बनेपा/बनेपा नगरपालिकाले ६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा ‘बालबालिकासँग जनप्रतिनिधि’ कार्यक्रम आयोजना गरेको छ । बनेपा नगर बाल सञ्जालकी अध्यक्ष रोजी ठाडा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बालमैत्री स्थानीय शासनको प्रगतिबारे जानकारी गराउँदै नगर प्रमुख शाक्यले बालबालिकाले उठाएका सवाललाई नगरपालिकाले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । बालबालिकाले शिक्षाको गुणस्तर, विद्यालयमा देखिएका समस्या, सडकमा भोग्नुपरेका कठिनाइ, विद्यार्थी लागुऔषधमा फस्ने अवस्था तथा बालबालिकामाथि हुने दुव्र्यवहारलगायतका विषय उठाएको जानकारी दिँदै उनले आवश्यक निर्णय र कानुन निर्माणका लागि शिक्षा शाखालाई जिम्मेवारी प्रदान गरिएको बताए । ‘बालबालिकाले शिक्षाको गुणस्तर, विद्यालयमा भएका समस्या, सडकमा भोग्नुपरेको अवस्था, विद्यार्थी लागुऔषधमा फसेको तथा दुव्र्यवहारमा परेका विषय उठाएका छन्’– नगर प्रमुख शाक्यले भने– ‘यी सवालको सम्बोधनका लागि आवश्यक निर्णय र कानुन निर्माणमा नगरपालिकाले पहल गर्नेछ ।’ नगर उपप्रमुख विमला सापकोटाले बालबालिकाले उठाएका सवाल गम्भीर रहेको बताउँदै नगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने विषय तत्काल कार्यान्वयन गर्ने बताइन् । विद्यालयमा छात्राका लागि आवश्यक स्यानिटरी प्याड, शौचालय, खानेपानीलगायतका सुविधाको अवस्थाबारे अनुगमन गरिने उनको भनाइ थियो ।
शिक्षा शाखा प्रमुख उपसचिव देवराज निरौलाले बालबालिकाको हितका लागि नगरपालिकाले गरेका महत्वपूर्ण काम, आगामी योजना तथा शिक्षा क्षेत्रका विविध विषयबारे सहभागी बालबालिकालाई जानकारी गराएका थिए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख भगवती तामाङले नगरपालिकाले प्राथमिकतामा राखेका बालबालिकासम्बन्धी महत्वपूर्ण अभ्यास र प्रयासबारे जानकारी दिँदै बालमैत्री स्थानीय शासनका बारेमा बालबालिकाहरुलाई जानकारी गराएकी थिईन् । बाल सञ्जालकी सचिव गोपिनी तिमल्सिनाको स्वागत मन्तव्य रहेको कार्यक्रममा ३० जनाभन्दा बढी बालबालिकाले मौखिक रूपमा तथा दर्जनौँ विद्यार्थीले लिखित रूपमा आफ्ना प्रश्न जनप्रतिनिधिसमक्ष राखेका थिए । बालबालिकाले सडकपेटीको अवस्था, विद्यालयमा पुस्तकालयको आवश्यकता, बालमैत्री स्थानीय शासनअन्तर्गतका कार्यक्रम, शिक्षाको गुणस्तरलगायतका विषयमा जनप्रतिनिधिसँग सवाल गरेका थिए ।
कार्यक्रममा वडा अध्यक्षहरू कमल घिमिरे, रमेश दाहाल, श्याम श्रेष्ठ, बलराम अधिकारी र राम दुवालगायत कार्यपालिका सदस्य, सूचना शाखा अधिकृत सुरेश थापा, शिक्षा शाखाका शिवराज त्रिपाठी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा कार्यरत सपना वली र सुनिता यादव, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । बनेपा नगरपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि विभिन्न कार्यक्रम तथा नीतिगत पहल गर्दै आएको जनाएको छ। नगरपालिकाले बालबालिकाको वस्तुगत विवरण प्रकाशन गर्नुका साथै बालमैत्री स्थानीय शासनको पञ्चवर्षीय लगानी योजना २०७९/८० देखि २०८३/८४ सम्म कार्यान्वयनमा ल्याएको छ । उक्त योजनाअन्तर्गत वडा नं. १, २, ३, ६, ७, ८, ९, १२ र १४ मा वडास्तरबाट लगानी गरिएको नगरपालिकाले जनाएको छ ।
अन्तर्राष्ट्रिय बालश्रमविरुद्ध दिवस २०२४ को अवसरमा वडा नं. २, ३, ५, ११, १२ र १४ लाई बालश्रममुक्त वडा घोषणा गरिएको थियो । नगरपालिकाका सबै सामुदायिक विद्यालयमा १६ वटा र संस्थागततर्फ नाइटिङ्गेल माध्यमिक विद्यालयमा एक गरी १७ वटा विद्यालयमा बाल क्लब गठन भई क्रियाशील रहेका छन् । समुदायस्तरमा समेत बाल क्लब गठनको तयारी भइरहेको नगरपालिकाले जनाएको छ । नगरसभा तथा कार्यपालिकाबाट बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि विभिन्न नीतिगत निर्णय गरिएका छन् । त्यस्तै, किशोरी समूह सञ्जाल गठन कार्यविधि, २०८२ निर्माण गरिएको छ भने बनेपा नगरपालिकाको बाल संरक्षण मापदण्ड, २०८३ समेत कार्यान्वयनमा आएको छ । नगरपालिकाले वडा तहमा समेत बालबालिकासम्बन्धी कार्यक्रमलाई निरन्तरता दिँदै बालमैत्री स्थानीय शासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रयास गरिरहेको जनाएको छ ।





