2025 May 14/ 08:15: 49am

- नवराज केसी

एउटा राम्रो आदर्श सहकारी संस्था बन्नको लागि त्यसलाई सञ्चालन गर्ने सञ्चालक समितिका सदस्यहरू र सञ्चालक समितिले निर्णय गरेका कुरालाई कार्यान्वयन गराउनको लागि भूमिका निभाउने कर्मचारीहरु र त्यस संस्थामा आबद्ध सेयर सदस्यहरूको एकदमै महत्वपूर्ण भूमिका रहेको हुन्छ संस्थाका यी तीनवटा खम्बा मध्ये कुनै एउटा खम्बा पनि कमजोर भएमा संस्था सबल र राम्रो हिसाबले सञ्चालन हुन सक्दैन । यी तीन पक्ष अर्थात् तीन खम्बा जिम्मेवार भएर संस्था सञ्चालनका क्रममा असल आचरण द्वारा काम गरेमा पक्कै पनि एउटा सहकारी संस्था आदर्श एवं सफल सामुदायिक सहकारी हुन सक्दछ । समग्र कारोबारको हिसाबले कुनै संस्था एकदमै ठूलो कारोबार गर्ने सहकारी संस्था हुन सक्छ भने कुनै सानो कारोबार गर्ने संस्था हुनसक्छ । ठूलो कारोबार हुँदैमा संस्था राम्रो हुन्छ भन्ने छैन । सानो संस्था पनि राम्रो संस्था हुन सक्छ त्यसका लागि संस्था सञ्चालन गर्ने व्यक्तिहरू असल हुन जरुरी छ । उनीहरूको आचरण सही हुन जरुरी छ । यहाँ मैले जोड्न खोजेको संस्था ठूलो होस् अथवा सानो सबै संस्था नीति विधि र आफ्नो क्षमता अनुसारको प्रविधिको प्रयोग गरेर सञ्चालन हुन जरुरी छ । संस्थामा आबद्ध सञ्चालक समिति, कर्मचारी र शेयर सदस्यहरूले नै आफ्नो संस्थालाई नीतिसंगत विधिसंगत हिसाबले सञ्चालन गर्दै लानुपर्ने हुन्छ ।  उनीहरूले कस्तो खालको आआफ्नो भूमिका निभाएमा एउटा सफल सहकारी हुन सक्दछ यस कुरालाई एकचोटि मनन गरौं । 
सञ्चालक सदस्यहरूको भूमिकाः 
१) इमान्दारिता र पारदर्शिताः सञ्चालक सदस्यहरूले सहकारीको सबै गतिविधिमा पारदर्शिता र इमानदारी कायम गर्नुपर्छ खास गरेर आर्थिक क्रियाकलाप त्यससँग सम्बन्धित निर्णयहरूमा स्पष्टता हुन आवश्यक छ ।  
२) लोकप्रिय निर्णय प्रक्रियाः सञ्चालक समितिले संस्थामा आबद्ध सदस्यहरूका विचार र आवश्यकताहरूलाई सुनी सो मुताबिक समसामयिक निर्णय गर्ने प्रणाली लागू गर्नुपर्छ । सदस्यको बचत र सेयर लगानीले गर्दा नै संस्था सञ्चालन भइरहेको हुन्छ ।  सदस्यहरुलाई प्राथमिकता दिएर उनीहरूको मतलाई मनन गरेर कुनै पनि कुराको निर्णय गर्दा समग्र संस्था को हित हुने कुरामा दुई मत रहँदैन । 
३) दूरदर्शिताः दीर्घकालीन लक्ष्य राख्दै सहकारीको दीर्घकालीन स्थायित्वको लागि विभिन्न खालका बचत योजना कर्जा योजनाहरू त्यस्तै समग्र संस्थाको त्रिवर्षीय, पञ्चवर्षीय लगायत अन्य आवश्यक योजनाहरु सञ्चालक समितिले बनाउनुपर्दछ । ताकि अबको तीन वर्षमा या पाँच वर्षमा संस्थालाई कुन स्थानमा पुर्याउने कस्तो बनाउने सदस्यहरूका लागि कस्ता खालका नयाँ सुविधा एवं सेवाहरू प्रदान गर्ने भन्ने लक्ष्य राख्नुपर्दछ ।  
४) सदस्यहरूको अधिकार संरक्षणः संस्थामा आबद्ध सबै सदस्यहरूको अधिकारको सम्मान गर्ने र संस्थाले दिनुपर्ने सेवा तथा सुविधाहरू सबै सदस्यलाई बराबरी प्रदान गर्ने संस्थाले जारी गरेका सूचना र जानकारीहरू अनिवार्य रुपमा सदस्यहरूमा प्रचार गर्ने संस्था सञ्चालन अवस्था एवं विकासका लागि हातेमालो गर्ने र त्यसका लागि सदस्यहरूसँग अन्तरक्रिया जस्ता कार्यक्रमहरू सञ्चालन गर्ने लगायतका एवं उनीहरूको हक अधिकार संरक्षण गर्ने कुरामा सञ्चालक सदस्यहरूको भूमिका महत्वपूर्ण हुने गर्दछ ।  
५) सहकारी शिक्षा र प्रशिक्षणः सहकारीमा आबद्ध सदस्यहरूलाई संस्थासँग सम्बन्धित आवश्यक जानकारी र सीप एवं व्यवसाय गर्नका लागि अभिप्रेरित गर्ने खालका प्रशिक्षण एवं व्यावसायिक कार्यक्रमहरू र सहकारीको बारेमा शिक्षाको प्रचारप्रसार गर्ने कार्यक्रमहरू वार्षिक क्यालेण्डर बनाएर सञ्चालन गर्नुपर्दछ । 
कर्मचारीहरूको भूमिका 
१) इमान्दारी र निष्ठाः सहकारी संस्थामा काम गर्ने कर्मचारीहरूले आफ्नो काममा इमानदारी र निष्ठा देखाउनुपर्छ । सहकारीको हितलाई प्राथमिकतामा दिएर आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्दछ । 
२) सदस्य सेवामुखी व्यवहारः सदस्यहरूको आवश्यकतालाई प्राथमिकता दिँदै नम्र व्यवहार द्वारा संस्थाले दिने सेवा सुविधाहरू शेयर सदस्यहरूलाई संस्थाका कर्मचारीहरूले प्रदान गर्नुपर्छ । 

३) व्यवसायिकताः सहकारी संस्थाका कर्मचारीहरूले संस्थाको प्रत्येक कार्यमा व्यावसायिकता र गुणस्तरीयता सुनिश्चित गर्नुपर्छ त्यसैकारण उनीहरूमा व्यवसायिकताको गुण हुनुपर्दछ । त्यसका लागि आवश्यक विभिन्न खालका तालिमहरु संस्थाले कर्मचारीहरूलाई प्रदान गर्नुपर्दछ अथवा उनीहरूलेनै त्यस्ता खालका तालिमहरूको माग गर्नु पर्छ ।
४) समयको पालनाः सर्वप्रथम ठीक समयमा कार्यालयमा आउनुपर्दछ र संस्थाले निर्दिष्ट गरेका कार्यहरूलाई योजना बनाएर तोकिएको समयमा नै सम्पन्न गर्नुपर्छ । र सदस्यहरूको विश्वास जित्नका लागि ध्यान दिनुपर्दछ ।  
५) समन्वय र सहयोगः संस्थाका सञ्चालक सदस्यहरूसँग एवं शेयर सदस्य हरूसँग राम्रो समन्वय राख्दै सहकारी संस्थाको विकासका लागि योगदान दिनुपर्दछ । 
सेयर सदस्यहरूको भूमिकाः 
१) आफू आबद्ध सहकारीका सम्पूर्ण गतिविधिहरूमा सक्रिय रूपमा सहभागी हुनुपर्छ साधारण सभाहरूमा सहभागी भई आफ्ना विचार र सुझावहरू प्रस्तुत गर्नुपर्छ जसले गर्दा संस्थाको विकास एवं संस्थालाई राम्रो बनाउनको लागि एउटा असल एवं जिम्मेवार भूमिका हुन सक्दछ ।  
२) जिम्मेवार मतदानः सहकारीको निर्णय प्रक्रियामा भाग लिँदा आफ्नो मत आफ्ना कुराहरू जिम्मेवारीपूर्वक राख्ने गर्नुपर्छ ।  सहकारीको दीर्घकालीन भलाई र हितलाई ध्यानमा राखेर सही निर्णयको समर्थन गर्नुपर्छ । 
३) शिक्षा र जानकारीः सहकारी संस्थाको उद्देश्य नियम र नीतिहरूको बारेमा राम्रोसँग बुझ्ने र जान्ने प्रयास गर्नुपर्छ त्यसका लागि समयसमयमा संस्थाले सञ्चालन गर्ने सहकारी शिक्षा जस्ता कार्यक्रमहरूमा भाग लिनुपर्दछ । यसले सदस्यहरूलाई सहकारी सम्बन्धी ज्ञान र आफू आबद्ध सहकारी सही दिशामा छ कि छैन भनेर हेर्नका लागि मद्दत पु¥याउँदछ ।  
४) आर्थिक अनुशासनः सहकारी संस्थामा आफूले नियमित रूपमा बचत गर्नुपर्ने कबुलेको रकम बचत गर्ने र कर्जा लिएको अवस्थामा संस्थाको नियमअनुसारको कर्जा को ब्याज र सांवा नियमित रुपमा तिर्ने लगायतका वित्तीय दायित्वहरू समयमा पूरा गर्नुपर्छ । यसले सहकारीको आर्थिक स्थायित्वलाई बलियो बनाउँछ र सहकारी दिगो रुपमा सक्षम रूपमा चल्न सक्छ संस्था को लागि सदस्यहरूको यो महत्त्वपूर्ण जिम्मेवारी पनि हो । ५) सहयोग र समर्थनः सञ्चालक सदस्यहरूसँग राम्रो सम्बन्ध राख्दै सहकारीका बारेमा बेलाबखतमा जानकारीहरू लिने र सहकारीले गरेका राम्रा निर्णयहरूको नीतिहरूको समर्थन गर्ने र कमजोर निर्णयहरूको आलोचना गर्ने र सुधारका लागि सुझाव प्रदान गर्ने त्यसका साथसाथै संस्थामा समस्याहरु आएमा समाधानका लागि सहयोग पुर्याउने दायित्व शेयर सदस्यको पनि हुने गर्छ ।  
६) इमान्दारी र नैतिकताः संस्थाका सेयर सदस्यहरूले व्यक्तिगत लाभका लागि सहकारी आफू आबद्ध संस्थाको दुरुपयोग गर्नु हुँदैन सधैंभरि सहकारी संस्थाको हितलाई प्राथमिकतामा राखेर शेयर सदस्यहरूले सहयोग र समर्थन गर्नुपर्छ । 
अन्त्यमा यी माथिका कुराहरूलाई ख्याल गरेर एउटा सहकारी संस्थामा आबद्ध सम्पूर्ण पक्षले आफ्नो भूमिका निर्वाह गर्यो भने अर्थात् आफ्नो आफ्नो अधिकार र संस्थाप्रतिको दायित्व के हो भनेर मनन गरेर अगाडि बढ्न सक्यो भने त्यो सहकारी संस्था असल आदर्श र सामुदायिक सहकारी संस्थाको रूपमा दिगो रूपले अगाडि बढ्न सक्छ ।