2026 April 21/ 05:43: 25pm

राजेशराज महत
    जेन्जी आन्दोलन नेपाल भन्दा पहिला विश्वका धेरै देशहरुमा भएको पाइन्छ । जुन आन्दोलनले त्यहाँको बेथिनहरुलाई उजागर गरेको थियो । पेरु, पाराग्वे, सर्विया, केन्या, इन्डोनेसिया, श्रीलंका, बंगलादेश लगायतका देशहरूमा आन्दोलन भएका थिए । ती सबै आन्दोलन सामाजिक, आर्थिक सुधारको लागि भएको थियो । नेपालमा पनि २०४६ साल यताका बेथितिहरूप्रति युवाहरू सचेत बन्दै गएका थिए । सामाजिक सञ्जालमा नेपो बेबी अर्थात् नेपो किड्रसको अभियान चलाएर नेताहरूका सन्तानहरूको विलासी जीवनशैली प्रकाश पारिएको थियो । भ्रष्टाचारमुक्त समाजका लागि अभियान नै चलाइएको थियो । प्रजातन्त्रको पुनस्थापना पछि राजनितिक दलहरूको सबै क्षेत्रमा दलीयकरण गर्दै गएको यथार्थता युवाहरू माझ छिपेको थिएन । दलहरु राज्यका अंगहरुलाई लोकतान्त्रीकरण गर्नु भन्दा पनि दलीयकरण गर्न मस्त देखिए । यी सबै घटनाक्रमहरुले युवाहरुलाई आन्दोलनमा होमिन बाध्य पारको थियो जुन समयको माग पनि थियो । 
    नेपालको जेन्जी आन्दोलन देशको राजनीतिक, सामाजिक र आर्थिक व्यवस्थामाथि गहिरो असन्तुष्टि र परिवर्तनको चाहनाको प्रतिविम्ब हो । विशेषगरी नयाँ पुस्ता– “जेनेरेशन–जेड”–ले पुरानो राजनीतिक अभ्यास, नातावाद, भ्रष्टाचार र अवसरको असमान वितरणविरुद्ध उठाएको यो आन्दोलन समकालीन इतिहासको एक महत्वपूर्ण मोडको रूपमा देखिएको छ । आन्दोलन निष्कर्षमा पुगेर सत्ता परिवर्तन समेत भएको अवस्था छ भने दलहरुमा चेत अझ खुलको पाइदैन । 

आन्दोलनका मूल कारणहरू
    जेन्जी आन्दोलन आकस्मिक रूपमा उत्पन्न भएको होइन; यसका जराहरू लामो समयदेखि रहेको असन्तुलन र अन्याय नै प्रमुख कारण हुन् ।
    सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि प्रश्न उठायो । डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल विचार अभिव्यक्तिको माध्यम मात्र नभई जीवनशैलीको हिस्सा पनि हो । बेरोजगारी, आर्थिक निराशा र राजनीतिक पहुँचविहीनताले युवाहरूमा गहिरो असन्तोष जन्माएको छ । देशमा अवसरका ढोका सीमित वर्गका लागि मात्र खुल्ने अवस्था बनेको थियो ।
    राजनीतिक दलहरूमा पारदर्शिता र जवाफदेहिताको अभाव, नेतृत्वको पुस्तान्तरण नहुनु, र नातावाद संस्कृतिले लोकतान्त्रिक मूल्य मान्यतामा धक्का पु¥याएको थियो । यी सबै कारणहरूले गर्दा युवाहरूले अबको राजनीति पुरानो ढाँचामा चल्न नसक्ने ठानेका थिए । आन्दोलनले यही चेतनालाई खुला रूपमा अभिव्यक्त ग¥यो ।
अब दलहरूको बाटो
    राजनीतिक दलहरूका लागि यो आन्दोलन एउटा गम्भीर चेतावनी र सुधारको अवसर पनि हो ।  दलहरूले आन्दोलनका मागलाई अस्वीकार वा दमन गर्ने होइन, संवाद र आत्मसमीक्षाको बाटो लिनुपर्छ ।  जनभावनाको सम्मान गर्नु नै लोकतन्त्रको आत्मा हो । दलभित्रको संरचना पुनर्संरचना गरी युवापुस्तालाई नेतृत्व तहमा स्थान दिनुपर्छ । पुस्तान्तरण र विचारको नवीकरण बिना दलहरू जनविश्वास पुनःस्थापित गर्न सक्दैनन् । सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र रोजगारी सृजना जस्ता ठोस नीतिगत कदम तत्काल कार्यान्वयनमा ल्याउन जरुरी छ । आगामी फागुन २१ मा हुने निर्वाचनमा भाग लिई संविधानलाई पुनःलिकमा ल्याउनु पर्दछ । 
    जेन्जी आन्दोलन केवल असन्तुष्टिको प्रदर्शन होइन, यो नयाँ राजनीतिक चेतनाको आरम्भ हो ।  यसले दलहरूलाई आफ्नो नीति, व्यवहार र नेतृत्वप्रति पुनर्विचार गर्न बाध्य बनाएको छ । अब राजनीतिक दलहरूले परिवर्तनलाई अवसरका रूपमा स्वीकार गरी जवाफदेही, पारदर्शी र युवा–मैत्री राजनीति अपनाउन सके भने लोकतन्त्र सुदृढ हुनेछ; अन्यथा, जनता र इतिहास दुवैले उनीहरूलाई अस्वीकार गर्नेछ । (मदानी बिट अनलाईनमा प्रकाशित लेखबाट)