चालु वर्षको साँढे ८ महिनामा को नगरपालिकाले प्रक्षेपण गरेको कुल आम्दानीको ६० प्रतिशत आम्दानी गरेको छ भने विनियोजित बजेटको ४० प्रतिशत मात्रै खर्च गरेको छ ।
लक्ष्मण तिमल्सिना
बनेपा
बनेपा नगरपालिकाको ४५ औं स्थापना दिवस बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठको प्रमुख आतिथ्यता तथा नगर प्रमुख शान्तिरन्त शाक्यको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछानेको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दिपक गौतम, उपप्रमुख विमला सापकोटा, पूर्व उपप्रमुख रेखा सापकोटा दाहाल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने लगायतले स्थापना दिवसमा शुभकामना मन्तब्य राखेका थिए । प्रशासन प्रमुख यादव खनालको संचालनमा सम्पन्न कार्यक्रममा नगरपालिकाम निरन्तर २५ वर्ष सेवा गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट करदाता, उद्योगी, ब्वयवसायी, उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बादेले बनेपा नगरको स्थापना, स्थापना पछिको अवस्था, निरन्तरको विकास, संघीय संरचना पछिको विस्तारित बनेपा, खानेपानी, फोहोरमैला, स्वास्थ्य, शिक्षा, सरसफाई लगायतका विषयमा निरन्तर विकास भईरहेको बताए । नगरबासीहरुको हितमा रहेर काम गर्न जनप्रतिनिधिहरुलाई उनले अनुरोध गरे । नगर प्रमुख शान्तिरत्न शाक्यले भदौ २३ र २४ पछिको अवस्था, विस्तारित राजमार्ग, पछिल्लो समय नागरिकहरुको बुझाई र माथिल्ला सरकारहरुको ब्यवहार लगायतका विषयमा भईरहेको प्रयत्नका सन्दर्भमा जानकारी गराएका थिए । नगरबासिहरुको हितमा कार्य गर्न उनले जनप्रतिनिधि, कर्मचारीहरुलाई अनुरोध पनि गरे ।
कार्यक्रममा नगर प्रमुख शाक्यले चालु आर्थिक वर्षको चैत्र १२ सम्म बार्षिक प्रक्षेपण गरिएको २० करोड २० लाख आन्तरिक राजश्वमा ४० प्रतिशत मात्रै प्रगती भएको बताए । ८ करोड १५ लाख ५९ हजार ८ सय ५१ रुपैया राजश्व संकलन गरिएको छ । कृषि तथा पशु सेवा, पशु बीमा कार्यक्रम प्रभावकारी भएको बताए । १७४३ वटा गाई, ३ सय ७८ वटा भैसी, १३०३ वटा बाख्रा र ८७ वटा बंगुरको बीमा गरिएको छ । सहकारी तथा सामुदायिक विकास, राष्ट्रिय रोजगार कार्यक्रम सफल भएको नगर प्रमुख शाक्यले बताए । शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा कार्यक्रममा नगरबासिहरुको चाहना अनुसार काम भएको उनले बताए ।
चालु वर्षको चैत्र १२ सम्म नगर क्षेत्र भित्र जन्मिएका ३ सय ५२ जना बालबालिकाहरुको जन्म दर्ता भएको छ । १ सय ६२ निको निधन भएको छ । ३६ जनाको सम्वन्ध विच्छेद भएको छ । २ सय १ जनाको विवाह दर्ता भएको छ । २ सय १ जना बसाई सरी आउने र १ सय ३० जना बसाई सरी गएका छन् । महिला विकास, पुर्वाधार विकासका कार्यहरुमा पनि प्रगति भईरहेको उनले बताए । वडास्तरीय ५६ वटा र नगर स्तरीय १ सय ४ वटा गरी १ सय ६० वटा आयोजना सम्झौना हुन बाँकी छन् । २ सय ४ वटा योजना सम्झौता भएका छन् । कुल योजनाको संख्या ३ सय ६४ वटा रहेका थिए । २ सय ५३ वटा घरको नक्सा पास भएको छ ।
विपद ब्यवस्थापनका लागि पूर्व तयारी तथा क्षति भएका स्थानमा सहायता गरिएको छ । संस्थागत विकास तथा सुशासनमा भएका प्रगति र गतिविधिहरुका बारेमा जानकारी गराउँदै संसोधित बजेट १ अर्ब २२ करोड ३६ लाख ५५ हजार २ सय ८६ रुपैयामा ६०ं९२ प्रतिशत आम्दानी भएको छ । ७४ करोड ५५ लाख ६ हजार १ सय ३३ रुपैयाँ संघीय सरकार, प्रदेश सरकार, राजश्व बाँडफाँड, आन्तरिक राजश्व तथा सडक बोर्ड तथा जिससबाट प्राप्त भएको हो । नगरपालिकाले चैत्र १० सम्म ४०.८८ प्रतिशत मात्रै खर्च भएको छ । चालुतर्फ ५१.१२ प्रतिशत र पुँजीगत तर्फ २५ प्रतिशत मात्रै खर्च भएको छ ।
उपप्रमुख विमला सापकोटाले न्यायीक समितिका कार्य सम्पादन, योजनाहरुको कार्यान्वयन तथा नगरपालिकाको समग्र अवस्थाका बारेमा जानकारी गराएकी थिईन् । अघिल्लो वर्षका ८ वटा र चालु वर्षका १९ वटा उजुरीका बारेमा अधिकांश टुङ्गिएका छन् । ११ वटा अदालतमा विचाराधिन छन् । ६ वटा फैसला भएको छ । २६ वटा ऐन नियम, ५१ वटा कार्यविधि तथा निर्देशिका निर्माण गरिएको छ ।





