2026 June 24/ 09:53: 58am

होमप्रसाद चौंलागाँईं
    चेष्टासप्ताहिक, छापा मिडियामा एउटा छुट्टै ब्राण्ड बनिरहेको छ । काभ्रेमा हात्तीछाप चप्पलको विज्ञापन जस्तो बनेको ‘चेष्टा’ संचार जगतमा उसको नाम नै काफी छ । काभ्रेपलाञ्चोक जिल्लाको सर्वोत्कृष्ट साप्ताहिक पत्रिका हो । जब बुधबार बेलुकी हुन्छ, तब यसको प्रतिक्षा शुरु हुन थाल्दछ । बिहिबार विहानै हुँदा मण्डनदेउपुरको कुन्तावेसी, पाँचखाल, धुलिखेल, बनेपा, पनौती मात्र हैन जिल्लाका कुशादेवी, भकुण्डे लगायतका स्टेशनरी पसलहरुमा चेष्टाका पाठकहरुको चासो बढ्न थाल्दछ । यो नै यसको लोकप्रियता हो ।  
    यी र यावत् सन्दर्भहरुको कारणहरु प्रेस काउन्सिल नेपालले चेष्टा साप्ताहिकलाई आचार संहिता कार्यान्वयनको उत्कृष्टतामा पटक–पटक सम्मान गर्दै आइरहेको छ । अघिल्लो पटक राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस काउन्सिलको स्थापना दिवस तथा बार्षिकोत्सवको अवसरमा सम्मान समेत गरेका थिए । अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देशभरका विभिन्न संचारमाध्यम र संचारकर्मीहरुलाई विभिन्न विधामा सम्मान गर्ने क्रममा चेष्टा साप्ताहिक पनि सम्मानित भएको हो ।  
    चेष्टा काभ्रेपलाञ्चोक जिल्लाको लोकतान्त्रिक आन्दोलनको अब्बल नाम हो । खास गरी यो प्रजातन्त्र प्राप्ति पछि दर्ता भई संचालनमा आएको पहिलो पत्रिका हो । आर्थिक २०५०÷०५१ को असोज महिनामा मासिक रुपमा प्रकाशन भएको चेष्टा २०५६ साल कार्तिक महिनाबाट साप्ताहिकका रुपमा प्रकाशन भएको थियो । केशव बडाल, विदुर सापकोटा, गोकुल बास्कोटा, अशोक ब्ञ्याजु, भोजराज तिमल्सिना, रामशरण बजगाई लगायतका काभ्रेस्थित संचार क्षेत्रका हस्तीहरुले अगाडि वढाउँदै आएको पत्रिकामा मोतीराम तिमल्सिनाको प्रवेशपछि झनै अब्बलता हासिल गरेको देख्न सकिन्छ । 
    तीन दशक देखि निरन्तर प्रकाशन भईरहेको चेष्टा साप्ताहिक २०५८ सालमा निरन्तर प्रेस काउन्सिल बर्गिकरणमा परी ‘क’ श्रेणीमा पर्दै आएको छ । नेपाल सरकारले श्रमजीवी ऐन जारी गर्नु अगावै न्यूनतम पारिश्रमिक बैकिङ्ग प्रणालीबाट भुक्तानी गर्न शुरु गरी नमुना साप्ताहिकका रुपमा प्रकाशन भएको साप्ताहिक चेष्टाले हरेक साता खोजी समाचार प्रकाशन गर्दै आएको छ । मुलुकमा भएका राजनीतिक परिवर्तनका विभिन कालखण्डमा नागरिकहरुको हक, अधिकारका लागि निरन्तर प्रकाशन भएको पत्रिका चेष्टाले नागरिकहरुको हितलाई पहिलो प्राथमिकता राखेको छ । विभिन्न विकृतिजन्य कुराको विरुद्धमा आफूलाई अब्बल साबित गर्दै आएको चेष्टाले धुमपान र मद्यपानको विज्ञापन प्रकाशन नगर्ने नीति लिंदै अगाडि बढिरहेको छ । सामाजिक सन्देश दिने र समाजको हितका लागि सामाजिक उत्तरदायित्व बहन गर्दै निःशुल्क विज्ञापन प्रकाशन गर्दै आएको छ । विज्ञापन र समाचारको मापदण्ड भित्र रहने अगाडी बढ्ने कुरामा पूर्ण प्रयासरत रहँदै आएको पाउन सकिन्छ । 
    नियमित रुपमा लेख, रचना, साहित्य, कला, खेल, अन्र्तवार्ता, नियमित स्तम्भहरु, मनोरञ्जनात्मक, बाल स्तम्भ, शिक्षा, लगायतका थुप्रै विषयहरु सम्प्रेषण गर्दै आएको छ । जिल्लाको पूर्र्वी छिमेकी जिल्लाहरु सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, भक्तपुर, ललितपुर र काठमाडौं उपत्यकाका महत्वपूर्ण स्थानहरुमा यो पत्रिका विक्री वितरण हुँदै आउन सक्नु यसको अर्को सफलता हो । पछिल्लो समय अनलाईन संस्करणमा पनि संचालन भएको पत्रिका जिल्लामा धेरैले रुचाउने पत्रिका हो । छापा तथा आधुनिक अनलाइन दुवै ढंगले पढ्न पाइने चेष्टाको पाठक संख्या एकपछि अर्को गर्दै बढिरहेको देख्न सकिन्छ । पाठकीय र विक्री वितरणको हिसाबले चेष्टा सबैभन्दा वढी बिक्री वितरण हुने साप्ताहिक पत्रिका हो । हाल बागमती प्रदेश अन्र्तगत क श्रेणीमा बर्गीकरण हुँदै पाठक वर्गमा आफ्नो अब्बलता दर्शाउँदै आएको छ । 
    चेष्टा साप्ताहिकले आफ्नो वर्षगाँठ मनाइरहँदा शुभकामना सुनाइदिनु, भनिदिनु, लेखिदिनु भन्नेहरु पनि प्रशस्तै रहेका छन् । चेष्टामा एउटा अत्यन्त जरुरी सूचना आएको थियो, विज्ञापन आएको छरे, मेरो आमाको समवेदना आएको छ, मेरो बाबाको समवेदना आएको छ, मेरो बधाई छापिएको छ । यावत कुराहरु मार्फत चेष्टाले निरन्तर सूचना प्रदान गरिरहेको छ । यसले समाजमा घट्न सक्ने घटनाबाट धेरैलाई जोगाएको छ । यसले रोजगारीको सन्दर्भमा सूचित गर्दै आएको छ । चेष्टामा आफुले समय समयमा लेखहरु पनि लेख्ने गरेको र चेष्टाका आदरणीय मित्रहरुले सहजै छापिदिने गरेको बताउँनेहरुको पनि राम्रै उपस्थिति रहेको छ । यो एउटा काभ्रेकै अब्बल पत्रिका भएकोले यसमा विज्ञापन दिनेहरु धेरै हुन्छन् । त्यसैले यसबाट आफन्त, साथीभाइहरु र मित्रजनको प्रगतिका कुराहरु र धन्यवाद तथा बधाई ज्ञापन भएको कुराबाट थाहा पाउन सकिन्छ भने आफन्त, साथीभाइहरु र मित्रजनको परिवारमा भएका दुःखद् घटनाहरुको सूचना भनौं वा जानकारी समवेदना मार्फत जानकारी समेत लिने गरेकोमा पाठकहरु खुसी देखिन्छन् । 
    प्रविधिको विकाससँगै आफुलाई बदल्दै चेष्टा साप्ताहिक विशेष गरी पछिल्लो समय बढी लोकप्रिय बन्दै गएको कुरा सर्वत्र चल्ने गर्दछ । सत्य, तथ्य र निडर समाचार सम्प्रेषण नै चेष्टा साप्ताहिकको विशेषता हो । यसको अलावा पछिल्लो समय विशेष गरी बूढापाका मानिसहरु, युवा पुस्ताका मानिसहरु र समाजमा घट्ने र लुकीछिपि रहने बलात्कारका घटनाहरुमा चेष्टाको आँखा बढी तिखारिएको पाइन्छ । महिला हिंसामा र महिलाहरुले भोग्नु परेको पीडादयी दर्दनाक घटनाहरुको बारेमा त झनै अग्र स्थानमा रहँदै आएको छ । यस हिसाबले चेष्टा साप्ताहिक काभ्रेका सबै पालिकाहरुमा आफ्नो जरा फिंजाउन सफल साप्ताहिक पत्रिका हो । 
    काभ्रेका ६ नगरपालिकाहरु बनेपा, धुलिखेल, पनौती, पाँचखाल, मण्डनदेउपुर र नमोबुद्धको साथै चौंरीदेउराली, भुम्लु, तेमाल, रोशी, बेथानचोक, महाभारत, खानीखोला लगायतको सबै पालिकाहरुमा यसको लोकप्रियता रहँदै आएको छ । यसको अलावा केहि स्थानीय बजारहरु–कुशादेवी, रयाले, भकुण्डेबेशी, ढुंखर्क, महादेवस्थान जीरोकिलो, सिपाघाट, बाहुनेपाटी, मेलम्ची, दोलालघाट, कात्तिके देउराली लगायतका ग्रामिण बजारहरुमा प्रत्येक बिहिबार पुग्ने चेष्टा साप्ताहिक १ अंक छुट्न गएमा त्यो बिहिबार नै खल्लो हुने बताउँने गरिन्छ ।  
    चेष्टा साप्ताहिकको राम्रो कुराहरुको चर्चा परिचर्चा गरिरहँदा यसका केहि कमजोरीहरु पनि रहेको बताइन्छ । विशेष गरी विभिन्न निर्वाचनको समयमा यसले आपूm सम्बद्ध नेता कार्यकर्ताहरुको गुट तथा उपगुटमा लागी आपूmले समर्थन गरेकोभन्दा फरक गुटमा लागेकाहरुको उछितो काट्न खोज्ने बानीलाई यसको कमजोर पक्षको रुपमा चित्रित गर्ने गरिन्छ । आम पाठकहरु चेष्टा साप्ताहिक अब्बल भईरहेको हेर्न चाहन्छन् । कुनै पनि समयमा यसले राजनितिक गुट उप–गुटको शिकार नबनोस् भन्ने चाहना देखिन्छ । दोस्रो संविधान सभाको निर्वाचन, आम निर्वाचनहरु, एमालेको नवौं महाधिवेशन र काभ्रे जिल्ला अधिवेशनमा पक्षधरताको हिसाबले यसले खेलेको भूमिका चेष्टा साप्ताहिककको हितमा नभएको जनगुनासाहरु सुनिने गरिन्थे । यसलाई मैले मेरो व्यक्तिगत तर्फबाट हैन छैन भन्दै ढाकछोप गर्ने जमर्को गरिरहँदा विभिन्न साथीहरुले मलाई हेर्ने दृष्टिकोण नै फरक भएको पनि मैले अनुभूत गरेको छु । यो एउटा उदाहरण हो । यस्ता घटनाहरु सायद अरु साथीहरुलाई पनि परेको हुन सक्दछ । यसबाट सिकेर आगामी दिनहरुमा चेष्टाले थप अब्बलताको नयाँ उचाई थप्दै जानु पर्दछ । चेष्टाले समाजमा भए गरेका विकृतिहरुको विरुद्धमा सधैं कलम चलाउनु पर्दछ, सदैव सत्य तथ्यमा आधारित समाचार सम्पेषणमा लाग्नु पर्दछ, पाठकमुखी लेख रचनाहरुको प्रथमिकिकरण नै चेष्टाको श्रेष्ठता हो भन्ने कुरा आत्मासात गरी अघि वढ्नु पर्दछ र बढोस् । चेष्टा माथिका कुचेष्टाहरु आफैं परास्त हुनेछन् । निरन्तर यात्राको हार्दिक शुभकामना ।