पनौती/युवा बचत तथा ऋण सरकारी संस्थाले पनौतीबाट पनि सेवा सुरु गरेको छ । बनेपामा मुख्य कार्यालय रहेको संस्थाले सेवाग्राहीको माग अनुसार सहज र गुणस्तरीय सेवा दिनका लागि शाखा विस्तार गरेको जनाएको छ ।
सेवा केन्द्र उद्घाटन कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला बचत संघका प्रथम उपाध्यक्ष इन्द्रप्रसाद अधिकारी, पनौती नेकपा संयोजक सहदेव थापा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सचिव सरोज तिमल्सिनाले स्वागत मन्तव्य राखेका थिए भने संस्थाको हालसम्मको प्रगतीका बारेमा संस्थाका कार्यकारी अधिकृत कृष्णमणी कुँइकेलले जानकारी दिएका थिए । युवा बचतले हालसम्म ३२ करोड बराबरको कारोवार गरेको छ । संस्थाको शेयर पुँजी ३ करोड रहेको छ भने ७ हजार ८ सय सेयर सदस्य रहेका छन् । सेवा केन्द्र उद्घाटन कार्यक्रममा नगर प्रमुख भीम न्यौपानेले सहकारीले जनताको जीवनस्तर उकास्ने कार्यक्रम ल्याउनुपर्ने बताए । उनले उत्पादन मुलक क्षेत्रमा लगानी गरेमा नगरपालिका त्यसको सहयोगी बन्ने बताएका छन् । संस्थाका अध्यक्ष उदयराम कायस्थले सहकारीले गर्दा नै जनताको आय स्तरमा वृद्धि हँदै गएको बताएका थिए । अध्यक्ष कायश्थले एक दूई लाख सम्मको कर्जा लिनका लागि बैंक नै जानुपर्ने बाध्यताको अन्त्य भएको बताए । युवा बचतले धुलिखेल र पाँचखाल नगरपालिकामा छिट्टै नै सेवा केन्द्र खोल्ने जनाएको छ । यसै बिच संस्थाले सेवा केन्द्र उद्घाटन सँगै १ दिने निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो । स्वास्थ्य शिविरमा १ सय ३ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । स्वास्थ्य शिविरका लागि आइसीडि नेपालको प्राविधिक सहयोग गरेको थियो ।









