2026 August 06/ 01:48: 14pm

    नमोबुद्ध, भकुण्डेबेशी/नमोबुद्ध नगरपालिकाका किसानहरुलाई विभिन्न कृषि सामाग्री वितरण गरिएको छ । फलफुल तथा तरकारी मूल्य श्रृंखला विकास आयोजनाको चालु आर्थिक बर्षको कार्यक्रम अन्तर्गत कृषि सामग्रीहरु वितरण गरिएको हो । 
    किसानहरुका लागि ८० सेट इलेक्ट्रिक स्पेयर, २५ थान थोपा सिञ्चाई सेट, प्लाष्टिक पोखरी निर्माणका लागि २५ थान प्लाष्टिक सामग्री, तथा तरकारी खेती नमुना प्रदर्शनीका लागि ४७ वटा प्लाष्टिक पोखरी निर्माणको सामाग्री वितरण गरिएको छ । भकुण्डेबेशीमा रहेको कृषि उपज संकलन केन्द्रमा रहेका चारवटा स्टलका लागि तरकारी राख्ने क्रेट १ वटा वितरण गरिएको छ । इलेक्ट्रिक स्पेयर ५० प्रतिशत अनुदान तथा अन्य सामग्री शतप्रतिशत अनुदानमा वितरण गरिएको हो ।
     नगर प्रमुख टी.पी शर्मा तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नं. ४ का अध्यक्ष उद्धवप्रसाद काफ्ले, वडा नं. ६ का अध्यक्ष कुलप्रसाद न्यौपाने, कृषि समितिका संयोजक एवं वडा नं. ९ का अध्यक्ष मेलवहादुर लामा, वडा नं. १० का अध्यक्ष रामकृष्ण उपाध्याय लगायतले किसानहरुलाई ती सामग्री हस्तान्तरण गरेका थिए । नमोबुद्ध नगरपालिकामा सञ्चालन भइरहेको फलफुल तथा तरकारी मुल्य श्रृंखला विकास आयोजनाअन्तर्गत चालु आर्थिक बर्षमा वडा नं. ३ र वडा नं. १० मा कृषि सिकाई केन्द्र स्थापनाको काम अघि बढेको छ भने भकारो सुधार कार्यक्रम सम्पन्न भएको छ । यो आयोजनामा नगरपालिकाका सबै वडाका गरी १९ वटा किसान समूह आवद्ध छन् ।