मण्डनदेउपुर/जिल्लाको पहिलो पुर्ण साक्षर नगरपालिकाका रुपमा मण्डन देउपुर घोषणा गरिएको छ । सरकारका प्रवक्ता एवं सूचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले एक कार्यक्रमका बीच नगरपालिकालाई पूर्ण साक्षर नगर घोषणा गरेका थिए ।
कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले कर्णाली र प्रदेश नम्वर २ को तराईमा साक्षर प्रतिशत कम भएको बताउँदै साक्षर प्रतिशत बढाउन निरन्तर अभियान गर्नु पर्ने बताए । कर्मचारी ब्यवस्थापनको समस्या सरकारले नभई कर्मचारी आफैले निम्त्याएको बताउँदै कर्मचारीको ब्यवस्थापन पछि स्थानीय सरकारले गति लिने मन्त्री बास्कोटाले बताए । कर्मचारी अध्यादेशले बृत्ति विकास नरोेकेको स्पष्ट पार्दै मन्त्री बास्कोटाले अध्यादेश ल्याउने संवैधानिक अधिकार भएर सरकारले ल्याएको बताए । कर्मचारीलाई अध्यादेशमा भएको ब्यवस्था अनुसार आफुले चाहेको क्षेत्रमा खटिन अनुरोध गर्दै मन्त्री बास्कोटाले जो खटिदैन वा जान अटेर गर्छ उसलाई कानुन अनुसार कारवाही हुने बताए ।
मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवाले १५ वर्ष देखि ६५ वर्ष उमेर समहुका ९५.२ प्रतिशत नागरिक पूर्ण रुपमा साक्षर भएको बताउँदै आउँदो पुस्तालाई साक्षर बनाउने अभियानमा विद्यालय स्तरीय कार्यक्रमलाई प्रभावकारी बनाएको बताए । नगरलाई शिक्षा, स्वास्थ्य तथा अन्य हिसावले समृद्ध बनाउन योजनाबद्ध हिसावले कार्य गरिरहेको बताउँदै कर्मचारी अभावका कारण धेरै गति लिन नसकेको बताएका थिए । नागरिकहरु र नगर प्रमुख टोकबहादुर वाईवाले राखेको गुनासोको समेत सम्बोधन गर्दै मन्त्री बास्कोटाले सिंचाई, फोहोर ब्यवस्थापन, पर्यटन, खानेपानी लगायतका क्षेत्रमा बजेट विनियोजन भएको बताएका थिए । नागरिकहरुले चाखोलाको पानी फोहोर हुँदै गएकाले बस्तु भाउलाई खुवाउन तथा तरकारी खेति गर्न समेत समस्या भएको गुनासो गरेका थिए । केहि नागरिकहरुले सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकको सिमा विवादले दुई देशका नागरिक जस्तो भएको बताएका थिए । कार्यक्रममा प्रदेश सभा सदस्य लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, नगर उपप्रमुख निर्मला शाहि, प्रमुख प्रशासकिय अधिकृत मोहन अधिकारी, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, नेकपा नेताहरु रिता ढकाल, विदुर सापकोटा, नेपाली कांग्रेसका नेता अच्युत पौड्याल लगायतले नगरपालिकाले आगामी दिनमा गर्नु पर्ने कामका बारेमा धारणा राखेका थिए । नगरपालिकामा जनगणना २०६८ अनुसार साक्षर हुनु पर्ने ३२ हजार ५ सय ६० जनसंख्या मध्ये ३१ हजार २१ नागरिक साक्षर भएको बताएका थिए । सरकार खोज्न सिहदरवार नभई स्थानीय क्षेत्रमा नै भएकाले सरकार अनुसारका काम गर्न नागरिकहरुले सार्वजनिक सुनुवाई मार्फत अनुरोध गरेका थिए ।
जिल्लामा पहिलो पटक मण्डन देउपुर नगरपालिकालाई साक्षर घोषणा गरिएको छ । सबै तहलाई साक्षर घोषणा गरे सँगै जिल्ला घोषणा गर्ने लक्ष्य लिएको छ । यस अघि सबै तह खुल्ला दिसामुक्त स्थानीय तह घोषणा गरिएको छ ।









