2026 April 20/ 01:09: 56am

    धुलिखेल/धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १९ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
    कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जुले काभ्रेको गौरबको रुपमा रहेको काभ्रे उपत्यका एकिकृत खानेपानी आयोजनाको ९५ प्रतिशत काम सकिएको बताएका छन् । उनले आयोजना अन्र्तगत अब १ हजार २ सय ४४ मिटर पाइप विछ्याउने काम बाँकी रहेको बताए । नगर प्रमुख ब्याञ्जुले नगरपालिकाले एक घर एक धाराको नारा अनुरुप खानेपानी गुरुयोजना तयार गरि काम अघि बढाएको बताए । उनले नेपालमा पहिलो  धुलिखेल नगरपालिकाले खानेपानी सम्मेलन कार्यक्रम समेत सम्पन्न गरेको बताए । सभामा सचिव विन्द्रलाल श्रेष्ठले समितिको बार्षिक प्रतिवेदन, कोषाध्यक्ष दयाराम योगलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा २ करोड १६ लाख ८० हजार ५ सय १९ रुपैँया आम्दानी तथा ३ करोड १६ लाख ३८ हजार १३ रुपैँया खर्च भएको जानकारी दिइएको छ । समिति पछिल्लो वर्ष घाटामा गएको देखिन्छ । समितिमा २२ लाख ३२ हजार बक्यौता रहेको देखिन्छ । सभामा एकिकृत खानेपानी आयोजनापछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल समेत भएको थियो । समितिका अध्यक्ष रामेश्वर घिनाङजु श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख बिमला शर्मा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, समितिका पूर्वअध्यक्ष राजकुमार तखाक्षे, साविक भूमिडाँडा, कलाँतीका पूर्व प्रधानपञ्च हरिकृष्ण केसी, समिति उपाध्यक्ष गिता श्रेष्ठ, प्रबन्धक रामेश्वर पराजुली लगायतले आफ्नो भनाई राखेका थिए ।