2026 August 06/ 10:10: 10am

पनौतीमा ३० हजार सहित विदाई
    पनौती नगरपालिकाले ६० वर्ष उमेर पुगेका स्वास्थ्य स्वयम सेविकालाई सम्मान सहित विदाई गरेको छ । १८ औं महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका दिवसको अवसर पारेर १८ जना महिला स्वास्थ्य स्वयम सेविकालाई सम्मान सहित विदाई गरेको हो । नेपाल सरकारले दिने २० हजार रुपैयाँ, नगरपालिकाको तर्फबाट ३० हजार र महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका कोषको तर्फबाट १ हजार १ सय गरी ५१ हजार १ सय रुपैयाँ नगद सहित सम्मान पत्रद्वारा सम्मान गरिएको हो । 
    नगरपालिकामा आयोजित कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपाने, जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख पुरुषोत्तम सेढाई, पनौती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिना, पनौती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष वुद्धसिं थापा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले स्वास्थ्य स्वयम सेविकाले नगरवासीको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको बताए । स्वास्थ्य स्वयम सेविकामा रहेको ज्ञान, उत्साह अझै महत्वुर्ण रहेको भन्दै उनले आफु रहेको टोललाई स्वस्थ राख्न महत्वपुर्ण सहयोग पुग्ने विश्वास लिएका छन् । यस्तै जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख पुरुषोत्तम सेढाइले स्वयम सेवि भावना जहाँ रहेपनि कहिल्यै पनि नमर्ने भएकाले आगामी दिनमा पनि उनीहरुको योगदान महत्वपुर्ण रहने बताएका छन् । फरक प्रसंगमा उनले कोरोना भाइरसको जोखिम अझै पनि कायम रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका छन् । ८८ प्रतिशत जिल्लावासीले खोप लगाइसकेको जानकारी दिँदै उनले खोपा लगाउन बाँकी रहेकालाई पनि छिट्टै खोप लगाउन अनुरोध गरेका छन् । 
बनेपामा २० हजार सहित विदाई
    बनेपा नगरपालिकाले १८ औ महिला सामुदायिक स्वास्थ्य स्वंसेविका दिवसको अवसर पारी नगरपालिका भित्र कार्यरत ६० वर्ष उमेर पुगेका स्वयंसेविकाहरुलाई सम्मान सहित विदाई गरेको छ । नगरपालिकाले स्वयंसेविकालाई नगद २० हजार, सम्मान पत्र र दोसल्ला ओढाई स्वयंसेविकाहरुको कामलाई उच्च सम्मान गरिएको नगर प्रमुख लक्ष्मी नरिसं बादेले बताउनु भयो । बादेले भन्नु भयो स्वयंसेविकाहरुको काम सानो देखिएता पनि महत्वपुर्ण र मानिसको ज्यान बचाउने भएकाले प्राथमिकता दिनु पर्ने बताउनु भयो । स्वयंसेविहरुलाई समय अनुसारको तालिम प्रदान गरि सेवा प्रवाहमा लगाउनु पर्ने बादेले बताउनु भयो । कार्यक्रममा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहालले स्वयंसेविकाको कामको बारेमा आफुले प्रत्यक्ष भोगेको र कामको सम्मान गरिएको बताउनु भयो । एक स्वयंसेविकाले सयौको ज्यान जोखिममा परेको बचाउन सक्नुहुन्छ त्यसैले उहाँहरुलाई तालिमको अझै आवश्यकता रहेकाले नगरपालिकाले प्रदान गर्ने बताउनु भयो । 
    कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेती, बनेपा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष तथा सामाजिक विकास समिती संयोजक चन्द्रबहादुर खड्का, स्वास्थ्य शाखा प्रमुख शम्भुकुमार महतो लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । स्वास्थ्य शाखा प्रमुख महतोले नगरपालिकामा १९ जना स्वयंसेविकाहरुलाई विदाई गरिएको र उहाँहरुको ठाँउमा नयाँलाई स्वागत गरिएको बताउनु भयो । नगरपालिका भित्र ८८ जना स्वयंसेविकाहरु रहेका छन् भने १४ वटै वडामा रहेका स्वास्थ्य ईन्चार्जहरुसँग समन्वय गरिरहनु भएको बताउनु भयो । स्वास्थ्य शाखाले नगरवासीहरुको स्वास्थ्यमा ध्यान राखी कोरोनाका समयमा होस् वा दशैं तिहार जस्ता चाडवाडमा निरन्तर सेवा प्रवाह प्रदान गरिएको महतोले बताउनु भयो । नगरका १४ वटै स्वास्थ्य केन्द्रबाट नगरबासीहरुलाई सेवा प्रदान गर्दै आएको समेत स्वास्थ्य शाखा प्रमुख शम्भुकुमार महतोले बताउँनु भयो । कार्यक्रम सञ्चालन स्वास्थ्य शाखाकी सिता भट्टराईले सञ्चालन गर्नु भएको थियो । 
नमोबुद्धमा ५ हजार सहित सम्मान
    नमोबुद्ध नगरपालिकाले उत्कृष्ट कार्य गर्ने महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । १८ औं महिला सामूदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा नगरपालिकाले दुईजना महिला स्वास्थ्य स्वयंसेविकालाई नगद ५ हजारसहित सम्मान गरेको हो । सम्मानित हुनेहरुमा वडा नं ४ की स्वास्थ्य स्वयंसेविका शर्मिला रम्तेल र वडा नं. ११ की स्वास्थ्य स्वयंसेविका मञ्जु तामाङ रहेका छन् । नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले उनीहरुलाई सम्मानपत्र र नगद प्रदान गरेका थिए । दिवसकै अवसरमा नमोबुद्ध नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाबीच हाजिरीजवाफ प्रतियोगितासमेत आयोजना गरेको थियो । प्रतियोगितामा पुरानागाउँ स्वास्थ्यचौकी अन्तर्गतका स्वयंसेविकाको समूह पहिलो, भिडाबारी आधारभुत स्वास्थ्य केन्द्र अन्तर्गतका स्वयंसेविकाको समूह दोस्रो र कुरुगाउँ आधारभुत स्वास्थ्य केन्द्र अन्तर्गतका स्वयंसेविकाको टोली तेस्रो भए भने दाप्चा स्वास्थ्य चौकी अन्तर्गतका स्वयंसेविकाको समूहले सान्त्वना पुरस्कार पाएको छ । पहिलो, दोस्रो, तेस्रो र सान्त्वनालाई क्रमश नगद ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ पुरस्कारस्वरुप प्रदान गरिएको थियो । प्रतियोगितामा १२ वटा समूह सहभागी थियो । 
    नमोबुद्ध नगरपालिकामा ८१ जना महिला स्वास्थ्यं स्वयंसेविका रहेका छन् । उनीहरुले अघिल्लो आर्थिक बर्ष २०७७÷७८ मा ५ हजार ३ सय १७ जनालाई सेवा दिएका छन् । कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि नमोबुद्ध नगरपालिका लागिपरेको बताउँदै सबै वडामा स्वास्थ्य केन्द्रका भवन निर्माण गरिएको जानकारी दिए । महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकाको सम्मान गर्दै आएको र आगामी दिनमा पनि थप सेवा सुविधासहित उहाँहरुको कामको मुल्यांकन नगरपालिकाले गर्ने तिमल्सिनाले बताए । 
यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले स्वास्थ्यमा संकट आउँदा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका सबैभन्दा महत्वपूर्ण बन्ने गरेको बताए । सामुदायिक स्वास्थ्य कार्यक्रमले गाउँगाउँमा स्वास्थ्य सेवा पु¥याउन तथा चेतनाको विकास गर्न मद्दत पुगेको उनले बताए । महिला स्वास्थ्य स्वयंसेविकाहरुकै कारण बाल तथा मातृ मृत्युदर घटाउन सहयोग पुगेको उनले बताए । कार्यक्रममा नगरपालिका शिक्षा, खेलकूद तथा युवा शाखाका प्रमुख उपसचिव जनार्दन रिजाल, नगरपालिका स्वास्थ्य शाखा संयोजक नवराज दाहाल, स्वास्थ्य शाखामा कार्यरत सरस्वती शर्मा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम अघि महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरुका टोलीले चेतनामुलक प्लेकार्डसहित नगर परिक्रमा गरेको थियो ।