने निर्णय भएको बैठकको अध्यक्षता गरेका नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामाले बताए । सदरमुकाम धुलिखेलमा रहेको नापी कार्यालय, मालपोत कार्यालय, राष्ट्रिय परिचयपत्र र मतदाता नामावली सम्बन्धी सेवा केन्द्र असहज र टाढा रहेकोले यस क्षेत्रका सेवाग्राहीहरुलाई सहज, छिटो, छरितो र नतिजामुखी सेवा प्रदान गर्नका लागि ती पालिकाहरुलाई पायक पर्ने स्थानमा सो कार्यालयहरु स्थापना गर्न संयुक्त रुपमा अनुरोध गर्ने निर्णय भएको छ । 
    बैठकले पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास, विपद व्यवस्थापन तथा न्युनिकरण, खानेपानी तथा सरसफाई, शिक्षा, स्वास्थ्य, कृषिसंग सम्बन्धित नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिकाको साझा योजना तथा कार्यक्रम पहिचान गरी सम्बन्धित निकायमा आवश्यक समन्वय र सहकार्य गर्दै संचालन गर्न संयुक्त रुपमा पहल गर्ने निर्णय समेत गरेको छ । तीनवटै स्थानीय तहको फोहोरमैलालाई दिगो रुपमा वैज्ञानिक तथा प्रविधियुक्त तवरले व्यवस्थापन गर्नका लागि एकीकृत फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्रको स्थापना गर्नका लागि तिनवटै पालिकालाई सहज हुने स्थान पहिचान गर्ने निर्णय बैठकले गरेको छ ।