2026 August 06/ 09:51: 11am

    बनेपा/हत्या पछि बेवारिसे अवस्थामा फालिएको शवको पहिचान हुन सकेको छैन । ईलाका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा मातहतका सबै प्रहरी युनिट र सरोकारवाला सबै निकायमा वेवारिसे शवको अवस्था सहित पहिचानका लागि प्रहरीले आग्रह गरेको छ । 
    २०७७ कार्तिक १५ गते दिउसो ३.२० बजेको समयमा जिल्लाको बनेपा नगरपालिका वडा नम्वर ११ सिनागाल स्थित वडा कार्यालयबाट ५ सय मिटर पश्चिम बाटो मुनि उत्तानो अवस्थामा नाम, थर, वतन नखुलेको अन्दाजी ३५÷३६ वर्ष जस्तो देखिने पुरूष व्यक्तिलाई कर्तव्य गरी हत्या गरिएको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिनुभयो । बेवारिसे शव फेला परे लगत्तै घटनास्थलमा डिएस्पी कुमार विक्रम थापा लगायतको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरेको थियो । घटनास्थल लास जाँच प्रकृति मुचुल्का लगायतको कार्य सम्पन्न गरी शवको पहिचान र पोस्टमार्टमका लागि आफन्तहरु खोजतलास गर्ने क्रम शुरु गरिएको प्रहरी प्रवक्ता डिएस्पी कुमार विक्रम थापाले जानकारी दिनुभयो । शब पहिचानको लागि धुलिखेल अस्पताल धुलिखेलको शव गृहमा सुरक्षित राखिएको छ । 
    अन्दाजी ३५÷३६ वर्षको पुरुष व्यक्ति, उचाई अन्दाजी ५.५ इन्च भएको, गोलो अनुहार, लामो कालो कपाल, दाह्री जुँगा पालेको, छालाको खैरो ज्याकेट, खरानी रंगको हाफ भेष्ट, निलो जिन्स पाईन्ट, स्पोर्ट फेसन लेखेको निलो जुत्ता, कालो बेल्ट लगाएका ब्यक्तिको पहिचान गर्न सकिएको छैन । प्रहरीले कोहि हराईरहेको भए वा शंकास्पद अवस्थामा तत्काल खबर गर्न अनुरोध गरेको छ ।