बनेपा/काभ्रे लेडी जेसिजको आतिथ्यतामा नेपाल जेसिज वर्ष २०२६ अन्तर्गत क्षेत्र ‘ग’ सम्मेलन आगामी असोज २ र ३ गते काभ्रेको बनेपा–५ स्थित स्मार्ट पार्टी प्यालेसमा आयोजना हुने भएको छ ।
युवामा नेतृत्व क्षमता, सकारात्मक सोच, सामाजिक उत्तरदायित्व तथा व्यक्तित्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । नेपाल जेसिज वर्ष २०२६ का राष्ट्रिय अध्यक्ष जीवन कार्कीको मूल थिम अर्थात् ‘लक्ष्य राख, कदम चाल, सफलता प्राप्त गर’ तथा ‘परियोजना संकल्प २०२६’ लाई सम्मेलनको मुख्य आधार बनाइएको सम्मेलन निर्देशक सुमित्रा बादे श्रेष्ठले बताईन् ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेतृत्व तथा क्षमता विकास, व्यक्तित्व विकास, प्रभावकारी सञ्चार, उद्यमशीलता तथा सामाजिक उत्तरदायित्वलगायतका विषयमा विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । त्यस्तै उत्प्रेरणा सम्वन्धी तालिम, डिजिटल मार्केटिङका लागि जेनेरेटिभ एआई तथा वित्तीय साक्षरता र लगानीसम्बन्धी तालिम समेत सञ्चालन हुने निर्देशक बादेले बताईन् ।
सम्मेलनमा अनुभवी प्रशिक्षक तथा विज्ञ वक्ताले सहभागीलाई ज्ञान, सीप तथा प्रेरणा प्रदान गर्नेछन् लक्ष्य राख, कदम चाल, सफलता प्राप्त गर’को भावनालाई व्यवहारमा उतार्दै लक्ष्य निर्धारण गर्ने, त्यसका लागि सक्रिय रूपमा अघि बढ्ने र उपलब्धि हासिल गर्ने संस्कार विकास गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको उनले बताईन् । ‘परियोजना संकल्प २०२६’ मार्फत युवामा सकारात्मक परिवर्तनका लागि संकल्प, नेतृत्व तथा जिम्मेवारीको भावना विकास गर्ने लक्ष्यसमेत राखिएको छ ।
सम्मेलनमा नेपालका विभिन्न चार क्षेत्र तथा १८६ शाखाबाट ६ सय भन्दा धेरै जेसिज सदस्यको सहभागिता रहने अपेक्षा गरिएको छ । सम्मेलनले काभ्रेको पर्यटन, संस्कृति, आतिथ्यता तथा स्थानीय पहिचानलाई राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने अवसरसमेत प्रदान गर्ने आयोजकको विश्वास छ । सम्मेलनको तयारी सकिएको काभ्रे लेडी जेसिजले जनाएको छ । सम्मेलनलाई सभ्य, भव्य, व्यवस्थित तथा ऐतिहासिक रूपमा सफल बनाउन जेसिज सदस्य, पूर्वअध्यक्ष, पदाधिकारी, शुभेच्छुक, स्थानीय तह, व्यवसायी, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालासँग सहयोग र सहभागिताका लागि आयोजकले अपिल गरेको छ ।
सम्मेलनमा पुर्व मन्त्री तथा बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे, जेसीजका राष्ट्रिय पुर्व अध्यक्ष विकास मानन्धर, स्वरुप शाक्य, काभ्रे लेडी जेसीजका अध्यक्ष मोनिका शाक्य, पुर्व अध्यक्षहरु, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, सम्मेलन आयोजक समितिकी सचिव देवकी आचार्य लगायतले सम्मेलन र त्यसका विषयमा धारणा राखेका थिए । काभ्रे लेडी जेसीजकी पुर्व अध्यक्ष रुविना सेवाचार्यले धन्यवाद ब्यक्त गरेको कार्यक्रममा काभ्रे लेडी जेसिजका विषयमा जानकारी गराईएको थियो ।
सन् १९९४ मा स्थापना भएको काभ्रे लेडी जेसिजले आफ्नो स्थापनाको ३२ औँ वर्षमा प्रवेश गरेको छ । तीन दशकभन्दा लामो अवधिमा संस्थाले नेतृत्व तथा क्षमता विकाससँगै समुदायमा विभिन्न सामाजिक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । संस्थापक अध्यक्ष अञ्जली कायस्थको नेतृत्वमा स्थापना भएको संस्थाले महिलाको स्वास्थ्यसम्बन्धी शिविर, डिजिटल साक्षरता, साइबर सुरक्षा, बालबालिकाको सुरक्षाका लागि अभिभावकसहितको सचेतना कार्यक्रम तथा लागूऔषध दुव्र्यसनविरुद्धका अभियानलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस वर्ष क्षेत्र ‘ग’ सम्मेलनको आतिथ्यता पाएको काभ्रे लेडी जेसिजले सम्मेलन सफल बनाउन विभिन्न संघसंस्था तथा व्यक्तिबाट नगद तथा अन्य सहयोग प्राप्त भइरहेको जनाएको छ । सम्मेलनको निर्देशक जेसी सुमित्रा बादे श्रेष्ठ तथा आतिथ्यता काभ्रे लेडी जेसिजकी अध्यक्ष जेसी मनिका शाक्यले गर्नेछन् ।





