धुलिखेल/धुलिखेल नगरपालिका र नगर विकास कोष विच धुलिखेल नगरपालिका वडा नम्वर ६ मा निर्माण भईरहेको सपिङ्ग कम्प्लेक्स निर्माण गर्ने विषयमा सम्झौता भएको छ ।
नगर विकास कोषको ९० प्रतिशत ऋण अर्थात १ करोड २२ लाख ८१ हजार ४३ रुपैया, नेपाल सरकारको अनुदान ७.५ प्रतिशत अर्थात १० लाख २३ हजार ४ सय २० र धुलिखेल नगरपालिकाको समपुरक कोष ३ लाख ४१ हजार १ सय ४० रुपैया समेत गरी १ करोड ३६ लाख ४५ हजार ६ सय ३ रुपैयामा बाँकी कार्य सम्पन्न गर्ने गरी तयार भएको लगत स्टमेट अनुसार सम्झौता भएको हो । नगर विकास कोषका कार्यकारी निर्देशक मणिराम महत र धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जु बीच धुलिखेल नगरपलिकामा सम्झौता भएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले नगरपालिकाको प्रशासनिक भवन निर्माण गर्दा देखि धुलिखेलसँग शुरु भएको नगर विकास कोषको सहकार्य काठमाडौ विश्वविद्यालय, धुलिखेलको सञ्जिवनी विद्यालय, खानेपानी, हुँदै श्रीखण्डपुरमा ढुंगा विछ्याउन समेत भएको बताए । नगरपालिकाले अगाडी सारेको गुरु योजना अनुसार देविस्थनमा निर्माण गर्न लागिएको पर्यटकिय पार्क, टुडिखेलको मर्मतमा सहकार्य गर्न नगरपालिकाका प्रमुख ब्याञ्जुले प्रस्ताव राखेका थिए । कार्यक्रममा नगर विकास कोषका कार्यकारी निर्देशक मणीराम सिं महतले काभ्रेका विभिन्न स्थानमा भएको सहकार्यको पहिलो पाईला धुलिखेल नगरपालिका भएकाले नगर विकसा कोषको सहकार्यमा धुलिखेलमा धेरै कार्य गर्न सक्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा नगरपालिकाका उपप्रमुख विमला शर्मा, प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, नगर विकास कोषका निमित्त निर्देशक विनोद न्यौपाने, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रम सामाजिक विकास शाखा प्रमुख विदुर गौतमले संचालन गरेका थिए ।









