2026 April 19/ 06:55: 59pm

क्रसर तथा खानीका कारण तल्लो तटीय क्षेत्रका खेतबारीमा क्षति पुगेको छ । पानीका मुहानमा असर परेको, धुलो प्रदूषणले वातावरण र खेतीपाती प्रभावित भएको तथा १७ वटा घरगोठमा समेत क्षति पुगेको छ । ध्वनि प्रदूषणका कारण स्थानीय विद्यालय प्रभावित भएको र खोलाको बहावसमेत परिवर्तन भएको, करिब ४ सय घरधुरी जोखिममा परेको छ ।

मोतीराम तिमल्सिना
तेमाल, काभ्रेपलाञ्चोक

    राष्ट्रिय वन क्षेत्र र सार्वजनिक जग्गा अतिक्रमण गरी सञ्चालनमा रहेको ‘हेन्जेन दोर्जे’ क्रसर उद्योगका सञ्चालकविरुद्ध वन मुद्दा दर्ता प्रक्रिया अघि बढाइएको छ । डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले स्थलगत अनुगमनपछि उद्योगले अवैध रूपमा वन क्षेत्र अतिक्रमण गरेको पुष्टि गर्दै कारबाही सिफारिस गरेको हो ।
    तेमाल गाउँपालिका–१ अन्तर्गत साविक सस्र्यूखर्क गाविस वडा नं. १ र ४ का स्थानीयवासीले खानी दोभान (खानी खोला र खहरे खोलाको दोभान) क्षेत्रमा उक्त कम्पनीले अनधिकृत रूपमा क्रसर तथा खानी सञ्चालन गरी राष्ट्रिय वनमा क्षति पु¥याएको भन्दै उजुरी दिएका थिए । उजुरीपछि डिभिजन वन कार्यालयले वन अधिकृत हरिचन्द्र तिमल्सिना, वन अधिकृत चिमकाजी श्रेष्ठ, रेञ्जर सागर बस्नेत, नापी कार्यालयका सर्भेक्षक बलराम गौतम तथा सुरक्षाकर्मी सम्मिलित टोली खटाएको थियो । २०८२ चैत १२ गते गरिएको स्थलगत निरीक्षण, फिल्ड नापजाँच तथा अध्ययनपछि कम्पनीले नक्सा सिट नं. १५७१५३८ अन्तर्गत कि.नं. ६३ र १६३ भित्र पर्ने ३.४ हेक्टर राष्ट्रिय वन तथा सार्वजनिक जग्गा अतिक्रमण गरेको पुष्टि भएको प्रतिवेदनमा उल्लेख छ ।
    अनुगमन प्रतिवेदन अनुसार ‘हेन्जेन दोर्जे’ प्रा.लि.ले निजी जग्गामा सञ्चालन अनुमति लिएको भए पनि व्यवहारमा भने सार्वजनिक तथा वन क्षेत्रमा क्रसर र खानी सञ्चालन गर्दै आएको पाइएको छ । उद्योगका लागि आवश्यक ढुंगा, गिट्टी उत्खनन् गरी खानी सञ्चालन गरिएको समेत देखिएको छ । स्थानीयवासीका अनुसार उक्त क्रसर तथा खानीका कारण तल्लो तटीय क्षेत्रका खेतबारीमा क्षति पुगेको छ । पानीका मुहानमा असर परेको, धुलो प्रदूषणले वातावरण र खेतीपाती प्रभावित भएको तथा १७ वटा घरगोठमा समेत क्षति पुगेको गुनासो गरिएको छ । ध्वनि प्रदूषणका कारण स्थानीय विद्यालय प्रभावित भएको र खोलाको बहावसमेत परिवर्तन भएको स्थानीयको भनाइ छ । यसबाट करिब ४ सय घरधुरी जोखिममा परेको बताइएको छ ।
    त्यसैगरी, बोहोरे दोभानबाट खहरेघाट–ठुलोपर्सेल–नारायणस्थान जाने मोटरबाटो परिवर्तन गरी झिकु खोला किनारबाट सञ्चालन गरिएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । अनुगमन समितिले अवैध रूपमा सञ्चालन भइरहेको क्रसर र खानी तत्काल बन्द गरी कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग अनुरोध गरेको छ । प्रारम्भिक अनुसन्धानअनुसार उद्योग दर्ता प्रमाणपत्र नं. ६४५४९।०६६।०६७ भएको ‘हेन्जेन दोर्जे’ कम्पनी प्रा.लि.का सञ्चालक तेमाल–२ का शंकरमान तामाङ, शान्ति लामा र पाँचखाल–११ का राम पन्तले दर्ता गरिएको स्थानभन्दा बाहिर सार्वजनिक तथा वन क्षेत्रमा उद्योग सञ्चालन गरेको देखिएको छ । त्यसैले वन ऐन, २०७६ बमोजिम कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरिएको हो ।
    डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख केवी थापाले उजुरी र अनुगमन प्रतिवेदनका आधारमा सञ्चालकविरुद्ध वन अतिक्रमणसम्बन्धी मुद्दा दर्ता गरिएको जानकारी दिए । उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट ३.४ हेक्टर वन क्षेत्र अतिक्रमण भएको खुलेको छ । ढुंगाको हकमा प्रति वर्गफिट १० रुपैयाँका दरले क्षतिपूर्ति, जरिवाना तथा अधिकतम ५ वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको उनले बताए । माटो तथा अन्य सामग्रीका हकमा पनि सोहीअनुसार कारबाही हुने जनाइएको छ ।
    यसअघि पनि स्थानीयवासीले पटक–पटक उजुरी दिएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अनुगमन गरी अनुसन्धान प्रक्रिया अघि बढाएको हो । प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले उजुरीका आधारमा अनुसन्धान गरी कानुनी प्रक्रिया सुरु गरिएको जानकारी दिए । हाल विस्तृत अनुसन्धानका लागि रेञ्जर सागर बस्नेत, सुशिल पौडेल र वन रक्षक सूर्यबहादुर खड्काको टोली खटाइएको छ । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा तेमाल गाउँपालिकासँग समन्वय गरी थप प्रमाण सङ्कलन तथा कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ ।