2019 August 19/ 12:31: 05pm

जिएन प्रधान

“जो अगुवा उहि बाटो....” भन्ने नेपाली उखान झै अहिले नेकपा भित्र यहि कुराले प्राथमिकता पाइरहेको छ । जुन नहुनुपर्ने थियो भइरहेको छ, जुन हुनुपर्ने थियो त्यो भइरहेको छैन । पार्टीको नीति, सिद्धान्त र उद्देश्यभन्दा फरक ढंगले अघि बढिरहेको छ । पार्टीको मूल भावनाभन्दा व्यक्तिगत विचारहरुले प्रश्रय पाइरहेको छ । सिंगो पार्टीलाई बलियो बनाउन भन्दा पनि व्यक्ति बलियो हुन खोजिदै छ । पार्टीले सिद्धान्त र लक्ष्य के हो, कुन वर्गको मानिसको हित र सेवामा पार्टी लाग्नुपर्छ अथवा समर्पित हुनुपर्छ भन्ने कुरा विर्सन थालेको छ । आफ्नै पार्टीभित्रको सहपाठी नेता हो कि विपक्षी नेता हो चिन्न र बुझ्न छोडेजस्तो छ । विपक्षीले पनि गर्न नसकेको आलोचना र विरोध आफ्नै पार्टी भित्रका नेताहरुले गरिरहेको छ । पार्टीका समर्थक, शुभचिन्तक अथवा पार्टी हित चाहने सम्पूर्णको मन खिन्न र निराश बनाएर विपक्षी पार्टी नेता कार्यकर्ताहरुको मनोबल बढाउने काममा उद्यत रहेको देखिन्छ । पार्टीमा कुन नेताको पक्षमा कति कार्यकर्ता बनाउने भन्ने कुरामा होडबाजी रहेको छ । जब पार्टीको सम्मेलन महाधिवेशनहरु आउन थाल्छ, एक नेता र अर्काे नेता बीच मानौं भिन्न भिन्न पार्टीबाट उम्मेदवार दिएझैं जथानाम, तथानाम गाली गर्न थालिन्छ । आरोपप्रत्यारोपका पर्राहरु असरल्ल पारेर मोफसलहरु छर्न थालिन्छ । आफ्नै पार्टीका नेता कार्यकर्ताबीच भीषणको महासंग्राम मचिन्छ । जिन्दावाद र मुर्दाबादका नाराहरु गुन्जिन पुग्छ । आफ्नै पार्टीको झण्डाहरु र सजाइएका तोरणहरु धुजाधुजामा हुन्छ, स्वागत गेटलाई कुनै राक्षस दानवहरु नै उपस्थित भएर तहसनहस र भताभुङ्ग पारेझैं पार्न पुग्छ । हेर्दा देखिन्थ्यो भृकुटी मण्डपको सडकमा महाभारतको युद्ध हुँदैछ । कतिले स्वादले कुट्न पाइयो, मज्जाले नै ताण्डव देखाउन पाइयो भनी रमाउन पुगे भने कति नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु हस्पिटलमा भर्ना हुन पुगे । यो पनि देख्न र सुन्न पाइयो ।
    हो यहि नेताहरु अझ भनौं भने उच्च नेताहरु, वरिष्ठ नेताहरुले नै पार्टीका कार्यकर्ताहरुलाई कित्ताकाट गरी भाग लगाउन थाले, कार्यकर्ता समर्थकहरुलाई आफ्नो पुख्र्याैली सम्पत्तिझै अंशवण्डा गर्न पुगे । सिङ्गो पार्टीका कार्यकर्ताहरुलाई एकजुट भएर पार्टी बलियो बनाउन लग्नुपर्छ भनी प्रशिक्षण दिन अघि बढेका नेताहरुले नै गुटगत कार्यमा सक्रिय भएर लागि परे । अझ विरोधी÷विपक्षी पार्टीहरुलाई देखाउनु तमासा देखाउन पुगे । मूल्यांकन नै गर्न नसक्ने गरी, मापन गर्ने नसक्ने गरी मनोबल र खुशी दिन सफल बने । 
    एउटा पार्टी खासगरी पूर्व एमाले पार्टीभित्रै पनि बाहिरै देखिने गरी माटोको÷सिसाको चिरा देखिएझैं देखिएको चिरामा फेरि अर्काे चिरै चिरा परेको पूर्व नेकपा माओवादी जोडिन आइपुगेको छ । पूर्व एमाले भित्र नै केपी चिरा, माधव नेपाल (माकुने) चिरा, झलनाथ चिरा, बामदेव चिरा छँदै थियो । यसमा फेरी पुष्पकमल दाहाल (प्रचण्ड) चिरा, नारायणकाजी चिरासमेत थपिन आइपुगेको छ । माथि नै भनिएझैं पार्टी बलियो बनाउन भन्दा आफूहरु बलियो बनाउनमा र मौका परे फुटाउनमै पछि नपर्ने यी दशमुखी तथा व्यक्तिगत महत्वांकाक्षाका नेताहरुको संगठन आखिर कतिञ्जेल एक ढिको भएर रहन सक्ला शंकाकै विषय छ । अर्काे अर्थमा भन्ने हो भने शंकाको संकेत मात्र छैन प्रमाणित भइसकेको सत्य कुरा हो । उदाहरणको रुपमा पूर्व एमाले नै पटकपटक फुटेर जोडिएकै हो, कति फुटेको फुटै भएर बसेका छन् । यहि उदाहरण पूर्व नेकपा माओवादीमा पनि रहेको छ । बाबुरामहरु, मोहन वैद्य अनि नेत्रविक्रम चन्द फुटेर बसेको जग जाहेर नै छ, धेरै भनिरहनु पर्ने अवस्था छैन । यहि पूर्ववत् गुटगत अवस्था अझै पनि ताजै छ । दुई पार्टी एउटै भएर आजको मितिसम्म आइपुगुन्जेल पनि । यहि फुट्नमा सिपालु, एकहुनुमा अथवा जुट्नुमा काँचो भएकै कारण पार्टी जुन रुपमा बलियो र सशक्त हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन ।
    यहि फुट र विभाजनको परम्परासँग सामीप्य भएर नै हुनसक्छ अहिले पनि पूर्व एमाले र पूर्व माओवादीबीच पार्टी एकता भएको करिब एकवर्ष भइसकेर पनि अझै दुवै पार्टीका कार्यकर्ताहरु बीचमा पार्टी एकता भएको भावनात्मक सन्देश दिन सकिरहेको छैन । यसैको असर हुनसक्छ अझै पनि कतिपय ठाउँहरुमा पूर्व माओवादीहरु नेपाली काँग्रेससँग मिलेर पूर्व एमालेलाई एक्लो पक्ष बनाइरहेको सुनिन्छ । यसो त पूर्व एमालेहरु पनि पूर्व माओवादीप्रति उत्तिकै सशंकित बनेर विश्वासका साथ मिलेर काम गर्न चाहिरहेको छैन । साथमा लिन र साथ दिन हिच्किच्याइरहेका छन् । यो हुनु र हुन जानुमा नेतृत्व तहमा रहेका केन्द्रका नेताहरुकै कारण हो भनी दावीका साथ भन्न सकिन्छ ।
    कारण के हो भने जुन रुपमा दुईपार्टी एकता भएको माहोल दुई पार्टीले सक्रिय भएर ल्याउनुपथ्र्याे, यो ल्याउन सकेन । यस पक्षमा नेतृत्व तहमा रहेका नेताहरु पार्टी एकताको सन्देश दिएर गाउँगाउँ, वस्तीवस्तीबाट एकीकृत भएको सन्देश दिँदै जानुपर्नेमा उल्टो केन्द्रिय भागबण्डा र नेताहरुलाई पदको हिसाबको अंक गणितीय, बीजगणितीय लफडामा धेरै समय अल्मलिन पुगे । पद पाए पार्टी एकतामा साथ दिने पद नपाए छुटै पार्टी खोलेर बस्नेजस्ता धम्की र संकेतले पनि पार्टी एकताको शुभ सन्देश दिन सकेन । अहिले भइरहेको यहि हो । 
अर्काेकुरा पार्टीका केन्द्रीय उच्च नेताहरु र जिल्लास्तरीय नेताहरु पार्टी संगठनलाई बलियो बनाउन संगठन निर्माणतिर भन्दा पनि आर्थिक पक्षमा बढी लोभिएर आर्थिक चलखेलको पक्षमा सक्रिय भएर लागिपरेको देखिन्छ । पार्टी संगठन के हो ? सिद्धान्त के हो ? आफ्नो पार्टीको कुन जिम्मेवार व्यक्ति हो र समाज र जनताप्रति नैतिक जिम्मेवार के कति छ÷छु भन्ने कुरालाई भुसुक्कै विर्सेर कहाँ, कसलाई भनेर, के कसरी हुन्छ मोटो रकम हात पार्न सकिन्छ, यसमा पनि ध्यान गएको पाइन्छ । यसैको लागि पनि कतिपय आर्थिक लोलुप व्यक्तिहरु कुन नेताको पछि लाग्दा अथवा कुन नेताको फेरो समाउँदा आफूलाई फाइदा हुन्छ त्यो नेताको अघिपछि लागेर असल कार्यकर्ता, खाँटी कायृकर्ता भएको देखाउनमा सक्रियरत रहेको छ । र, नेताहरु जो पहुँचमा पुग्न सफल छन्, मन्त्रालयको भाग पाउन सफल छन् उनीहरु÷उहाँहरु पनि यस्तै यस्तै व्यक्तिहरुलाई आफ्नो निजी सचिव, स्वकीय सचिव (पिए) जस्ता पदहरु दिएर खुशी मनाउनमा व्यस्त छन् ।
    त्यहि कारणले हुनसक्छ, हिजोको भूमिगत काल अर्थात पंचायती निरंकुश शासनकालमा दिनभरीको साधु बन्दै रातारात भरी निद्रा माया मारेर गाउँगाउँ, वस्तीवस्ती, टोलटोलमा घरका कोठामा खोपाहरु समेत थुनेर÷बन्द गरेर मट्टितेल, मैनबत्तीको उज्यालोमा पार्टीको नीति, निर्देशन र सिद्धान्त अनि व्यक्ति अनुशासनका बारेमा अध्ययन गरिन्थ्यो, प्रशिक्षण दिइन्थ्यो । पार्टीको सांगठनिक सदस्यता प्राप्त गर्न दशौंवर्ष परिक्षणकालको मूल्यांकन गरिन्थ्यो र प्राप्त हुन्थ्यो । त्यो समय जुन एकादेशको कथाको छ । तीनै व्यक्तिहरु जुन आजको अवस्थामा पार्टीलाइ ल्याईपु¥याउन अहम् भूमिका खेलेका थिए । जसले पद र परिवारलाई त्यति महत्व दिएन । आर्थिक आर्जनलाई खासै प्राथमिकता ठानिएन । आज तिनै व्यक्तिहरु छायाँमा परेका छन्, इतिहासको मूल्यांकनबाट मेटिदैछन्, आजका मन्त्री र नेताका पिए अनि पिच्छलग्गुहरुले नचिनिने भएका छन् । उनीहरुको योगदानबारे परिचय गराउन र नयाँ अगु पछुहरुलाइ चिनाइरहन पनि आवश्यक नहुँदा हुन् । अवस्था यस्तै रहेको छ, पृथ्वीमा जलवायुमा परिवर्तन आएजस्तै मान्छे र राजनीतिमा पनि यस्तैयस्तै परिवर्तन आएजस्तो लाग्छ । यसैले हुनसक्छ अहिले हाम्रो पार्टीबाट मेरो पार्टी हुन पुगेको छ, हाम्रो नेताभन्दा मेरो नेता हुन पुगेको छ, हाम्रो समृद्ध देश, नेपाल हुनुपर्नेमा मेरो सम्बृद्ध नेपाल हुन खोज्दैछ । किनभने मेरो सम्बृद्ध देश÷नेपाल हुनको लागि आफैं र आफ्ना परिवार मात्र समृद्ध भएपनि पुग्छ, जसले लागि सम्पूर्ण नेपाली जनता र सिङ्गो नेपालको सम्वृद्धिको आवश्यक पर्दैन । अरुको लागि चिन्ता गरिरहनुपर्दैन, मात्र आफ्नो लागि गरे पुग्छ । मलाई लाग्छ अहिलेको नेताहरु र नयाँ खौती अगु ‘पछु’ कार्यकर्ताहरुमा यही नयाँ सिद्धान्तको विकास भएको छ, नयाँ विचारधाराको सुरुवात भएको छ । १९ औं शताब्दीको पूर्वाद्र्धमा कार्लमाक्र्सले प्रतिपादन गरेको साम्यवादी सिद्धान्त तथा दर्शनमा परिवर्तन आएको छ । अब कार्यकर्ता पार्टी र देशको लागि छैन । नेतालाई बलियो बनाउन हुनुपर्छ, नेतापनि पार्टीलाई बलियो र सिद्धान्तलाई लागू गर्न हैन पद प्राप्त गरेर पूर्वको दिनमा गरिएको दुःख विर्सने गरी सकेसम्म मोजमज्जा वा ऐयास जीवन बिताउन हो भन्ने भएको छ । नत्रभने पार्टीमा किन गुटगुटको राजनीति गर्नुप¥यो । यो कार्यकर्ता मेरो, त्यो कार्यकर्ता तेरो भनी किन भागबण्डा गर्नुप¥यो । 
    गएको स्थानीय निर्वाचन, प्रदेश र संघीय निर्वाचनमा यहि गुटगत प्रवृत्तिले ठूलै भूमिका खेल्यो । कतिपय जित्ने निश्चित भएको ठाउँमा हार्न पुगे । जसले गुटगत राजनीतिमा रमाउनेहरुको लागि त राम्रै स्वाद प¥यो होला, खुबै आनन्द पनि आएथ्यो होला तर पार्टीप्रति निष्ठावान् आस्थावान् अनि स्वाभिमान कार्यकर्ता र शुभचिन्तकहरुमा कति चोट पु¥यायो, आघात बनायो त्यो भने मापन गर्न बाँकी नै रह्यो । र, मूल्यांकन गर्ने पनि कसले ? जित्नेहरु मख्ख परेर रमाइहाले, पद बहाली पछि सबै विर्सी हाले । हार्नेहरु निधारमा हात लगाउँदै घोप्टो मुन्टो लगाउँदै कोठाकोठामै लुकिहाले । कहिँकतै यसले अन्तर्घात ग¥यो, भोटै हाल्न आएन, अर्काे पक्षलाई दिए, एकछाप खाली राखे भन्ने जस्ता टिकाटिप्पणीहरु पनि सुनिए । तर ती सबै निरर्थकका टिप्पणी मात्र भए । जे भएभए सबै गुटबन्दीले गरे । दोष कार्यकर्ता र जनताको नभै केन्द्रका नेताहरुले गर्न पुगे । हुँदाहुँदा अहिले त राजनीतिक पार्टीको संचालन र गतिविधि हेर्दा कुनै प्राइभेट कम्पनीहरु संचालन गरिएजस्तै पार्टीहरुमा कुन नेताको कार्यकर्ताको जमात कति छ, कसले कति चन्दा हाल्न सक्छ, चुनावमा पैसाको खोलो कसले बगाउन सक्छ भन्नेतिर अघि बढेको छ । त्यागी र निष्ठावान कार्यकर्ता पाखा लाग्न पुगेको छ, अवसरवादी चैतेहरुको हालीमुहाली बढेको छ । बस टिकट पनि यस्तै यस्तैले हात पार्न सफल छ । यद्यपि ३०–४०% पुराना त्यागी, निष्ठावान् साथीहरुले झुक्किएर भएपनि टिकट पाउन सफल भएकोमा यसैमा खुशी मान्नुपर्ने भएको छ ।
    निष्कर्षमा भन्नुपर्दा नेताहरु आफ्नो लागि सक्रिय छ । अनि भन्नैपर्ने भएको छ । गुटगत राजनीति र गुटबन्दीका पक्षपाती नेताहरु मुर्दावाद, सिङ्गो पार्टीप्रति समर्पित, निष्ठावान् र निस्वार्थी नेताहरु जिन्दावाद । अगु ‘पछु’ चैते कार्यकर्ताहरु मुर्दावाद, पार्टीप्रति निश्वार्थ लागि परेका कार्यकर्ताहरु जिन्दावाद । अनि कार्यकर्ता समर्थकको टाउको गनेर पार्टीमा शेयरको हिस्सा नखोजियोस्, पार्टी फुटाउने धम्की, घुर्कीको धृष्टता नगरियोस् बस यति नै ।