2019 August 19/ 11:18: 56am

केशव थापा 

             अनेक संझनायोग्य तथा केही नबिर्सदा तनाव हुने घटनाहरुको साक्षी भएर पूरानो वर्ष २०७५ हामीबाट बिदा भएर गएको छ । प्राकृतिकरुपमा त्यति शुभ नदेखिए पनि केही आशा र अपेक्षाको पुलिन्दासहित नववर्ष २०७६ को सुआगमन भएको छ । विगत सच्याउन नसकिने तर पाठ सिक्नु पर्ने अध्याय हो । इतिहासको पानामा अङ्कित भैसकेको विगतलाई न कसैले चाहेर रङ्गीन बनाउन सक्छ न त मन परेन भनी अझ कुरुप तुल्याउन सक्छ । समझदारले विगतको ऐनामा हेरेर वर्तमान र आगतका लागि बांगोटिङ्गो बन्ने संभावना भएका रेखालाई सिधा र सहज बनाउने कोशिस भने अवश्य नै गर्न सक्छ । यसै अर्थमा उपयोगी हुन सकोस् बिदा भैसकेको वर्ष २०७५ र आएको नववर्ष २०७६ । 
    राष्ट्रिय जीवनका लागि राजनीति लगायत अन्य सबै विधा र क्षेत्रको उल्लेख्य महत्व हुने तथ्य निर्विवाद छ । आधुनिक, समृद्ध र सम्पन्न राष्ट्र बन्नको लागि धार्मिक, सांस्कृतिक, ऐतिहासिक, भाषिक, साहित्यिक, औद्योगिक, वैज्ञानिक विकास र विरासतको अत्यावश्यकता पर्दछ । यही कारणले गर्दा नै विकसित र समृद्ध राष्ट्रले राजनीति जत्तिकै यी विषयलाई पनि महत्व दिएका हुन । राजनीतिले पूर्ण स्थायित्व प्राप्त गरी नसकेको, नयाँ स्थापित शासन व्यवस्थाका आधारभूत संरचनाहरु सोही अनुरुप पुर्नसंरचित नभएका र हुन नसकेका अल्पविकसित देशहरुमा भने व्यवस्था नयाँ तर अधिकांश ढाँचाकाँचा पुरानै रहेको पाइन्छ । अहिले नेपाल पनि यही नियति व्यहोर्न अभीसप्त छ । परिवर्तनको अनुभूतिका लागि समयसापेक्ष ऐन, नियम, कानुन जति अपरिहार्य हुन तीभन्दा बढी अपरिहार्य तिनीहरुको मर्यादापूर्वक पालना । पालना पनि सबैभन्दा पहिले र बढी सोको तर्जुमाकारबाट नै हुनु पर्दछ । यस मानेमा नीति नियमका पालनाकर्ता राजनीतिक दलका नेता र सरकारमा संलग्न व्यक्तिहरु नै हुन । स्वनिष्ठा नहुने बाँकीले त उच्च पदस्थहरुबाट अनुशरणसम्म मात्र गर्ने हुन । 
           निरङ्कुश पञ्चायती व्यवस्थाको दाह संस्कार भएको ३० वर्ष पुगी सक्यो । वर्तमानमा यसको चर्चा गर्नुको कुनै अर्थ हुँदैन । भीषण जनविद्रोहको राप र तापले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको लागि बिना रक्तपात सहज राजगद्दी त्यागेका पूर्व राजाको पुनरागमनको भय देखाएर राजनीतिक दलको अकर्मण्यतालाई जायज ठह¥याउन सकिदैन । उल्लिखित दुवै परिवेश नेपालको राजनीतिक इतिहासको अतीतका पाना मात्र हुन । संविधान बमोजिम स्थापना भएका चाहे स्थानीय तह होस्, चाहे प्रदेशीय निकाय वा संघीय निकाय नै किन नहोस् तिनीहरु सम्बद्ध पदाधिकारीहरुले मञ्चन गर्ने नाटक र पात्रीय भूमिका अनुसार निर्वाह गर्ने भूमिकाको आधारमा नै नेतागणको स्थान निर्धारण हुने गर्छ । आम नेपाली जनताहरु दर्शकरुपमा नेपाली राजनीतिक रङ्गमञ्चमा मञ्चित नाटकबाट संतुष्ट हुन नसकेको तथ्य भने कटु सत्य हो । उनीहरुलाई पात्रभन्दा पनि पात्रले निर्वाह गरेको चरित्र र प्रवृत्ति मन परेको छैन । दलले धारण गरेको दर्शन र सिद्धान्त विपरीत द्रव्यप्रतिको अति लालच र कार्यकर्तालाई उस्को योग्यता र क्षमताको आधारमा भन्दा आफूपट्टीको वा अर्कापट्टीको भनी कित्ताकाट गर्ने पक्षपातपूर्ण व्यवहारले बढी निराशा छाएको सत्य हो । यस तथ्यलाई अन्यथा हुनु अगावै जिम्मेवार व्यक्ति वा निकायले गम्भीरतापूर्वक जानकारीमा लिनुपर्छ ।   
    नेपालको संविधानको धारा २६९ उपधारा (१) ले समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिवद्ध व्यक्तिहरुले धारा १७७ को उपधारा (२) को खण्ड (ग) अन्तर्गत बनेको कानूनको अधीनमा रही राजनीतिक दल गठन गरी सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ भने सोही संविधानको धारा २७० को उपधारा (१) ले राजनीतिक दललाई प्रतिबन्ध लगाउन रोक लगाएको छ । यसरी नेपालको संविधानले नेपाली राजनीतिको रङ्गमञ्चमा एकल नायक वा नायिकालाई मात्र स्थान नदिई वहुलतालाई संस्थागत गरेको छ । समानुपातिकता, समावेशिता र सहभागितामूलक सिद्धान्तमा आधारित बहुदलीय व्यवस्था नेपालको वर्तमान संविधानको आदर्श परिकल्पना हो । यस आधारमा भन्न सकिन्छ कि नेपालको संविधानले कुनै किसिमको एकदलीय र निरङ्कुश व्यवस्थाको लेसमात्र पनि परिकल्पना गरेको छैन । यस पृष्ठभूमिमा नेपालको संविधानको स्पिरिटलाई अक्षुण्ण राख्दै समृद्ध नेपाल निर्माणको लागि जनउत्तरदायी राजनीतिक दल, स्थानीय तहदेखि संघसम्म नै दलले धारण गरेको सिद्धान्तको गुरुत्व वहन गर्न सक्ने सदाचारी, जनताप्रति बफादार सौर्यवान राजनीतिक नेतृत्व वर्तमान नेपालको पहिलो आवश्यकता हो । नेताको लागि नेता नभएर नेता जस्ता नेता नेपाली जनताको चाहना हो । 
    संविधानले रोक नलगाएको भए पनि स्थानीय, प्रदेश वा संघको सरकारको प्रमुख बन्न दल निरपेक्ष व्यक्तिलाई असंभव छ । यही तथ्यलाई ध्यानमा राखेर तीनतहको सरकार प्रमुख बन्न पुगेका नेता तथा पार्टी सदस्य, पदको लागि आपाधापी नगरी सुनको विहान उदाउने आशामा तल्लो तहमा नै रहेर इमान्दारीपूर्वक खटी रहेका कार्यकता, विषय विज्ञेता तथा पार्टी वा नेतासँगको लामो सम्बद्धता, परिचय भजाएर लाभको पद प्राप्त गर्ने जो कोहीले आफ्नो नकामले दल बदमान हुने तथ्यलाई हेक्का राखी पहिले जे जे गरेको भएपनि त्यसप्रति आत्मालोचित हुँदै अब सर्वसाधरणकाबीच दल स्थापित हुने कर्मलाई पहिलो प्राथमिकतामा राख्नु पर्छ । पद नपाउन्जेल दल चाहिने र पद पाई सकेपछि दललाई लात हान्ने क्षुद्र स्वभाव त्याग्नु पर्छ । दल, दलप्रति बफादार कार्यकर्ता र मतदाताहरुले पनि यस्ता व्यक्तिहरुको हर्कतको मानसपटलमा नै भए अभिेख राखी ऐजन मौकामा देश र जनताको हितको लागि दण्डित वा पुरस्कृत गर्न सक्नु पर्छ । 
    वर्तमान नेपालको राजनीतिलाई नियाल्दा सत्तापक्ष दलमा दल दलको नाम र कामको लागि खट्नेभन्दा पनि चुक्ली लाउँदै यताउता धाउने, निष्ठा र इतिहास बोकेकाभन्दा पनि आँखामा छाएका आफ्ना अटाउने गरी मापदण्ड खोजीको माकुरे जालो बुन्न नसकी लामो समयदेखि दल एकीकरणको महत्वपूर्ण कार्यभार मुल्तवी रहेको देखिन्छ । आफू अट्ने खट्ने कमिटीको टुङ्गो नभएकोले कार्यकर्ताहरु कार्यविहीन बन्न पुगेका छन् । उपस्थिति जनाउनका लागि स्थानीय तहका सरकारले सञ्चालन गर्ने विकास निर्माणका कामसँग संबन्धित उपभोक्ता÷निर्माण समितिमा भागबन्डा खोजीखोजी राजकीय श्रोतसाधनमाथि ¥याल काढ्ने अवस्थामा पुगेका छन् । दलको नामबाट देश र जनतालाई दिनेभन्दा लिनेतर्फ बढी उद्यत भएका देखिन्छन् । महालेखाको बेरुजु संबन्धी प्रतिवेदन र अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा स्थानीय तहका संबन्धमा परेको बढ्दो उजुरी यसै तथ्यका प्रमाण हुन ।     प्रदेश र संघ पनि अपवादमा रहन सकेको देखिदैन । वाचडगको भूमिकामा रहीे उच्च संस्कार हुँदा सत्तापक्षको राम्रो कामको प्रशंसा र नराम्रो कामको जमेर विरोध गर्नुपर्ने प्रतिपक्ष दल लामो समय सत्ताको वाग्डोर सम्हालेको भएर हो वा किन हो जनमतको सम्मान गरेर प्रतिपक्षको भूमिकामा प्रभावकारीरुपले जम्न सकेकै देखिदैन । निर्वाचन अझै केही वर्ष टाढाको विषय भएर होला दल र जनताबीचको दूरी साँघुरिन पाएको छैन । पैसा, पाखुरा र पछुवाको प्रभावबाट नेपालको निर्वाचनलाई मुक्त नपारी नेपालको राजनीतिलाई थप सङ्लो बनाउन सकिदैन । तसर्थ, निर्वाचन आयोग, देश र जनताप्रति जिम्मेवार नेतागण र प्रबुद्ध वर्गले यसतर्फ चिन्तन गर्न ढिला गर्नु हुँदैन । नेपालका ठूला र साना दलका नेताहरुले व्यवस्था सफल वा असफल जनता वा कार्यकर्ताको कारणले नभई नेताकै कारणले हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवबाट पाठ सिकी धृतराष्ट्रिय कौरव मोहबाट मुक्त भई पाण्डव पक्षलाई पनि विश्वास लिई नेपाललाई समृद्ध र सम्पन्न राष्ट्र बनाई इतिहास पुरुष बन्ने मेलोमा अगाडि बढ्नु पर्दछ । समयले अब पर्खेर बस्ने छैन । 
(अरुणिमा कलेज कुमारीगाल एवं ग्रिनविच कलेज पेप्सीकोलाका अर्थशास्त्रका अध्यापक श्री थापा काभ्रे सेवा समाजका वर्तमान अध्यक्ष हुन ।)