2026 April 21/ 05:43: 26pm

दशैंको प्रारम्भ र मुख्य दिनहरूः
यादव थापा 
    हरेक वर्ष आश्विन शुक्ल दुर्गापक्षको प्रतिपदा तिथिमा घटस्थापना गरेपछि दशैँको प्रारम्भ हुन्छ, यसदिन विहान खोलाबाट बालुवा ल्याई घरको पूजाकोठा वा लिपपोत गरिएको सफा ठाउमा जांै, गहुँ, मकै मिसाएर छरिन्छ, त्यसरी छरिएको अन्न केही दिनमा नै टुसाउन र बढ्न थाल्दछ त्यसलाई नै जमरा भनिन्छ । जमरा राखेको पूजाकोठामा घटस्थापनाको दिनदेखि महानवमीको दिनसम्म नवदुर्गाको विभिन्न अवतार रूप र नामबाट पूजा आराधना गरिन्छ÷फुलपाती, महाअष्टमी, महानवमी र विजयादशमी दशैंका मुख्य दिनहरू मानिन्छन् । 
– प्रायः नेपालीको साझा पर्व दशै ः 
    नेपाल क्षेत्रफलमा सानो भएता पनि करिब २२५ जनजाति र १२५ भाषाभाषि भएको देश हो । यहाँ अन्य चाडपर्व र सामाजिक संस्कारहरू जातजातिहरू अनुसार फरक फरक रूपमा मनाउने गरिन्छ । यद्दपि दशैं प्रायः सबै नेपालीको साझा पर्वको रूपमा मनाउने गरेको पाईन्छ । 
– भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनले भएको उथलपुथल ः 
    सामाजिक संजालमा बेथिति र विकृति बढेको भन्दै सरकारले एक्कासी सामाजिक संजालका फेसबुक, युट्युब लगायत सबै बन्द गरायो, सकारात्मक रूपमा प्रयोग गर्न सके सामाजिक संजाल ज्ञान विज्ञानको विशाल भण्डार हो भने नकारात्मक रूपमा प्रयोग हुँदा यो कसैलाई गाली, बेइजति गर्ने छडा समाचार सम्प्रेषण गर्ने, ठगी गर्ने फोहोरको डंगुर थुपार्ने थलो र साधनको रूपमा पनि प्रयोग हुँदै आएको थियो । त्यसैले यसलाई नियन्त्रण र प्रतिबन्ध होइन नियमन र कारवारको खाँचो भने पक्कै थियो । फेसबुक सबै उमेर समूहका मानिसहरूको जीवनसाथी बनिसकेका तथा कम्प्युटर र सूचना प्रवधिमा दख्खल भएका युवाहरूको पेशा व्यवसाय संचालन गर्ने माध्यम बनेको अवस्थामा त्यसको प्रभाव र असरको अध्ययन गरी प्रतिबन्ध लगाउनु उपयुक्त थिएन । 
    जेन्जी समूह नेपाली समाजमा औपचारिक रूपमा प्रकट भएको निश्चित उमेर समूहका युवाहरुको प्रतिनिधित्व गर्ने सचेत युवाहरूको समूह रहेछ, जसका बारेमा प्रायः वयस्क र प्रौढ अवस्थाका हामीहरू अनभिज्ञ नै थियौं । सरकारले सामाजिक सन्जालमा लगाएको प्रतिबन्ध र देशमा व्याप्त भ्रष्टाचार विरुद्ध जेन्जी समूहले भाद्र २३ गते आयोजना गरेको विरोध प्रदर्शनमा काठमाडौमा १७ र झापामा २ गरी १९ जना प्रदर्शनकारीहरूको मृत्यु भएपछि आक्रोशित जेन्जी समूहले भाद्र २४ गते सरकारले लगाएको कफ्र्यू आदेश र निषेधित क्षेत्र तोड़दै देशव्यापी आन्दोलन सुरु ग¥यो । जेन्जी समूहको आन्दोलनलाई उपयोग गर्दै विभिन्न अराजक समूहहरू आन्दोलनमा समावेश भएर तिनीहरूले देशका प्रमुख स्थानहरू सिंह दरवार, सर्वोच्च अदालत, संसद् भवन, मन्त्री क्वाटर, प्रहरी कार्यालय, राजनैतिक पार्टीका कार्यालय, दलको शिर्ष नेताहरूको घर, होटल, भाटभटेनी सुपर मार्केट लगायतमा तोडफोड र आगजनी गरेपछि, स्थिति नियन्त्रण भन्दा बाहिर गएकोले तत्कालीन प्रधानमन्त्री के.पि. शर्मा ओलीले राजिनामा दिएपछि एमाले र कांग्रेसको गठबन्धन सरकार ढलेको थियो । सायद वि.सं. २०४६ मा बहुदलीय व्यवस्था पुनस्र्थापना भएपछि एकैदिनको आन्दोलनमा १९ जनाको मृत्यु हुनु र दुईदिनको आन्दोलनले दुई तिहाइ बराबर बहुमत भएको बलियो सरकार ढल्नु र प्रमुख दलका शीर्ष नेताहरूको यो हदसम्मको अपमान, असुरक्षा र बेइज्जति हुनु यो अवधिको पहिलो घटना नै हो ।
    यसरी वडादशैंको पूर्वसन्ध्यामा कुनैपनि नेपालीले कल्पना नगरेको र नसोचेको सुनामीरूपी आन्दोलनले पु¥याएको मानवीय र भौतिक क्षतिका कारण पुरै देश शोकमा डुब्न गयो । त्यसैले यसपटकको दशैंमा खासै रौनक र खुशीयाली छाउन सकेन, अनि गतवर्ष जस्तो राष्ट्रपति, प्रधानमन्त्री, र पूर्वराजा समेतले नागरिकलाई टीका लगाइदिने प्रथा पनि बन्द गरि शोक व्यक्त गरे । 
– अविरल वर्षाले अबरुद्ध बनाएको राजमार्गः
    दशैंसँगै सरु भएको अबिरल वर्षा र असोज १७, १८ र १९ गते सबै भागमा परेको भारी र अति भारी वर्षाले देशका पूर्व पश्चिमका सबै राजमार्गहरूमा बाढी पहिरो गई बाटो अबरुद्ध हुन पुग्यो । जसको कारण सरकारले राजधानी भित्रिने र बाहिरिने सवारी साधनहरुलाई सुरक्षाको लागि तीनदिनसम्म रोक पनि लगायो असोज २६ र २७ गते दुईदिन सार्वजनिक विदा पनि थप गरेको थियो । बाढी पहिरोले ईलाममा ३७ जनाको मृत्यु भएको छ ।
– दशैंका सकारात्मक पक्षहरूः 
    दशैंै हाम्रो धार्मिक र साँस्कृतिक चाड हो, देशमा पूजाआजाको साथै घरको सरसफाई गर्ने, राम्रो कपडा लगाउने, मीठो खाना खाने, एक आपसमा भेटघाट गर्ने अवसर पनि प्राप्त हुन्छ । देश विदेश गएका आफन्तहरू, दशैं मनाउन घर फर्कने, वर्षोसम्म आपसी मनमुटावमा रहेका दाजुभाईबीच एकता कायम हुने र सधैभरी रुखोपिठो मात्र खान बाध्य कमजोर अवस्थाका परिवारलाई मीठोमसिनो खाने अवसर पनि हो दशैं । 
– दशैंमा विकसित नकरात्मक पक्षहरू ः
    खानाको दृष्टिकोणले हाम्रो समाजमा दुई किसिमका परिवार रहेको छन् शाकाहारी र मांसाहारी, दशैंमा मांसाहारी समूहले बढी मासु प्रयोग गर्ने कारणले दुर्गा देवीलाई खुशी पार्ने नाममा अत्याधिक पशुबली दिने काम गरिन्छ । दशैंमा खसीबोका, भेडाच्यांग्रा, हाँसकुखुरा, सुँगुर, राँगा गरी लाखांैको संख्यामा बलि चढाइन्छ, यसरी अत्याधिक पशुबध गरिनु दशैंको पहिलो नकारात्मक पक्ष हो । टीका थाप्ने प्रथा बढी बोझिलो हुँदै जानु दशैँको अर्को नराम्रो पक्ष हो । दशंैमा दुर्गा भवानीको प्रसाद स्वरूप लगाईने टीका र जमरा स्वयं आफैले लगाए पनि वा आफ्नो परिवारको मान्यजन एकजनाको हातबाट लगाए पुगिहाल्छ । धेरै जनाबाट टीका र शुभकामना ग्रहण गर्दैमा बढी लाभ हुने कुनै सामाजिक र वैज्ञानिक प्रमाण छैन । मान्यजनका हातबाट टीका थाप्ने बहानामा प्रत्यक्ष नाता बाहेक अन्यत्र भए नभएको नाता सोझ्याएर लखरलखर टीका थाप्न हिड्नु गलत संस्कारलाई मलजल गर्नु हो । फेरि अहिले टीका थाप्ने प्रथालाई टीकासँगै दिइने दक्षिणामा तुलना गर्ने बानीको विकास भएको छ । फलानो नातोले थोरै दक्षिणा दिन्छ, फलानोले धेरै दिन्छ, अनि कहाँ रहयो र गयो हाम्रो टीका थाप्ने संस्कृतिको मूल्य र मान्यता ? पश्चिम नेपालको स्याङ्जा, पाल्पा लगायत केही जिल्लामा विजयादशमीको दिनमा एकदिन मात्र टीका थाप्ने चलनलाई राम्रो मान्न सकिन्छ । काठमाण्डौ उपत्यका र अन्य पहाडी जिल्लाहरूमा विजया दशमीको दिनदेखि कोजाग्रत पूर्णिमासम्म टीका थाप्न हिड्ने चलनले यसलाई बढी बोझिलो र पेचिलो बनाएको छ । दशैं हुने खाने सम्पन परिवारको लागि मनोरजन र आनन्ददायक हो भने हुँदाखाने र विपन्न परिवारको लागि पीडा र दशा पनि हो । 
अन्तमाः 
    गत भाद्र २३ २४ गते नेपालमा भएको नरसंहार र विध्वंस शासकवर्गमा हराएका विवेक, समय र परिस्थितिको मूल्यांकन र आंकलन गर्न सक्ने क्षमताको कमि, पद शक्तिले अन्धो बनाएको अहंता र घमण्डको उपज हो भन्न सकिन्छ । सामान्य भन्दा सामान्य विवेक प्रयोग गरेर आन्दोलनकारीका मागलाई संबोधन गर्न सकेको भए अहिले देशमा यो विकराल अवस्था सिर्जना हुने थिएन । अब जे होस् समयले नेटो काटिसक्यो पछुताएर केही हुँदैन । तर अझै पनि राजनैतिक दलका शिर्ष नेताहरूमा सद्बुद्धि पलाएको संकेत देखिएको छैन । अब सबै पार्टीका ५० वर्ष नाघेका बृद्ध नेताहरूले युवापुस्तालाई नेतृत्व हस्तान्तरण गरि आगामी फागुन र २१ गते हुने भनिएको मध्यावधि निर्वाचनमा पनि शिक्षित र उर्जाशिल युवाहरुलाई निर्वाचनमा उम्मेदवार बनाउनु उपयुक्त हुन्छ । अझ भाद्र २४ गतेको आगजनी र लुटपाटको मुख्य निशाना बनेका नेकपा एमाले र नेपाली कांग्रेसले लोकप्रिय, शिक्षित र जुझारु युवाहरुलाई चुनावी मैदानमा उतारी एक आपसमा बलियो गठबन्धन गरी विश्वासका साथ अघि बढ्न सके आन्दोलनले लगाएको घाउमा केही मल्हमपट्टी लाग्न सक्ने अपेक्षा गर्न सकिन्छ ।