धुलिखेल/२०२० सालमा स्थापना भएको पाँचखाल नगरपालिकाको संर्वमंगला माध्यमिक विद्यालयमा अध्ययन गर्ने पुर्व विद्यार्थीहरुले एल्मुनाई एशोसिएसन गठन गरेका छन् ।
उक्त एशोसिएसनले आगामी पुष १४ गते बृहत्त भेलाको आयोजना गरेको छ । एशोसिएसनको गठन तथा उदेश्य र भेलाका बारेमा जानकारी दिन धुलिखेलमा आयोजित पत्रकार सम्मेलनमा पुर्व विद्यार्थीहरुको संगठनका संयोजक रविन्द्र अधिकारीले विद्यालयको हित तथा रचनात्मक कार्य गर्न विद्यालयलाई सहयोग पु¥याउने उदेश्यले एशोसिएसन गठन र भेला आयोजना गरिएको बताए । सह संयोजक राजन कार्की, उप समितिका संयोजकहरु समेत चयन गरी तर्दथ समितिले पुष १४ गते सांस्कृतिक कार्यक्रम सहित बृहत्त र विशेष भेला गर्ने तयारी गरेको छ । २०२९ साल देखि एसएलसीमा सहभागि भई निरन्तर विद्यार्थीहरुलाई शैक्षिक गुणस्तरका लागि प्रयासरत विद्यालयले २०५४ सालमा उच्च मावी संचालन गरेको थियो । पछि सर्वमंगला क्याम्पस पनि संचालन भएको छ । झण्डै ७ हजार विद्यार्थीहरुले विद्यालयबाट अध्ययन गरिसकेका छन् । पुर्व विद्यार्थीहरु गृह सचिव तथा देशका विभिन्न स्थानमा विशिष्ठ पदमा पुगी अवकाश भई सकेका छन् भने देश तथा विदेशमा रहेका विद्यार्थीहरुको भेला गराई विद्यालयको पठनपाठन तथा शैक्षिक क्षेत्रमा अनुभव र सिप क्षमता प्रयोग गरी देशकै नमुना विद्यालय बनाउने उदेश्य रहेको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
सम्मेलनमा पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, विद्यालयका प्रधानाध्यापक छत्रपति इशर, सहायक प्रधानाध्यापक उद्धवप्रसाद अधिकारी लगायतले विद्यालयका विषय बस्तु माथी जानकारी गराएका थिए ।









