2025 February 10/ 02:47: 29am

मणिराज श्रेष्ठ
पुर्व उपाध्यक्ष, ज्येष्ठ नागरिक संघ, काभ्रे तथा
संयोजक, सक्षम साकोस, ज्येष्ठ नागरिक उपसमिति

    हरेक बर्ष अगष्ट २१ तारिखका दिन विश्व ज्येष्ठ नागरिक दिवस मनाईन्छ । विश्व ज्येष्ठ नागरिक दिवसको पवित्र तथा महत्वपूर्ण दिनमा समस्त ज्येष्ठ नागरिकहरूको सु—स्वास्थ्य, सुखमय, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । ज्येष्ठ नागरिक भन्नासाथ शारीरिक तथा मानसिक रूपमा केहि पनि गर्न सक्दैन । त्यसैले उहाँहरूलाई पुर्ण रूपमा अरूले सहयोग गर्नुपर्ने र पूर्ण रूपमा अरूको सहारा र पैसाले मात्र जीवन चल्छ भन्ने मानसिक सोच हामी मध्ये कसै कसैको के सोच हुन्दो रहेछ । यस किसिमको सोच एकाधमा बाहेक अधिकांस ज्येष्ठ नागरिकहरूमा लागु हुँदैन । किन भने, ज्येष्ठ नागरिकहरूमध्ये पनि उमेर, स्वास्थ्य, शारीरिक तथा मानसिक अवस्था, शिक्षा, ज्ञान, सीप, सामाजिक परिवेश, आर्थिक लगायतले विभिन्न फरकता हुन्छ । फरकता भित्र पनि थप फरकता हुन सक्छ । 
    यसै फरकता र आवश्यक्ता बैयक्तिक रूपमा पहिचान गरेर कसलाई के कस्तो, कतिको, कहिलेसम्म सहयोगको आवश्यकता हुन्छ । परिवार, समुदाय र राज्यले सहारा भन्दा पनि सहयोग गर्नु उचित र सान्दर्भिक हुन्छ । न कि लाखौं, करोडौं दान, धर्म र सहयोग गर्ने ब्यक्तित्वहरू करोडौं, अर्बाै धन सम्पत्ति हुनेहरूको लागि पनि समानताको नाममा ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताको रकम ब्यबस्था गर्ने र भूईं मान्छे भएर एकसरो लाउन र दुई छाक गुजारा गर्ने समस्यासंँग लड्दै जीउन बाध्य भैरहेका लगायतका ज्येष्ठ नागरिकहरूलाई पनि उति नै भत्ता रकम ब्यबस्था गरेको राज्यको नीति जस्तै हुनेछ । ज्येष्ठ नागरिकलाई दयाको पात्रको रूपमा लिएर मनोबल कमजोर गराउने किसिमको कार्य र कुरा कसैबाट हुनु हुँदैन । बरू सकिन्छ भने उहांँहरूको मनोबल र आत्मबल बढ्ने कुरा गरौं र कार्य गरौं ।
    ज्येष्ठ नागरिकहरूले मानविय विकास र बृद्धीका बिभिन्न चरणहरू पार गर्दै, उमेर हदले परिभाषित गरेका ब्यक्ति भएको कारणले मानिवय गुणको रूपमा हुने स्वभाव, आचरण, ब्यबहार आदि आ–आफ्नै किसिमको हुन्छ र सोही अनुसार प्रस्तुति गरिरहेको हुन्छ । जसको परिणाम अनुसारका भोगाईहरू भइरहेका हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन । ज्येष्ठ नागरिकहरू घरका, समाजका, राज्यका अग्रज हुन, देवता स्वरूप हुन, ज्ञान, सीप र अनुभवको खानी हो ? निजहरू प्रति श्रद्धा, आदर तथा सद्भाव गर्नु पर्छ भन्ने गर्छाै । तर भनाई अनुसार हामीले ब्यबहारमा कतिको देखाउन सकिरहेको छ त भन्ने प्रश्न सबै प्रति उठ्छ, उठिरहेको छ र उठिरहने छ । तबसम्म उठ्छ,जब सम्म भनाई र गराइमा मेल खाँदैन । ज्येष्ठ नागरिक अवस्थामा हुन सक्ने बिभिन्न समस्या र अप्ठ्याराहरू लगायतलाई सम्बोधन गर्न नेपालको संविधानको धारा ४१ ले मौलिक हकको रूपमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ । 
    यसको कार्यान्वयनका लागि र ज्येष्ठ नागरिकको हक र अधिकार सुनिश्चितका लागि नेपाल सरकारले बिभिन्न मितिमा जेष्ठ नागरिक संँग सम्बन्धित बिभिन्न ऐन, नियमावली, राष्ट्रिय कार्ययोजना, कार्यबिधि, स्वास्थ्योपचार सेवा संचालन निर्देशिका, समूह परिचालन निर्देशिका, घुम्ती कोष व्यवस्थापन निर्देशिका, विपद् राहत परिक्रमा कोष संचालन निर्देशिका, आवास गृह संचालन तथा पूर्वाधार सम्बन्धि निर्देशिका आदि ल्याएको छ भने लामो समय पछी ज्येष्ठ नागरिक नियमावली २०६५ लाई पहिलो पटक संशोधन गरी २०८१ असार १७ मा नेपाल राजपत्रमा प्रकाशित गरेको छ । यस्तै गरि ज्येष्ठ नागरिकको बिबिध विषयहरूलाई छिटो र आबश्यक्ता पहिचान गरी सहज रूपमा सम्बोधन गर्न स्थानीय तहको क्षेत्राधिकारमा सूचीकृत गरिएको छ । यसको कार्यान्वयनको लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा गाउँपालिका र नगरपालिकालाई एकल अधिकार प्रदान गरिएको छ । साथै ऐन तथा नियमावली लगायतमा पनि स्थानीय तहका सरकारलाई अधिकार तथा जिम्मेवारी दिएको छ । यसप्रकार संबिधान, ऐन, नियम लगायतमा जनाएका प्रतिबद्धदतालाई पालना गर्न तीनै तहको सरकारले कम्तिमा निम्न कार्यहरु कार्यान्वयन गर्न जरुरी छ ।
– प्रत्येक पालिकाहरूमा रहेका प्रत्येक ज्येष्ठ नागरिकहरूको स्वास्थ्य, सामाजिक, आर्थिक, मैत्रीपूर्ण आवास तथा भौतिक पुर्वाधार तथा पहुँंचको अबस्था, कानुनी तथा नीतिगत लगायतका समस्याहरू र चुनौतीहरु पहिचान गर्ने । यसको आधारमा योजना, नीति तथा कार्यक्रमहरु तयार गरि सोहि अनुसार बजेट बिनियोजन गरि प्रभावकारी रुपमा कार्यान्वयन गरिनु पर्दछ । 
– मासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्दा ऐनको परिभाषा अनुसारको शर्त पूरा गरेको आधारमा असहाय ज्येष्ठ नागरिक र असक्त ज्येष्ठ नागरिकको पहिचान गरी परिचयपत्र वितरण गरी उनीहरुलाई मासिक भत्ता कम्तिमा दोब्बर दिने ब्यबस्था गर्ने । 
– ज्येष्ठ नागरिकलाई अपहेलना र दुव्यबहार गर्नेलाई कडा दण्ड दिलाउने ब्यबस्था गर्नु पर्दछ ।
– परम्परागत बृद्धाश्रम, दिवा सेवा केन्द्र परिमार्जन गरी, स्वास्थ्य सेवा, मनोरञ्जन, आफ्ना सीप तथा अनुभवहरु सातासात गर्ने लगायतका प्रबिधियुक्त भौतिक सुबिधा सम्पन्न ज्येष्ठ नागरिक मैत्री केन्द्रको रुपमा विकसित र बिस्तारित गर्नु पर्छ ।
– प्राय ज्येष्ठ नागरिक ब्यक्तिहरु मुटु, मधुमेह, अल्जाइमर लगायतका बिभिन्न रोग मध्ये कुनै न कुनै रोगबाट पिडित हुने गरेको हुँदा, प्रत्येक अस्पतालमा ज्येष्ठ नागरिकको उपचार गर्ने छुट्टै बिज्ञ चिकित्सक लगायत उपकरणको ब्यबस्था गर्नुका साथै बिपन्न ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको ब्यबस्था हुनु पर्छ । 
– घरैमा पनि ज्येष्ठ नागरिकको रेखदेख तथा सहयोग गर्ने ब्यक्तिको अभाव हुंदै गएको र सहयोग गर्ने ब्यक्ति भएता पनि तीनिहरु संँग गर्ने ज्येष्ठ नागरिक संग गरिने ब्यबहार, बोलीचाली तथा ब्यबस्थापनको तरिका एवं सीपको अभाब रहेको अबस्थामा त्यस बिषयमा तालिमको ब्यबस्था गर्नुका अन्य देशहरुमा झै पालिकाहरुमा स्वयम सेवकहरुको ब्यबस्था गर्नु पर्दछ ।
– परिवार, समाज र राज्यका बिभिन्न निकायहरुबाट ज्येष्ठ नागरिकलाई सम्मान, मर्यादा, सामाजिक सुरक्षा तथा बिशेष सुबिधा उपलब्ध गराउनु पर्दछ भन्ने जिम्मेवारी र दायित्व बोध गराउने सचेतना कार्यक्रमहरु संचालन गर्नु पर्दछ । यस किसिमका बिषयहरु बिद्यालय तथा कलेजहरुको पाठ्यक्रममा समावेश गर्नु पर्दछ ।
– ज्येष्ठ नागरिकहरुमा भएको ज्ञान, सीप, अनुभवलाई भरमगदुर उपयोग गर्ने वातावरण र सहयोग गरेर देश, समाज र पारिवारीक उत्थानमा अवसर दिनु पर्दछ ।
– ज्येष्ठ नागरिकहरू मध्येबाट अनुकरणीय काम गर्ने ज्येष्ठ नागरिकहरूलाई वर्षेनी सम्मान तथा पुरस्कृत गर्नुपर्छ । आदि ।