2026 April 20/ 01:09: 57am

    जिल्ला प्रहरी कार्यालय मातहत रहेको प्रहरी चौकी च्याम्ब्राङ्गबेशीको ढुंखर्कमा समुद्घाटन गरिएको छ । प्रदेश नम्वर ३ प्रहरी कार्यालय हेटौडाका प्रहरी नायव महानिरीक्षक दिपककुमार थापाले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए ।
    कार्यक्रममा संघीय प्रहरी इकाईका प्रमुख, जिल्ला प्रहरी प्रमुख रविराज खड्का, गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, स्थानीय संघ संस्थाका प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु लगायतले प्रहरीले नागरिकलाई सुरक्षाको अनुभुति दिनु पर्ने बताएका थिए । कार्यक्रममा बोल्दै डिआईजी दिपककुमार थापाले नागरिकको सुरक्षाका लागि प्रहरी सधै सक्रिय भईरहने बताए । प्रहरी नागरिकको सहकार्यबाट मात्रै शान्ति सुरक्षा कायम हुने उनले बताए ।
    जिल्ला प्रहरी कार्यालयले स्थानीय तह अनुसारको प्रहरी चौकी राख्ने गरी तयारी गरेको छ । आवश्यकता अनुसार जनशक्ति थप गरी नागरिकहरुको सुरक्षाका लागि पायक पर्ने स्थानमा प्रहरी चौकी राख्ने गरी नयाँ संरचनाहरु बर्गिकरण गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए ।
    २ करोड ३६ लाख लागतमा निर्माण सम्पन्न भएको उक्त भवन भुकम्प पछि राष्ट्रिय पुर्ननिर्माण कोषबाट शुरु गरिएको हो । यस अघि बालुवामा उक्त कोषबाट प्रहरी चौकी निर्माण सम्पन्न भएको थियो ।